शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रवीन्द्र अधिकारीः शंका र विश्वासको बराबरी सम्झना

शुक्रबार, १७ फागुन २०७५, १६ : ०१
शुक्रबार, १७ फागुन २०७५

दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारलाई सम्झनका लागि अनेकन घटनाक्रम छन् । तर, २०५३ को यो घटनाले पंक्तिकारको मनलाई सधैं चिमोटी रहन्छ । 

एउटा विद्यार्थी कार्यकर्ता । भर्खरै ‘पत्रकार’ बनेको । नेताहरुले पत्रकार हैन, कार्यकर्ता नै भनेर व्यवहार गर्ने । तर, एउटा बेइमानी हुन्छ, ‘पत्रकार’ बाट । 

अनेरास्ववियुको बागमति अञ्चल सम्मेलन थियो, कीर्तिपुर अडिटोरियममा । उद्घाटन शान्तिपूर्ण भयो, तर बन्दशत्र खुँडा र खुकुरीको वर्षाले अशान्त । अशान्ति शुरु भएपछि ‘जिउ जोगाउन’ पंक्तिकार पनि त्यहाँबाट भाग्नेमा परेको । 

साँझ ५ बजेतिर न्युप्लाजास्थित नवआवाज साप्ताहिकको कार्यालयमा सनत गिरी आइपुगे । कार्यालय व्यवस्थापक थिए, सनत सापकोटा । उनी त्यहीँ बस्थे । गिरी र सापकोटाबीच परिचय गराएपछि गिरीले आफ्नो ‘आजको समाचारपत्र’ (अहिले ‘नेपाल समाचारपत्र’) दैनिकको कार्यालय हुँदै लाम्पाटीस्थित उनको डेरामा बास बस्ने भनी पंक्तिकारलाई लिएर हिँडे । 

उनको अफिस पुगेपछि कपिल काफ्लेले उनलाई त्यसदिनको अखिलको भिडन्तबारे समाचार तयार पार्न भन्नुभयो । उनी त्यसबेला राप्रपा बिट हेर्थे । तर, त्यसदिन एमाले बिट हेर्ने साथीको अनुपस्थितिका कारण त्यो जिम्मा उनीमा आएको रहेछ ।

आफैँ घटनास्थलमा पुगेका कारण सनतका लागि म समाचारस्रोत पनि बन्न पुगेँ । 

तर, दैनिक अखबारमा समाचारमात्र लेखेर नहुने, कोट पनि चाहियो । बोल्न कोही चाहँदैनन् । सनतले रातोघर, रत्नपार्कस्थित अखिल कार्यालयको नम्बरमा फोन गरे । फोन उठ्छ, । तर, कोट दिनेलायकका कोही नेता त्यसमा उपलब्ध हुँदैनन् । विद्यार्थी नेताको घर, डेरामा त्यसबेला फोन हुँदैथ्यो । 

एकछिनपछि पंक्तिकारले अखिलको कार्यालयमा फोन गर्दा फोन उठ्यो । अघि सनतले फोन गर्दा जसले उठाएका थिए, मैले गर्दा पनि उनैले उठाए । मैले आवाज चिनेँ, उनी रवीन्द्र अधिकारी थिए । यसो भएपछि ‘को बोल्नुभयो ?’ भनेर सोध्नै परेन । अघि–अघिका फोनमा पहिला योगेश, दोस्रोमा रवीन्द्र र तेस्रोमा रुपनारायणको खोजी भइरहेको थियो । आफैँले फोन उठाएर ‘उहाँ त हुनुहुन्न’ भनिरहेका रहेछन्, रवीन्द्रहरुले ।

‘रवीन्द्र दाइ’ नै भनिदिएपछि उताबाट ‘हुनुहुन्नँ’ भन्नुको सट्टा ‘को बोल्नुभयो ?’ भनियो । मैले नाम भनेपछि रवीन्द्रले फोन योगेश दाइलाई दिनुभयो । ‘दाइ, अघि भएकोचाहिँ के हो ? को हुन् ती केटाहरु ?’ मेरो प्रश्न थियो । शायद, योगेशले पत्रकार भनेर मसँग बोल्नुभएको थिएन । फेरि म आइतबार निस्कने साप्ताहिक पत्रिकामा काम गर्ने, यो घटना सोमबारको थियो । त्यसैले कार्यकर्ता ठानेर त्यसबेला पार्टीमा हालिमुहाली चलाएका एकजना नेताको नामै किटेर फ्याट्टै भनिहाल्नुभयो, ‘यो सब काम फलानो नेताका गुण्डाहरुले गरेका हुन् । संगठनमा गुण्डागर्दी छिराइयो ।’

फोन सनतले पनि सुनिरहेको थियो । अखिल अध्यक्षले नै यति बोलेपछि उनले मज्जासँग ‘योगेश भट्टराईका अनुसार’ भनेर समाचार लेखे । भोलिपल्टको समाचारपत्रमा उनकै बाइलाइनमा छापियो पनि । 

त्यो यस्तो समय थियो कि, एमाले फुटिनसकेको । तर, फुट्न तम्तयार भएको । महाकाली सन्धीको विवाद विद्यार्थी संगठनबाट छिर्दै त्यसले पार्टीभित्र बहसको विषय बनाइसकेको थियो । एक वर्षपछि पार्टी महाधिवेशन, तर महाकाली सन्धी पक्षधर र विरोधीको चर्को कित्ताकाट भइसकेको अवस्था । हामी छलफल साप्ताहिकमा काम गर्ने महाकाली सन्धी विरोधी पत्रकारले त्यहाँबाट फुटेर नवआवाज निकाल्न थालेका थियौँ, त्यसमध्ये पंक्तिकार दुई वर्षदेखि मात्र पत्रकारितामा लागेको ‘काँचो’ मान्छे । 

योगेशको भनाइलाई लिएर पार्टीभित्र भिन्न बहस हुने अवस्था भयो । जुन नेताको नाम उनले लिएका थिए, उनी आफैँ पनि प्रचार फाँटबाट विकास भएर पार्टी नेतृत्वमा स्थापित नेता, सञ्चार मन्त्री पनि भइसकेका ।

रातोघर महाकाली सन्धी विरोधी विद्यार्थीको कब्जामा थियो । अर्को पक्षका नेताहरु अन्यत्रै भेट्थे, त्यहाँ प्रायः पुग्दैनथे । हामी महाकाली सन्धी विरोधी पत्रकार, त्यसमा पनि अखिलमा काम गरेर पत्रकारितामा लागेकालाई रातोघर प्यारो थियो । 

भोलिपल्ट पुग्नेबित्तिकै रवीन्द्र अधिकारीसँग ढोकैमा भेट भयो । ‘के हो विश्व ?’ सोधाइको तरिका नै फरक । ‘ठीकै छ’ भन्न नपाउँदै, ‘अनि, समाचारपत्रमा पनि काम गरिँदोरहेछ हैन त ?’ भनेर सोध्नुभयो ।

मैले ‘हैन’ भनेँ । तर, रवीन्द्र दाइले पत्याउनुभएन । 

‘हिजो यहाँ कति पत्रकारले फोन गरे । हामीले योगेशजी हुनुहुन्न भनेर सबैलाई तर्कायौँ । तपाईं हाम्रै साथी भनेर योगेशलाई फोन दिएको । आज फसाइदिनुभयो हैन ?’

बल्ल हिजो बेलुकी समाचारपत्रको कुरा सम्झना आयो । 

‘तपाईंले योगेशलाई मैले फसाए भनेजस्तै मलाई पनि सतन गिरी भन्ने साथीले फसाइदियो । मैले के गरौँ त ?’ मेरो जवाफ थियो, ‘उसले फोन गर्दा योगेश दाइसँग कुरा गर्न पाएन । मैले फोन गर्दा तपाईंले योगेश दाइलाई फोन दिनुभयो । योगेश दाइले पनि कार्यकर्ता ठानेर होला, सबै कुरा भन्नुभयो । उसले त्यही कुरा कोट गरेर समाचार लेखिदियो । न पत्रिका मेरो । न म त्यहाँ काम गर्ने । साथीले चिया खान जाऔँ भनेर उसको अफिसमा लग्यो । म गएँ । उसलाई सहज गराइदिन केही कुरा बुझिदिन्छु भन्ने उदारता देखाउँदा म फसेँ दाइ ।’

एककिसिमको ग्लानीबोध भयो । किनभने, पत्रकारिता धेरै दिन गरिएला भनेर यो पेशा रोजिएको थिएन । तर, पार्टी, संगठनसँग जीवनपर्यन्त जोडिन्छु भन्ने प्रण गरिएको थियो । नेताले नै अविश्वास गरेपछि कार्यकर्ताको मन अलिक बेचैन हुन्छ नै ।

केही दिनपछि सरस्वती क्याम्पस प्राकले महाकाली सन्धी पक्षधर र विरोधी, दुबै बोलाएर एउटा विचार गोष्ठी आयोजना गरेको थियो । हामी सन्धी विरोधी पत्रकारहरुलाई त्यहाँ अनिवार्य पुग्न भनिएको थियो । म पनि पुगेँ । मअघि नै रवीन्द्र अधिकारी पुगिसक्नुभएको थियो । सन्धीपक्षधरका तर्फबाट शंकर पोखरेल वक्ता हुनुहुन्थ्यो, तर पुगिसक्नुभएको थिएन । रवीन्द्र दाइले भेटिनेबित्तिकै भन्नुभयो, ‘समाचारपत्रमा हुनुहुन्छ कि छाड्नुभयो ?’ प्रश्नले फेरि नराम्रोसँग घोच्यो । भनेँ, ‘दाइ, तपाईंले मलाई यसो भन्दा पीडा हुन्छ । म त्यहाँ कहिल्यै छैन । दशा लागेको दिन साथीसँग पुगेछु ।’

एकछिनपछि कार्यक्रम शुरु भयो । पहिलो वक्ता रवीन्द्र दाइ हुनुहुन्थ्यो । करिव पौने घण्टासम्म महाकाली सन्धी राष्ट्रघाती नै हो भनेर उहाँले मन्तव्य दिइरहँदा तालिका तालि बजे । त्यसपछि अन्तिम वक्ता शंंकर पोखरेलको पालो । उहाँले करिव तीन मीनेट बोलिसकेपछि हलभित्र एकाएक होहल्ला शुरु भयो । ‘यो भारतीय दलाल हो’ भन्दै एकथरि विद्यार्थी शंकरलाई घेर्ने र आक्रमण गर्ने स्थितिमा पुगे ।

अर्काथरि विद्यार्थी ‘यो मण्डलेहरुको दलाल हो’ भन्दै रवीन्द्र दाइलाई घेर्न खोज्दै थिए, तर, त्यस्ताको शंख्यण निक्कै कम थियो । रवीन्द्रले शंकर पोखरेलाई अंगालो हाल्नुभयो । फलस्वरुप उहाँ आक्रमणबाट जोगिनुभयो । हामीलाई रवीन्द्र दाइको चिन्ता थियो । उहाँलाई हामीले घेर्यौं । शंकरलाई रवीन्द्र आफँैले अंगालो हाल्दै बाहिर लैजानुभयो । त्यसपछि शंकरसँग आएका सहयोगीहरुले उहाँलाई लिएर गए । 

स्थिति शान्त भएपछि रवीन्द्र दाइलाई शंकरकै चिन्ता थियो । अघि उत्तेजित भएर शंकरलाई घेरा हाल्ने साथीहरुलाई कराउँदै हुनुहुन्थ्यो । ‘तपाईंहरु फरक मतको सम्मान गर्न नसक्ने साथीहरु कसरी कम्युनिष्ट बन्नुहुन्छ ?’ उहाँले त्यसो भन्दा अगाडिपट्टि मैँ थिएँ । मलाई नै भनेजस्तो लागेर जवाफ दिएँ, ‘दाइ, मैले होइन त ।’ 

‘ज–जसका कारण शंकर यहाँबाट हिँड्नुपर्यो ती साथीहरुले बुझिराख्नुस्, यसरी उत्पादन भएका कार्यकर्ताले भोलि पार्टी, आन्दोलन, इतिहास सब खाइदिन्छन् । हामीले त विचारमा बहस गर्ने हो, व्यक्तिलाई निषेध गरेर विचारको वहस कसरी हुन्छ ?’

यसो भनेपछि म ढुक्क भएँ, मलाई भनेको हैन रहेछ ।

०५४ को छैँठौँ महाधिवेशनस्थल नेपालगञ्ज । वास्तवमा उद्घाटनमात्र महाधिवेशनजस्तो थियो, त्यसपछिका बन्दशत्र लडाइँको मैदानजस्तो । उदयराज पाण्डे, योगेश, रवीन्द्रसहितका महाकालीसन्धी विरोधी युवा, विद्यार्थी नेता महाधिवेशन हलबाटै निलम्बनमा परे । हामी सन्धीविरोधी पत्रकार बाहिरै थियौँ । भित्रबाट रवीन्द्र दाइले केही पर्चा हामीलाई दिनुहुन्थ्यो, हामी अरु पत्रकारलाई बाँड्थ्यौँ । 

भोलिपल्ट अघिल्लो दिनको घटनाबारे सबै पत्रपत्रिकामा समाचार छापियो । विहान धम्बोजी चोकमा रवीन्द्र दाइ पत्रिका पढिरहँदा म र साथी कृष्ण अधिकारी टुप्लुक्क त्यहाँ पुग्यौँ । कृष्णसँग उहाँलाई परिचय गराइदिएँ, ‘यहाँबाट समाचारपत्रमा उहाँले नै रिपोर्टिङ गर्ने हो ।’ रवीन्द्र दाइले भन्नुभयो, ‘ए, उताबाट तपाईं, यताबाट उहाँ ?’

फेरि बित्यासँ प¥यो । कृष्ण जनआस्थाको पनि रिपोर्टर, तर मैले समाचारपत्रमात्रै भनिदिँदा एक वर्षअघिको आशंका जिउँदै रहेछ भन्ने बुझेँ । ‘दाइ, तपाईं पत्याउनुस् न यार, म हैन क्या’, मैले भनेँ ।

०५६ सालमा रवीन्द्र दाइ माले अखिलको अध्यक्ष । मचाहिँ जनआस्थामा काम गर्न थालिसकेको थिएँ । सँगै नेपाल चलचित्र संघको बुलेटिन पनि सम्पादन गर्थेंं । उक्त संघले मूलतः सिनेमा हलका मालिकहरुको प्रतिनिधित्व गर्छ । त्यही बेला हो, अखिलले सार्वजनिक सेवामा विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको आन्दोलन चलाएको । तर, हल मालिकहरु प्रत्येक दिन दिइनुपर्ने विद्यार्थी सहुलियतका लागि तयार थिएनन् ।

उनीहरुको तर्क थियो, ‘विद्यार्थीलाई प्रत्येक दिन सिनेमा हलमा सहुलियत दिनु भनेको उनीहरुको पढाई बिगार्ने हो । शनिबार सहुलियत दिन्छौँ, सधै दिनसक्दैनौँ ।’ वास्तवमा तर्क नाजायज थिएन । हल मालिकहरुले रवीन्द्रलाई भेटेर भन्ने प्रयास गर्दा उहाँले भेट दिनुभएन । त्यसपछि मैले पहल गरेँ । रातोघर गएर भेटेँ । उहाँले भन्नुभयो, ‘मैले मात्र गरेर कहाँ हुन्छ ? यही कुरा पार्टी महासचिवकहाँ पनि पुर्याउनुस् त । अनि म उनीहरुसँग कुरा गर्छु ।’

भोलिपल्ट बागबजारमै रहेको नेकपा (माले) को कार्यालयमा हलमालिकहरुलाई महासचिव वामदेव कमरेडसँग भेट गराइदिएँ । वामदेव कमरेड एकैचोटिमा कन्भिन्स हुनुभयो । र, भन्नुभयो, ‘अरु कुरा रवीन्द्रले गर्नुहुन्छ, उहाँकै अफिसमा जानुस् ।’ त्यसपछि अखिल कार्यालयमा वार्ता र सहमति भयो । भोलिपल्ट सबैतिर समाचार पनि आयो । अरुले भन्दा फिल्मी क्षेत्रको समाचारलाई समाचारपत्रले प्राथमिकता दिन्थ्यो । भोलिपल्ट रातोघर पुग्दा मलाई हेर्दै रवीन्द्र दाइ भन्दै हुनुहुन्थ्यो, ‘समाचारपत्रमा त राम्रो आउने भइगो नि ।’

‘दाइ, तीन वर्ष भइसक्यो, अझै मलाई शंका गर्ने ?’ भनेर त्यसदिन अलिक चर्कैसँग भनेँ । उहाँले हाँसेर ‘हैन, हैन, केही समस्या छैन । मैले यसै जिस्किएर भनेको’ भन्नुभयो ।

०५८ मा माले–एमाले एकता भयो । तर, एकतापछि हामी एमालेभित्रका उत्पीडित कार्यकर्ताजस्ता न सदस्यता नवीकरण हुने, न व्यवहार राम्रो गरिने स्थितिका भयौँ । हामी एमालेभित्रका अलग्गै ‘पूर्वमाले’ भनिने । अझ रवीन्द्र दाइ, हामी त ‘वामदेवका मान्छे’ भनिनेमा थियौँ । पार्टी एकतापछि उत्साह हुनुपथ्र्यो, तर एक किसिमको निराशा थियो । यहीबीचमा राजाको ‘कू’, त्यसपछिको आन्दोलनहरुले पार्टी, संगठनको उपेक्षा बिर्सिएर आन्दोलनमा लाग्यौँ । म मेरै मोर्चामा, उहाँहरु उहाँहरुकै मोर्चामा आन्दोलित थियौँ । 

विश्वास, अविश्वास जे भए पनि रवीन्द्र अधिकारी नबिझाउने मान्छे । अविश्वास गर्दा पनि हाँसी हाँसी कुरा राख्ने, गाली भन्ने कहिल्यै सुनिएन । उहाँसँग पार्टीभित्रको आन्तरिक जोडकोणका कारण पनि एउटै विचार समूहमा लामो समय रहेकाले आत्मियता पनि त्यही ढंगले विकास हुँदै गयो ।

प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तर वलीको निधनपछि धुम्बाराहीमा श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरिर राखिएको थियो । रवीन्द्र दाइ आइपुग्नुभयो । म त्यहीँ थिएँ । उहाँ सरासर शव भएतिर जानुभयो ।  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आउन केही समय लाग्ने भएपछि उहाँ चौरतिर निस्कनुभयो । उहाँ अघिल्लो दिन पोखरामा पत्रकार महासंघको विधान अधिवेशनमा पुग्नुभएको थियो ।

मैले सोधेँ, ‘दाइ, हिजै फर्किनुभयो ?’ उहाँले, ‘अँ, हिजै । तपाईंलाई त त्यहाँ देखिनँ ?’ मैले भने, ‘म जान पाइनँ । यतै अरु काम थियो ।’ फुर्सदमा मैले केही कुरा गरिहालौँ भनेर कुरा राखेँ, ‘दाइ, विरोधीहरुको झुण्डले वाइडबडीमा तपाईंलाई अलिक ड्यामेज गर्न खोजेका थिए । अब अलिक मत्थर भयो । यसको बारेमा हाम्रो भूमिका के हो ? प्रेस चौतारी, सेन्टरले के गर्नुपर्छ ? भन्नुहोला दाइ, म साथीहरुसँग सल्लाह गर्छु ।’

उहाँले भन्नुभयो, ‘तपाईंहरुको दाइ, नेता, मन्त्री जेसुकै भन्नुस्, यो रवीन्द्र अधिकारीले एक सिन्को केही अनियमितता गरेको छैन । बेला आएपछि तपाईंहरुमार्फतै म मिडियामा पनि जान्छु ।’

मैले भनेँ, ‘बसेर सल्लाह गरौँ दाइ ।’ सोधेँ, ‘कहिले फुर्सद हुनुहुन्छ ?’ भन्नुभयो, ‘पर्सितिर राजेन्द्र (उहाँको पिए) को नम्बरमा फोन गर्नु न, मिल्यो भने बसेर सल्लाह गरौँ ।’

तर, भोलिपल्टै दिउँसो यहाँको ९८५६० को नम्बरबाट फोन आयो । ‘विश्व कहाँ छौ भाइ ?’ सोध्नुभयो । 

‘म धुम्बाराही छु दाइ’, भनेँ । 

कुनै अनलाइनले उहाँका बारेमा केही अनर्गल कुरा लेखेको रहेछ । सोध्नुभयो, ‘त्यो अनलाइन चौतारीका साथीहरुले चलाएका हुन् कि अरु नै हुन् ।’ मैले अनलाइन खोलेर हेरेँ । चिनेका कोही थिएनन् । सोधखोज गर्दा न प्रेस पास लिएको, न सूचना विभागमै सूचीकृत अनलाइन ।

उहाँलाई भनेँ, ‘दाइ, यसको चिन्ता नलिनु । उनीहरु पत्रकार हैनन् । अनलाइन हावादारी रहेछ । केही भन्नुपरे हामी नै भनौँला, तपाईं आफ्नो काम गर्नुस् ।’ यति भनेपछि उहाँले, ‘ल, ल विश्व । अरु सबै पत्रकार पोखरातिर छन् क्यार । उताका पनि आएपछि म फोन गर्छु । अनि, बस्ने है ।’ मैले ‘हस् दाइ’ भनेर फोन काटेँ । 

यसको तीन दिनपछि दिउँसो रवीन्द्र अधिकारी कहिल्यै संवादमा नआउने गरी ताप्लेजुङको भिरमा ठेक्किनुभयो । हामी सबैलाई छाडेर जानुभयो । 

हार्दिक श्रद्धाञ्जली ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विश्वमणि सुवेदी
विश्वमणि सुवेदी

विश्वमणि सुवेदी 

लेखकबाट थप