केन्द्रीय संस्करण
मेराे जीवन

सांसद बहादुरसिंह लामाको जीवन : चिठी एउटीलाई लेखेँ, विवाह अर्कैसँग भयो

person explore access_timeफागुन १८, २०७५ chat_bubble_outline1
कुवेर गिरी

रातोपाटी

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को राजनीति हुँदै नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गरेका बहादुरसिंह लामा (तामाङ) दुई पटक प्रतिनिधि सभामा सांसद भैसकेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा नुवाकोट जिल्लाबाट प्रत्यक्षमा निर्वाचित भएर आएका लामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य पनि हुन् । नेपाली काँग्रेसको सक्रिय राजनीतिमा प्रवेश गर्नुअगाडि उनी निर्माण व्यवसायी थिए । अहिले पनि उनको आफ्नै कम्पनी छ । यद्यपि उनले आजकाल निर्माण कम्पनीलाई धेरै समय दिँदैनन् ।  उनले अचेल काँग्रेसको राजनीति र राष्ट्रिय राजनीतितिर विशेष ध्यान दिन थालेका छन् । केन्द्रीय राजनीतिलाई भन्दा पनि आफ्नो जिल्ला र क्षेत्रका जनताको काममा उनलाई रुचि बढी छ । सबैसँग सजिलै र छिट्टै घुलमिल गर्न सक्ने लामाको कामजोर पक्ष जो कसैलाई छिटो विश्वास गर्नु हो । यी नै सांसद लामासँग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि गरिएको कुराकानीः
 

मेरो खाना
खाना सबै प्रकारको मीठो लाग्छ । त्यसमा गुन्द्रुक सबैभन्दा प्यारो । मननपर्ने भन्ने त्यस्तो केही छैन । सानोमा मामाले चिज खान दिनुभएको थियो । त्यो झोलामा राखेको थिए । खान बिर्सिएछु । सम्झिएर धेरैपछि खाँदा बिग्रिएको रहेछ । नमिठो भयो । त्यो बेलादेखि चिज राम्रो लाग्दैन थियो । खानै छोडेको थिएँ ।

जब काठमाडौँ आएँ फेरि एउटा साथीले चिज खान दिए । मैले खान्न भनेँ । उसले भिटामिन हो भनेर खान लगाए । मीठो लाग्यो । त्यो बेलादेखि चिज फेरि खान थालेँ ।

कामले घरबाहिर भएको समय रेस्टुरेन्ट जान्छु । पकाउन रुचि छ । सबै परिकार पकाउन आउँछु । म घरको कान्छो छोरा । घरका अन्य सदश्य सबै काममा निस्किएको बेला सानोमा मैले  खाना बनाउनु पथ्र्याे ।
मीठो पाकाउने तरकारी हो । सबै प्रकारका तरकारी मीठो पकाउँछु । एकसाथीले ४० लागेपछि खानपिनमा कट्रोल गर्नुपर्छ भनेपछि यसमा ध्यान दिनुपर्छ ।

मेरो पोसाक
पोसाकमा खासै शोख छैन । कक्षा ४ मा अध्यायन गर्दा परिवारले पहिलो पटक पाइन्ट दिएका थिए । सो समय पाइन्ट लगाउने चलन थिए । स्कुल जाँदासमेत कट्टु लगाइन्थ्यो । म पाइन्ट लगाएर स्कुल गएको थिएँ । एक्लो भएँ । लाज लाग्यो । फोल्ड गरेर कट्टु जस्तो बनाएँ । त्यो बेलादेखि पहिरनमा शोख कहिल्यै भएन ।

साधरण पहिरन, सबै प्रकारको लगाउँछु । कोट असजिलो लाग्थ्यो । सांसद भए पनि नियमित लगाउनुपर्यो । अहिले सजिलो लाग्छ । निलो रङको पहिरन मनपर्छ । कपडा रेडमेड नै किन्छु । ब्रान्डमा यही भन्ने छैन । राम्रो लागेको प्रयोग गर्छु । वार्षिक ४० देखि ५० हजार पहिरनमा खर्च छ । 

मेरो फिट्नेस
पहिले गेम खेल्थेँ । त्योबाट नै फिट रहन्थेँ । राजनीतिमा आएपछि कामको चापले गेम खेल्न छाडेँ । धेरै वजन पनि बढ्यो । अहिले कामभन्दा ठूलो स्वस्थ्य हो भन्ने लागेर साथीसँग नियमित बिहान ब्याडमिन्टन खेल्छु । पसिना धेरै निकाल्छु । यो नै मेरो फिटनेस हो ।

मेरो अध्ययन
पहिले धेरै अध्ययन गर्थें । अहिले कामको तनावले अध्ययनमा कमी आएको छ । कर्ण शाक्यले लेखेको पुस्तक पछिल्लो समय पढेको थिएँ । अहिले समाचार र लेख मात्र पढ्छु । उखान टुक्क, धार्मिक पुस्तक पढ्न बढी मनपर्छ ।

मेरो घुमफिर
घुमफिरमा असाध्यै रुचि छ । राजनीति गरेपछि साथीभाइ धेरै हुन्छन् । साथीभाइले गर्दा यताउता घुमफिर भइरहन्छ । परिवार लिएर टुरमा निस्कन भने समय मिलाउन गाह्रो पर्दाे रहेछ ।
म प्रकृति प्रेमी छु । देशको ७६ जिल्लामा १, २ बाँकी होलान् । विदेशका पनि अमेरिका, जापान, कोरिया, एसियाली देश, युरोपका दुई देश पुगेँ ।

मेरो फुर्सद
फुर्सद खासै हुँदैन । आफैले निकाल्नुपर्छ । फुर्सदको समय कविता कोर्न, केही लेख्न मनपर्छ । पुस्तक लेख्ने इच्छा छ । परिवारसँग पनि घुम्छु ।  

मेरो खेलकुद 
पहिले भलिबल, फुटबल खेल्थेँ । तोक्वान्दो पनि खेल्थेँ । यी सबै शोखले खेलेको थिएँ । स्कुलबाट बाहिर गएर मैले धेरै फुटबल खेलेको छु । अहिले खेल्नभन्दा पनि खेलकुद हेर्न रुचि छ । फुटबलका गेम प्रायः सबै प्रकारका हेर्ने गरेको छु । 

मेरो मोबाइल
पहिले नोकिया ब्रान्डको मोबाइल बोक्थेँ । त्यो हराएपछि अहिले सामसुम ब्रान्डको चलाउँदै छु । मोबाइलमा समाचार हेर्नेदेखि फेसबुक, भाइबर, म्यासेन्सरलगायत चलाउँछु ।
ट्विटर अहिलेसम्म प्रयोग गरेको छैन । मोबाइल धेरै फेर्न मन पर्दैन । एउटा हात बसेको हुन्छ । अर्काे फेर्दा झन्झट लाग्छ । नहराए, नबिग्रिएसम्म फेर्दिनँ । साथीभाइ र आफन्तबाट एक दुई पटक मोबाइल गिफ्ट पनि पाएको छु । 

 

मेरो टिभी
प्रायः साँझमा टिभी हेर्ने गरेको छु । टिभीमा बढी हेर्ने भनेको डिस्कभरी, जोग्राफी र खेल कार्यक्रम नै हो । मेरो घरमा एलजी ब्रान्डको २ वटा टिभी छ । पहिले टोसिबा ब्रान्डको  थियो । त्यो गाउँमा पठाएर तीन वर्ष अगाडि सामसुम ब्रान्डको ६२ इन्च र ४२ इन्चको किनेको हो । 

मेरो चलचित्र
चलचित्र खासै हेर्न मन लाग्दैन । धेरै पहिले ‘लब स्टोरी’ हेरेको थिएँ । त्यो पनि साथीभाइको करले हेरेको हो । अहिले त समय हुँदैन । चलचित्र रियालटी हैन, आर्टिफिसियल हो भन्ने लाग्छ । त्यसैले हेर्नै मन लाग्दैन ।
मेरो रोग
भगवानको कृपाले अहिलेसम्म रोग केही छैन । एक पटक प्रेसर हाई देखिएको थियो । जन्डिस पनि लाग्यो । तर अहिले केही छैन । ६ देखि ८ महिनाभित्र नियमित होलबडी चेकअप गर्ने गरेको छु । खानपिनमा सजग भएकाले पनि अहिले रोग देखिएको छैन । 

मेरो भाषाणशैली
अरुको धेरै आलोचना गर्नुभन्दा सबैलाई पोजेटिभ हुने गरेर भाषण गर्न मनपर्छ । भाषण नेगेटिभ भयो भने धेरै ताली बज्छ । तर हामीले नेगेटिभभन्दा पोजेटिभतिर जोड दिनुपर्छ । झुटभन्दा साँचो बोल्नुपर्छ । अरुको आलोचना गर्ने मान्छे आफू पनि त्यस्तै हुन्छ । उखान टुक्का जोडेर सजिलो तरिकाले आफ्नो भाषण सबैलाई बुझाउन मनपर्छ ।

मेरो मापसे
धेरै गर्दिनँ । कहिलेकाहीँ हल्का गर्ने हो । ब्रान्डमा कन्सेस छैन । एक ठाउँमा खाएको अर्काे ठाउँमा खोजेर पनि पाइँदैन । एक्लै बसेर कहिल्यै खाएको छैन । साथीभाइले कर गरेपछि थोरै खाने हो ।
पहिले अरूले रक्सी र बियर किन खाको होला जस्तो पनि लाग्थ्यो । बिस्तारै अलिअलि खान थालेँ । रक्सीमा ग्रिन लेबल मनपर्छ । घरमा केही ब्रान्डका रक्सी छन् । त्यो सजाएर राखेको भने होइन । विदेश जाँदा ल्याएको थुपारेर राख्ने गरेको छु । साथीभाइ जमघटमा काम लाग्छ । 

मेरो सङ्गीत
गीत–सङ्गीत मनपर्छ । जीवनसँग नजिक भएका, गाउँका परिवेश जोडिएका गीत सङ्गीत सुन्छु । यसले बचपनको याद दिलाउँछ । नारायण गोपाल, अम्बर गुरुङका गीत धेरै प्रिय लाग्छन्, सुन्छु पनि । 

मेरो भूल
अन्जानमा जीवनमा केही भूल भएका होलान् । यही भन्ने याद त छैन । भूलबाट मानिसले सिक्ने हो । एक पटक मेरो मेरो गाडी पुलिसले समात्यो । किन समातेको भन्दा पुलिसले यो गाडीले, यो समय, यो ठाउँमा, यस्तो मान्छे हान्यो भनेर आरोप लगायो । मैले त्यो दिनमा, त्यो ठाउँमा म गएको थिइनँ भनेँ । पुलिसले मानेन । तर पुलिसले एक टिभीमा काम गर्ने मानिस प्रमाणको रुपमा उभ्यायो । त्यसपछि मैले ती मानिसलाई धर्म भाक्न लगाएर पैसा तिरेँ । त्यो नै मैले भूल नगरी पाएको सजाय थियो ।

मेरो दुःख
दुःख भएन भने मानिसको प्रगति हुँदैन । उसले अर्काे बाटो पनि देख्दैन । २०४२ मा एसएलसी गरेर घर छोडेर आएपछि मलाई बिरक्त लाग्यो । घरबाट कहिल्यै टाढा बसेको थिइनँ । 
त्यो समय कोठमा बस्थेँ । गाउँबाट पैसा पनि थोरै आउँथ्यो । एक रुपैयाँ नुनको पर्दथ्यो । त्यो किन्ने पैसा नहुँदा तीन दिनसम्म नुन नखाई बसेको थिएँ । त्यो नै मेरो जीवनको सबैभन्दा दुःखको क्षण थियो ।

मेरो सौन्दर्यचेत
सौन्दर्यतिर मानिसको रुचि त हुन्छ नै । तर मलाई जस्तो छु, त्यस्तै रहन मनपर्छ । सकेसम्म आफ्नो स्क्रिनको ख्याल गर्नुपर्छ । सुरक्षित गर्नुपर्छ । सौन्दर्यका लागि क्रिसलगायतका सौन्दर्यका साधन केही प्रयोग गर्दिनँ ।
तर धुलो धुवाँबाट बच्न सफा गर्ने गरेको छु । कपालमा तेल हाल्छु । त्यो राम्रो बन्न होइन । मेरो कपाल ठाडो पर्ने भएकाले तेल लगाएर मिलाउँछु ।


 
मेरो प्रेम 
जीवन प्रेमबिना अधुरो छ । प्रेम त हुन्छ नै । अहिलेका पुस्ताले जस्तो स्कुले जीवनमा प्रेम गरिएन । सो समय मोबाइलहरु पनि थिएन । एउटीलाई चिठी लेख्न मन लागेकाले लेखेको थिए ।
उनले पनि जवाफ फर्काएकी थिइन् । त्यो समय प्रेम यस्तो रहेछ भन्ने बुझेँ । तर विवाह उनीसँग भएन । अर्कैसँग प्रेम विवाह भयो ।

जोसँग विवाह भयो, उनी पढ्दै थिइन् । सो समय म काम गर्थें । हामीहरुको बेलाबेला देखभेट हुन्थ्यो । सोही सिलसिलामा प्रेम बस्यो । विवाह पनि गर्यौँ । 

मेरो सपना 
राजनीति र समाजसेवामा लागेपछि देश विकासको धेरै सपना देखिन्छ । देख्नु पनि पर्छ । गाउँमा पनि स्वस्थ्य चौकीका लागि ४ रोपनी जग्गा दिएँ । बाटो, पुल निर्माणमा पनि सक्रिय रहन्छु । बाटो, पुल निर्माण भयो भने जनताले उत्पादनमूलक काम गर्न सक्छन् भन्ने लाग्छ । 

देश विकास भएको, जनता समृद्ध, सुखी भएको देख्ने सपना छ । अहिले देश सञ्चालन गर्ने जुन सञ्जाल छ । त्यो सञ्जालले देश बनाउन सक्दैन । चाहेर पनि बन्दैन । विश्व यन्त्रमा प्रवेश भइसक्यो । प्रविधिमा गइसक्यो । हाम्रो देश प्रविधिमा जान चाँहदैन । किनभने यसमा गोलमटोल गर्न पाइँदैन । फायल टिप्पणीका आधारमा काम गर्ने सायौँ वर्ष अगाडिको प्रवृत्तिले हामीकहाँ अहिले पनि जरो गाडेको छ ।

मेरो राशि
मेरो राशि यही हो भन्ने थाहा छैन । म मिन राशि हेर्छु । ग्रहदशामा अलिअलि विश्वास लाग्छ । कहिलेकाहीँ हेराउने गरेको छु ।

मेरो खुसी 
सबैभन्दा बढी खुसी भएको पहिलो क्षण २०७० मा सांसद जित्दा हो । जनताले भोट दिएर जिताउँदा धेरै खुसी लाग्दो रहेछ । आफूले गरेको काम सफल हुँदा प्रायः खुसी मिल्छ । 

मेरो मृत्यु
जन्मेपछि मर्नुपर्छ, यो ध्रुवसत्य हो । यसलाई सहज रूपमा लिनुपर्छ भन्ने मेरो मान्यता हो ।  मृत्यु हुने त्यो एक दिन अवश्य आउँछ ।  एक्सिडेन्टमा मृत्यु नहोस् भन्ने चाहना छ । योसँग डराएर पनि भएन । मृत्युपछि पनि धेरैको साथ मिलोस् । यही छ भगवानसँग कामना ।

कमेन्ट

  1. March 6, 2019, 7:34 p.m. Bhim Yonzon
    माननिय ज्यू को सबै कुरा हरू पढ़े तर २ कुरा मा चित्त बुझेन भुल र सपना का कुराहरू मा जनतालाई बिकास गर्छु भनेर खाएको क़सम ८/१० बर्ष हुदा पनि आफ्नो गाउ को वाटों बिस्तार गर्न नसक्नु त्यों क़सम माननीय ज्यूँ को भुल हो र विकास नगरि अरूलाई सपना का कुरा गर्नु त्यों बौदिक ता मानिदैन अहिले यूग मा यस्ता बेकार का कुरा गरेर समय खेर फाल्नु भन्दा ० देखि काहुले भाल्चे को १४ कि:मि सडक १ बर्ष भित्र कालो पत्रे गरेर देखाउनु होस् अनि बल्ल सपनाका कुरा गर्न सुहाउछ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ