केन्द्रीय संस्करण
ट्राफिक समस्या

उफ् ! जाम : कहिले हुन्छ समाधान ?

ट्राफिक लाइट राखौँ, जुलुस– र्‍याली निकाल्ने समय फेरौँ

person explore access_timeफागुन २१, २०७५ chat_bubble_outline0

काठमाडौँ उपत्यकाको ट्राफिक जामको समस्या कुनै नयाँ र नौलो विषय हुँदै होइन । बरु उपत्यकामा बस्ने करिब ४० लाख जनताको ओठमा एउटा थेगो नै झुण्डिन थालेको छ, ‘जाम भएर..., कस्तो जाम हेर्नु न, त्यसैले ढिला भयो !’

कफी गफ, मिटिङ र कार्यालय जता जाँदा पनि ढिलो भएपछि ‘ट्राफिक जाम’ एउटा बहाना बन्ने गरेको छ । करिब एक दशकदेखिको त्यो बहाना घट्नुको साटो अझै बढिरहरको छ । काठमाडौँ उपत्यकाको ट्राफिक जामको मुख्य केन्द्रविन्दु भनेको रत्नपार्क टुँडिखेल नै हो । त्यही रत्नपार्क क्षेत्रमा कसरी जाम घटाउने भन्नेबाट यो आलेखको सुरुवात गरौँ ।  

रत्नपार्क क्षेत्रमा काठमाडौँ उपत्यकाको अधिकांश स्थानबाट गाडीहरू आउँछन् । बाहिरबाट जति गाडीहरू आउँछन्, त्यसको निकास छैन । बाहिरबाट आउने बाटोभन्दा रत्नपार्कको बाटो ठूलो हुनुपर्ने हो तर सुन्धारा–रत्नपर्क सडक साँघुरो छ । 

त्रिपुरेश्वर तर्फबाट आउने दुई लेन, सहिदगेटबाट आउने दुई लेन, सुन्धाराबाट एकलेन, न्युरोडबाट एक लेन गर्दा ६ लेनबाट गाडी आउँछ अनि सुन्धाराको सडकको चौडाइ चाहिँ चार लेन मात्र छ । त्यसकारण त्यहाँ निकासको समस्या भएको पाइन्छ ।

रत्नपार्क आसपासमा सार्वजनिक सवारी साधनको ‘पिक एन्ड ड्रप’ सिस्टम नमिल्दा जामको समस्या थप बढ्दै गएको छ । अहिले बसपार्कका रूपमा प्रयोग भएको भाग समेतलाई समेटेर पूरै खुल्लामञ्चलाई ‘पिक एन्ड ड्रप जक्सन’ बनाएर र आकाशेपुल प्रयोग अनिवार्य गर्न सकेमा त्यो क्षेत्रमा हुने सवारी जामको समस्या हल हुने देखिन्छ ।

खुल्लामञ्चलाई ‘पिक एन्ड ड्रप जक्सन’ बनाउँदै वायुसेवा निमग र भृकुटीमण्डपमा गाडी रोक्न नपाउने गरी मिलाउनुपर्छ । यदि खुल्लामञ्चमा ‘पिक एन्ड ड्रप’ गर्न सकिँदैन भने पर्यटन बोर्ड पछाडि सात फिटभित्र छिराउनुपर्छ, वीर अस्पताल छेउमा सात फिट भत्काएर ‘पिक एन्ड ड्रप’ गर्ने ठाउँ निकाल्नुपर्छ । त्यसपछि निर्वाचन आयोगको कार्यालय अगाडि पनि गाडीहरू सात फिटभित्र छिराउनुपर्छ ।

सात फिट भत्काउने भन्नाले, पेटीबाट मात्रै भित्र छिराए पुग्छ । अनि लैनचौरबाट आउँदा जमलको परीक्षा नियन्त्रण कार्यालयको पनि सात फिट लिनुपर्छ ।

त्यसो गरेमा वायुसेवा निगम, वीर अस्पताल र पर्यटन बोर्डमा मात्र पिक एन्ड ड्रप गरे पुग्छ । शान्तिबाटिका आसपासमा सार्वजनिक सावरीले बाटैमा मान्छे ओराल्ने–चढाउने गरिएको छ । यात्रु चढाउने र ओराल्ने कार्यबीच बाटोबाट हैन, सडक पेटीबाट गर्नुपर्छ । त्यसकारण त्यो ठाउँमा भाडाका गाडीहरू रोक्न दिनुहुँदैन । 

प्लानिङकै समस्या

काठमाडौँ उपत्यकामा करिब ४० लाख मानिसहरू बसोबास गर्छन्, दैनिक १२ लाख सवारी साधन चल्छन् । पिक आवरमा कुन ठाउँमा जान कति सार्वजनिक गाडी चाहिन्छ भन्ने कुराको लेखाजोखा छैन । कुनै रुटमा पिक आवरमा पनि खाली गाडी चलिरहेका हुन्छन्, कतै गाडी चढ्नकै लागि सर्वसाधारणले युद्ध जितेको फिल गर्छन् । एक घण्टा उभिएर गाडी चढ्नुपर्ने बाध्यता रुट परमिटको प्लानिङ नमिलेको कारणले गर्दा हो ।

हामीले सडकलाई नै पार्किङ स्पट बनाउँदै आएका छौँ, अब सडकमा पार्किङ गर्न बन्द गर्नुपर्छ । पार्किङ स्थलबारे सरकारी तहमा कुनै छलफल नै हुन सकेन । महानगरपालिकाले नै पार्किङ घर बनाउनुपर्छ अथवा जग्गा लिजमा लिएर भए पनि पार्किङ घर बनाउने व्यवस्था मिलाउनुपर्छ ।

काठमाडौँ बाहिर जिरी–चरिकोटबाट आउने गाडीहरू पनि रत्नपार्क पुग्छन् । अब धुलिखेलभन्दा परबाट आउने गाडीहरूलाई भक्तपुर र पेप्सिकोलामै रोक्ने गरी प्लानिङ गर्नुपर्छ । पूर्व क्षेत्रबाट आउने माइक्रोबसलाई पनि कोटेश्वरसम्म आउन दिनु हुँदैन, भक्तपुरमा नै रोक्नुपर्छ ।

हामीले सडकलाई नै पार्किङ स्पट बनाउँदै आएका छौँ, अब सडकमा पार्किङ गर्न बन्द गर्नुपर्छ । पार्किङ स्थलबारे सरकारी तहमा कुनै छलफल नै हुन सकेन । महानगरपालिकाले नै पार्किङ घर बनाउनुपर्छ अथवा जग्गा लिजमा लिएर भए पनि पार्किङ घर बनाउने व्यवस्था मिलाउनुपर्छ ।

निजी क्षेत्रलाई पार्किङस्थल बनाउन प्रोत्साहित गरेर त्यस्ता ‘मेगा पार्किङ स्पट’हरूलाई कर छुट दिनुपर्छ । ‘तिमीले पार्किङ स्थल बनाऊँ, शुल्क आफै उठाऊँ अनि राज्यलाई थोरै मात्र कर बुझाऊँ’ भनेर राज्यले पार्किङबारे सोच्नुपर्छ ।

हामीले न्युरोड, दरबरमार्ग, कुमारीपाटी जस्ता ठाउँमा सडकलाई नै ग्यारेज जस्तो बनाएका छौँ । अन्य गल्लीहरूमा हुने पार्किङको त कुरै नगरौँ, जहाँसुकै पार्किङ छ । त्यस्ता ठाउँहरूमा बिहान–बेलुका पिक आवरमा पार्क गर्न नपाउने भन्नुपर्छ । ११ बजेदेखि ३ बजेसम्म मात्र पार्क गर्ने सिस्टम ल्याउनुपर्छ । घरलाई पाउरोटी काटेजस्तो काटेर विस्तार गरेको सडकलाई ग्यारेज बनाउन मिल्दैन ।

देशको राजधानी, अनि दुई महानगरपालिका भएको काठमाडौँ उपत्यकामा साँझ ७ बजेपछि सार्वजनिक सवारी नै चल्दैन । अब हामीले सार्वजनिक सवारीहरू बस, मिनीबस कम्तीमा राति १० बजेसम्म चलाउनुपर्छ । अहिले १० बजेसम्मा गाडी नचल्दा पिक आवरमा जामको समस्या भइरहेको छ । अहिले गाडी पाइँदैन भनेर सबैजना ७ बजे घर जान हतार गर्छन । तर १० बजेसम्म ढुक्कै गाडी चल्न थाल्ने हो भने अहिले पिक आवरमा निस्कने आधा मान्छेहरू ७ बजेभन्दा पछि ढुक्कले घर जान पाउँछन् ।

२०७४ साल असार २ गते तत्कालीन गृहमन्त्री जनार्दन शर्माले उपत्यकाका दुई सय स्थानमा ट्राफिक लाइट राख्न निर्देशन दिएका थिए । तर अहिलेसम्म बनेको छैन । त्यतिबेला मन्त्री शर्माले भनेका थिए, ‘विदेशीको मुख ताकेर अझै दस वर्ष जाम सहेर बस्ने, हामी आफै किन नगर्ने ?’ भनेका थिए तर खोई कार्यान्वयन ?

तत्काल प्लानिङसहित काठमाडौँका सडकमा ट्राफिक लाइट राख्नुपर्छ, जसले सडक अनुशासन सिकाउँछ । सडक बत्ती भएमा लामो सयम जाममा बस्नुपर्दैैन, बढीमा १ मिनेटमा  लाइट चेन्ज हुन्छ । पिक आवरमा डेढ मिनेटमा चेन्ज हुन्छ । ट्राफिक लाइट बल्न थालेपछि बाटो काटने पैदल यात्रीले सहज रूपमा बाटो काट्न पाउँछन् । सवारीसाधन पनि ढुक्कले चल्न पाउँछन् ।

अहिले ट्राफिकको हातको इसारा हेरेर बाटोे काट्ने जमाना हैन । स्मार्ट ट्राफिक लाइट सिस्टममा चल्छ, सबै कुरा सिस्टममा हुन्छ ।

ट्राफिक लाइट पाँच–छ ठाउँमा मात्र राखेर हुँदैन् । अहिले कोटेश्वर–सूर्यविनायक सडकको तीन स्थान, नयाँ बानेश्वरलगायतका केही स्थानमा ट्राफिक लाइट चलिरहेको छ ।

भक्तपुर सडकमा ट्राफिक प्रहरी नभए पनि रातो बत्ती बलेपछि गाडीहरू रोकिन्छ तर अन्यत्र ट्राफिक प्रहरीले एकछिन अर्कोतिर फर्किए पनि गाडी जाम भइहाल्छ ।

काठमाडौँतर्फ सवारी प्रवेश गर्ने कोटेश्वरमा ट्राफिक लाइट राख्यो भने एक पटकमा १८ वटा गाडी आउँछ, १२० वटा जति मोटरसाइकल आउँछन । अनि तीनकुनेमा लाइट हुन्छ, बानेश्वर, माइतीघरको ट्राफिक लाइटबाट एउटै अनुपातमा गाडीहरू क्रस हुन्छन् । अनि कोटेश्वर चोकबाट नै सवारी जाम कन्ट्रोल हुन्छ ।

२०२३ सालमा काठमाडौँको सडकमा पहिलो पटक ट्राफिक लाइटको प्रयोग भएको थियो । अहिले वृद्धि हुनुपर्नेमा झन् ठप्प भएको छ । अन्य देशमा विकास हुँदै जान्छ हाम्रोमा उल्टो विनाश भएको छ ।

 ट्राफिक लाइट : सौजन्य...

काठमाडौँमा अहिले १३ सय जना ट्राफिक पुलिस छन् । स्मार्ट ट्राफिक लाइट राखेपछि अहिलेको आधा सङ्ख्या मात्र ट्राफिक प्रहरी फिल्डमा खटाए पुग्छ । अहिले ट्राफिक प्रहरीलाई जाम खोल्न मात्र खटाएका छौँ,  गल्ती गर्नेलाई कारबाही गर्न सकिराखेका छैनौँ । कुनै सवारीले गल्ती गरेको देखे पनि ‘के गर्ने जाम हुन्छ’ भन्दै हात हल्लाएर पठाउनुपर्ने हाम्रो बाध्यता छ । आइल्यान्डमा एकजना मात्रै ट्राफिक भएको बेला चिट काट्न थाल्यो भने  जाम भइहाल्छ । त्यसैले ट्राफिक लाइट बनेपछि गल्ती गर्नेलाई अहिलेकै मेनपावरले कारबाही गर्न सकिन्थ्यो ।

हामीले अहिले चोक–चोकमा जनसहयोगबाट स्मार्ट आइल्यान्ड राखेका छौँ । त्यही आइल्यान्ड जस्तै ट्राफिक लाइट पनि सौजन्यमा निजी कम्पनीहरूलाई बनाउन जिम्मा दिँदा के फरक पर्छ ?

अहिले आइल्यान्डमा निर्माता कम्पनीले विज्ञापन राख्नेगरी राखेका छन् नि, त्यस्तै लाइटकै छेउमा विज्ञापन राख्न दिँदा बैङ्क, सङ्घसंस्था धेरैले बनाइदिन्छन् । एउटा चोकको लाइट बनाउन बढीमा २५ लाख लाग्ने लागत अनुमान गरिएको छ । अनि एउटा चोकमा जसले बनाउँछ उसलाई पाँच वर्षका लागि विज्ञापन अधिकार दिए हुँदैन ? सौजन्यमा आइल्यान्ड राख्न मिल्ने अनि लाइट राख्न किन नमिल्ने ?

२०२३ सालमा काठमाडौँको सडकमा पहिलो पटक ट्राफिक लाइटको प्रयोग भएको थियो । अहिले वृद्धि हुनुपर्नेमा झन् ठप्प भएको छ । अन्य देशमा विकास हुँदै जान्छ हाम्रोमा उल्टो विनाश भएको छ ।

अहिलेको आधुनिक प्रविधियुक्त जनामाना पनि हातले ट्राफिक व्यवस्थापन गर्नु भनेको हाँस्यास्पद हो । १२ लाख सवारी चल्ने र ४० लाख बसोबास गर्ने ठाउँमा हातले ट्राफिक व्यवस्थापन सम्भव हुने कुरै हैन, त्यसैले ट्राफिक लाइट काठमाडौँ उपत्यकाको जाम व्यवस्थापनका लागि अनिवार्य शर्त जस्तै भइसकेको छ ।

अहिले एकजना ट्राफिक प्रहरीले १ दशमलव ४६ किलोमिटर सडक हेर्नुपर्छ, ९ सय सवारी व्यवस्थापन गर्नुपर्छ । स्मार्ट लाइट बनेपछि ट्राफिक प्रहरीको थाप्लोमा थोपरिएको डरलाग्दो बोझ स्वतः घटछ ।

उपत्यकाको ट्राफिक जामको अर्को कारण भीआईपी मुभमेन्ट पनि रहेको छ । अब भीआईपी र भीभीआईपीहरूले छोटो बाटो प्रयोग गर्नुपर्छ । साँघुरो र धेरै गाडी नचल्ने बाटो भीआईपीले प्रयोग गरौँ, किन उहाँहरूले व्यस्त र ठूलो बाटो नै प्रयोग गर्नुपर्ने ?

भीआईपी सवारी हुँदा दुवै लेन खाली नगरी एक लेन मात्र चलाउने सिस्टम लागू गरेमा केही हदसम्म जाम कन्ट्रोल गर्न सकिन्छ ।

ट्राफिक प्रहरीले निर्माण गरेको ‘ट्राफिक एप्स’ प्रभावकारी हुन सकेको छैन । जनताले ट्राफिक एप्स हेरेर जाम कहाँ के छ, घरबाटै थाहा पाउनुपर्छ ।

ट्राफिक लाइट बल्न थालेपछि उपत्यकाको करिब ६० प्रतिशत जामको समस्या स्वतः समाधान हुन्छ । अब नयाँ बानेश्वर र कोटेश्वरमा आकाशे पुल निर्माण गर्न हतार भइसकेको छ । सरकारले बानेश्वर र कोटेश्वरमा अहिले पुरानो बसपार्कमा भएजस्तो अस्थायी पुल मात्रै भए पनि तत्काल राख्नुपर्छ ।

 जुलुस–र्याली निकाल्ने समय फेरौँ, ट्राफिकलाई तालिम खोई ?

ट्राफिक प्रहरीको ट्रेनिङ र कार्यरूप अझै सुधार गर्न जरुरी देखिन्छ । निजामती तथा अन्य सङ्घसंस्थाका कर्मचारीहरूलाई विदेशमा ट्रेनिङ गर्न पठाइन्छ तर ट्राफिक व्यवस्थापनका लागि अति आवश्यक पर्ने तालिन लिने अवसर ट्राफिक प्रहरीले पाउन सकेका छैनन् ।

बाध्यतावस ट्राफिक प्रहरीलाई सामान्य ट्रेनिङ गराएर काँचो मान्छे ट्राफिक व्यवस्थापनका लागि काठमाडौँमा खटाइएको छ । फिल्डलाई नै तालिम केन्द्र बनाएरपछि जाम नियन्त्रण गर्न गाह्रो हुन्छ ।

ट्राफिक प्रहरीलाई प्रविधिमार्फत (स्मार्ट लाइट र सीसीटीभी) मार्फत ट्राफिक व्यवस्थापन गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

अब हामीले जुलुस– र्याली निकाल्ने समय परिवर्तन गर्नुपर्छ । सडकमा हुने धर्ना, जुलुस लगायतका कार्यक्रम बिहान ९ बजे अगाडि नै सक्नुपर्छ भनेर राज्यले सर्वदलीय सहमती गराउनुपर्छ ।

पिक आवरमा जुलुस र र्याली गरिन्छ । अनि ५० वर्ष अघिदेखिका चाडपर्वहरू सडकमै मनाइन्छ, जसको कारण ट्राफिक जाम भएको छ । पहिले–पहिले भक्तपुरबाट वसन्तपुरमा लिङ्गो ल्याउँदा गाडी नै हुँदैन थियो रे, अलि अलि २०–५० वटा हुन्थ्यो । त्यतिबेला बीच सडकबाट ल्याउने लिङ्गो अहिले १२ लाख गाडी पुग्दा पनि बीच सडकबाट नै ल्याउने काम भइरहेको छ । लिङ्गो तान्ने कार्य अब बिहान–बेलुकमा मात्र गर्न दिनुपर्छ । राति सुरक्षा दिऊँ राति तानौँ, बिहान तानौँ ।

उपत्यकाको अफिस टाइम पनि परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस हुँदै गएको छ । हाम्रोमा अहिले सबै कार्यालयहरू १० बजे खुलेर ५ बजे बन्द हुन्छ । तर अबका दिनमा दुई भागमा विभाजन गरेर एकथरी कार्यालय ९ बजे इन हुने अनि अर्को १० बजे इन हुने कार्यालय समय निर्धारण गर्नुपर्छ ।

बीच बाटोमा गरिने सडक महोत्सवलाई पनि सरकारले गर्न दिनु हुँदैन । खुल्लामञ्चमा गरिने नयाँ–नयाँ पर्वहरू र म्युजिक फेस्टिबल गर्न रोक लगाउनुपर्छ । त्यहाँको सट्टा बानेश्वरको तिनकुने, गौशलाको सिफलचौर, बल्खु, कीर्तिपुर, सल्लाघारीस्थित तीनकुने र ललितपुरको च्यासल मैदानलाई विकल्पका रूपमा अगाडि सार्नुपर्छ । 

भर्खरै सम्पन्न ल्होसार पर्वमा ५० हजार बढी मानिसहरू सहभागी हुँदा रत्नपार्क क्षेत्रमा एम्बुलेन्ससमेत दुई घण्टा जाममा परेको थियो ।

अहिले सबैभन्दा बढी ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल र सार्वजनिक सवारी साधनले हो । जहाँ मन लाग्यो त्यहीँ छिर्ने मोटरसाइकललाई कडाइपूवर्क लेन अनुशासनमा बाँध्न सक्नुपर्छ ।

अर्को कुरा, सवारी चालक अनुमतिपत्र लिनुभन्दा एक हप्ताअघि ट्राफिक सचेतना कक्षा लिने व्यवस्था अनिवार्य गर्नुपर्छ । हातमा लाइसेन्स छ तर ट्राफिक नियमसम्बन्धी जानकारी नै छैन, त्यस्तो अवस्थाको अन्त्य गर्नुपर्छ ।

हामी विवाह गर्छौं अनि बीच सडकमा बाजा बजाएर नाच्न थाल्छौँ । सडकमा ब्यान्डबाजा ठोकेर नाच्दै गर्दा पछाडि कत्ति जाम भएको छ कहिल्यै हेर्दैनौँ, त्यसका लागि जनता आफै सचेत हुनुपर्छ । सडक प्रयोगकर्तामा ज्ञानको कमी छ, राज्यले सडक सचेतना अभियान देशव्यापी बनाउनुपर्छ ।

उपत्यकाको अफिस टाइम पनि परिवर्तन गर्नुपर्ने आवश्यकता महसुस हुँदै गएको छ । हाम्रोमा अहिले सबै कार्यालयहरू १० बजे खुलेर ५ बजे बन्द हुन्छ । तर अबका दिनमा दुई भागमा विभाजन गरेर एकथरी कार्यालय ९ बजे इन हुने अनि अर्को १० बजे इन हुने कार्यालय समय निर्धारण गर्नुपर्छ ।

 अवैज्ञानिक रूपमा विस्तारित चक्रपथ

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनको चर्चा गर्दा कोटेश्वर–कलङ्की विस्तारित चक्रपथको पनि चर्चा गर्नु सान्दर्भिक हुनेछ । विस्तारित चक्रपथमा सडक ठूलो बनेको छ तर अवैज्ञानिक सडकले थप दुर्घटनालाई निम्ता दिएको छ ।

चीन सरकारले अर्बौं लगानी गरेर बनाएको विस्तारित चक्रपथस्थित सातदोबाटोमा सार्वजनिक सवारी रोक्ने ठाउँ छैन । सातदोबाटो सेन्टर प्वाइन्ट हो, जहाँ प्रतिमिनेट १२५ वटा गाडीहरू चल्छन् तर ग्वार्कोबाट गएको बसको स्टप त्यहाँ छैन ।

ग्वार्कोस्थित बी एन्ड बी हस्पिटल अगाडि आकाशे पुल छ । त्यसपछि सिधै सातदोबाटो नपुगी जेब्राक्रस देखिँदैन । सातदोबाटोबाट एकैपटक एकान्तकुनामा मात्र जेब्राक्रस राखिएको छ । अब बीचमा चापागाउँ दोबाटोतर्फ क्रस हुनुपर्ने मान्छेले कहाँबाट बाटो काट्ने ?

बागडोल सालिक नजिकै आकाशे पुल छ, त्यो आकाशे पुल ठूलो छ । बूढाबूढी चढ्न नसक्ने, सिन हेर्न मिल्ने खालको छ । त्यसपछि सानेपा एरियको व्यस्त ठाउँमा पुल, जेब्राक्रस केही छैन । बागडोलबाट एकैपटक बल्खु चोकमा जेब्राक्रस राखिएको छ ।

४४ वर्षअघि त्यो रिङरोड थियो, अहिले त सहर भइसक्यो । दुवैतर्फ घना बस्ती बसेको छ । तर विस्तारित चक्रपथ हाइवे स्टाइलले विस्तार गरिएको छ । घना बस्तीमा हाइवे बनाएर हुन्छ ? त्यसैले विस्तारित चक्रपथ अवैज्ञानिक छ, जहाँ आजभोलि दैनिक ‘हिट एन्ड रन’का केसहरू बढिरहेका छन् । 

विस्तारित चक्रपथमा पनि ट्राफिक लाइट राखिएको छैन । सर्भिस ट्र्याकबाट आउने सवारी चालकले ट्राफिकको हात देख्न सक्दैन ।

अर्को कुरा, दायाँ मोड््ने ठाउँमा तीन लेनको सङ्केत  हुनुपर्छ । तर सातदोबाटोबाट लगनखेलतर्फ जान दायाँ मोड्ने बेलामा दुई लेन मात्र छ । सीधा जाने गाडी जान पायो तर दायाँ मोड्न कानुन बमोजिम मिल्दैन ।

बल्खुबाट आउने खोला छेउमा र बालकुमारीबाट निस्कने बाटो बन्द गरिएको छ । कुपण्डोलबाट बल्खु पुग्ने बाटो नै बन्द छ अनि करिडोर बनाएको के मतलव भयो ?

राति बाटो काट्दा धेरै मान्छेको मृत्यु भइसकेको छ । सडक लाइट नभएका कारण यस्तो समस्या देखा परेको हो । १२० फिटको चौडा बाटो छ, अन्धकारमा कता मात्र हेर्ने, अनि तीव्र गतिमा आउने सवारीले ठक्कर दिएर भाग्छ । डिभाइडर छैन । बीचमा डीआईडर पनि राख्नुपर्ने देखिन्छ ।

काठमाडौँ उपत्यकामा अन्य देशको तुलनामा धेरै ठूलो ट्राफिक जाम त छैन् तर ट्राफिक व्यवस्थापन बारे समयमै नसोचेमा हामी दस मिनेटमा हिँडेर पुग्ने बाटो सवारी साधनमार्फत जाँदा एक घण्टा लाग्ने दिन आउन धेरै समय कुनुपर्दैन !

(अवकास प्राप्त प्रहरी निरीक्षक हाछेथुसँग रातोपाटीकर्मी राजेश भण्डारीले गरेको कुराकानीमा आधारित । हाछेथुले ट्राफिक व्यवस्थापनमा २९ वर्ष काम गरेका छन् ।)

यो पनि पढ्नुहोस्

काठमाडौंको भयावह ट्राफिक जाम : व्यवस्थापन गर्ने कसरी ?

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ