मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जनावरले मकैबाली नष्ट गरेपछि किसान चिन्तित

मङ्गलबार, १७ साउन २०७४, १३ : ०१
मङ्गलबार, १७ साउन २०७४


बैतडी -मकैबाली जंगली जनावरले नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । 

जिल्लाका धेरैजसो ठाउँमा जंगली बँदेल, दुम्सी र भालुले मकैबाली खान थालेको किसानले बताएका छन् । दिउँसो बाँदर र बँदेल तथा राति दुम्सी र भालुले मकैबाली खान थालेपछि किसान हैरान भएका हुन् । मकैबाली जोगाउन खेतमा पहरा दिन थालेको पाटन नगरपालिका–५ कनेडाका मोहन ठगुन्नाले बताउनुभयो । 

“दुम्सीले मकैबाली सखाप पारेको छ,” पाटन नगरपालिका–५ अठतोलाका हीरा पाण्डेले भन्नुभयो । जंगली बँदेलका कारण दिउँसो घाँस काट्नसमेत समस्या भएको छ । रातभरि पहरा दिएपनि बँदेलले मकैबाली नष्ट गर्ने गरेको पाण्डेले बताउनुभयो । 

पञ्चेश्वर, शिवनाथ, दोगडाकेदार, सुर्नया गाउँपालिकालगायत क्षेत्रमा जंगली बँदेलले मकैबाली नष्ट गर्न थालेको छ । भर्खर घोगा लाग्न लागेको मकै बँदेलले नष्ट गर्न थालेको तल्लोस्वराडका राजेन्द्र कलौनीले बताउनुभयो । पञ्चेश्वर र शिवनाथ गाउँपालिकाको मल्लिमड, दोवखर्क, पोखरेठी, सौगाडा, भैँसीखर्कलगायत क्षेत्रमा बँदेलका कारण किसान हैरान भएका छन् । 

दोगडाकेदार र सुर्नयाको गाउँपालिकामा पनि जंगली बँदेल र दुम्सीले मकैबाली नष्ट गरेको छ । बँदेलले मकैबाली नष्ट गर्न थालेपछि किसान भोकमरी हुने भन्दै चिन्तित बनेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार १४ हजार नौ सय हेक्टरमा मकैखेती गरिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप