बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्री अधिकारीका अंगरक्षक घिमिरेका आफन्तको रुवावासीः बुढी आमालाई छोरो बस दुर्घटनामा घाइते छ भनेर काठमाडौं ल्याइँदै (भिडियो)

बिहीबार, १६ फागुन २०७५, २० : १५
बिहीबार, १६ फागुन २०७५

काठमाडौं– झन्डै ६५ बर्षकी मिठु घिमिरेले ६ महिनाअघि मात्रै श्रीमान गुमाइन् । उनले कल्पना नै नगरेको अर्को बज्रपात उनीमाथि परिसकेको छ । तर उनी यसबारे अहिलेसम्म बेखबर छिन् । सायद उनी अहिले बस दुर्घटनामा घाइते भएको आफ्नो जेठो छोरा अर्जुनसँग के–के कुरा गर्छु भनेर मनमनै गम्दै काठमाडौ तर्फको यात्रा गरिरहेकी होलिन् ।

घाइते छोराको सेवा सुसार गर्ने, हेरविचार गर्ने, बसको यात्रा गर्दा ख्याल गर्न सम्झाउने लगायतका कल्पना गर्दै काठमाडौंतर्फ आइरहेकी होलिन् । आफन्तले बस दुर्घटनामा छोरा घाइते भएको खबर सुनाउँदा उनको मनमा सानोतिनो चिन्ताको बादल पनि मडारिरहेको होला । कहिले काठमाडौं पुगिएला र घाइते छोरा भेट्न पाइएला भन्ने चिन्ताले उनको मन छटपटिएको होला ।  

कुनै फिल्मको क्लाइमेक्सजस्तै घटना । बस दुर्घटनामा घाइते छोरा भेट्न आएकी उनले  छिट्टै थाहा पाउनेछिन् आफ्नो जेठो छोरा अर्जुन अब यो संसारमा नरहेको खबर । जब अर्जुनको निधन भएको खबर सुन्नेछिन्, उनीमाथि हजार चट्याङ्ग एक्कैसाथ बर्सनेछन् ।  फेरि उनले अर्को अकल्पनिय बज्रपात सहनुपर्नेछ । मृत्यु भएको छोराको अनुहारसम्म हेर्न पाउने छैनन् उनले । हेलिकोप्टर दुर्घटनामा मृतक घिमिरेको शव चिन्न नसक्नेगरी जलेको छ । 

छोरा हेलिकोप्टर दुर्घटनामा परेर निधन भएको खबर अगाडि नै सुनाएर अन्तिम श्रद्धाञ्जलीका लागि काठमाडौं ल्याउन नसकिने भएपछि अर्जुनकी आमालाई दुर्घटनाबारे केही नबताइएको उनका आफन्तहरुले बताए ।  अर्जुनका बुवा उनका श्रीमान १० बर्ष निरन्तर विरामी भएर ६ महिनाअघि बितेका थिए । 

नेपाली सेनाको जमदार पदमा रहेका र संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका अर्जुन घिमिरे बुधबार बिहान ७ बजे कीर्तिपुरको डेराबाट निस्किएका थिए । मन्त्रीसँगै हेलिकोप्टर दुर्घटनामा ताप्लेजुङमा उनको पनि निधन भएपछि उनकी श्रीमती बेहोस अवस्थामा छिन् भने आफन्तहरु शोकमा डुबेका छन् ।  

उनका आफन्त दाई अर्जुन बस्नेतले उनी केही दिनदेखि ज्वरोको बिरामी रहेको र मन्त्रीले जाउ भनेपछि उनी पनि साथै गएको बताए । उनले भने– ‘भलाद्मी स्वभावको थियो । कसैलाई केही नभन्ने असल स्वभाव थियो । परिवारको आर्थिक अवस्था नाजुक छ । ७ बर्षको छोरा छ ।’

रामेछापको उमाकुण्ड गाउँपालिका गुम्देलमा उनका बुवा बितेपछि आमा एक्लै बस्दै आएकी छिन् । अर्जुनको निधन भएपछि उनललाई छोरा बिरामी छ हेर्न हिँड भनेर ल्याउन लागिएको उनीहरुले बताए । उनीहरुले भने– ‘आमालाई यस्तो घटना भयो भनेर सुनाईको छैन, छोरा बिरामी छ, अस्पतालमा भर्ना गरेर राखेको छ, हेर्न जाउँ भनेर एकजनाको साथ लगाएर ल्याँइदैछ ।’

मन्त्रीका बुवाआमालाई हिजै हवाइजहाजबाट काठमाडौं ल्याइएपनि मन्त्रीको सुरक्षाकर्मीकी आमालाई काठमाडौं झिकाउन भने विवेध गरिएको उनीहरुको दुःखेसो थियो ।  उनकी फुपुदिदी मिना बस्नेतले भनिन्– ‘त्यस्तो असल व्यक्ति पाउन मुस्किल पर्छ, उ त्यस्तो व्यक्ति हो । उ त्यस्तो सहनशील मान्छे । मन्त्रीले जाउँ भनेपछि बिरामी भएको मान्छे हस् भनेर गएछ । बिहान ७ बजे घरबाट निस्किएको रे । यस्तो घटना हुन गयो । हाम्रो संसार नै डुब्यो ।’

रामेछापको दुर्गम क्षेत्रमा जन्मेर यति प्रगति गरेर भाईले ज्यान गुमाउनुपरेपछि परिवार पूरै शोकमा डुबेको उनले बताइन् । २ बजेको समाचारमा मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटना भएको उनले थाहा पाएकी थिइन् । मन्त्रीको पिएसओ आफ्नो भाइ रहेको उनलाई थाहा थियो । उनले भाइको नम्बरमा फोन गरिन् तर फोन लागेन् । ३ बजेपछि आफ्नो भदाभाई अब यो संसारमा नरहेको उनले थाहा पाइन् । 

उनले भनिन्– ‘१८ बर्ष मेरो भाईले देशको सेवा ग¥यो, भोकै बस्यो, बस्ने खाने बेलामा उसको जिन्दगी गयो । सानो ७ बर्षको छोरा छ, बुढीको अवस्था एकदम नाजुक छ । जागिरभित्रै उसको उसको जिन्दगी गयो ।’


मृतक अर्जुन घिमिरेका काका श्याम घिमिरेले खराब मौसम भएको बुझ्दा बुझ्दै हेलिकोप्टर चलाउनु गल्ती भएको बताए । उनले तेह्रथुमको कार्यक्रम सकेपछि ताप्लेजुङ नगएको भए दुर्घटना नहुने बताउँदै यो घटनाबाट ठूलो बज्रपात भएको रातोपाटीसँग बताए । 

उचित क्षतिपूर्तिको माग

मृतक घिमिरेका आफन्तजनले सरकार, नेपाली सेना तथा हेलिकोप्टर कम्पनीले उचित क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । परिवारको आड भरोसाको रुपमा रहेको छोराको निधनले परिवारमा बज्रपात परेको भन्दै ७ बर्षका छोराका लागि निःशूल्क उच्चशिक्षाको व्यवस्था, श्रीमतीका लागि जागिर, श्रीमानले काम गर्ने अवधिमा पाउने पूरै तलब तथा पेन्सन, सरकारबाट क्षतिपूर्तिका साथै विमान कम्पनीबाट पनि क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् । 

उनका काका श्याम घिमिरेले भने– ‘यो कस्तो छ भने ड्युटीमा भएको बेला दुर्घटनामा परेको छ । राज्यले दिने सुविधामा कुनै पनि सम्झौता गर्न भएन । त्यसमा यताउता भन्ने कुरा आउँदैन । नेपाली सेनाले दिने सुविधा पनि दिनपर्यो, नेपाली सेनाले दिने सुविधा पनि दिनपर्यो । हेलिकोप्टर कम्पनीमा पनि बिमाको व्यवस्था होला त्यो पनि दिनपर्यो । भोलीपर्सी हामीले आन्दोलन गर्नु नपरोस् । हाम्रो छोरो जस्ता तस्तै ल्याउ भन्दा ल्याउन सक्छ र उसले ? दिनुपर्ने त दिनपर्यो नी ।’ 

मन्त्री अधिकारीका अंगरक्षक घिमिरे नेपाली सेनाका जमदार हुन् । २०५८ सालमा उनी नेपाली सेनामा प्रवेश गरेका थिए । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म टुँडिखेलमा श्रद्धाञ्जलीका लागि उनको शव राखिनेछ ।  

हेर्नुहोस् भिडियोः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप