शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गाँजा : लागू पदार्थ मात्रै हैन, प्रयोग गर्न जाने औषधि पनि

सोमबार, २० फागुन २०७५, १३ : २२
सोमबार, २० फागुन २०७५

आज महाशिवरात्री । शिवरात्री भन्नेबित्तिकै सबैले सम्झने कुरामा गाँजा पनि पर्छ । विशेष गरेर यस दिन शिव प्रसादको रुपमा गाँजालाई प्रयोग गरेको पाइन्छ । तर पछिल्लो समय शिवजीको प्रसादको रुपमा गाँजालाई लिए पनि गाँजाको दुरुपयोग भने धेरै भइरहेको छ । नेपाल गाँजा खेतीको प्रचुर सम्भावना भएको देश हो । तर गाँजा लागू औषधमा पर्ने भएको हुँदा विभिन्न जिल्लामा लगाईएको गाँजाखेतीलाई सरकारले नष्ट गर्ने गरेको छ ।

गाँजाको सदुपयोग भन्दा धेरै दुरुपयोग गरिएको हुँदा पनि नेपालमा गाँजा खेतीलाई सकारात्मक रुपमा प्रयोग गर्न सकिएन । तर गाँजालाई नेपालमा परम्परादेखि नै आयूर्वेदिक औषधीको रुपमा प्रयोग हुँदै आएको छ । अन्य देशहरुमा गाँजालाई क्यान्सरको औषधीको रुपमा पनि प्रयोग गरिन्छ र गर्न सकिन्छ भन्दै आईरहेका छन् । नेपालीको परम्परागत ज्ञान धेरै देशहरुले अपनाउन थालिसके । यस्तै भारतमा बाबा रामदेवको कम्पनीले गाँजाजन्य औषधीका बारेमा अध्ययन अनुसन्धान थालेको छ । भारतमा पनि गाँजा प्रतिबन्धित छ । तर औद्योगिक व्यबसायको लागि इजाजत लिएर उत्पापदन गर्न सक्ने व्यबस्था छ ।

प्रतिबन्ध लगाउनुभन्दा पहिला नेपालमा पनि आयूर्वेदिक औषधिमा गाँजाको प्रयोग हुने गथ्र्यो । तर आजभोलि आयुर्वेदिक औषधिमा गाँजाको प्रयोग रोकिएको स्थिति छ ।

आयुर्वेदका अनुसार  गाँजालाई दुखाई कम गर्ने , श्वासप्रश्वास, दम, खोकी, पाचन प्रक्रिया सम्बन्धी समस्याहरुमा औषधिको रुपमा गाँजाको प्रयोग गर्न सकिन्छ । नेपालमा पनि सोही अनुसार औषधिमा गाँजा निश्चित मात्रामा राख्ने गरिन्थ्यो भन्ने कुरा जानकारहरु बताउँदछन् ।

 गाँजाले निम्त्याउँछ मानसिक समस्या

नेपालका केही आयुर्वेदिक औषधि उत्पादकहरुले गाँजालाई औषधिको रुपमा प्रयोग गर्न सकिने जनाएका छन् । तर गाँजालाई प्रयोग भन्दा पनि दुरुपयोग गरेको हुँदा अहिले प्रसादको रुपमा प्रयोग गरिने गाँजाले महिनाँैसम्म मानसिक रुपमा समस्या हुने डाक्टर छितिज बराकोटी बताउँछन् ।

उनका अनुसार गाँजाको मात्रा नमिल्दा लामो समयसम्म रिगंटा लाग्ने, हुत्याएको जस्तो महशुस हुन्छ । कतिपय समस्याहरुमा गाँजालाई औषधिको रुपमा प्रयोग गर्न सकिने भए पनि मात्रा मिलाउन नसक्दा धेरै हदसम्म स्वास्थ्यलाई वेफाइदा हुने डा. बराकोटीको भनाइ छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बिनाआधार गाँजाको फाइदा बेफाइदाको बारेमा भन्न नसके पनि धेरै हदसम्म त्यसले स्वास्थ्यमा असर गर्ने बताउँछन ।

उनी भन्छन् ‘गाँजा खाएपछि मान्छेलाई आनन्द महसुस हुन्छ जसले गर्दा शरीरलाई पीडा भइरहेको समयमा गाँजालाई प्रयोग गर्नुपर्छ भन्नेहरुको जमात अझै नेपालमा छन् तर स्वास्थ्यको हृष्टिकोर्णले हेर्ने हो भने गाँजाले धेरै हदसम्म वेफाइदा नै गर्छ ।’

पुनका अनुसार मादक पदार्थ थोरै खादा स्वास्थ्यको लागि फाइदाजनक हो भने जस्तै गाँजा निश्चित मात्रामा खाँदा स्वास्थ्यको लागि फाइदा नै गर्छ भन्ने मानिन्छ । पिडाको बेलामा गाँजा प्रयोग गर्दा केही हदसम्म आराम महसूस भए पनि धेरै मात्रामा वा लामो समयसम्म त्यसको प्रयोग गर्दा त्यस्ता व्यक्तिमा मानसिक समस्यासँगै भ्रम सिर्जना हुने जस्ता विभिन्न समस्याहरु निम्त्याउँछ ।

एलोपेथिक्समा पनि केही वर्ष पहिला खोकी लाग्दा खाने औषधिले बिरामीलाई निद्रा लाग्ने, झुम्म हुने समस्याहरु हुन्थ्यो जसले गर्दा बजारमा लागू औषध नपाउँदा धेरै युवाहरुले त्यो औषधिलाई लागू पदार्थको रुपमा खान थालेपछि त्यस्ता औषधिलाई प्रतिबन्ध लगाइएको डाक्टर पुन बताउँछन् । गाँजाको फाइदा बेफाइदा भए पनि धेरै हदसम्म गाँजा प्रयोग नगर्दा नै स्वास्थ्यको लागि राम्रो हुने डा. पुनको भनाइ छ ।

गाँजा आयुर्वेद औषधिमा रोक

गाँजालाई नेपालमा परम्परागत रुपमा लामो समयदेखि प्रयोग गर्दै आइरहेको छ । जसले गर्दा नेपालमा उत्पादन हुने आयुर्वेद औषधिमा पनि प्रयोग गरिन्थ्यो ।

तर पछिल्लो समय नेपालमा आयुर्वेद औषधिमा गाँजा प्रतिबन्ध लगाइएको आयुर्वेदसम्बन्धी औषधि उत्पादन गर्ने सिंहदरबार वैद्य खाना विकास समितिका निमित्त कार्यालय प्रमुख डाक्टर हरिदेव यादवले बताए ।

अहिले १ सय १० प्रकारको औषधि उत्पादन गर्दै आएको सिंहदरबार वैद्यखानाले उत्पादन गर्ने औषधिमा गाँजाको प्रयोगमा रोक लगाइएको छ ।

एक व्यक्तिले ६० देखि १ सय २५ एमजि सम्म गाँजा खाँदा स्वास्थ्यको लागि फाइदा हुने यादवले बताउँछन् । श्वासप्रश्वास, दम, खोकी, दुखाइ कम गर्ने, पाचन प्रणाली सहज बनाउनेलगायतको औषधिमा गाँजा प्रयोग गरिन्थ्यो । तर सरकारले गाँजा औषधिमा प्रयोग गर्न प्रतिबन्ध लगाएको हुँदा अहिले कुनै पनि औषधिमा गाँजा प्रयोग गरिएको छैन । लागू औषध (नियन्त्रण) ऐन २०३३ दफा ४ (क) ले गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न बिक्री–बितरण गर्न निकासी वा पैठारी गर्न, ओसार–प्रसार गर्न, संचय गर्न वा सेवन गर्न पाउने छैन भन्ने व्यबस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप