शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यस्ता थिए विवादित बने–बनाइएका रवीन्द्र अधिकारीका काम र सपनाहरु

शुक्रबार, १७ फागुन २०७५, १३ : ४५
शुक्रबार, १७ फागुन २०७५

पछिल्ला चरणमा केपी शर्मा ओली मन्त्रीमण्डलका सबैभन्दा विवादित बने–बनाइएका मन्त्री थिए रवीन्द्र अधिकारी । चर्को हल्लाखल्ला नगरिकनै, लुसुलुस आफ्ना कामहरु अगाडि बढाइरहेका रवीन्द्र अधिकारीको नाम वाइडबडीमा जसै मुछियो, उनी भीषण आलोचना र आक्रमणको पात्र बने । कतिसम्म भने, अनुसन्धान, छानविन र न्यायिक प्रक्रियाका बाटाहरु खुल्दा नखुल्दै उनलाई ‘अपराधी’ ठहर्याउने काम समेत भयो । तर रवीन्द्र गलेनन्, ‘नैतिकताको पाखण्ड’ प्रदर्शन गरेर राजीनामा गर्ने हतारो पनि गरेनन्, खुरुखुरु आफ्ना कामहरु गरिरहे, आफूले देखेको सपनाहरु कार्यान्वयन गर्न क्रियाशील रहिरहे । ताप्लेजुङको उनको त्यो यात्रा पनि त्यसै कडीको निरन्तरता थियो भन्दा अतिशयोक्ति नहोला ।

र, अन्ततः उनले आफ्नो कर्तव्यपालनाकै सिलसिलामा दुःखद हवाइ दुर्घटनामा परेर ज्यानै पनि गुमाए ।

सरकार गठनको एक वर्षको समयावधि पूरा भएको सन्दर्भमा रवीन्द्र अधिकारीले आफूले मन्त्रीको हैसियतले गरेका र गर्न बाँकी रहेका कामहरुको बारेमा रातोपाटीका बबिता शर्मासँग कुराकानी गरेका थिए । वास्तवमै, मन्त्रीको हैसियतले उनले गरेका कामहरु के के रहे ? उनले देखेका सपनाहरु के के थिए र ती सपनाहरु कार्यान्वयन गर्नका लागि उनले के के योजनाहरु बुनेका थिए ? अनि आफूमाथि लागेका आरोपहरुका बारेमा उनी स्वयं के सोच्थे ? यी विषयहरुका बारेमा जान्न र बुझ्नका लागि हामीले उनको त्यो पछिल्लो अन्तर्वार्ता यहाँ पुनः पेश गरेका छौं ।

तपाईंले मन्त्रीको जिम्मेवारी सम्हालेको पनि एक वर्ष पुग्न लाग्यो । यो अवधिमा आफ्नै कामलाई फर्केर हेर्दा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हो,सरकार गठनको एक वर्ष पुगेको छ । र,यो एक वर्षमा आफुले अघि सारेको वा गर्ने भनेका कामहरु प्राय: पुरा भएका छन् । मेरो मन्त्रालयको हकमा,हामीले सुरुमा १ सय दिनको कार्यक्रम बनायौँ । त्यसपछि ६ महिना,एक बर्ष र पाँच बर्षको कार्यक्रम बनायौँ । यस हिसाबबाट करिव ८०।९० प्रतिशत काम सम्पन्न गरेका छौं। कतिपय योजनामा समावेश नभएका काम पनि गरेका छौँ । त्यसकारण एकवर्षको अवधिमा हाम्रो मन्त्रालयबाट भएका काममा म सन्तुष्ट छु ।

आफ्नो कामको आफैले मूल्याङ्कन गरेर नम्बर दिनुप-यो भने कति नम्बर दिनुहुन्छ ?

म सयमा ८५/९० नम्बर दिन्छु । मन्त्री भएर होईन,आफ्नो विवेकले नम्बर दिंदा त्यो दिन्छु ।

त्यसोभए, यो एक बर्षको अवधिमा के–के काम गर्नुभयो भनिदिनुस् न ?

मेरो मन्त्रालयमा तीनवटा क्षेत्र समेटिएको छ । संस्कृति,पर्यटन र नागरिक उड्यन ।

नागरिक उड्यन तर्फ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हामीले २१ घण्टा सञ्चालन गर्ने भनेका थियौं,२२ घण्टा सञ्चालनमा आयो । त्यसअनुसार एक वर्षमा ७२ लाख प्यासेन्जर पुगेका छन् । एयर ट्राफिक म्यानेज्मेन्ट लगायतका अन्य काम पनि भएका छन् । रात्रीसेवा सुरु ग-यौं। विदेशी र नेपाली यात्रुहरुमा भएको विभेदलाई समाप्त पा-यौं।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ६२ प्रतिशत काम सम्पन्न ग-यौं। सेप्टेम्बरमा त्यसलाई सञ्चालनमा ल्याउने भनेका छौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य सात महिना अघिनै सम्पन्न हुने गरी काम गरिरहेका छौँ ।

देशका ठुला विमानस्थल भद्रपुर,विराटनगर,नेपालगञ्ज,भैरहवा,धनगढी,जनकपुरको स्तरोन्नति गरेर धेरैजसो रात्रि सेवामा ल्याईसकेका छौँ । अन्यत्र पनि रनवे बढाउने लगायतका काम भएका छन् । यतिमात्र काम हेर्दा पनि हामीले बनाएको योजनाभन्दा धेरै राम्रो काम गरेका छौँ । ३१ ठाउँमा हवाई सेवा सञ्चालन गर्न सफल भएका छौँ। २६ वर्षदेखि बन्द राजविराज विमानस्थल होस् कि सुर्खेत,दाङ,भोजपुरलगायतका विमानस्थल सञ्चालनमा ल्यायौं ।मुलुकका सबै विमानस्थल संचालनमा ल्याउन सक्ने स्थिति छैन । तर,पहिला ९।१० एरपोर्ट संचालनमा आएका थिए भने अहिले ३१ विमानस्थल संचालनमा ल्यायौँ । यसो हेर्दा केही काम भएको छैन भन्ने लाग्छ तर धेरै भएको छ । हो,हामीले जति गर्नुपर्ने त्यो गर्न सकिरहेका छैनौँ । त्यसका लागि हामीलाई जहाजको समस्या छ । अरु स्रोतसाधनको पनि समस्या छ । तर,अहिले जे श्रोत साधन छ त्यसका आधारमा राम्रो गरेका छौँ ।

संस्कृति अन्तर्गत,राजधानीमा विश्व सम्पदा सुचिमा सुचिकृत भएका सम्पदाहरु धेरै भएको देश नेपाल हो । भूकम्प पछाडि काम रोकिएका थिए । ती सबै सम्पदाहरुलाई सञ्चालनमा ल्यायौँ । त्यो बसन्तपुर दरवार स्क्वाएर होस् कि भक्तपुरको चागुनारायण वा पाटनको कृष्ण मन्दिर वा पशुपति,स्वयम्भु,बौद्धनाथ सबै सञ्चालनमा ल्यायौँ । अरु पुन: निर्माणको काम पनि तीब्र ढंगले अगाडि बढायौँ । जसले गर्दा ट्राभल वेबसाइट कम्पनी लोन्ली प्लानेटले २०१९ मा घुम्नैपर्ने संसारका दश ठाउँमध्ये नेपाल र काठमाडौँ उपत्यका पाँचौ नम्बरमा राख्यो । प्रज्ञाभवनको पुन:निर्माण,धरहरा निर्माणको सुरुवात भयो । रानीपोखरी अल्झिरहेको थियो,त्यो पुन:निर्माण प्राधिकरणलाई जिम्मा दियौँ । अब रानीपोखरीको काम अगाडि बढ्छ ।

हाम्रो मन्त्रालयले आफ्ना कामहरु प्रभावकारी बनाउन समय समयमा समीक्षा गर्ने, विज्ञहरुबाट सुझावहरु लिने साथै विगतका कामहरुको पनि समीक्षा गर्ने गरेका छौँ । यहिअनुसार पाँचवर्षे रणनीतिक योजना बनायौँ, त्यसले पनि हामीलाई ठीक ढंगले 'ड्राइभ' गरेको छ ।

पर्यटन अन्तर्गत,पर्यटक संख्या अत्याधिक वृद्धि भएको छ । कतिपय मान्छेहरु समयको कारण पर्यटक वृद्धि भयो पनि भन्ने गर्छन् । तर,सबै मौसम नेपालमा ठीक छ,एकपटक अनुभव गर्नै पर्ने ठाउँ नेपाल हो जस्ता अवधारणा अगाडि सारेर प्रचार प्रसार ग-यौ ।  काठमाडौँ,  पोखरा,  लुम्बिनी,जनकपुर तथा चितवन,रारा र बर्दिया राष्ट्रिय निकुन्जहरुमा विविधीकरण ग-यौं । जसले गर्दा पर्यटक अत्याधिक मात्रामा बढे ।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउनेभन्दा मान्छेहरु खिस्सी गरेर हाँस्थे । अहिलेकै दरमा बढ्दा सन् २०१९ मा १५ लाख पर्यटक पुग्छ । सन् २०२० मा भैरहवा एरपोर्ट संचालनमा आइसकेको हुन्छ,त्यसले डेढ दुई लाख पर्यटक आकर्षित गर्छ । तर,हामी त्योभन्दा अगाडि जानुपर्छ ।

नेपाल वायु सेवा निगमलाई प्रभावकारी बनाउने गरी काम अगाडि बढायौँ । जसले विदेशी प्यासेन्जरमा नेपाल एरलायन्स नम्बर वान भएको छ । यो बीचमा केही कमिकमजोरीमाथि प्रश्नहरु उठेका छन् । गलत देखिए त्यसको आफ्नै प्रक्रियाबाट छिनोफानो हुनेछन् । तर,विदेशी पर्यटकले पनि कतार लगायतका अन्य एरलायन्सभन्दा नेपाल एरलायन्स रोज्ने वातावरण तयार भएको छ ।

भ्रमण वर्ष २०२०अभियान देश भित्र र बाहिर प्रभावकारी ढंगले संचालन गरेका छौँ। पर्यटनका सय गन्तव्यहरुको निर्माण प्रभावकारी ढंगले अगाडि बढेको छ । छोटोसमयमा सय गन्तव्यपपुलर भएको छ । प्रदेश लगायत अन्य निकायहरुसँगको समन्वयमा अन्य गन्तब्य पहिल्याउने काम अगाडि बढेको छ ।

त्यस्तै,पर्यटनको नयाँ ऐन अगाडि बढेको छ । टुरिज्म एकेडेमी युनिभर्सिटी ऐन अहिले क्याविनेटमा छ । केही समयमा संसदमा जानेगरी तयारी गरेका छौँ । र,समग्रमा भन्दा हाम्रो मन्त्रालयले आफ्ना कामहरु प्रभावकारी बनाउन समय समयमा समीक्षा गर्ने,विज्ञहरुबाट सुझावहरु लिने साथै विगतका कामहरुको पनि समीक्षा गर्ने गरेका छौँ । यहिअनुसार पाँचवर्षे रणनीतिक योजना बनायौँ,त्यसले पनि हामीलाई ठीक ढंगले 'ड्राइभ'गरेको छ ।

गत असारको अन्तिम साता तपाईले प्रधानमन्त्रीलाई जुन कार्ययोजनाहरु बुझाउनुभयो तर त्यसअनुसार काम अगाडि बढ्न त सकेन नि, किन ?

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा हामी अलि गाडि जान्छौँ  कि भन्ने लागेको थियो । तर,हामी अर्को बाटो हिँड्नु प-यो । किनभने त्यहाँ धेरै अवरोधहरु आए । ती अवरोधहरु ठीक थिएनन् । तर,निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भोली जि टू जिमा गएर भएपनि अथवा सबै कुराको सुनिश्चितता गर्ने गरी अगाडि बढाउने तयारी गरेका छौँ ।

अर्को,काठमाडौँ नजिक काभ्रेमा आन्तरिक विमानस्थल बनाउने भन्ने हो । त्यसमा संसदको समिति लगायतबाट अनेक कुराहरुका कारण केही ढिला भएको छ । तैपनि त्यो रोकिएको छैन,प्रक्रियामै छ । यीबाहेक हामीले जति 'टार्गेट'गरेका थियौं,त्योभन्दा धेरै नै गरेका छौँ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जिम्मा कतारलाई दिने भन्ने कुरा पनि आएको छ । के प्रक्रिया अगाढि बढेको हो ?

अहिले जि टु जिका लागि विभिन्न देशहरुसँग हाम्रो छलफल चलिरहेको छ । यसमा धेरै देश इच्छुक छन् । हामी त्यसको घनिभुत गृहकार्यमा छौँ। त्यसको छिटै परिणाम आउँछ । यसमा हामी सुस्ताएर बसेका छैनौँ । तर,निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो हवहो । हाम्रो गौरव पनि हो । त्यो विमानस्थल हामीले निर्माण गर्नैपर्छ । त्यसका लागि सबै कामहरु गरेका छौँ। विमानस्थल त्यहाँ बनाउनका लागि उपयुक्त ठाउँ हो भनेर २० वर्ष अघिदेखि भनिएको हो । त्यसकारण त्यसलाई सार्ने भन्ने कुरा उपयुक्त हुँदैन । वातावरणलाई कम भन्दा कम क्षति पुग्नेगरी त्यहाँ विमानस्थल बनाउँछौँ हामी । त्यसका लागि सघाउन म सबैसँग आग्रह पनि गर्न चाहन्छु ।

तर, विमानस्थल बनाउँ रुख कटान गर्ने विषयमा वन मन्त्रालयसँग अझै कुरा मिलेको छैन, वातावरणको क्षेत्रमा काम गर्नेहरुले पनि बिरोध गरिरहेका छन् । यो समस्यालाई कसरी सुल्झाउनुहुन्छ ?

अन्तरमन्त्रालय विवाद छैन । तर,जुन ढंगले विमानस्थल निर्माणका सन्दर्भमा अफ्ठ्याराहरु देखापरे त्यसलाई कसरी समाधान गर्ने भन्ने छलफलमा छौँ हामी । योबीचमा जति पनि टिका टिप्पणीहरु भएका छन्,ती विमानस्थल बन्न नदिने कोणबाट भएका छन्,जुन दुर्भाग्यपूर्ण हो।

ठ्याक्क भनिदिनुस् न, अब कहिलेबाट निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढ्छ ?

 कुन बाटोबाट जाने भन्नेमा हामी गृहकार्य गरिरहेका छौँ । भोली दुई मुलुकले संयुक्त रुपमा काम गर्ने मोडलबाट पनि जान सक्छौँ । जि टु जिभनिरहे पनि त्यो बुटमोडल नै हो । हामीसँग त्यसको सबै लगानी गर्न सक्ने क्षमता अहिले छैन । हामीले वैदेशिक लगानी नै भित्राउनु पर्दछ । हामीले मात्रै बनाउँछौँ भन्न  थाल्यौँ भने बर्षौ लाग्छ । त्यसकारण ढिला नहुने गरि काम गर्छौं ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि नबिग्रियोस् भन्नेबारे भयङ्कर संवेदनशिल भएर नै २००४ सालदेखि भएको 'फेक रेस्क्यु' धन्दा हामीले पुर्णरुपमा रोक्यौँ । अहिले ९९ प्रतिशत ‘अन्डर कन्ट्रोल’मा छ ।

विभिन्न अध्ययन समितिका प्रतिवेदन लगायत अन्य कागजातहरु कतारलाई बुझाउनु भएको भन्ने कुरा बाहिर आएको आएको छ नि ?

अध्ययन प्रतिवेदनले मात्रै त हुँदैन नि । विभिन्न देशहरुसँग छलफल चलिरहेको छ । एउटा विश्वासिलो,भरपर्दो देशसँग जि टु जिगरेर भोली बुटमोडेलमा बनाउँ दिन्छौँ ।

अर्को प्रशंग, तारागाउँ रिजेन्सी होटलको शेयर विवादबारे कस्तो प्रक्रिया अगाडि बढेको छ ?

तारागाउँ रिजेन्सी होटलबारे अहिले हामी छानबिन गरिरहेका छौँ । सरकारको शेयर कति हो भन्ने अहिले गरेको निर्णय होईन । पहिलाको निर्णय हो । आवश्यक प-यो भने एउटा छानबिन समिति बनाउँछौँ हामी । संसदका समितिहरुले पनि हेरिरहेको छ । नेपालको सम्पत्ति,नेपाल राष्ट्रलाई हानी नोक्सान हुने विगतमा जति पनि निर्णयहरु भएका छन्,तिनलाई सच्चाईन्छ । र,त्यतिबेला गलत गर्नेहरु दण्डित हुन्छन् ।

सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तयारी भइरहेको छ तर अझै पनि पर्यटन व्यवसायमा ‘फेक रेस्क्यु’का शृखला रोकिएका छैनन् । यस्ता गैरकानुनी काम जारी रहँदा २० लाख पर्यटक भित्र्याउने राष्ट्रिय लक्ष्यमा असर पर्ला । अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि बिगार्ने 'फेक रेस्क्यु' धन्दा रोक्नेबारे के सोच्नु भएको छ ?

अन्तर्राष्ट्रिय जगतमा नेपालको छबि नबिग्रियोस् भन्नेबारे भयङ्कर संवेदनशिल भएर नै २००४ सालदेखि भएको 'फेक रेस्क्यु'धन्दा हामीले पुर्णरुपमा रोक्यौँ । अहिले ९९ प्रतिशत अन्डर कन्ट्रोलमा छ । पर्यटन व्यवसायमा रहेका ठगी धन्दा रोक्न खोज्दा ममाथि भयकंर प्रहार भयो । तर,आज रोकिएको छ । त्यतिबेला जजसले गलत धन्दा गरे,तिनीहरुलाई कारवाही गर्ने पहिलो रिपोर्ट अनुसन्धानमा गएको छ । गहिरो अनुसन्धानपछि गल्ती गर्नेहरु कारवाहीमा पर्छन् । नेपालको टुरिजम इन्ड्रस्टीको इमेजराम्रो बनेर जानेछ । तर, ‘टुरिजम इन्ड्रस्टीमा राम्रो काम गरेका कोही पनि डराउनु पर्ने छैन । अब नेपाल त्यस हिसावबाट पूर्ण सुरक्षित छ । पूर्ण सुशासन कायम भएको छ ।  हामीले गरेको सफलतामध्ये ठुलो सफलता यो पनि हो ।

सबै राम्रा काम गरे मात्रै भन्नुहुन्छ तर मन्त्रीहरुमध्ये तपाईं सबैभन्दा धेरै विवादमा तानिनु भयो । तपाईंको भनाई र गराईमा कहाँ के मिलेन ?

काम नगरिकन बसेको भए विवादमा परिदैँनथ्यो होला,एउटा । अर्को,हाम्रोमा काम गर्नेलाई रोक्ने,छेक्ने पद्धती छ । सक्रियतापुर्वक नियम कानुनमा रहेर काम गर्दा कतिपय स्वार्थ समुहको स्वार्थ पूरा भएको हुँदैन । उनीहरु बारम्बार मन्त्रालय र ममाथि हमला गरिरहन्छन् । त्यो भनेको मैले र मेरो मन्त्रालयले गरेका कामहरु रोक्न छेक्नका लागि हो । कतिपय राजनीतिक कुरा पनि कुरा छ । अरुलाई के लाग्छ भने यहाँ त धेरै राम्रो कामहरु भए ।  म मेहनतपुर्वक काम गर्छु । मैले गरेका कामलाई हैन भन्ने बनाउन चाहनेको नकारात्मक सोचाईले पनि काम गरेको छ ।

जहाज खरिदका प्रक्रियामा कमजोरी छ । त्यसमा अनुसन्धान भैरहेको छ । दोषीलाई कारवाहि हुन्छ । म फेरि पनि भन्न चाहन्छु, त्यसमा मेरो संलग्नता हैन । आफ्नै प्रक्रियाले दुई किस्ता रकम गएको छ । त्यो जाने प्रक्रिया गलत हो भनेर कसैले कतै भन्छ भने त्यसको जवाफदेहिता म लिन्छु ।

सक्रियतापुर्वक जति काम भए र त्यसबाट जुन परिणाम निस्केका छन्,त्यसले मलाई विवादमा तान्न खोजेका हुन् । जस्तो वाइडबडी खरिद प्रकरण,त्यसमा के म संलग्न छु त ?त्यो पहिलाकै प्रक्रिया होईन र ?सबै कुरा पहिला नै सकिएको छ । म आईसकेपछि जहाज आएको छ । आफ्नो प्रक्रियाबाट पैसा गएको छ । र पनि,मलाई विवादमा तान्ने र सकेसम्म काम अगाडि बढाउन नदिने खेल भए । जो आफ्नो स्वार्थ पुरा गरेर रमाईरहेका थिए,उनीहरुको स्वार्थ पूरा नहुने देखेर मेरो पछि हात धोएर लागेका हुन् । मलाई यसमा चिन्ता छैन । हाम्रो देशमा काम गर्नेलाई धेरै अवरोधहरु आउँछन् । ती अवरोध छिचल्दै अगाडि बढ्नु पर्छ । मैले विवादास्पद काम गरेको होईन । मलाई विवादमा तानेर अल्झाउन खोजेका मात्र हुन् ।

रवीन्द्र अधिकारीको यस अघिसम्मको स्वच्छ छवि ‘वाइडवडी प्रकरण’ले एकाएक धमिलाइ दियो भनेर टिका–टिप्पणी पनि भैरहेको छ नि ? खास के कमजोरी हो खरिद प्रक्रियामा ?

यसबारेमा वास्तविकता बुझ्नु आवश्यक छ । मलाई लाग्छ,सबैले धेरै कुरा बुझिसक्नु भएको छ । खाली मलाई जोड्न मात्र खोजिएको हो । २०७१।०७२।०७३ र ०७४ मा नै निर्णय भएका छन् । बैना गएको छ । पहिलो किस्ता गएको छ । जहाज बनाउने अर्डर गएको छ । समयमा भुक्तानी गरेर लिएन भने ४० लाख पेनाल्टी तिर्नुपर्ने,सबै व्यवस्था छन् नि त । यति भैसकेपछि जहाज स्वाभाविक प्रक्रियाले आयो । त्यसमा मलाई जोड्नु कुनै कारण छैन ।

जहाज खरिदका प्रक्रियामा कमजोरी छ । त्यसमा अनुसन्धान भैरहेको छ । दोषीलाई कारवाहि हुन्छ । म फेरि पनि भन्न चाहन्छु,त्यसमा मेरो संलग्नता हैन । आफ्नै प्रक्रियाले दुई किस्ता रकम गएको छ । त्यो जाने प्रक्रिया गलत हो भनेर कसैले कतै भन्छ भने त्यसको जवाफदेहिता म लिन्छु । अब कामनै नगरि बस्ने हो भने त केही पनि हुँदैन । सबै प्रक्रिया पुरा भएर,अर्डर भैसकेको जहाज नेपालमा अवतरण गराउनु मेरो गल्ती हो भने,त्यो मेरो गल्ती हो । जहाज आएको छ । कमजोरी भएका छन् भने खोजेर कारवाही गर्नुपर्छ ।

वाइडबडी  प्रकरणमा सरकारले छुट्टै बनाएको न्यायिक छानबिन समितिको काम कहाँ पुग्यो ?

त्यसले आफ्नो प्रक्रिया अगाडि बढाएको छ । अख्तियारले पनि छानबिन गरिरहेको छ । छन् नि निकायहरु । खाली आक्रमण गर्न खोजिएको हो,त्यसको केही अर्थ छैन ।

यो प्रकरणमा तपाईंले नैतिक जिम्मेवारी लिनुपर्ने सार्वजनिक लेखा समितिको ठहर छ । तपाईं नैतिक जिम्मेवारी लिन तयार हुनुहुन्छ ?

म नैतिक जिम्मेवारीबाट भाग्ने कि मैले सामना गर्ने ?मैले सामना गर्ने हो । म भागेर समाधान त हुँदैन । मैले पत्रकार सम्मेलन गरेर पनि भने । म आइसकेपछि भएका प्रत्येक कामको पूर्ण जवाफदेहिता र जिम्मेवारी लिन्छु ।  केही माफिया लगायतका अन्य केही मान्छेहरु मिलेर पाँच,छ महिनाभन्दा बढि मन्त्री टिक्न नदिने मन्त्रालय हो यो । यस्तै तरिकाबाट रवीन्द्र अधिकारीलाई हटाउन पाए फेरि पुरानै 'राज'सुरु गर्नपाईन्छ भन्नेहरु पनि छन् होला । मैले यति ठुलो जिम्मेवारीबाट भाग्नु भनेको राम्रो कुरा होईन । त्यसहिसाबबाट मेरा प्रत्येक कामहरुप्रति पूर्णरुपमा जिम्मेवार छु ।

तपाईंले अझै स्पष्ट जवाफ दिनुभएन । मन्त्री भएपछि तपाईंको छविमा दाग लाग्यो भन्ने टीका टिप्पणी भैरहेका छन् नि ?

अन्यौलताको अवस्थामा जहाज आएको छ । पहिला नै सबै प्रक्रिया भैसकेका छन् । मैले रोक्न मिल्दैनथ्यो । मैले रोक्दा १० अर्ब डुव्थ्यो । त्यसबाहेक प्रत्येक दिन क्षतिपुर्ति तिर्नुपर्दथ्यो । यो कुरा राम्ररी बुझ्नु प-यो,खाली दाग लाग्यो भनेर भएन । राम्रो काम गरिरहँदा मलाइ ह्यारेसबनाउनका लागि मात्रै गरिएका 'प्रपोगान्डा'हुन् । मैले गरेका काम र मैले गरेका निर्णयहरु जहाँ जुनसुकै बेला पनि पूर्ण जवाफदेहिताका साथ उत्तरदायी भएर नैतिकरुपमा आफ्नो जिम्मेवारी लिएर सामना गर्न तयार छु ।

एकवर्षे कार्यकालमा नै तपाईंमाथि धेरै प्रश्न उठे । आउँदा दिनमा तपाईंका काम कारवाही झन् चुनौतिपूर्ण हुन्छन होला है ?

प्रत्येक दिन चुनौति छ । धेरै अवरोधहरु आउँछन्,यसलाई बचाएर लैजानु पर्नेछ । र,काम गर्नुपर्ने छ । हाम्रो एभिएसन सेक्टरर यो मन्त्रालयलाई धेरै अगाडि लैजानु पर्नेछ । किन २५।३० वर्ष अगाडि हुनुपर्ने कामहरु भएनन् ?हामीले सोच्नु पर्दैन ?हामीलाई कस्ले रोकेको छ ?कस्ले छेकेको छ ?आज साँच्चिकै राम्रोसँग सबैलाई यो मन्त्रालयमा भएको कामहरुको मूल्यांकन गर्न आग्रह गर्छु । भैरहवा विमानस्थल रोक्ने र छेक्ने अझै छ । पोखरा विमानस्थल रोक्ने र छेक्ने अझै छ । नेपाल एरलायन्सलाई राम्रो हु्न नदिन रोक्ने र छेक्ने अझै छ । यी सबै गलत प्रवृतिहरु पराजित गर्दै आगामी दिनमा अगाडि जानु पर्नेछ । त्यसकारण आउने दिन अझ चुनौतिपुर्ण छन् । ती मेरा लागि आफ्ना परीक्षाका दिनहरु पनि हुन् । तर,सबै चुनौतिको सामना गर्दै हामी अगाडि बढ्छौँ,सरकार अगाडि बढ्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप