केन्द्रीय संस्करण
सन्दर्भः शिवरात्री

शिवभूमिमा प्रतिबन्धित ‘शिवबुटी’

हिप्पीवाद, माओवाद र क्यान्सरसम्म ‘जोडिए’को गाँजाको चर्चा

person explore access_timeफागुन २०, २०७५ chat_bubble_outline0

राजनीति र सामरिक दृष्टिकोणले कोरिएका आधुनिक सीमारेखाहरुलाई एकछिन बिर्सेर आस्थाको सीमारेखाभित्र विचरण गर्ने हो भने नेपाल, अझ भनौं काठमाडौं शिवभूमिको रुपमा प्रख्यात र पुज्य छ । हिन्दू आस्थावानहरु माझ अत्यन्तै सर्वोच्च र आराध्य देव शिव भगवानको वासस्थान मानिएको र त्यहीकारण ‘पशुपतिको देश’ भनेर चिनिएको काठमाडौंमा शिवरात्रीका दिन विशेष मेला र जमघट लाग्ने गर्छ । शिव र पार्वती मृग बनेर प्रणयलीला गरेर बसेको भनेर पुराणहरुमा वर्णित पाशुपत क्षेत्र धार्मिक आस्थावानहरुका लागि मात्र हैन, ‘शिवबुटी’ को स्वाद लिन पल्केकाहरु तथा त्यो चाख्न उत्सुक बनेकाहरुका लागि पनि यो दिन विशेष चासोको केन्द्रबिन्दू हुनेगर्छ । त्यसो हुनुको खास कारण चाहिँ अरु दिन अत्यन्तै कडाइका साथ प्रतिबन्धित हुने गरेको ‘शिवबुटी’को सेवन, ओसारपसार र प्रयोगमा त्यसदिन केही खुकुलो पनि हुने गर्दै आएको छ ।

‘शिवबुटी’ अर्थात् गाँजा । साथसाथै भाङ धतुरो पनि । प्रयोगकर्ताहरुका माझ गाँजा, भाङ, धतुरोभन्दा पनि बढी चर्चित नाम चाहिँ ‘शिवबुटी’ ।

यसकारण शिवबुटी

पुराणहरुमा वर्णित छः हिन्दूहरुको आराध्यदेवहरुमध्ये सबैभन्दा सर्वोच्च त्रिवेदहरु छन् । ती त्रिवेदहरुमा ब्रम्हा, विष्णु र महादेव पर्दछन् । उनीहरुको कार्यविभाजनमा ब्रम्हा रचनाकर्ता, विष्णु पालनकर्ता र महादेव चाहिँ संहारकर्ता मानिन्छन् । र, संहारकर्ताको हैसियतमा त्रिदेवहरुमध्ये पनि  छलकपट नगर्ने, सबैलाई समान दृष्टिकोणले व्यवहार गर्ने र त्यही कारण ‘भोलेनाथको उपाधि पाएका’ सर्वशक्तिमान चाहिँ भगवान शिव अर्थात् पशुपतिनाथलाई नै मानिन्छ ।

http://assets-news-bcdn-ll.dailyhunt.in

कालकुटको असरले महादेवलाई बेहोस पार्न थालेपछि उपचार स्वरुप ‘विषलाई विषले नै काट्छ’ भन्ने सिद्धान्तअनुसार, महादेवलाई गाँजा, भाङ, धतुरो सेवन गराइएको थियो ।

यी देउताहरुका पनि देउता अर्थात् देवाधिदेव महादेव हिमालय पर्वत कैलाशको टुप्पोमा बस्छन् । उनी दिगम्बर अर्थात् नांगै छन् । उनी कम्मरमा बाघको छाला बेर्छन्, घाँटीमा सर्पको माला लगाउँछन्, श्मसानका खरानी जिउमा घस्छन्, अनि गाँजा, भाँग, धतुरोहरु सेवन गरेर अधिकांश समय तपस्यामै लीन हुन्छन् ।

भनिन्छ, देव दानव मिलेर अमृत मन्थन गर्दा निस्केको अहिलेको साइनाइडभन्दा पनि भीषण र खतरनाक कालकुट विष महादेवले पिएर ब्रम्हाण्डको रक्षा गरेका थिए । तर कालकुटको असरले महादेवलाई बेहोस पार्न थालेपछि उपचार स्वरुप ‘विषलाई विषले नै काट्छ’ भन्ने सिद्धान्तअनुसार, महादेवलाई गाँजा, भाङ, धतुरो सेवन गराइएको थियो । त्यसैबेलादेखि नै यी पदार्थहरु महादेवको लागि प्रिय बनेको र उनको पूजाअर्चनामा अर्पण गर्न थालिएको एकाथरिको मत छ ।

प्रतिबन्धितशिवबुटीर त्यसको अर्थराजनीति

हो, शिवबुटीको नामले चर्चित गाँजाको सेवन, प्रयोग र ओसारप्रसार नेपालमा कडाइका साथ प्रतिबन्धित छ । यस पटकको शिवरात्रीमा पनि त्यसमाथि अत्यन्तै कडाइ गरिएको प्रशासनले जनाइसकेको छ ।

गाँजामाथि प्रतिबन्ध लगाइनुको कारण चाहिँ यसलाई लागू औषध मानिनु नै हो । लागू औषध अर्थात् नशा लगाउने, लठ्याउने पदार्थ । गाँजा खाएपछि सेवनकर्तालाई मात लाग्छ । त्यसले उनीहरुलाई वास्तविक दुनियाँबाट पर अर्कै लोकमा पुर्याइदिन्छ । सांँसारिक दुनियाबाट पर, तत्कालीन दुःख कष्ट बिर्साएर अर्कै लोकमा पुगिने बताउँछन् यसका सेवनकर्ताहरु । रोचक चाहिँ के छ भने गाँजा सेवनकर्ताहरु रक्सी खाने मानिसजस्तो हल्ला, उपद्रो गर्दैन, बरु चुपचाप झुमेर बस्छ, या हाँसिराखेर बस्छ या त धक फुकाएर रोएर बस्छ । सम्भवतः त्यही कारण नै हिन्दीमा यो भनाइ बनेको होलाः

गाँजा खाएर राजा
खैनी खाए चोर
पान खाए चु
*या
थुके चारो ओर
!

गाँजाको खेतीमा निर्भर रहेर जीविका चलाइरहेका मुलुकका विभिन्न भागका गरिब जनताहरुलाई वृत्ति विकासका वैकल्पिक उपायहरुतिर नहेलिकनै कानूनका डण्डाले हाँकेर गाँजालाई एकहोरो लागू औषधको रुपमा मात्रै हेर्ने र त्यसलाई कडाइका साथ नियन्त्रण गर्ने काम हुँदै आयो । त्यसले शासनसत्ताप्रति स्थानीय स्तरमा घृणा, द्वेष र नकारात्मक भावनालाई मलजल गर्ने काम मात्रै बढीमात्रामा गरिरहेको यथार्थप्रति शासकवर्गले सधैं आँख चिम्लँदै आयो ।

तर नेपालमा गाँजामाथि प्रतिबन्ध लगाइँदा यसका बहुआयामिक पक्षहरुमाथि ध्यान दिइएन । खासगरी, यसलाई विशुद्ध लागू औषधका रुपमा मात्र हेरियो, तर यससँग जोडिएका अन्य बहुआयामिक पक्ष, त्यसले जनजीवनमा खेलेको भूमिका र प्रभाव अनि समग्र अर्थतन्त्रमा त्यसले पार्न सक्ने प्रभावहरुका बारेमा खासै अध्ययन विश्लेषण गर्ने काम भएन । नेपालको मगरात क्षेत्रमा गाँजाको रेशाबाट धागो बनाई परम्परागत कपडा उत्पादन र प्रयोग हुने गरेको तथ्यलाई हेक्का राखिएन । गाँजाकै रेशाहरुबाट एउटा रुखबाट भन्दा बढी र अब्बल किसिमका कागज बन्न सक्ने यथार्थप्रति आँखा चिम्लिने काम भयो । अन्य बालीहरुको तुलनामा खेती गर्न सजिलो र बढी आम्दानी हुने भएकै कारण पनि गाँजाको खेतीमा निर्भर रहेर जीविका चलाइरहेका मुलुकका विभिन्न भागका गरिब जनताहरुलाई वृत्ति विकासका वैकल्पिक उपायहरुतिर नहेलिकनै कानूनका डण्डाले हाँकेर गाँजालाई एकहोरो लागू औषधको रुपमा मात्रै हेर्ने र त्यसलाई कडाइका साथ नियन्त्रण गर्ने काम हुँदै आयो । त्यसले शासनसत्ताप्रति स्थानीय स्तरमा घृणा, द्वेष र नकारात्मक भावनालाई मलजल गर्ने काम मात्रै बढीमात्रामा गरिरहेको यथार्थप्रति शासकवर्गले सधैं आँख चिम्लँदै आयो ।

विगततिर फर्केर हेर्ने हो भने कुनै जमानामा नेपालमा गाँजाको निर्वाध र खुलेआम खेती हुने गरेको पाइन्छ । विशेष गरेर वि.सं. २०३३ मा लागू औषध ऐन बनेर गाँजालाई प्रतिबन्धित गर्नुपूर्व नेपालका विभिन्न भागहरुमा गाँजाको व्यवसायिक खेती नै हुने गरेको पाइन्छ । पञ्चायतकालीन समयमा राप्तीका पहाडी क्षेत्रहरु रोल्पा, रुकुम, त्यसैगरी मकवानपुर, धादिङ, तराईका बारा, पर्सा, सिराहा, महोत्तरी, धनुषा लगायतका जिल्लाहरुमा नगदेबालीको रुपमा गाँजाको व्यवसायिक खेती हुने गथ्र्यो । त्यस क्षेत्रका लागि सबैभन्दा प्रमुख नगदेवाली नै गाँजा खेती थियो र त्यसले त्यसक्षेत्रका वासिन्दाहरुको दैनिक गर्जो मात्रै हैन, अन्य आवश्यकताहरु पनि परिपूर्ति हुने गथ्र्यो ।

अहिले पनि ती क्षेत्रमा गाँजाखेती बढी हुने गरेको र बेलाबेलामा प्रशासनले पनि विगाहाका विगाहा गाँजाखेती नष्ट गर्ने गरेको खबरहरु पढ्न र सुन्न पाइन्छ ।

माओवादसँग गाँजाको साइनो

सन् २००३ मा प्रकाशित SOWING THE WIND... History and Dynamics of the Maoist Revolt in Nepal's Rapti Hills शीर्षकको रिपोर्टलाई पत्याउने हो भने नेपालमा १० वर्ष चलेको माओवादी जनयुद्ध र गाँजाको बीचमा अनौठो सम्बन्ध रहेको फेला पर्छ । नेपालको ग्रामीण क्षेत्रमा जनस्तरमा उठेको द्वन्द्वको स्थलगत मूल्यांकन गर्दै यूएसआइएडको लगानीमा मर्सी कर्प्स नामक संस्थाको लागि रोबर्ट गेर्सोनीले सो अध्ययन गरेका थिए । उनको त्यो रिपोर्टमा माओवादी जनयुद्ध चर्कनुका जरो कारणहरुमध्येका एक कारणमा राप्तीका पहाडी क्षेत्रहरुमा गाँजा खेतीमा लगाइएको प्रतिबन्धलाई पनि प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

याे पढ्नुहाेस् : माओवादी आन्दोलनलाई गाँजासँग जोड्ने त्यो चर्चित रिपोर्ट

हिप्पीवादसँग जोडिएको गाँजा

सन् २०३३ मा लागू औषध ऐन बन्नुपूर्व नेपालमा गाँजाको खेती निर्वाध र खुलेआम हुने गथ्र्यो । त्यसमा कुनै कानूनी रोकतोक थिएन । गोराहरुको बाक्लो आवातजावात हुने काठमाडौंका झोंछे लगायतका गल्लीहरुमा गाँजाको खुलेआम बिक्री हुने गथ्र्यो । कतिसम्म भने, कतिपय स्थानमा त ‘यहाँ ह्यासिस पाइन्छ’ भनेर अंग्रेजीमा बोर्ड नै पनि झुण्ड्याइएको पाइन्थ्यो । त्यसबेला ती क्षेत्रहरु गाँजाका अम्मली गोराहरुका लागि मात्र हैन, भारतीय पर्यटकहरु तथा नेपालीहरुका लागि पनि विशेष आकर्षणको केन्द्रबिन्दू बन्ने गथ्र्यो ।

Photo credit: cdn-images-1.medium.com/max/1200/1*0RzWZBW2aQu6-nfP7p0qQQ.jpeg

हिप्पीवादको समर्थकहरु परम्परागत क्रिश्चियन धर्मको कठोर जञ्जाललाई परित्याग गरेर हिन्दू धर्म, बुद्ध धर्म र सुफी दर्शनपट्टि आकर्षित हुँदै जान थालेका थिए । हिप्पीका अनुयायीहरुले यी धर्महरु तुलनात्मक रुपमा क्रिश्चियन धर्मभन्दा सरल, उदार र लचिलो ठान्ने गर्थे । अमेरिकी राज्यसत्तामा गहिरोसँग जरो गाडेको क्रिश्चियानिटीको लागि यो पनि सम्भवतः टाउको दुखाइको एउटा विषय बनेको थियो ।

सन् ६० को दशकतिर, भियतनाम र अमेरिकाबीच युद्ध चर्केको थियो । दोस्रो विश्वयुद्धमा अजेय महाशक्तिको रुपमा देखापरेको अमेरिकाले भियतनाममाथि आक्रमण गरेको थियो । उसको सोझो आँकलन थियो, युद्ध थालेको केही समयमै अमेरिकी पक्षमा नतिजा आउने गरी युद्धको समापन हुनेछ । तर युद्धको परिणाम उसले सोचे जस्तो सहज र सरल निस्केन । केही महिना मात्र चर्केला भन्ने ठानिएको भियतनाम युद्ध रबरजस्तो तन्किएर २० वर्षसम्म चल्यो । त्यसबीच युद्धमा सैन्य जवान आपूर्तिका लागि उमेर पुगेका सबैलाई अनिवार्य रुपमा सेनामा भर्ना हुनुपर्ने उर्दी अमेरिकामा जारी गरियो । अमेरिकासँग प्रत्यक्ष सम्बन्ध नगाँसिएको र एउटा सानो सार्वभौमदेशमाथि गरिएको त्यो युद्धको विरुद्धमा अमेरिकामा ठूलो जनमत देखापर्यो । युद्धले निराश बनेका युवाहरुको एउटा ठूलो जमात भियतनाम युद्धको विरोधमा शान्तिको नारा लगाउँदै देखापरे । उनीहरुले भियतनाम युद्धमा हज्जारौं युवाहरुलाई बलीको बोका बनाएको बताउँदै तत्कालीन अमेरिकी नीतिको विरोध गरे । उनीहरुको आवाजको सुनुवाइ भएन । युद्धबाट निराश बनेको युवाहरुको एउटा ठूलो जमात देश घरबार छोडेर नशाको शरणमा पुगे र उनीहरु भौतारिँदै विश्वका कुनाकाप्चा डुल्न थाले । चरम निराशाको उपचारको खोजीमा रोजिएको स्वच्छन्दताको उपयोग गर्दै अमेरिकी युवाहरुमा देखापरेका त्यो प्रवृत्तिलाई हिप्पीवाद नामाकरण गरियो । स्वभाविक रुपमा त्यो हिप्पीवादको प्रवेश जीवनयापन गर्नको लागि आर्थिक रुपमा अत्यन्तै सस्तो र खुलेआम नशालु पदार्थ किन्न पाइने नेपालमा पनि भयो । एक किसिमले हिप्पीवादको केन्द्र जस्तै बन्न पुग्यो नेपाल । भारतका अभिनेता देवानन्दले त्यसैमा आधारित चलचित्र हरेराम हरेकृष्ण (सन् १९७१) बनाउन भ्याए । हिप्पीहरुका लागि सर्वाधिक लोकप्रिय नशालु पदार्थमा पनि तुलनात्मक रुपमा सस्तोमा किन्न पाइने, गाँजाबाट बन्ने ह्यासिस नै थियो, जुन स्थानीय स्तरमै पनि उत्पादन हुने गथ्र्यो ।

भनिन्छ, नेपालमा गाँजामाथि प्रतिबन्ध लगाउनको लागि त्यही हिप्पीवादी आन्दोलन नै एउटा प्रमुख कारण बनेको थियो । त्यसो त  अमेरिकी दवावकै कारण राजा वीरेन्द्रको शासनकालमा नेपालले लागू औषध ओसारपसार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा हस्ताक्षर गरेको, अमेरिकी दवाबमा नै लागू औषध नियन्त्रण ऐन, २०३३ बनेको विश्वास गर्ने ठूलो जमात नेपालमा छ । 

अर्को कुरा, हिप्पीवादको समर्थकहरु परम्परागत क्रिश्चियन धर्मको कठोर जञ्जाललाई परित्याग गरेर हिन्दू धर्म, बुद्ध धर्म र सुफी दर्शनपट्टि आकर्षित हुँदै जान थालेका थिए । हिप्पीका अनुयायीहरुले यी धर्महरु तुलनात्मक रुपमा क्रिश्चियन धर्मभन्दा सरल, उदार र लचिलो ठान्ने गर्थे । अमेरिकी राज्यसत्तामा गहिरोसँग जरो गाडेको क्रिश्चियानिटीको लागि यो पनि सम्भवतः टाउको दुखाइको एउटा विषय बनेको थियो । त्यसैले ‘नरहेगा बाँस, नबजेगा बाँसुरी’ शैलीमा उसले हिप्पीहरुलाई नेपालमा सर्वाधिक आकर्षण गर्ने लागू औषध अझ विशेष गरेर गाँजा, ह्यासिसको जरो काट्ने गरी लागू औषधको उपयोग र ओसारपसारमाथि प्रतिबन्ध लगाउने गरी कानून बनाउन नेपाल सरकारबाट दवाब दिएको हुन सक्छ भनी मान्नेहरु पनि कम छैनन् ।

क्यान्सर र गाँजाको कुरा

गाँजामा पाइने एक विशेष रसायनले खास किसिमको क्यान्सरमा क्यान्सरको कोषको बृद्धिलाई रोकेको, मारेको र सुस्त बनाइदिएको पाइएको देखाएको छ । प्रयोगशालाहरुमा गरिएका अध्ययनबाट प्राप्त सो नतिजाले अनुसन्धानकर्ताहरुलाई उत्साहित तुल्याएको छ र भविष्यमा क्यान्सरको उपचारमा गाँजाको प्रयोगको सम्भावनाबारे थप खोजीमा उनीहरु जुटिसकेका छन् ।

आयुर्वेदमा लामो समयदेखि गाँजा औषधीको रुपमा प्रयोग हुँदै आएको छ । यद्यपि हाल त्यो नेपालको हकमा चाहिँ औषधीहरुमा गाँजाको प्रयोग गर्न छाडिएको छ ।

हरेक कुराका, अझ थपौं, औषधीहरु समेतको  सकारात्मक र नकारात्मक पाटोहरु हुने गर्छन् । यस अर्थमा गाँजा पनि त्योबाट अछुतो रहन सक्दैन । तर गाँजाको चर्चा गर्दा यसको औषधीय गुण, अझ विशेष गरेर विश्वव्यापी रुपमै अत्यन्तै खतरनाक र ज्यानमारा बनेको क्यान्सरको उपचारमा अनि त्यसको दृस्प्रभावलाई  कम गर्ने सन्दर्भमा गाँजाको सकारात्मक प्रभाव पर्ने गरेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । विशेष गरी क्यान्सरको उपचारको क्रममा गरिने किमियोथेरापीको असर स्वरुप हुने वान्ता र वाक्वाकीलाई रोक्नको लागि गाँजालाई चुरोटको रुपमा नियन्त्रित मात्रामा लिँदा प्रभावकारी हुने देखिएको छ ।

पछिल्ला अध्ययनहरुले गाँजामा पाइने एक विशेष रसायन (delta-9-tetrahydrocannabinol (THC)) ले खास किसिमको क्यान्सरमा क्यान्सरको कोषको बृद्धिलाई रोकेको, मारेको र सुस्त बनाइदिएको पाइएको देखाएको छ । प्रयोगशालाहरुमा गरिएका अध्ययनबाट प्राप्त सो नतिजाले अनुसन्धानकर्ताहरुलाई उत्साहित तुल्याएको छ र भविष्यमा क्यान्सरको उपचारमा गाँजाको प्रयोगको सम्भावनाबारे थप खोजीमा उनीहरु जुटिसकेका छन् ।

त्यसो त क्यान्सरका अन्तिम चरणमा पुगिसकेका रोगीहरुमा हुने पीडालाई कम गर्नको लागि गाँजाको प्रयोग हुने गरेको कुरा कुनै नौलो हैन । विशेष गरेर त्यस्ता रोगीहरुमा गाँजाको प्रयोगले उनीहरुले पीडा कम महसूस गर्ने र अन्य पीडाकम गर्ने औषधीहरु कम चलाउँदा पनि पुग्ने गरेको पाइएको छ ।

त्यसै गरी, चिकित्सकको सल्लाह र निगरानीमा गरिने गाँजाको नियन्त्रित सेवनले एचआइभी रोगीहरुमा खानाप्रतिको रुचि जगाउने पाइएको छ भने नसामा क्षतिपुग्दा हुने दुखाइलगायत अन्य विभिन्न किसिमका दुखाइका पीडालाई कम गर्न पनि यो उपयोगी हुने गरेको अध्ययनहरुले देखाएको छ ।

मकै पिस्दा धुन पनि पिसियो

गाँजामाथि प्रतिबन्ध लगाउँदा त्यसका बहुआयामिक पक्षलाई ख्याल गर्ने काम तत्कालीन शासनसत्ताबाट त भएन, भएन, अहिले पनि त्यो प्रतिबन्ध जारी छ । खासगरी गाँजा भन्नेबित्तिकै त्यसलाई लागू औषधको रुपमा मात्रै बुझ्ने काम भयो तर त्यसका अन्य व्यवसायिक प्रयोग हुन सक्ने पक्षमा पटक्कै ख्याल गरिएन । गाँजाको बोटबाट कपडा, कागजहरु उत्पादन हुन सक्ने,  गाँजाबाट लिन सकिने औषधीय फाइदाहरुका बारेमा समेत चिन्तनमनन गरेर यसको उत्पादन र प्रयोगमा नियमन र नियन्त्रण गरिनुपर्थ्यो तर त्यसलाई पूरै निषेध गर्ने काम गरियो । एक किसिमले भनौं, 'मकै पिस्दा घुन पनि पिसियो' भन्ने उखानलाई उल्टोबाट चरितार्थ गर्दै चरितार्थ गर्दै गाँजाको बेफाइदा, अझ विशेष गरेर यसको लागू औषधीय चरित्रलाई निषेध गर्ने नाममा त्यसबाट लिन सकिने आर्थिक एवं औषधीजन्य फाइदाजनक पक्षहरुलाई पूरै वेवास्ता गरियो ।

गर्ने के?

विश्वका थुप्रै मुलुकहरुमा अनि कुनैबेला गाजामाथि प्रतिबन्ध लगाउने कुराको नेतत्व गर्ने अमेरिकाकै ५० मध्ये २९ राज्यहरुमा गाँजामाथिको कानूनी प्रतिबन्ध खुकुलो भइसकेको छ । ती देशहरुमा र राज्यहरुमा गाँजाको किनबेच र उपयोगमा नियन्त्रित ढंगले खुकुलोपन आइसकेको छ । त्यसबाट नेपालले सिक्न सक्छ ।

सबैभन्दा पहिलो कुरा त गाँजा भन्नेबित्तिकै निरपेक्ष रुपमा त्यसलाई लागू औषधको रुपमा मात्रै बुझ्ने बुझाउने परिपाटीमा बदलाव ल्याउनुपर्छ । गाँजाको बोटबाट लागू औषध मात्रै हैन, त्यो जत्तिकै महत्वपूर्ण लुगा बनाउने धागो र कागज बनाउने रेशा उत्पादन हुन सक्छ भन्ने तथ्यलाई व्यापक रुपमा बुझाउनु र प्रचारप्रसार गर्नु जरुरी छ । विश्वबजारमा गाँजाको रेशाबाट उत्पादन हुने बस्तुहरुको उच्च मागलाई नेपालमा उत्पादन गर्न सकिने उच्चस्तरीय गाँजाको बोटहरुले सजिलै आकर्षित गर्न सक्छ । त्यसमाथि थप, गाँजाबाट उत्पादन हुने तेल (Cannabidiol (CBD) oil ) को औषधीय तथा अन्य प्रयोजनका लागि समेत विश्वबजारमा उच्च माग रहेको तथ्यलाई पनि हेक्का राखिनु आवश्यक छ । आगामी २०२२ सम्ममा २.७ अरब अमेरिकी डलर बराबर विश्वव्यापी कारोबार हुने प्रक्षेपण गरिएको गाँजाबाट निकालने तेलको विश्वबजारमा रहेको मागलाई बुझेर त्यसदिशातर्फ आवश्यक पूर्वाधारहरु तयार गर्नेतर्फ लाग्ने हो भने गाँजा मुलुकको आर्थिक विकासको लागि एउटा बलियो आधार बन्न सक्छ ।

गाँजा लागू औषध मात्रै होइन, त्यो एउटा औषधीय गुणयुक्त तथा आर्थिक सम्भावना बोकेको बहुफाइदाजनक विरुवा हो भन्ने मान्यता विश्वव्यापी रुपमा स्थापित भइसकेको छ । नेपालमै पनि गाँजा खेतीलाई नियमन गरेर वैधानिक बनाइनुपर्छ भन्ने आवाज उठ्न थालिसकेको छ र यस्तो आवाज उठाउने कुराको अगुवाई सत्तारुढ नेकपा कै सांसद विरोध खतिवडाले गरिरहनु भएको छ (हेर्नुहोस् तलको बक्स) ।

जम्मामा भन्दा, गाँजालाई निरपेक्ष रुपमा लागू औषधको रुपमा मात्र बुझ्ने एकांगी दृष्टिकोणमा परिवर्तन ल्याइनुपर्छ । खासगरी, गाँजाको आर्थिक पाटोलाई बढावा दिने र यसका दुरुपयोगलाई नियन्त्रण गर्ने हिसाबले वर्तमानमा कानूनी प्रावधानहरुमा समायोचित परिवर्तनहरु गर्नु जरुरी छ ।

आर्थिक रुपमा विश्व महाशक्ति बनेको आधुनिक चीनका जनक मानिने देङ स्याओ पेङको एउटा चर्चित भनाइ छः ‘लामखुट्टे आयो भनेर झ्यालढोका थुन्ने होइन, त्यसलाई रोक्न जाली लगाउनुपर्छ ।’

नेपालमा गाँजा खेतीको हकमा उनको यो भनाइ धेरै हदसम्म उपयोगी हुन सक्छ । अर्थात् लागू औषध नियन्त्रण गर्ने नाममा पूरै गाँजालाई नै निषेध गर्ने हैन कि आर्थिक विकासको महान सम्भावना बोकेका गाँजा खेतीका नकारात्मक पक्षहरुलाई मात्रै छेक्ने र नियमन गर्ने गरी कानूनी जालीहरु लगाएर अगाडि बढ्नु नै बुद्धिमानी ठहर्नेछ ।

विरोध खतिवडा भन्छन्ः अरु देशले मान्यता दिएको गाँजामा हामीले किन प्रतिबन्ध लगाउने ?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सांसद विरोध खतिवडाले नेपालमा गाँजा खेतीलाई वैधानिक बनाउन माग गरेका छन् । फागुन ८ गतेको प्रतिनिधिसभा बैठकको विशेष बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन् ।
विश्वका विकसित देशहरुले गाँजा खेती र कारोबारलाई वैधानिक बनाएर ठूलो रकम आर्जन गरिरहेको भन्दै नेपालको पहाडी क्षेत्रमा सजिलै पाइने गाँजामा लगाइएको प्रतिबन्ध उचित नभएको जिकिर गरे ।
यस्तो छ सांसद खतिवडाको भनाइ :
हाम्रा पुर्खाले गाँजालाई तरकारी र औषधिको रुपमा प्रयोग गर्थे । यही कारण हामीले प्रयोग गर्नुपर्छ भनेर मैले आवाज उठाइरहेको छैन, हामी महादेवका भक्त भएका कारण पनि यो आवाज उठाउन खोजेको होइन । अमेरिकाका १२ राज्य तथा क्यानडा, थाइल्यान्डलगायत राष्ट्रमा गाँजा खेतीले मान्यता पाएको छ, औषधि उत्पादनका लागि वैधानिक ढंगले गाँजा उत्पादन उनीहरूले आयआर्जन गरिरहेका छन् ।
त्यसको ठीक विपरीत नेपालका केही जिल्लामा अवैध गाँजा उत्पादन भइरहेको छ । नेपालमा अवैध भनिएको गाँजालाई सिंहदरबार लगायतका वैधखानाले चर्को मूल्य तिरेर विदेशबाट आयात गर्नुपरेको छ । विदेशबाट गाँजा किन्नु भन्दा नेपालमै वैधानिक रुपमा उत्पादन गरेर औषधिको रुपमा प्रयोग गर्नुपर्छ । विकसित मुलुकले वैधानिक ढंगबाट गाँजालाई प्रयोग र बेचविखन गरिरहेका छन् । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौँ । अन्य मुलुकमो जुन विधिबाट गाँजालाई औषधिको रुपमा मान्यता पाएका छन्, त्यही विधिबाट नेपालमा पनि मान्यता दिइयोस् ।
नेपालमा गाँजा आफैँ उत्पादन हुन्छ । यसको परम्परागत रूपमा उपयोग हुँदै आएको थियो । अन्तर्राष्ट्रिय सन्धि सम्झौता अवलम्बन गर्दा यसमा रोक लगाइएको हो । तर, तिनै सन्धि सम्झौताअनुरूप नै अमेरिकाका १२ राज्यमा गाँजाखेतीमा छुट दिइएको छ । क्यानडामा सिंगै देशमा छुट छ । हामीले किन प्रतिबन्ध लगाउने ?
संसारभरि नै गाँजालाई औषधि उत्पादनमा प्रयोग गरिन्छ । त्यसको फाइदा नेपालले लिन सक्छ । प्रतिबन्ध नलगाइँदासम्म नेपालमा गाँजा खेती आर्थिक आम्दानकीको माध्यम थियो । प्रतिबन्ध लगाइँदा त्यो अवसर खोसियो । गाँजा खेतीलाई फुकुवा गरे रोजगारीको अवसर सिर्जना हुन सक्छ । आम्दानी हुन सक्छ ।
क्यानडा र अमेरिकाले खेती गर्न हुने अनि नेपालले गर्न नहुने ? नेपालजस्तो गरिब देशचाहिँ सधैँ मारमा पर्नुपर्ने ? हाम्रो देशमा उत्पादन हुने चिज हामीले आर्थिक उत्पादनका लागि उपयोग गर्न किन नहुने ? अरू देशले जसरी दिएका छन्, त्यसरी नै अन्तर्राष्ट्रिय सन्धि सम्झौताअन्तर्गत रहेर वैधानिकता दिनुपर्छ ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...