शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् दोहोरो सुविधा लिने गुल्मीका जनप्रतिनिधी

सोमबार, २० फागुन २०७५, १६ : २४
सोमबार, २० फागुन २०७५

बुटवल–जनताको सेवा गर्ने भन्दै निर्वाचित भएका गुल्मीका स्थानीय जनप्रतिनिधीहरुले दोहोरो सुविधा लिई राज्यकोषको दोहन गरेको खुलासा भएको छ । 

जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष भरतलाल थापा पूर्व निजामती कर्मचारी पनि हुन् । उनी हाल नेपाल सरकारकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिँदै आएका छन् । 

यस्तै सोही गाउँपालिकाका वडा नं.६ हरेवाका वडा अध्यक्ष गोकर्ण प्रसाद शर्मा पूर्व शिक्षक हुन् । उनले पनि नेपाल सरकारबाट शिक्षकबापतको पेन्सन र गाउँपालिकाबाट वडाध्यक्षको मासिक २० हजार तलब लिँदै आएको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी बसन्त रावतले जानकारी दिए । 

यस्तै रेसुंगा नगरपालिका वडा नं. ११ र १२ का वडा अध्यक्षहरु खुमबहादुर राना र कुल बहादुर टण्डन नेपाली सेनाका पेन्सनर हुन्  । उनीहरु दुवैले पेन्सन र वडाध्यक्षले पाउने मासिक २५ हजार रुपैयाँ सुविधा लिँदै आएका छन् । 

२०७४ साल साउनदेखि २०७५ साल पुस मसान्तसम्मको मासिक २५ हजारका दरले सुविधा लिइरहेको रेसुंगा नगरपालिका र चन्द्रकोट गाउँपालिकाको लेखा शाखाले जानएको छ । चारैजना वडाध्यक्षहरुले आफूहरुलाई कानुनी ज्ञान नरहेकोले दोहोरो सुविधा लिएको स्वीकार गरेका छन् । 

५ नं प्रदेशले बनाएको कानुनको उल्लङघन गर्दै उनीहरुले दोहोरो सुविधा लिएको स्पस्ट भएको छ । प्रदेश सरकारले बनाएको कानुनमा निवृत्तिभरण पाउनेको हकमा उपलब्ध हुने हकको सुविधामाः नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सेवाबाट अबकास लिइ यस्तो सरकार वा तहबाट निवृत्तिभरण पाइरहेको कुनै व्यक्ति वा पदाधिकारी, सदस्य वा सभासदस्य निर्वाचित भएमा त्यस्तो व्यक्तिले दफा ३ बमोजिम मासिक सुविधा वा निवृत्तिभरणमध्ये कुनै एक मात्र सेवा लिन पाउने व्यवसथा छ । 

तर रेसुंगा नगरपालिकाले भने २ मध्ये एकबाट सेवा रोक्का गरिएको आधिकारीक पत्र नआएसम्म आफूहरुलाई आधिकारीक नहुने दाबी गरेको छ । यता प्रदेश  नं ५ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज अर्चायले एउटा काम गर्ने तर २ वटाको सुविधा लिने अधिकार कसैलाई नभएको भन्दै उनीहरुलाई कानुन अनुसार कारवाही हुने दाबी गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप