शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपालाई ‘शोकमाथि शोक’

आइतबार, १९ फागुन २०७५, ११ : २१
आइतबार, १९ फागुन २०७५

यतिबेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक जीवन ठीकठाक छैन । एकातिर एकताको नौ महिना बित्दा पनि पार्टीको संगठनात्मक एकता टुंगिएको छैन भने अर्कोतिर आन्तरिक विवादले पार्टीका नेताहरुबीचको सम्बन्ध पनि समुधर छैन ।

आफ्नै नेतृत्वको सरकार छ, तर नेकपाका धेरै नेता–कार्यकर्तालाई सरकारको कामकारवाहीप्रति चित्त बुझेको छैन । अर्थात नेकपा आन्तरिक जीवन अहिले कठिनाईकठिनाईले भरिएको छ । ठीक यहिबेला नेकपाको जीवनमा एकपछि अर्को दुःख आइलागेका छन् ।

एकपछि अर्को शोकको पीडा भरतमोहन अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन धुम्वाराहीमा आयोजना गरेको कार्यक्रममा देखियो । अधिकारीको जीवनी पढ्दापढ्दै नेकपाका महासचिव विष्णु पौडेलका आँखा रसाए । पटक–पटक रोकिँदै उनले अधिकारीको जीवनी पढे । पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउनु अगाडि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड भावुक बने । प्रधानमन्त्री पत्नी राधिका शाक्यको अनुहार पनि निकै मलिन देखिन्थ्यो । धुम्वाराहीमा उपस्थित नेकपाका अन्य नेता–कार्यकर्ताको अनुहार पनि मलिन थियो । मौनधारण गरिरहँदा केही नेता–कार्यकर्ताका अाँखा रसाए । अधिकारीलाई श्रद्धाञ्जली दिन अन्य पार्टीका नेता–कार्यकर्ता पनि पुगेका थिए ।

धुम्वाराहीमा श्रद्धान्जली कार्यक्रम अगाडि बसेको नेकपाको सचिवालय बैठकले पनि अधिकारीको निधनले कम्युनिष्ट आन्दोलनलाई क्षति पुगेको बताएको थियो ।

अहिले नेकपालाई शोक माथि शोक परेको छ । पछिल्लो १० दिनमा नेकपाले आफ्ना तीन नेता गुमाएको छ । ताप्लेजुङ्मा भएको हेलीकप्टर दुर्घटनामा निधन भएका नेकपाका लोकप्रिय युवा नेता तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्त्यष्टि सकिए लगत्तै नेकपाका अर्का लोकप्रिय नेता भरतमोहन अधिकारीको निधन भयो ।

त्यस्तै एक साता अघि मात्रै नेकपाका ५ नम्बर प्रदेश सांसद उत्तरकुमार वलीको निधन भएको थियो । उनको निधनपछि नेकपाले केन्द्रीय पार्टी कार्यालय धुम्बाराहिमा श्रद्धाञ्जली कार्यक्रम गरेको थियो ।

फागुन २३ गते स्वर्गीय मन्त्री अधिकारीको सम्झनामा धुम्बाराहिमा शोकसभाको आयोजना गर्ने कार्यक्रम तय गरेको थियो । त्यसैबीचका नेकपाका अर्का पुराना नेता अधिकारीको पनि निधन भयो । पूर्व अर्थमन्त्री अधिकारीको शवलाई पार्टी कार्यालयमा राखिएको छ । उनको पनि राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गर्ने सरकारले निर्णय गरेको छ ।

शोक १–लोकप्रिय अर्थमन्त्री अधिकारी रहेनन्

८४ वर्षको उमेरमा शनिवार राती पूर्वअर्थमन्त्री तथा नेकपाका अनुभवि नेता भरतमोहन अधिकारीको निधन भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको अगुवादेखि २०५१ सालमा स्वर्गिय मनमोहन अधिकारी नेतृत्वकोपहिलो कम्युनिष्ट सरकारका अर्थमन्त्री भएर लोकप्रिय काम गरेका थिए नेता अधिकारीले । २००८ साल देखि १६ वर्षको उमेरमै कम्युनिष्ट राजनीतिमा सक्रिय बनेका अधिकारी पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका सहोदर भाइ हुन् । उनी अर्थमन्त्री भएपछि ‘वृद्ध भत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम ल्याएर नेता अधिकारीले नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ शिराबाट परिचित गराएका थिए ।

त्यस्तै नेता अधिकारीले आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटौंडा–काठमाण्डौँ सुरुङमार्ग, सडकको दुवैतिर वृक्षारोपण, सुत्केरी भत्ता, श्रीमान् श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी लगाएतका कार्यक्रम ल्याएर जनतामा वेजोड उत्साह ल्याएका थिए ।

त्यही कार्यक्रमले गर्दा तत्कालीन एमालेका नेताहरू आफ्नो क्षमताको कुरा उठ्दा २०५१ सालको सरकारले गरेका कामको प्रसङ्ग दोहोर्याइरहन्छन् । ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम सञ्चालन उनकै पहिलो कार्यकालबाट सुरु भएको हो । पहिलो पल्ट जेष्ठ नागरिक र सुत्केरीलाई भत्ता दिएपछि प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको एमाले सरकार सवैभन्दा लोकप्रिय बनेको थियो ।

नेता अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसदमा निर्वाचित भएका उनी भने दोस्रो संविधान सभामा समानुपातीक सभासद पनि थिए । पटक–पटक अर्थमन्त्री भएका अधिकारीसँग उपप्रधानमन्त्रीसहित कानुन, उर्जा, बाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालेको अनुभव थियो । नेता अधिकारीले २०४६ सालको को पञ्चायत विरुद्धको आन्दोलनमा बाम मोर्चा गठनमा सक्रृय रुपमा भूमिका समेत खेलेका थिए । उनकै पहलमा सातवटा बाम घटकहरु एक भएर संयुक्त बाम मोर्चा निर्माण भएपछि पञ्चायत बिरुद्धको आन्दोलन सफल भएको थियो ।

तत्कालिन नेकपा एमालेको पाँचौँ, छैटौँ, सातौँ र आठौँ महाधिवेशनमा उनी मूल आयोजक समितिको संयोजक थिए भने छैटौँ, सातौँ र आठौँ महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित भएका थिए । नेता अधिकारी राजनीतिमा ५० वर्षभन्दा बढी समय केन्द्रीय तहको नेतृत्वको भूमिका निर्वाह गरे । २०७१ को महाधिबेशनबाट अधिकारीले पार्टीको कुनैपनि जिम्मेवारी नलिने स्वैच्छिक अवकाशको घोषणा गरेर फेरी उदाहरणीय नेता बनेका थिए । तिनै अनुभवी नेतालाई नेकपाले गुमाएको छ ।

शोक २–हेकिप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन

फागुन १५ गते मात्रै पछिल्लो पुस्ताका लोकप्रिय युवा नेता तथा पर्यटनमन्त्री रबीन्द्र अधिकारीको ४९ वर्षकै उमेरमा निधन भयो । ताप्लेजुङ्को फुङ्लिङ नगरपालिका १० सिस्नेभीरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाए । दिवंगत नेता अधिकारी नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य थिए । उनी कास्की जिल्लाबाट सांसदमा निर्वाचित भएका थिए । अधिकारीको असमाहिक निधनले पार्टी र देशले भरोसायोग्य नेता गुमाएको उल्लेख नेकपाले गरेको थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बुधबार विज्ञप्ति प्रकाशित गरी दुर्घटनामा निधन भएका अधिकारीलाई होनहार नेता, विकासप्रेमी जनप्रतिनिधि र प्रचुर सम्भावना बोकेको भरोसायोग्य नेता गुमाएको बताएका थिए । नेपालको कम्युनिस्ट आन्दोलनमा अधिकारीले पुर्याएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गर्ने उल्लेख गरिएको थियो ।२०६४, २०७० र २०७४ सालको संविधानसभा र संसद निर्वाचनमा कास्कीबाट निर्वाचित अधिकारी अब्बल राजनीतिकर्मीका रुपमा स्थापित भएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘यस दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको छ, मुलुकले जनता र विकासप्रति सदैव समर्पित योग्य जनप्रतिनिधि गुमाएको छ, निजी क्षेत्रबाट देशको विकासमा समर्पित पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारीहरु र हेलिकोप्टर चालक गुमाएको छ ।’ नेकपाले दुर्घटनामा परी ज्यान गुमाउने सवैप्रति श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

दुर्घटनामा सात जनाको निधन भएको थियो । नेकपाले स्वर्गिय अधिकारीको शवलाई काठमाडौँको टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखेपछि शुक्रबारनै उनको गृहजिल्ला कास्कीमा राजकिय सम्मानका साथ अन्त्यष्टि गरिएको थियो । स्वर्गिय मन्त्री अधिकारीलाई पार्टी झण्डा र नेपाली झण्डा ओढाएर पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका थिए । बुधबार दुर्घटनामा परेका मन्त्री अधिकारीको निधनले देशनै शोकमा डुब्यो । उनको निधनको पीडा आम नेपालीबीच अझै सेलाएको छैन ।

शोक ३–प्रदेश सांसदको निधन

त्यस्तै १० फागुनमा नेकपाले प्रदेश सांसदलाई गुमाउनु पर्यो । प्रदेश ५ का सांसद उत्तरकुमार ओलीको निधन पछि पार्टी कार्यालय धुम्बाराहिमा श्रद्धाञ्जली कार्यक्रम गरेको थियो । ३७ वर्षीय वली गत माघ २४ गते बुटवलबाट दाङ फर्कंदै गर्दा घोराहीको सडक खण्डमा दुर्घटनामा परेका थिए ।

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा स्वर्गीय ओलीको शवमा पार्टीको झण्डा ओडाएर प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले नेकपाका एकजना होनाहार युवा नेताको निधनले सिंगो पार्टी र देशलाई नै क्षति पुगेकोे उल्लेख गरेका थिए । उनी २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट तत्कालिन नेकपा (एमाले)को तर्फबाट विजयी भएका थिए । उनी तत्कालिन एमालेको जिल्ला कमिटी सदस्य थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप