बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिले बोटले थाम्न सक्दैनथ्यो, अहिले स्याउ फल्दैन हेलम्बुमा

बुधबार, २२ फागुन २०७५, १२ : ५३
बुधबार, २२ फागुन २०७५

सिन्धुपाल्चोक । तोरीको तेलका लागि खोकना प्रख्यात भएझैँ कुनै समय सिन्धुपाल्चोकको हेलम्बु स्याउका लागि प्रख्यात थियो । हेलम्बुको स्याउका बारेमा धेरै खालका गीत पनि बनेका थिए । तर अब तपाईंले हेलम्बुमा स्याउ फलेको पाउनुभएन भने अचम्म नमाने हुन्छ । हेलम्बुमा व्यावसायिक रूपमा स्याउ उत्पादन हुन छोडेको धेरै भइसक्यो ।

हेलम्बुमा कतै–कतै स्याउका साना बगैँचा भेटिए पनि स्याउ फल्न छोडेको निकै समय भएको स्थानीय बताउँछन् । पहिले हेलम्बुका सेर्माथान, स्याङ्बुसे, घ्याङ्युल, तार्केघ्याङ, मेलम्चीघ्याङ लगायतका क्षेत्रमा व्यावसायिक रूपमा स्याउ लगाइने गरिएको थियो ।

ह्याङयुलमा सानो होटल सञ्चालन गर्दै आएका काजी लामाले स्याउ खेती गरेका थिए तर स्याउमा रोग लागेपछि स्याउका रूख काट्न बाध्य भए । यस ठाउँमा ३३, ३४ सालतिर धेरै स्याउ फल्ने गरेको उनले बताए । लामाको मात्रै १ सय ८० बोट स्याउको बगैँचा थियो । लगभग ४० सालदेखि हेलम्बुमा स्याउ फल्न छोड्यो । लगाइएको स्याउको बिरुवा पनि मर्न थाले ।

पछि रोपिएका स्याउका बोट पनि छन् तर स्याउ फल्दै नफल्ने लामा बताउँछन् । उनले भने– ‘मैले अहिले पनि स्याउ त लगाएको छु तर दाना नै दिँदैन । मेरो विचारमा मौसम परिवर्तन भएर होला जस्तो लाग्छ । २० वर्ष पहिले यहाँ ३ फुटसम्म हिउँ पथ्र्यो, हिउँ नपरेको धेरै भयो । यो वर्ष झन्डै १ फिटजति हिउँ आयो । अब चाहिँ हुन्छ कि स्याउ आसा छ । ३० सालतिर त यहाँ कसैले ४ सयसम्म बिरुवा रोपेका थिए । केही रूख अझै छन् । मैले त काटेर रूख रोपेँ, सबै भरिसक्यो के गर्ने ?’

अहिले नयाँ लगाइएको स्याउको बोटबाट पनि स्याउ नफल्ने उनले सुनाए । स्याउको सट्टा उनले अहिले किवी खेती सुरु गरेका छन् । पहिलो पटक उनको बगैँचामा किवी फलेको छ । प्रतिकिलो २ सय ५० रुपियाँमा उनले घरबाटै बिक्री गर्ने गरेका छन् । किवी उत्पादन गर्न सके बजारको समस्या नरहेको उनले बताए ।

सोही ठाउँका लाक्सा सिङ्घीले यस वर्ष हिउँ धेरै परेको हुनाले स्याउ फल्छ कि भन्ने आसा लागेको बताए ।  नुपृ शेर्पाले पनि पहिले जस्तो स्याउ नफल्ने बताइन् । अहिले गाउँमा धेरैले किवी खेती सुरु गरेको उनले बताइन् ।

यता हेलम्बु सुइन्चेकी पासाङ मोक्तानले पहिले पहिले सो ठाउँमा स्याउ फल्ने गरे पनि पछिल्लो समय कीरा लागेर स्याउ फल्न छोडेको बताइन्  । उनी आफैले पनि केही बोट स्याउ लगाएकी थिइन् तर किराले सखाप पार्यो ।

हेलम्बुकै अर्को ठाउँ तेम्वाथाङका हिस्सी शेर्पाका अनुसार पैँतीस चालीस वर्षअघि हेलम्बुमा धेरै राम्रोसँग स्याउ फल्ने गरेको थियो ।

त्यति बेला हेलम्बुबाट थुन्सेमा स्याउ बोकेर रत्नपार्कमा बेच्न लाँदा स्याउ कुचिन्थ्यो र मान्छेले किन्दैनथे । त्यसपछि विस्तारै मान्छेहरूले स्याउ खेती गर्न छोडे । 

उनले भने– ‘थुन्सेमा बोकेर रत्नपार्कसम्म बोकेर लैजाँदा स्याउ कुच्चियो । मान्छेले स्याउ नकिनेपछि घाटा लाग्यो । पछि स्याउ बिक्रीका लागि उनीहरू हिँड्न छोडे ।’

आजभन्दा १५ वर्ष अगाडि शेर्पाले भारतको हिमाञ्चलबाट दुई तीन पटक गरेर  ५०÷६० वटा स्याउका बिरुवा ल्याएर लगाएका थिए । तेम्बाथाङको मानेभेन्ताङ भन्ने स्थानमा उनले स्याउ लगाएका थिए । स्याउका बोट पनि ठूलो भएका थिए । एक वर्ष स्याउमा फूल लागे पनि अर्को वर्ष बोट मर्ने समस्या देखिन थाल्यो । स्याउको बोटका लागि उपचार गर्न नसक्दा स्याउका बोट मर्न थालेको शेर्पाले सुनाए । स्याउमा फाइदा नदेखेपछि स्याउ रोप्न छोडेको उनले बताए ।

३ वर्षअघिदेखि हेलम्बुका स्थानीयले किवी खेती थालेका छन् । हिस्सी शेर्पाले पनि २० बोट किवी लगाएका छन् । किवी फल्यो भने पनि बजार नपाइने हो कि भन्ने अर्को चिन्ता पनि छ । यो वर्ष उनको फार्ममा ३ किलोजति किवी फलेको थियो ।

उनले भने– ‘स्याउ लगाउने हो भने हेलम्बुमा धेरै ठाउँ छ । पहिले पहिले धेरै राम्रो स्याउ फल्थ्यो । तार्केघ्याङ, घ्याङयुल, मेलम्चीघ्याङमा स्याउको धेरै राम्रो उत्पादन हुन्थ्यो ।’ 

हेलम्बुमा स्याउ राम्रो फल्ने अर्को स्थान मेलम्ची घ्याङ पनि हो । सिन्धुपाल्चोकको उत्तरतर्फको अन्तिम गाउँमध्ये यो पनि एक हो । यहाँका स्थानीय कान्छा लामाले पनि सानो स्याउ बगैचा बनाएका छन् । उनले झन्डै १ सय बोट स्याउ लगाएका छन् तर स्याउको बोटमा रोग लाग्ने देखिएको छ ।

उनको १५ वर्ष अघिदेखि विभिन्न समयमा रोपेका स्याउको बगँैचा छ ।  स्याउ फल्ने सिजनमा मेलम्ची घ्याङमा पहिले पहिले अत्यधिक मात्रामा स्याउ फल्थ्यो । अहिले उनको स्याउ बगैँचाका धेरै बोटहरूमा रोग लागेको छ ।

स्याउको बोट जोगाउन औषधि उपचार नभएको बताए । उनले भने– ‘पहिले हेलम्बुमा धेरै स्याउ फल्ने ठाउँ नै यही हो । त्यो बेला स्याउ बेच्न गाडीको सुविधा थिएन । अहिले गाडी आउन थाल्यो, स्याउ चाहिँ फलेन । अहिले स्याउ फल्यो भने त गाडी यहीँ आउँन थाल्यो ।’

कतिपय बोटहरू सुकिसकेका छन् । स्याउ उत्पादनका लागि सरकारी सहयोग पनि केही नभएको उनी बताउँछन् । सरकारी तहबाट स्याउ उत्पादनसम्बन्धी तालिम तथा स्याउमा लाग्ने रोगको उपचारका लागि सहयोग गरे स्याउ उत्पादनमा सहयोग पुग्ने उनको आशा छ ।

उनले भने– ‘न यहाँ तालिम दिने मान्छे आउँछ, रोग लाग्दा दबाइ गर्ने मान्छे आउँदैन, बोलाउन जाउँ भने कहाँ जाने ? अब स्याउ लगाउन छोडेजस्तो भयो, उपचार नै भएन के गर्नु ? यहाँ यी सबै बोटमा रोग देखिएको छ । पहिले पहिले बोटले नै थाम्न नसक्नेगरी फल्थ्यो, अहिले फल्दैन के गर्नु ?’ स्याउ लगाउन मन लाग्छ तर बोट नै मर्छ, कसैले सहयोग गर्दैन । ७२ वर्षका लामाले गुनासो पोखे ।

हेर्नुहोस भिडियो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप