केन्द्रीय संस्करण

कथा : दाग

person explore access_timeफागुन १८, २०७५ chat_bubble_outline2
अमृता बुढाथोकी

-अमृता बुढाथोकी
 

त्यो दिन पनि सधैँको जस्तै थियो । चारैतिर बाक्लो कुहिरो मडारिएको थियो । अलिपरसम्म पनि नदेखिनेगरी बाक्लो तुवाँलोले ढाकेको थियो । हजारौँ मान्छेका भीडमा सुरज एक्लै बानेश्वर चोकको व्यस्त सडकमा हिँड्दै थियो । मान्छेहरू उछिनपाछिन् गर्दै एकले अर्कालाई ठेलठाल गर्दै आफ्नो गन्तव्यमा पुग्न दैडिरहेका थिए । मानौँ कसैले उसलाई देखेकै छैनन् । उनीहरूलाई क्षितिज नै काटेर जान हतार छ । सबैलाई वरिपरिका डाँडाकाँडा एकै निमेषमा पार गर्ने चटारो छ । भीडमा पनि ऊ आफूलाई एक्लै भएको पाउँछ । 

त्यही अफिस नेर झलक्क उसले एउटी अधबैंसे आइमाईलाई देख्छ । अनुहारमा शालीनता, घुमेको कपाल, गोरो वर्ण, होचो कदकी ती आइमाईले मिठो सुवास छरेर उसैको छेउबाटै गइन् । चारैतिर नजर फ्याकेर हेर्यो । उनी कता गइन् पत्तै पाएन । एकै नजरमा उनी उसको मुटुमा घण्टी बजाएर गइन् ।

भारी मन लिएर अफिस पुग्यो । मिटिङ हलमा तिनै आइमाई पत्रिका पढिरहेकी रहेछिन् । मिटिङ सुरु भयो । रूखो बोली, हेर्दै छुच्ची देखिने उनको नाम सन्ध्या रहेछ । मेरो नयाँ अफिसकी सिनियर स्टाफ । उनले नयाँ स्टाफलाई ओरेन्टेसन क्लास लिइन । उनको रूखो बोली, छुच्चा शब्दले मेरो कान हुँदै अन्तस्करण छुन पुग्यो । त्यो बोली कताकता सुने झैँ बर्षौँदेखि आफ्नै कान वरिपरि गुिञ्जएझैँ लाग्यो । उसलाई उनका हरेक क्रियाकलाप चिरपरिचित लाग्यो ।

एक दिन अनायसै थाकेझैँ गरी ऊ गालामा हात राखेर ‘सन्ध्या किन तिमी मसँग अगाडि नै भेट भइनौ’ भन्ने आवाज अन्तस्करणबाटै फुस्काउँछ । ऊ आफैलाई थाहा छैन, उसले के भनिरहेको छ । यसो अगाडि हेर्दा ठिङ्ग सन्ध्या उभिएकी देख्छ । ऊ डराउँदै उनलाई बस्न आग्रह गर्छ । उनी नबोली आफ्नो जिम्मेवारी पूरा गरेर आफ्नै कार्यकक्षमा फर्कन्छिन् । उसलाई उनले मलाई के भनिन् होला भनेर खपी नसक्नु पीर पर्छ ।

गम्भीर सोचाइमा डुबेको छ आज ऊ । घरिघरि ऊ आफ्नो चेतन मनलाई सम्झाउँदै भन्छ, ‘म त समाजले प्रतिष्ठित मान्ने मान्छे । यस्ता आइमाईको पछि लाग्दिनँ ?’ तर उसको मनमुटुमा सन्ध्या बास बसिसकेकी हुन्छिन् । ऊ उनलाई आफूबाट टाढा पार्न धेरै कोशिस गर्छ । तर झनझन आफै नजिकिँदै जान्छ । 

मान्छेको मन पनि उड्ने पक्षी जस्तै स्वच्छन्द हुँदो रहेछ । एक चोटी उडेर आफ्नो गन्तव्यमा बसेपछि जस्तासुकै जटिल उडान पनि सहजै भर्दो रहेछ । उफ, जिद्धी मन, एक पटक सही हो भनेर ठानेपछि त्यसलाई गलत मान्नै सक्दो रहेछ । यो त अकारण, विनागणित कसैमा समाहित हुँदो रहेछ । हरपल आफ्नो आन्तरिक ऊर्जा शक्तिको प्रयोगले अरूमा समर्पण हुने विशाल विज्ञान हो मन । यो त एउटा माध्यम बनेर आउँछ । यसले जात, धर्म, उमेर, व्यवसाय केही देख्दैन । सुटुक्कै आएर थाहै नपाई चोरी गरेर जान्छ ।

अधरमा हरबखत मुस्कान छरेर सन्ध्या अफिसमा काम गर्छिन् । प्राइभेट कम्पनी छुच्चो स्वाभावका कारण अफिसमा सन्ध्या चित्त नबुझेका कुरामा ठाडै विरोध गर्छिन् । बोसले, स्टाफले उनका बारेमा नराम्रो कुरा गरेको ऊ सुन्नै सक्दैन । उनीहरूका बारेमा अफिसमा खुसीटिउरी सुरु भइसकेको छ । सबैले यस्ती बुढी, विवाहितको पछि किन लागेको हऊ, सर भन्न थालिसकेका छन् । उसलाई अरूको कुनै प्रवाह नै छैन । ऊ त केवल सन्ध्याले के भन्छिन् ? के सोच्छिन् भन्नेमा मात्र ध्यान दिन्छ । सन्ध्याका हर खुसी, हाँसो उसका लागि आफूभन्दा पहिला आउन थालिसकेका छन् । उसको अचेतन मन आफू भन्ने अहंकारलाई त्यागेर उनीमा समाहित भइसकेको छ । कल्पनाका हरेक तहमा उसले सन्ध्यालाई मात्र पाउँछ । थाहा छैन उसैलाई उसको मनमा के भइरहेको छ ।

समयले आफ्नै गतिमा चिप्लेटी खेल्यो । शिशिर ऋतुले बसन्त ऋतुलाई स्वागत गर्ने तयारी गर्दै थियो । मौसमले पनि छिनछिनमा आफ्नो रूप फेरी रह्यो । साँझले बिहानीलाई र बिहानीले साँझलाई स्वागत गरी रह्यो । सन्ध्याको मन उस्तै रही रह्यो । परिवर्तन हुनै सकेन । अहँ, कहिल्यै सन्ध्याको मनलाई उसले चिन्नै सकेन । उसका कुनै भावनाले छुन सकेन । उसको हृदयमा झङ्कृत मायाको तरङ्गलाई न त उसले नै पहिचान गर्न सक्यो नत सन्ध्याले नै चिनिन् ।

एक दिन अनायसै अफिसमा सन्ध्याको मलिन अनुहार देखेर ऊ अत्यन्तै मर्माहत भयो । सोद्न सकने । बेलाबेला उनले ऐया मात्र भनिरहिन् । उनका पीडाले उसको मुटुमा तीर रोपिएझैँ च्वास्स दुख्न पुग्थ्यो । उसलाई भित्रैबाट दुखेर आउँथ्यो । 

उसले बल्ल आट गरेर मुख खोल्यो, ‘दिदी घरमा कोको हुनुहुन्छ ?’

उनले सहजै भनिदिइन् ‘सबै भाइ ।’ 

उसले मन मिचेर सोध्यो सन्तान नि ? 

उनले मन्द मुस्कान भर्दै मिठो बोलिमा जवाफ फर्काइन् ‘एक दर्जन जति भाइ ।’ 

अनायसै उसको मुखबाट निस्कियो ‘छुच्ची’ ।

उनी खितिति हास्दै भित्तातिर फर्किइन् । खै किन फर्किइन् उसले बुभ्mनै सकेन । ऊ बच्चा जस्तो किन हाँसेकी हऊ ‘छुच्ची केटी’ भन्दै कामतिर लाग्यो । तर काम गर्न नै सकेन । उनको मलिन अनुहार आँखा अगाडि आइरह्यो । ऐया शब्दले उसलाई सताइरह्यो । मायालाई मेरोतेरो तराजुमा कहाँ बाँढ्न सकिन्छ र ? यो त अविभाज्य छ । उनको हरेक दुखाइ उसले महसुस मात्र ग¥यो । बुझ्न सकेन । आफैभित्रको उथलपुथल उसले बुझ्न नै सकेन । अहँ आफ्नै अन्तर मनलाई चिन्नै सकेन ।

हिजोआज आफूभित्र आएको अनौठो परिवर्तनले सुरजलाई शिथिल बनाउँदै लगेको छ । न त घरमा नै राम्रो मन लगाएर काम गर्न सक्छ न त अफिसमा नै । एक दिन उसले आफ्नो साथी रमेशलाई आफ्ना मनभित्रका सम्पूर्ण अन्तरद्वन्द्व सुनाउन पुग्छ । रमेशले उसलाई साथी तँलाईं त प्रेम रोग लागे जस्तो छ । सक्छस् भने भाग साथी त्यो दलदलबाट । के गर्छस् आफूभन्दा जेठी । त्यो पनि अर्काकी श्रीमतीसँग सम्बन्ध गासेर । व्यर्थै हुन्छ जीवन त्यागी दे त्यस्तो मोह । उसैको सल्लाहमा सुरजले अफिस जान छोडी दियो । 

अरूको अनुहार, शरीर अर्थ व्यवस्था, उमेर हेरेर होइन अकारण स्वतः बस्दो रहेछ माया । माया त मौनतामा मस्त हँुदो रहेछ । दुई विपरीत ध्रुवका मानिसलाई जस्तोसुकै परिस्थितिमा पनि एकाकार गर्दो रहेछ माया । यसमा कुनै आकर्षण र विकर्षण हुँदैन । न त कुनै पागलपन नै । यसमा त मिठो अनुभूति मात्र हुँदो रहेछ । भौतिक रूपमा टाढा भए पनि निकटताको महसुस गराउँछ । मायाले मानिसलाई झनझन नजिक पार्दे रहेछ ।

सन्ध्याबाट टाढिनलाई सुरजले अफिस जान छाड्यो । एक दुई दिन त उसलाई उनको याद पनि आएन । फोन पनि गरेन । तर ऊ विस्तारै पानीबिनाको माछा जस्तै छटपटाउ थाल्यो । उसको आँखा अगाडि सन्ध्याको बोली, हाँसो र हरेक क्रियाकलाप नाच्न थाले । उसलाई असह्यै भयो । ऊ उनलाई भेट्न बल्खुबाट बानेश्वरतिर बाइक चढेर तीव्र गतिमा हुइँकियो । 

उसलाई आतुर थियो आफ्नी सन्ध्यालाई आफ्नो मनका बह पोख्न । फोन गरेर भेट्न आउँदै छु भनिदियो सन्ध्यालाई । बाटाभरि मनमनै कल्पना गर्दै गयो । सन्ध्या तिम्रो हिजोको इतिहास वा वर्तमान जे भए पनि म तिमीलाई बेइम्तिहान माया गर्छु । तिमीसँग जिउन, मर्न चाहन्छु । हाम्रा बीचमा रहेका जस्तासुकै सामाजिक बन्धनलाई म फोडिदिन्छु । असमानताका पर्खाललाई म तोडिदिन्छु । उमेरको असमानता, उनको वैवाहिक जीवन केहीले मलाई असर पार्ने छैन । बस मलाई उनको साथ र माया चाहिएको छ । कल्पनाको मिठो उडान भर्दै ऊ कालिमाटी, टेकु, त्रिपुरेश्वर हुँदै बिजुलीबजार आई पुग्छ । उसको मुटुको गति तीव्र हुँदै जान्छ । बाइकको एक्सिलेटर अझै दरो थिच्न पुग्छ । त्यसपछि के भो उसलाई थाहै हुँदैन । आँखा खुल्दा ऊ राष्ट्रिय ट्रमा सेन्टरको बेड नम्बर ३४५ मा सुतिरहेको पाउँछ । उसलाई आफ्नै शरीर आफ्नो होइन जस्तो लाग्छ । उसले अचम्म मान्छ । 

सन्ध्यालाई प्रपोज गर्न बानेश्वर गएको, चोक पुग्न लाग्दा आफ्नो कानै छेउमा आएको चिसो बतासको मात्र याद आउँछ । उसको व्यग्रता देखेर नर्सले सबै कुरा भनी दिन्छिन् । नर्सले बताउँदै गइन, ‘तीव्र गतिका कारण अनियन्त्रित भएको तपाईंको बाइकलाई मालबहाक गाडीले बानेश्वर चोकमा ठक्कर दिएछ । बेहोस अवस्थामा त्यहाँको प्रहरीको सहयोगमा तपाईंलाई तपाईंकी श्रीमतीले दुई महिना अगाडि अस्पताल ल्याउनुभयो । रातदिन नभनी तपाईंको सेवा गर्नु भयो । बिचरी भाउजू आफू भोकभोकै बसेर तपाईंलाई बचाउनु भो । यति मात्र कहाँ हो र दाइ तपाईंको त किड्नी पनि ड्यामेज भएको रहेछ । भाउजूले आफ्नो एउटा किड्नी दिनुभो । कतिसम्म माया गर्न सकेकी होला होइ दाइ तपाईंलाई ।’ 

सुरज छाँगाबाट खसे जस्तै भो । अनायसै उसले सोध्न पुग्यो, खै त उनी बैनी ? 

ती नर्सले उसलाई यतैकतै भएको जवाफ दिएर अर्को बिरामी हेर्न गइन् । उसलाई असह्यै हुँदै गयो । को हुन् उनी, जसले एउटा परपुरूषलाई पति बनाएर उपचार गरिन् । चिन्न हतार भो । तर उनी आइनन् । हप्ता बितेर गयो उनी देखा परिनन् । ऊ अस्पतालबाट डिस्चार्ज भएर घर गयो । 

साँझपख दिक्क मान्दै सुरज आफ्नो ल्याबटप खोल्न पुग्छ । जिमेलमा सन्ध्याको म्यासेज देख्छ । हतार हतार इनबक्स खोलेर हेर्छ ।

मेरो सुरज, कस्तो छ तिमीलाई । ठीकै छौ नि । सुरज अबदेखि कहिल्यै त्यसरी अनियन्त्रित भएर बाइक नचलाउ है । फेरि यस्तै दुर्घटना हुन सक्छ । तिमीले मलाई भेट्न आउछु भनेर कल गरेपछि म चोकैमा तिम्रो प्रतीक्षा गर्दै थिए । मेरो आँखा अगाडि नै तिम्रो त्यो दुर्घटना भयो । 

सुरज मलाई माफ गरिदेऊ है । मैले तिम्रो अनुमतिबिना नै अस्पतालको भर्ना फर्ममा श्रीमती लेखिदिएँ । तिमीलाई बचाउने अरू कुनै उपाय थिएन मसँग । म तिमी मरेको हेर्न सक्दिन थिएँ । 

सुरज मानिसको जीवन एउटा यात्रा रहेछ । यही यात्राको क्रममा मानिसहरू अनगिन्ती गोरेटाहरू हिँड्न पुग्दारहेछन् । ती हरेक गोरेटाहरूले निश्चित गन्तव्य नभेट्टाएसम्म सहयात्री पनि भेटाइदिँदा रहेछन् । तर मूलबाटो आएपछि सबै आफ्नै बाटो लाग्दा रहेछन् । कतिपय यात्राका सहयात्रीहरू कहीँकतै देख्न साथ आफ्नै आभास हुँदो रहेछ । मानौँ लाखौँ माइलको यात्रा पार गरी गन्तव्यमा पुगे जस्तै । कहाँबाट मन नै पग्लिएर आउने, सधैँ आफ्नै वरिपरि भइदिए हुन्थ्यो झँै लाग्दो रहेछ । तर त्यो सम्भव कहाँ हुन्छ र ? हो यही गोरेटोको धमिलो यात्रा मात्र हो सुरज हाम्रो भेट ।

तिमीलाई थाहा छ सुरज, तिमी बेहोसीमा पनि मेरो मात्र नाम लिन्थ्यौँ । सुरज तिमी मलाई औधी माया गर्छौ । तिमीले अफिस छाडेको कुरा, तिम्रो साथीले तिमीलाई दिएको सल्लाह मलाई सबै थाहा छ । किनकि त्यो तिम्रो साथी मेरो पति हो । उसले मसँग झुट बोलेर विवाह गरेको हो ।

सुरज म उसकी कान्छी श्रीमती हुँ । विवाह पश्चात उसले मलाई कहिल्यै घर लगेन । पारिवारिक बन्धन, सामाजिक संरचनामा कहिल्यै बाँध्नै चाहेन । एउटा रखैलको रूपमा मात्र हेर्यो ।

उसले त मलाई रातोदिन नसामा भूत भएर मानसिक र शारीरिक यातना मात्र दियो । हरेक दिन पशुलाई जस्तै व्यवहार गथ्र्यो । तिमीलाई याद छ सुरज, मैले अफिसमा ऐयाभन्दा तिमी दुखी हुन्थ्यौँ । म कारण भन्न सक्दिन थिएँ । आज भन्दै छु सुरज हरदिन नसामा भूत भएर तिम्रो साथीले मलाई कुट्ने गथ्र्यो । उसले दिएका चोटहरू दुखेर म रून्थे । म रूवाइलाई लुकाउन हासेको अभिनय गर्थे । 
तिमी मलाई बच्चा जस्तै अकारण हाँस्छे छुच्ची भन्ने गथ्र्यौ । म तिम्रो यही बोलीमा हराएर सारा पीडा बिर्सन्थे ।

तिमी मलाई जसरी हेर, तिमीलाई छुट छ । तर म तिमीलाई अपनाउन सक्दिनँ । माया एक आभाष मात्र हो सुरज । यो प्राप्तिमा भन्दा गुमाउँदा नै मिठो हुन्छ । भनिन्छ मायामा संसार अडेको छ । सायद म आफ्नो संसारलाई अड्याउन तिमीलाई माया गरेर तिमीबाट टाढा हुँदैछु । किनकि सुरज म तिमीलाई पाउन चाहन्न । अदृश्य बनेर माया मात्र गर्छु । मैले तिमीलाई प्राप्त गरेँ भने तिमीभित्रको पुरुषत्व जागेर मलाई हेप्ने छौँ ।  फेरि गुमाए भने फुटेको मेरो मुटुले चोट सहन सक्दैन । फेरि अर्को कुरा नि सुरज धरती र आकाशको कहिल्यै मिलन हुनै सक्दैन । सक्दै सक्दैन । 
हेरन सुरज, चौतारीमा अनगिन्ती यात्रुहरू बस्छन् । ती सबै चौतारीहरू कहिल्यै अपवित्र हुँदैनन् । यात्रुलाई शीतलता नै प्रदान गर्छन् । तर किन नारीको जीवन रूपी चौतारीमा एउटा बटुवा बसेपछि त्यो अरूका लागि अपवित्र हुन्छ ? बस्नुभन्दा अगाडि सबैको साझा चौतारी मानिने नारीको जीवन किन एउटाले बिथोली दिँदा सधँै सधैँलाई नष्ट भएर जान्छ । किन अरूले त्यसलाई अपनाउँन सक्दैनन् । अनुत्तरित छु म सुरज ।

सुरज मेरो विश्वास गर्ने मुटु पहिल्यै मरिसकेको छ । म कसैलाई विश्वास गर्न सक्ने अवस्थामा छैन । विशेषगरी पुरूषलाई त झन ट्याम्मै सक्दिनँ । त्यसैले तिमी आफ्नो जीवन अर्कै शिराबाट सुुरु गर ल । मेरो अन्तिम इच्छा मानेर मेरो यो प्रस्ताव स्वीकार है । मान बाटोमा भेटिएका हजारौँ यात्रुहरू जस्तै एउटा फरक  यात्रीसँग भटेँ । उसले मलाई छोएर गई, छाडेर होइन । तोडेर होइन, जोडेर होइन  । जे होस् ऊ म बाट टाढा  गई भनेर चित्त बुझाऊ ल । 

तिमीलाई बचाउन पाएर आफ्नो  जीवनमा  लागेको दागको एउटा धब्बा पखाल्ने अवसर पाएकी छु । यसैमा  मैले मेरो जीवन  सार्थक देखेकी छु । यसलाई ठुलो नमान ल । यो मेरो प्रेमोपहार हो तिमीलाई ।  यदि  तिमीलाई मेरो याद आयो भने आफ्नो मुटु छामेर हेर म त्यहीँ हुने छु । अनि मेरो भौतिक शरीरलाई खोज्ने प्रयास पनि नगर । यदि यसो गर्यौँ भने तिमीले मेरो लास मात्र पाउने छौँ । 

इमेल पढिसक्दा नसक्दै सुरजका आँखा रसाएर आए । मुटुमा भक्कानो परेझैँ भयो । तिमीलाई कसले भन्यो तिमी अपवित्र छौ भनेर ? किन  दुनियाँको मतलब गर्यौ ? किन मलाई बचाएर  ज्युउँदै फेरि मार्यौ ?  तिमी मेरा लागि पृथ्वीभन्दा पवित्र छौँ आऊ म तिमीलाई सम्मानपूर्वक अँगाल्छु । दाग तिमीमा होइन सन्ध्या यी मानिसहरूको सोचमा छ । जसले तिमी जस्ता सुकोमल हृदयका धनी, मायाका खानी नारीलाई आफ्नो खेलौना सम्झन्छन् । तिमीले त मलाई नै मिठो मायाको दाग लगाएर गयौँ भन्दै रोइरह्यो । धेरै बेर रोयो ।

 

कमेन्ट

  1. March 5, 2019, 10:28 a.m. shanta
    लामो समय हराए पुनः नाम पढ्न पाइयो । खुसी लाग्यो । अझै प्रतिभा प्रस्फुटा हुन बाँकी नै छ जस्तो लाग्यो । पुरुष मनोविज्ञान मात्र होइन महिलाको पनि पढ्न पाइयोस् । शुभकामना ।
  2.  0 Reply
  3. March 4, 2019, 1:24 p.m. Bharat sapkota
    अमृता जी लामो समयको गुमनामीपछि तपाईँको कथा पढ्न पाइयो । यी शब्द र सिर्जनाको खाचो पहिल्यै थियो । थप प्रगतिको कामना आगामी दिनमा पनि यस्तै रचना पढ्ने अपेक्षा गर्दछौँ ।
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...