केन्द्रीय संस्करण
विज्ञान विमर्श

हाइड्रो पावरको अबको भविष्य: उज्यालोभन्दा अँध्यारोतिर लम्किने प्रवल सम्भावना

person explore access_timeफागुन २२, २०७५ chat_bubble_outline0
www.newbusinessage.com

एक जना साथी दुखेसो पोख्दै हुनुहुन्थ्यो । संचय कोषबाट तीन लाख झिकेर एउटा हाइड्रोपावर कम्पनीको शेयर किनेको थिएँ । म त डुबें, न त्यो कम्पनीले उत्पादन नै गर्न सक्यो, न शेयरको ‘भ्याल्यू’ नै राख्न सक्यो ।

शेयर र आदि यावतका ‘इकोनोमी’ बारे मेरो ज्ञान आफ्नो खल्तीमा भएको पैसा भन्दा बढी छैन । र, मेरो खल्तीमा बिरलै दश हजार रुपैयाँसम्म हुने गर्छ । मैले बुझेको ‘इकोनोमी’ यति नै हो । दश हजारभन्दा माथिको रकम मेरो लागि नम्बर मात्र हो ।

मैले कहिल्यै बुझ्न सकिनँ, ‘एउटा कम्पनीले शेयर निष्काशन गर्छ । त्यो कम्पनीको कुनै उत्पादन बजारमा नआइकन शेयरको ‘भ्याल्यू’ कसरी र किन बढ्छ ?’ उत्पादन भएर कम्पनीले नाफा कमाएको खण्डमा शेयरको मूल्य बढ्नुको अर्थ र तर्क बुझ्न सकिन्छ । तर उत्पादनको चरणसम्म पनि नपुगेका कम्पनीका शेयर ‘भ्याल्यू’ बढ्नुको गणित बुझ्न मेरो मस्तिष्कले भ्याउँदैन ।

आजभोलि जो कोहीको मुखबाट सुनिन्छ, हाइड्रोपावर कम्पनीमा लगानी गर्नु बडो फाइदाजनक हुन्छ । आफू परियो विज्ञानको विद्यार्थी, विज्ञानको दृष्टिले सामान्य विवेचन गरें, के साँच्चै नै हाइड्रोपावरमा लगानी सुरक्षित र फाइदाजनक छ ।

वर्तमान विज्ञान र भविष्यमा हुने अझ उन्नत विज्ञानले हाम्रो जीवन, रहनसहन, समाजमा के कस्तो परिवर्तन ल्याउँछ भन्ने जिज्ञासा प्रायः सबै मानिसमा हुन्छ नै । आजको गन्थनमन्थनको विषय भविष्यको ऊर्जा हो । भविष्यमा ऊर्जाको स्वरुप कस्तो हुनेछ, यसैको सेरोफेरोमा यो चिया गफ केन्द्रित छ ।

एक अनुमान अनुसार सन २०१७ को अवधिमा विश्वभर झण्डै २५,५७० टेरावाट/घण्टा विद्युत उत्पादन भयो । विश्वको विद्युत माग भने योभन्दा धेरै बढी छ । विश्व विद्युत बजारमा जति पनि ‘डिमाण्ड’ यथावत नै छ ।

अब निकोला टेस्ला नामक वैज्ञानिक, जसले ए.सी. विद्युत अन्वेषण गरे, उनले आफ्नो जीवनमा एउटा अन्य प्रयास पनि गरे, त्यो थियो विद्युतलाई तारविहीन ढंगले प्रसारित गर्ने । तर उनी यस प्रयोगमा सफल भएनन् । आजसम्म पनि विद्युतको प्रसारण तारबाट नै हुन्छ । र, निकट भविष्यमा पनि विज्ञानले ताररहित विद्युत आपुर्तिको कुनै बाटो पहिल्याउने छाँटकाँट देखापर्न सकेको छैन । विद्युत उत्पादन भएको ठाउँबाट प्रसारण लाइनका मार्फत्बाट मात्रै उपभोक्ता सम्म विद्युत पु¥याउने प्रणाली संसारभरी प्रयोग भरहेको छ ।

माथि भनियो, विश्वमा २५,५७० टेरावाट/घण्टा विद्युत उत्पादन भइरहेको छ । यो समग्र उत्पादन विभिन्न प्रविधिबाट हुँदै आएको छ ।

कोईला बालेर → ३९.३०%

ग्यास बालेर → २२.९०%

तेल बालेर → ४.१०%  

कुल  → ६६.३०%  

कोइला, ग्यास, तेल यी सबैको प्रयोगबाट झण्डै विश्वको दुई तिहाई विद्युत उत्पादन भइरहेको छ । उपरोक्त पदार्थको दहनबाट बन्ने विद्युत एकातिर अत्यन्त उपयोगी छ भने दहनबाट भइरहेको प्रदुषणले पृथ्वीकै स्वास्थ्य दिन प्रतिदिन खस्किंदो छ । विज्ञानले भएभरको बल लगाएर यिनको विकल्पको खोजी गर्दैछ ।

विश्वमा विद्युत उत्पादन गर्ने अन्य विधि यस प्रकार रहेका छन् :

हाइड्रोपावरबाट → १६.००%

न्युक्लियरबाट → १०.६०%

सौर्य र पवनबाट → ४.९०%

जिओ थर्मल र अन्यबाट → २.२०%

कुल →  ३३.७०%  

विश्वको कुल विद्युत उत्पादनमा ‘फोसिल फ्यूल’ बाहेक अन्य विधिबाट जम्मा एक तिहाई विद्युत मात्र उत्पादन भइरहेको छ । हामी आम नेपालीको चासो र हामीले सजिलै बुझ्ने विद्युतको प्रारुप हाइड्रोबाट भने जम्मा १६% मात्र उत्पादन भइरहेको छ ।

भविष्यको ऊर्जाः— अब लेखिन गइरहेका पंक्ति आम नेपालीको चाहना, मनोभावना, ‘इकोनोमी’ आदि जे भनौं तिनका अनुकूल छैनन् ।

इन्जिनियर हरिमान श्रेष्ठले आफ्नो शोधपत्रमा नेपालसंग ८३ हजार मेगावाट विद्युत उत्पादनको क्षमता छ भनेका थिए रे । सही तथ्य सम्बन्धित विज्ञहरुलाई नै विदित होला । तर यति निश्चय पनि हो सामान्य नेपालीदेखि लिएर प्रतिष्ठित व्यक्तिसम्म हाइड्रोपावरको विकासले देश समुन्नत हुनेमा विश्वस्त रही आएका छन् । नेपाल र नेपालीको यो सपना के वास्तविकतामा रुपान्तरित होला ?

माथि कतै न्युक्लिएर इनर्जीबारे उल्लेख भयो । वर्तमान विश्वमा समग्र उत्पादनको झण्डै ११% उत्पादन यसै प्रविधिबाट भइरहेको छ । अत्यन्त जोखिमयुक्त भएपनि विकसित र विकासशील अधिकांश राष्ट्रले नाभिकीय विखण्डन (न्युक्लियर फिजन) बाट विद्युत उत्पादन गरिरहेका छन् । नाभिकीय विखण्डन प्रक्रियामा यूरेनियम तथा प्लुटोनियम जस्ता भारी रेडियो एक्टिभ धातु प्रयोगमा ल्याइन्छ ।

यूरेनियम सर्वसुलभ धातु होइन । अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, चेक रिपब्लिक, ग्रीनल्याण्ड, भारत, कजाकिस्तान, नामिबिया, निगार, रसिया, साउथ अफ्रिका, युक्रेन, अमेरिका, उजबेकिस्तान लगायतका केही देशहरुसंग मात्र यूरेनियमको उपलब्धता छ ।

युरेनियम र प्लुटोनियमको खपत विद्युत उत्पादनमा मात्र नभई आणविक हतियार बनाउन पनि प्रयोग हुन्छ ।

वैज्ञानिकहरु ‘एटमिक रियाक्टर’ बाट विद्युत बनाउनलाई युरेनियम र प्लुटोनियमको विकल्प खोजी रहेका छन् । केही हदसम्म विकल्प प्राप्त पनि भइसकेको छ । त्यो विकल्पको धातु थोरियम हो ।

थोरियमबाट ‘एटमिक रियाक्टर’ मा विद्युत उत्पादन हुनु भनेको नेपालको अकल्पनीय दुर्भाग्य हुन जान्छ । तपाईलाई जिज्ञासा होला ‘थोरियम रियाक्टर’ बाट विद्युत उत्पादन हुँदैमा नेपाललाई किन दुर्भाग्य हुन्छ ? कारण थोरियमको उपलब्धता हो ।

भारतले आफ्ना २१ वटा ‘न्युक्लियर प्लांट’ का लागि रसिया, कजाकिस्तान, फ्रान्स, क्यानडा  र अष्ट्रेलियाबाट यूरेनियम किन्ने गर्छ । भारतले २००८ देखि यता विभिन्न देशबाट झण्डै ५ हजार ५ सय ५९ टन यूरेनियम आयात गरेको छ । यस यूरेनियमको प्रयोग विद्युत उत्पादनका साथै आणविक हातहतियार निर्माणमा भएको छ । डिर्पाटमेन्ट अफ एटमिक इनर्जी (DAE) इण्डिया र मिनरल्स डाइरेक्टोरेट फर एक्सप्लोरेशन एण्ड रिसर्च (AMD) इण्डियाका अनुसार भारतको कुल विद्युत उत्पादनमा न्युक्लिएर इनर्जीको योगदान जम्मा ३% मात्र छ । ६५% उत्पादन अझै ‘फोसिल फ्यूल’ माथि निर्भर छ । हाइड्रोपावरको योगदान २२% र बाँकीको १०% सौर्य, वायु र अन्यबाट भइरहेको छ ।

न्युक्लियर इनर्जीको उत्पादन कम हुनुमा यूरेनियमको कमी मुख्य कारण हो । भारतको सम्पूर्ण प्रयास यूरेनियमको सट्टा थोरियम प्रयोग गरेर इनर्जी उत्पादन गर्नु रहेको छ । भारतसंग विश्वकै सबैभन्दा बढी  विश्वको कुल थोरियम उपलब्धताको झण्डै २५% मौज्दात रहेको छ । नरेन्द्र मोदी सरकार २०२५ सम्म थोरियमको सफलतापूर्वक प्रयोग गरेर न्युक्लियर इनर्जीबाट नै आफ्नो समस्त विद्युतको उत्पादन गर्न उद्यत बनेको छ । थोरियम प्रयोगबाट भारतले ३ लाख ५८ हजार गिगावाट विद्युत उत्पादन गर्न सक्छ । भारतसंग आउने २÷३ सय वर्ष लाई पुग्ने थोरियमको स्टक उपलब्ध छ ।

यता छिमेकी चीनले पनि २०२४ सम्म थोरियम प्रयोग गरेर इनर्जी उत्पादन गर्ने लक्ष्य लिएको छ । चीनसंग पनि थोरियमको ठूलो उपलब्धता छ ।

नाभिकीय विखण्डन (न्युक्लियर फिजन) का अतिरिक्त नाभिकिय संलयन (न्युक्लियर फ्युजन) बाट पनि इनर्जी उत्पादनको दिशामा तीव्र गतिले अनुसन्धान भइरहेको छ । एक अनुमान अनुसार फ्रान्स र चीनमा २०२५ भित्रै न्युक्लियर फ्युजनका माध्यमबाट विद्युत उत्पादन प्रारम्भ हुन्छ । ‘फ्युजन’ प्रक्रियाबाट विद्युत उत्पादनमा सफलता हात पार्नु भनेको पृथ्वीमै सूर्य बनाउनु सरह साबित हुन्छ । प्रारम्भमा यस प्रक्रियाको विद्युत महंगो पर्न गए पनि कालान्तरमा यस प्रक्रियाबाट उत्पादित विद्युत अति नै सस्तो हुन जान्छ ।

नाभिकिय संलयनमा पानीबाट (हाइड्रोजनबाट— पानीमा हाइड्रोजनको प्रचुर उपलब्धता छ) बिजुली बनाइन्छ । तपाई कल्पना गर्नुस्, १ लिटर पानीले बन्ने बिजुलीको मात्रा त्यति हुन्छ जति बिजुली उत्पादन गर्न ५ हजार बैरेल तेल अथवा ३५ लाख पाउण्ड कोइलाको प्रयोग गर्नुपर्छ ।

नाभिकिय संलयनमा पानीबाट (हाइड्रोजनबाट— पानीमा हाइड्रोजनको प्रचुर उपलब्धता छ) बिजुली बनाइन्छ । तपाई कल्पना गर्नुस्, १ लिटर पानीले बन्ने बिजुलीको मात्रा त्यति हुन्छ जति बिजुली उत्पादन गर्न ५ हजार बैरेल तेल अथवा ३५ लाख पाउण्ड कोइलाको प्रयोग गर्नुपर्छ ।

अबको विश्वमा हाइड्रोपावरको भविष्य छैन । नेपालले विद्युत निर्यात गर्न सक्ने देश भारत, बंगलादेश वा तिब्बत हुन सक्छन् । आउँदो दश वर्ष भित्र भारत र तिब्बतमा स्वदेशमै उत्पादित बिजुलीको प्रचुर पर्याप्तता हुनेछ ।

अर्कोतिर एक, दुई, पाँच किलोवाटसम्म घरायसी प्रयोगका लागि आवश्यक पर्ने बिजुली सोलारका माध्यमले घर घरमै उत्पादन र खर्च हुनेछ । आउँदो दश वर्षभित्र एक दुई किलोवाटका सोलार प्यानलको मूल्य पचास हजार रुपैयाँमा आइपुग्नेछ ।

नेपालमा हाइड्रोपावरको भविष्य २०३० भन्दा पछिका दिनमा उज्यालोभन्दा अँध्यारोतिर लम्किने प्रवल सम्भावना छ । अबको पाँच सात वर्षभित्र बन्ने ठूला आयोजनाले त लगानी उठाउलान् तर त्यस पछिका आयोजनालाई लगानी उठाउन नै हम्मे हम्मे पर्छ ।

देशभित्र हुने विद्युत खपतबाहेक विद्युत निर्यात गरेर अर्थोपार्जन गर्ने सपना उन्नेलाई बुद्धिजीवी भन्ने दिन अब बिस्तारै सन्ध्याउन्मुख हुँदै गइरहेको छ । २०५० आउँदा नआउँदै केरोसीन, डीजल, पेट्रोल, एटिएफ, ग्यास आदिको विभिन्न प्रयोग/उपयोग र हाइड्रोपावर प्लांट नै बितेका युगका कुरा हुने छन् ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...