केन्द्रीय संस्करण
अफ्रिकी लोककथा

अफ्रिकी लोककथा : बाँदरको घर

person explore access_timeफागुन २०, २०७५ chat_bubble_outline0
www.monkeyworlds.com

पुरानो समयको कुरा हो । त्यसताका जंङ्गलमा बाँदरहरुको एउटै मात्र परिवार थियो, सबै बाँदर एकै ठाउँमा बस्थे । मिलेर काम गर्थे । आफ्नो लागि खाना खोज्ने कामचाहिँ आफआफै गर्थे ।

बाँदरको यस विशाल परिवारमा एक जना नेता बाँदर हुन्थ्यो । यस्तो नेता आफैं बन्ने होइन, चुनावबाट बनाइन्थ्यो । बाँदरका बथानमा सवैभन्दा असल र बुद्धिमान् बुढा बाँदरमध्येबाट नेता चुनिन्थ्यो । नेता वाँदरलाई अरु सवै बाँदरले आदर गर्थे । सभामा नेता बाँदर केही भन्न उठेपछि बाँकी सबै बाँदर चुपचाप लागेर सुन्थे । छलफलमा भाग लिन्थे । आआफ्ना कुरा राख्थे । सवैका कुरा सुनेपछि निक्कै बेर गमेर नेता बाँदरले निर्णय सुनाउँथ्यो । नेताले सुनाएको निर्णय सवैले ताली ताली बजाएर स्वीकार गर्थे ।

एक साँझ बाँदरहरु दिनभरीको काम सकेर घर फर्कँदै थिए । नेता बाँदर चौतारीका ढुंगामाथि गयो र दुई खुट्टाले टेकेर ठिंङ्गग उभियो ।  यसरी उभिनु भनेको केही जरुरी कुरा गर्नु छ भन्ने संङ्केत दिनु हुन्थ्यो । सङ्केत बुझेर बाँदरहरु चौतारीको चारैतिर झुरुम्म जम्मा भए । बच्चा बाँदरहरु यताउति चल्दै उफ्रँदै थिए । प्रौढ बाँदरहरु सावधान भएर कुरा सुन्न धुरिएका देखेपछि नेता बाँदरले भन्यो, “आज म एउटा अत्यन्त जरुरी कुरा भन्दैछु । यो म आफैंले पनि देखेभोगेर जानेको कुरा हो । तपाइँहरुलाई पनि थाहा छ— हामी बाँदरलाई एकछिन आराम छैन । बर्सेनी यो जाडो गर्मी र बर्सातसित लाप्पा खेल्दाखेल्दै हामी जति बुढा भयौँ भयौँ । तपाइँहरु अझै तन्नेरी हुनुहुन्छ  । तपाइँहरुलाई पनि थाहा छ हामी बाँदरसित एकछिन घुस्रने र जाडो छल्ने ठाउँ छैन । पानी पर्दा ओतिने ठाउँ छैन । हाम्रो आफ्नो घर छैन । घर नहुनु ठुलो दुःखको कुरा हो । यसैले अव हाम्रो पनि घर हुनुपर्‍यो । हामी मानिसहरुबाट घर बनाउने सिप सिकौं र घर बनाऔं ।”

नेताका कुराले सवै बाँदरको मन छोयो । एक जना ढेडूले अदबसाथ उठेर सोध्यो, “घर बनाउन अब हामीले के गर्नुपर्ला त ?”

“सुन्नुहोस् म सवै कुरा भन्छु” भन्दै नेता बाँदरले भन्यो, “हाम्रो घर पनि मानिसको घरजस्तै हुनुपर्छ । सके अझ राम्रो हुनुपर्छ । ठुलो हुनुपर्छ । हामी सबै मिलेर सवै बाँदर अटाउने ठुलो, राम्रो र सजिलो घर बनाउनुपर्छ । घर बनेपछि हामी घामपानी छल्न आफ्नै घरमा बस्न पाउँछौं । राति न्यानोसँग निर्धक्क सुत्न पाउँछौं ।”

“यति भनेर बुढो बाँदर चुप लाग्यो । कतै कसैले केही नयाँ सल्लाह दिन्छ कि भनेर चारैतिर आँखा घुमायो । कतैबाट कसैले केही नभनेपछि आफैंले भन्यो, ”घरबास नहुनु साह्रै ठुलो दुःख हो, अजङ्गको समस्या हो । मैले यो उमेरमा आएर यही बुझेँ । तपाइँहरुलाई मेरो विचार कस्तो लाग्यो ?“

“मलाई यो कुरा साह्रै राम्रो लाग्यो । बरु हामी हाम्रो घर बनाउन कहिलेबाट थाल्ने ? आजैबाट थाल्ने कि ?” एक जना जवान बाँदरले सोध्यो ।

बुढा बाँदर उत्साहसाथ दुई खुट्टामा उभियो । अनुहार हँसिलो बनायो र आँखा झिमझिम पार्दै भन्यो, “योजना बनाएर भोलिबाटै थालौं न हुन्न ?”

“हुन्छ !” सबै बाँदरले ताली बजाए । खुसीले गद्गद् हुँदै रमाउँदै आपसमा भने, “अहा ! भोलिदेखि हाम्रो पनि आफ्नै घर !!”

सभा सकियो । बाँदरहरु सधैंझैं आआफ्नो बासतिर लागे । ‘भोलिबाट घर !’ भन्ने कुरा सवैका दिलदिमागमा खेलिरहेको थियो ।

बिहान भयो । बाँदरहरु सल्लाह गर्न चौतारीमा पुगे । एक एक बाँदर घर बनाउने काम थाल्न तैयार भयो । कसले के काम गर्ने ? पहिले यसको निक्र्यौल गर्नुपर्ने थियो । काम जिम्मा लगाउँदै जाँन त्यहाँ एक जना ढेडू र उसकी श्रीमती उपस्थित भेटिएनन् । कामको जिम्मा दिन तिनीहरुलाई पनि पर्खनुपर्ने निर्णय भयो । तत्काल काम थाल्न पाइएन । धेरै बेर पर्खेपछि ढेडू र उसकी श्रीमती पनि आइपुगे ।

“तपाइँहरु समयमै किन नआउनुभएको ? हामीले धेरै बेर पर्खनुपर्‍यो नि !” एक जना युवा बाँदरले सोध्यो । नसोधी उसलाई चित्तै बुझेन ।

युवालाई चुप लाग्न संकेत गर्दै बुढो बाँदरले भन्यो, “पहिले वहाँहरुलाई आरामसँग बस्न दिनुहोस् । अनि यो ढिला हुनुको कारण के हो त्यसबारे जानकारी लिउँला । हेर्नुस् एक रात भनेको धेरै लामो समय हो । रातभरीमा कहाँ के हुन्छ कसलाई के समस्या पर्छ नबुझी त्यसै भन्न सकिँदैन ।”

यतिभन्दै बुढा बाँदरले ढेडू बाँदरतिर फर्केर सोध्यो, “तपाइँलाई के समस्या पर्‍यो र समयमा उपस्थित हुन सक्नुभएन भाइ ? तपाइँलाई हाम्रो बथानको नियम त थाहै छ, हामीमध्ये एक जना अनुपस्थित भयो भने पनि महत्वपूर्ण निर्णय गर्दैनौं । निर्णयमा सवैको सहमति होस्, कसैको केही गुनासो नरहोस् भनेर हामी यसो गर्छौं । हैन र ?”

हो, थाहा छ । हामी पनि समयमै आउन चाहन्थ्यौं । आज बिहानीपख अचानक हाम्रो सानो छोरा बिरामी पर्‍यो । उसलाई एक गोलो राता कमिलाले टोकेछन् । जिउभरी टोकेछन् । हामीले उसलाई सुतेको ठाउँबाट अन्यत्र सार्‍यौं । कमिलाहरु त्यहाँ पनि धुरिएर आए र टोके । बालक छोरो आत्तिएर रुन थाल्यो । कमिलाहरु यसको जिउभरी फैलिएर मच्चीमच्ची टोकिरहेका थिए । छोरो ऐया आत्था भन्दै छटपटाइरहेको थियो । हामी उसको जिउमा पसेका एक एक कमिला टिपेर फ्याँक्न थाल्यौं । यसमा समय लाग्यो । हेर्नुस् न बिचराको सुन्निएको अनुहार । अहिलेसम्म पनि बसेको छैन । यसलाई निको हुन अझै कति समय लाग्ने हो थाहा छैन । आज हामी ढिला हुनुको कारण यही हो काका !”

बुढा बाँदरले सहानुभूतिका साथ फुच्चे बाँदरको सुन्निएको अनुहारतिर हेर्‍यो । त्यसपछि उ पुनः बैठकलाई सम्बोधन गर्न थाल्यो, “आज समय निक्कै गयो । हाम्रो काम धेरै छ । हामीले तत्काल काम थालेनौं भने भ्याउन गाह्रो पर्छ । मेरो विचारमा हामी अव फेरि भोलि बिहान सबेरै यहीँ यसैगरी जम्मा होऔं । हाम्रा व्यक्तिगत काम केही छन् भने ती सवै आजै सकौं । भोलिबाट हामीले हाम्रो घर बनाउने काममा लाग्नुपर्छ ।”

सम्बोधनपछि बैठक सकियो । बाँदरहरु कस्सिएर आआफ्ना काममा लागे । कामदेखि बाससम्म जहाँ पनि बाँदरहरु घर बनाउने कुरा नै गरिरहेका सुनिन्थे । ‘भोलिबाट घर.....भोलिबाट घर...!’ प्रत्येक बाँदरका मनमथिंङ्गलमा घरकै सपना नाचिरह्यो । एक एक बाँदर कतिबेला भोलि होला र हाम्रो बन्न थाल्ला भन्नेमा नै हतारिइरहेको थियो ।

फेरि बिहान भयो । बाँदरहरु ब्यूझे । ब्यूझँदा बाँदर सवै भोका थिए । बासमा खाने कुरा थिएन । पहिलो काम भोक मेटाउनु नै थियो । बाँदरहरु खानाको खोजमा यताउता लागे । दिन छिप्पिँदै गयो । त्यस दिन भोक मेटाउन पुग्ने खाना पाइएन । बिचरा बाँदरहरुले एकाध गाँसका भरमा रात काटे । अव भोलि कहाँ जाने के गर्ने कुनै निदो थिएन ।

रात गयो । फेरि अर्को बिहान आयो । बुढो बाँदर समयमै बैठक बस्ने ठाउँमा पुग्यो । उ पुग्दा त्यहाँ अरु कोही पुगेको थिएन । हेर्दा परबाट पनि कुनै बाँदर त्यता आइरहेको देखिएन । निदाएकाहरु ब्युँझुन् र आउन लागेकाहरु छिटो आउन् भन्ने सोचेर बुढो बाँदर च्यार्रच्यार्र करायो । कतै कोही देखिएनन् । बुढा बाँदरलाई लाग्यो, सबै बाँदरहरु आफ्ना बालक छोराछोरीका लागि खाना खोज्नतिर लागेका होलान् । छिट्टै आउलान् ।

केही घण्टापटि एक हुल बाँदरहरु मुन्टो निहुराउँदै आए । बुढो बाँदरले सोच्यो, बैठकमा ढिलो आएका हुनाले यिनीहरु यसरी डराएकाछन् । यस्तो स्थितिमा अव यो घर बनाउने कामको बाँडफाँड तुरन्त गर्नुपर्छ । बुढो बाँदर सोच्दै थियो, एउटा बाँदरले प्वाक्कै भन्यो, “हेर्नुस् न, आज हामी सवै बाँदर दानापानीको खोजमा निस्केका थियौँ, फर्कंदा त्यहाँ बाटोमा पर्ने एक जना मानिसको खेतमा चोर्न पस्यौं । धेरै चिजहरु भ्ेटिए । कसैले बदाम कसैले केरा, कसैले मकै, कसैले सखरखण्ड, कसैले उखु कसैले तरुल खूब खाइयो । खाइसकेर हामी निस्कँदै थियौँ हामीमध्ये एक जनालाई अचानक एउटा तीर लाग्यो । उ तत्काल त्यहीं ढल्यो । उठ्नै सकेन ।”

आफ्नो बथानमा एक जना बाँदर ढलेको सुनेर बुढो बाँदर दुःखित भयो । ‘यस्तो दुःखद घटना घटित भएका दिन घर बनाउने काम कसरी शुरु गर्नु ?’ उसले सोच्यो, ‘आज त शोक मनाउनुपर्छ !’ उसले त्यस दिन शोक मनाउने घोषणा गर्दै भन्यो, “ल अव भोलि बिहानसम्मका लागि हाम्रो घर बनाउने काम स्थगित !”

बाँदरहरु आज पनि दुःखी मन लिएर आफआफ्ना बासतिर फर्के । त्यसदिनपछि जब जब घर बनाउन थाल्ने दिनको निदो गरिन्छ, बिहान उठेर प्रत्येक बाँदर खाने कुराको खोजीमा यताउति दगुर्नथाल्छ । पहिले आफ्नो काम सकूँ अनि साझा काममा जाउँला भन्ने सोचले बाँदरहरु यस्तो गरिरहन्छन् । बथानको नियमअनुसार जति बेला बैठकमा जम्मा हुनुपर्ने हुन्छ र काम थाल्नुपर्ने हुन्छ त्यति बेला बाँदरहरु भोकाएर कुनै न कुनै मानिसको खेतबारी र बगैँचामा पसेर चोरिरहेका हुन्छन् । चोरीको यो दौडधूपमा बथानको एउटा न एउटा बाँदरलाई चोट लाग्छ, बिरामी हुन्छ र मर्छ ।  बाँदर बथानले एउटा न एउटा सदस्य गुमाइरहेको हुन्छ । अनि बाँदरबथानले शोक मनाउन परिदिन्छ । अनि घर बनाउने कुरा त्यस दिन पनि रोकिन्छ ।

यसरी उहिल्यैको चौतारीबेठकका दिनदेखि आजसम्म पनि बाँदरहरुले घर बनाउने काम थाल्नसकेका छैनन् । घर भन्ने कुरा बाँदरका लागि सपना मात्र बन्दै आएको छ । यही देखेर मानिसहरु भन्छन् “आजको काम भोलिलाई राख्ने र भोलि पूरा गरौंला नि भन्ने चलन बाँदरहरुको चलन हो । हामीले आजको काम आजै पूरा गर्ने बानी बनाउनुपर्छ । आजको काम भोलिलाई थाती राख्नहुँदैन । भोलिको के ठेगान । भोलि के हुन्छ के ?”

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ