शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भुसको आगो बन्दै हिन्दू राष्ट्रको मुद्दा : काँग्रेसले भन्योे ‘धर्मनिरपेक्षता उपलब्धि मात्र !’

सोमबार, २० फागुन २०७५, १२ : १३
सोमबार, २० फागुन २०७५

पछिल्लो समय नेपालमा हिन्दू राष्ट्रको विषय पेचिलो बन्दै जाने सङ्केत देखिएको छ । यस विषयलाई कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन १५ गतेदेखि देशभर ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सञ्चालन नै गरेको छ ।

स्वाभिमान यात्रामा राष्ट्रियता, सनातन धर्म र एकता झल्काउने सामग्रीहरू प्रदर्शन गरिएका छन् । राप्रपाले फागुन ७ गते नै हिन्दू राष्ट्र पुनस्र्थापनासहित २१ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र नै बुझाइसकेको छ । सुदूरपूर्व हुँदै तराईका विभिन्न जिल्ला घुमेर फागुन ३० गते काठमाडौँ आई मेची–महाकाली यात्रा समापन गर्ने राप्रपाले जनाएको छ ।

२ हजार ८ सय १० किलोमिटर दूरी यात्राका क्रममा विभिन्न स्थानमा २ सयभन्दा बढी सभा गरिने बताएको राप्रपाले  सडक आन्दोलनबाटै हिन्दू राष्ट्र पुनस्र्थापना गर्ने उद्घोष गरेको छ ।

सोही अभियानका क्रममा शुक्रबार मोरङको उर्लाबारीमा राप्रपाका अध्यक्ष थापाले संसदमा आफ्नो पार्टीको बहुमत नरहेका भन्दै सडक आन्दोलनबाटै हिन्दू राष्ट्र पुनस्र्थापना गरी छाड्ने दाबी गरे ।

यस्तै पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वको नवगठित राप्रपा (सयुक्त)ले पनि हिन्दू राष्ट्र पुनस्र्थापनका लागि जस्तोसुकै कदम चाल्ने बताउँदै आएको छ । माघ १८ मा पार्टी एकता घोषणा कार्यक्रममा राणा र लोहनीले हिन्दू राष्ट्रका लागि सडक सङ्घर्षमा उत्रिने उद्घोष गरेका थिए ।

काँग्रेसमा हिन्दू राष्ट्र भुसको आगो

पछिल्लो समय हिन्दू राष्ट्रको विषय राप्रपामा मात्र सीमित छैन । यो विषय प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसमा समेत भुसको आगोझैँ भित्रभित्रै सल्किँदै गएको छ ।

जनआन्दोलनको सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गरेका बेला संसदबाटै नेपालालाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा घोषणा गरिएको थियो । तर आज त्यही काँग्रेसमा हिन्दू राष्ट्र पुनस्र्थापनाको विषय भुसको आगो बनेको छ ।

काँग्रेसमा हिन्दू राष्ट्रबारे विवाद विगतमा पनि नभएको भने होइन । तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न अगुवाइ गरे पनि काँग्रेसका सबै नेता त्यसप्रति सहमत भने थिएनन् ।

स्व. काँग्रेस नेता खुमबहादुर खड्काले धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दा पनि फरक मत राखेका थिए । जसका कारण नेपालको संविधान २०७२ निर्माण र जारी गर्ने समयसम्म पनि काँग्रेस नेताहरू हिन्दू राष्ट्र या धर्मनिरपेक्ष राष्ट्र भन्नेमा विभाजित थिए ।

पछिल्लो कालखण्डमा पनि काँग्रेसमा हिन्दू राष्ट्रबारे देखिएकोे विभाजित धारणा तन्किँदै गएको छ । जसको बलियो उदहारण पार्टीको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु, शंकर भण्डारी, देवराज कँडेल, पुष्पा भुसाल, चन्द्रकान्त भण्डारीहरूले जारी गरेको नोट अफ डिसेन्टबाट प्रष्ट हुन्छ ।

काँग्रेसको राजनीतिक प्रतिवेदनमा धर्मनिरपेक्षलाई ‘उपलब्धि’ भनी उल्लेख गरिएको छ । काँग्रेसको फागुन १४ गतेको केन्द्रीय कार्यसमिति बैठकले धर्मनिरपेक्षलाई उपलब्धि भन्दै राजनीतिक प्रतिवेदन पारित गरेपछि हिन्दू राष्ट्रका पक्षधरहरूले त्यसप्रति विमति नै जनाएका थिए ।

पहिले राजनीतिक प्रतिवेदनमा धर्मनिरपेक्षतालाई ‘विशिष्ट उपलब्धि’ भनेर उल्लेख गरेको काँग्रेसले त्यसलाई सच्याउँदै गत फागुन १ गते बसेको केन्द्रीय समिति बैठकले ‘उपलब्धि’ मात्र भनेर संशोधन गर्यो । उक्त बैठकमा सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, डा. नारायण खड्का, एनपी साउद र पुष्पा भुसाल, दिलेन्द्रप्रसाद बडु, शंकर भण्डारी, देवराज कँडेललगायतले प्रतिवेदनमा रहेको विशिष्ट उपलब्धिको साटो उपलब्धि मात्र भन्ने शब्द राख्न दबाब दिएका थिए । साथै नेता खाँणले धर्मनिरपेक्षतालाई ‘विशिष्ट उपलब्धि’का रूपमा मान्न नसकिने जिकिर गरेका थिए ।

‘संसारका एक अर्बभन्दा बढी जनताको आस्थाको राष्ट्र नेपाल हिन्दू राष्ट्र बन्न किन नहुने ? नेपाल हिन्दू राष्ट्र छ । साढे सात सयजना महासमितिका सदस्यले पेश गरेको निवेदनमा यहाँ छलफल हुनुपर्छ । हिन्दू राष्ट्रको एजेन्डामा अहिले नै ठोस निर्णय नगर्ने हो भने पार्टीको आगामी महाधिवेशनमा म यही एजेन्डालाई लिएर अघि बढ्छु र पहिलो हस्ताक्षर गर्ने व्यक्ति मै हुनेछु’, उनले अड्किँदै भनेका थिए ।

खाँणको भनाइमा अन्य नेताहरूले पनि सहमति जनाएका थिए । अनि राजनीतिक प्रतिवेदनका संयोजक एवम् उपसभापति विमलेन्द्र निधि प्रतिवेदनमा रहेको धर्मनिरपेक्षता ‘विशिष्ट उपलब्धि’ भन्ने वाक्य हटाएर उपलब्धि मात्र भन्ने शब्द राख्न बाध्य बनेका थिए ।

त्यसो त यो विष महासमिति बैठकमा पनि उठेको थियो ।

निधिले हिन्दू राष्ट्र पुनस्र्थापना गर्ने कुरा प्रतिगामी भनेपछि गत मङ्सिरमा केन्द्रीय समितिमा झण्डै हात हालाहालको स्थिति आएको थियो ।

पछिल्लो केन्द्रीय कार्यसमितिमा पनि हिन्दू राष्ट्रको विषयले निकै हलचल ल्यायो । देउवा खेमाका नेताहरूले सबै नेता बुथबाट निर्वाचित भएर आउनुपर्ने विषयको काउन्टरमा हिन्दू राष्ट्रको विषय अगाडि सारेका थिए ।

रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताले सबै नेता बुथबाट आउनुपर्ने र समानुपातिक तथा आरक्षण कोटामा एक पटकभन्दा बढी अवसर लिन नपाउने विषय महासमितिको म्यान्डेट भएको दाबी गरेका थिए ।

देउवा समूले उक्त विषयलाई महासमितिको म्यान्डेटका रूपमा लिए हिन्दू राष्ट्रको विषय पनि महासमितिको म्यान्डेट हुनुपर्ने तर्क अघि सारेपछि  काँग्रेसका गणतन्त्रवादी नेता सिटौला अप्ठ्यारोमा परेका थिए ।

देउवा निकट केन्द्रीय सदस्य अतर कमाल मुसलमानले देउवाविरोधी खेमाले उठाएको विषय महासमितिको म्यान्डेट भए हिन्दू राष्ट्र पनि महासमितिको म्यान्डेट हुनुपने तर्क बैठकमा उठेको स्वीकार गरे ।

उनले भने, ‘महासमिति बैठकताका ५० प्रतिशत महासमिति सदस्यले हस्ताक्षरसहित हिन्दू राष्ट्रको माग गरेका थिए । त्यो छलफलको विषयसमेत भनेन् । अनि केहीले सबै नेता बुथबाट निर्वाचित भएर आउनुपर्ने र समानुपातिक तथा आरक्षण कोटामा एक पटकभन्दा बढी अवसर लिन नपाउने विषय उठाए । त्यो विषय कसरी महासमितिको म्यान्डेट हुन सक्छ ?’  देउवा समूहको यस्तो तर्कका कारण विरोधी खेमा निरीह बन्न पुगेको बताइन्छ ।

के छ नोट अफ डिसेन्टमा ?

नोट अफ डिसेन्टमा ‘बहुसङ्ख्यक नेपाली जनताको चाहना र भावनाविपरीत जबर्जस्ती लादिएको धर्मनिरपेक्षतालाई उपलब्धिका रूपमा स्वीकार गर्न नसकिने’ उल्लेख छ ।

धर्मनिरपेक्षताको खारेजी र हिन्दू राष्ट्रको पक्षमा पार्टी उभिनुपर्ने व्यहोरा पनि नोट अफ डिसेन्टमा राखिएको छ । तर हिन्दू राष्ट्रको विषय जोडतोडका साथ उठाउन लागिपरेका केही नेताले नोट अफ डिसेन्टमा हस्ताक्षर भने गरेका छैनन् ।

नेता डा. रामशरण महतले राजनीतिक प्रतिवेदनमा उपलब्धिका रूपमा धर्मनिरपेक्षता राख्न नहुने धारणा राखेका थिए । यस्तै  महामन्त्री पूर्णबहादुर खड्का तथा सहमहामन्त्री महत नेताहरू खाँण र एनपी साउद, महेश आचार्यलगायत हिन्दू राष्ट्रको पक्षमा रहे पनि नोट अफ डिसेन्टमा हस्ताक्षर गरेका छैनन् ।

उनीहरूले नोट अफ डिसेन्टमा हस्ताक्षर नगरेको बारे नाम नखुलाउने सर्तमा एक जना केन्द्रीय सदस्यले रातोपार्टीसँग  भने, ‘पार्टी सभापति र प्रमुख नेताहरूले जिम्मेवार पदाधिकारीबाट ‘बेला न कुबेला भेनेजुला’ भनेजस्तो नगरौँ भन्नुभयो ।

‘तपाईंहरू पार्टीको जिम्मेवार पदमा हुनुहुन्छ । अहिले हिन्दू राष्ट्रको विषय उठाए के हुन्छ भन्दै सुझाएपछि उहाँहरू ब्याक हुनुभयो ।’ उनका अनुसार देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको दबाबमा परेर ब्याक भए पनि १४औँ महाधिवेशनमा हिन्दू राष्ट्रको विषय सघन रूपमा उठाउनेमा उनीहरू सहमत छन् ।

हिन्दू राष्ट्रका पक्षधरलाई शशांक र गगनको ढाडस

नोट अफ डिसेन्टकर्ताहरूले महासमिति बैठकमा हिन्दू राष्ट्रका पक्षमा हस्ताक्षर गरी करिब साढे सात सय महासमिति सदस्यको निवेदन पार्टी सभापतिलाई बुझाउँदा पनि त्यसमाथि छलफल नगरिएको प्रति आपत्ति जानएका थिए ।

गत मङ्सिर–पुसमा सम्पन्न काङ्ग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्रको मागसहिति हस्ताक्षर पुस्तिका तयार पारिएको थियो ।

उक्त हस्ताक्षर पुस्तिकामा पूर्वमन्त्रीहरू मोहन बस्नेत, भक्तबहादुर बलायर, चिरञ्जीवी वाग्ले, पूर्वसभामुख तारानाथ रानाभाट, पूर्वगृहराज्यमन्त्री इन्द्र बानियाँ, पूर्वप्रमुख सचेतक लक्ष्मण घिमिरे, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, कुमार खड्का, पुष्पा भुसालले हस्ताक्षर गरेका थिए । यस्तै डडेल्धुरा सभापति कर्णबहादुर मल्ल, कास्की सभापति कृष्ण केसी, ओखलढुङ्गा सभापति प्रदीपकुमार सुनुवार, अछाम सभापति भरतबहादुर स्वाँर, बझाङ सभापति हर्कजङ्गबहादुर सिंह, हुम्ला सभापति जयपति रोकाय, राजुराज जोशी र भारतेन्द्र मल्लिकलगायतका महासमिति सदस्यले हस्ताक्षर गरेका थिए ।

नेपाललाई ‘वैदिक सनातन हिन्दू धर्म’ कायमको माग गर्दै महासमिति बैठकस्थल परिसरमा सङ्कलन गरिएको हस्ताक्षरलाई काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका थिए ।

उक्त हस्ताक्षर सङ्कलनबारे काँग्रेसको प्रभावशाली नेता गगन थापाले पार्टी सबैको भावनाको सम्मान गर्दै अगाडि बढ्नुपर्ने बताएका थिए ।

काँग्रेस पार्टीको आधारशीला नै लोकतन्त्र भएकाले सबैको विचार भावनाको सम्मानका लागि नेतृत्वले उचित कदम चाल्नुपर्ने थापाको तर्क छ ।

यता महामन्त्री डा. शशांक कोइरालाले धर्मको विषय जनमत सङ्ग्रहबाट टुङ्ग्याइनुपर्ने बताउँदै आएका छन् ।  शुक्रबार गुल्मीमा कोइरालाले नेपाल सनातन वैदिक धर्मको भूमि रहेको उल्लेख गर्दै नेपाल धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र हुनुपर्ने बताएका थिए ।

महामन्त्री कोइरालाले भनेका छन्, ‘धर्मको विषयमा जनमत सङ्ग्रह गरिनुपर्छ र सबैको चाहनामा हिन्दू राष्ट्र घोषणा गरिनुपर्छ ।’  उनले सार्वजनिक कार्यक्रममा बेलाबखत हिन्दू राष्ट्रको विषय जनमत सङ्ग्रहबाट छिनोफानो गर्नुपर्ने बताउँदै आएका छन् । तर पार्टीभित्र भने यो विषयलाई छलफलका रूपमा स्थापति गर्ने सामथ्र्य देखाउन सकेका छैनन् ।

पार्टीमा हिन्दू राष्ट्रको पक्षधर बढेको दाबी

हिन्दू राष्ट्र पक्षधर काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले हिन्दू राष्ट्रको विषय १४औँ महाधिवेशनमा सघनरूपमा उठ्ने दाबी गरिन् ।

रातोपाटीसँगको सङ्क्षिप्त कुराकानीमा सचेतक भुसालले भनिन्, ‘पछिल्लो समय पार्टीभित्र हिन्दू राष्ट्रका पक्षधरहरूको सङ्ख्यामा वृद्धि भइरहेको छ । साथीहरूले यो विषयलाई केन्द्रीय समितिमा पनि जोडदार ढङ्गले उठाउने कोशिस गरिरहुनुभएको छ । १४औँ महाधिवेशनमा यो विषयले फराकिलो ढङ्गले उठ्छ ।’

पार्टीमा ५० प्रतिश भन्दाबढी नेता कार्यकर्ता हिन्दू राष्ट्रको पक्षमा रहेको भन्दै उनीहरूको आवाजलाई आफूहरूले सम्मान गरेको भुसालको भनाइ छ । यस्तै काँग्रेसमा पार्टीभित्र हिन्दू राष्ट्र नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य शंकर भण्डारीले सोही दाबी गरे । उनले भने, ‘नेपाललाई हिन्दू राष्ट्र कायम गरिनुपर्छ भन्नेमा मुस्लिम, आदिवासी जनजाति नेता कार्यकर्तासमेत सकारात्मक देखिएका छ । अगामी दिनमा हिन्दू धर्मको एजेन्डा काँग्रेसको राष्ट्रिय एजेन्डा बन्छ । यही एजेन्डा आगामी महाधिवेशनमा प्रधान विषय पनि बन्छ  र त्यसकै आधारमा नेतृत्व चयन हुन्छ ।’

यस्तै केन्द्रीय सदस्य मुसलमानले धर्मबारे पार्टीले लिने निर्णय नै आफ्ना लागि मान्य हुने तर्क गरे ।  उनले भने, ‘म अहिले हिन्दू राष्ट्रको पक्षमा खुलेर लागेको भन्ने कुरामा सत्यता छैन । तर पार्टीमा यो विषय उठेको छ । गएको महासमिति बैठकमा पनि ५० प्रतिशतभन्दा बढी नेता कार्यकर्ता हिन्दू राष्ट्रको पक्षमा देखिए । उनीहरूको भावनाको सम्मान हुनुपर्छ । पहिले म यत्ति भन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप