शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्व श्रवण शक्ति दिवसमा नर्भिकले निःशुल्क जाँच तथा परामर्श सेवा दिने

बिहीबार, १६ फागुन २०७५, १८ : ४३
बिहीबार, १६ फागुन २०७५

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलको नाक–कान–घाँटी विभागले विश्व श्रवण शक्ति दिवसका अवसरमा विरामीहरूको निःशुल्क जाँच–परीक्षण गर्ने भएको छ । यस वर्षको विश्व श्रवण शक्ति दिवस यही फागुन १९ गते मनाइदैछ । यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “आफ्नो श्रवण शक्ति जाँचौ” रहेको छ । 

विकासशील र अल्प विकसित मूलुकहरूमा हाल तीब्र गतिमा बढ्दै गएका विविध प्रदूषणहरुः जस्तै ध्वनि प्रदुषण, वायु प्रदूषण, कोलाहल, विविध संक्रमणहरु, आदिका कारण मानिसहरूको श्रवण शक्तिमा क्रमिक ह्रास आउन थालेको छ ।

त्यसमा पनि अत्यधिक ध्वनिसहितका कल–कारखाना, विमानस्थल वरपरका वासिन्दा, अनियन्त्रित सार्वजनिक यातायातका ध्वनि, लामो समय ठूलो आवाजसहितको एयर फोन प्रयोग गर्ने वानी, चर्को आवाजसहितको मनोरञ्जन र कानका त्यस्ता केही संक्रमणहरू जसले मानिसको श्रवण शक्तिमा ह्रास ल्याउने मात्रै नभएर बहिरोपन निम्त्याउने समेत सम्भावना रहन्छ । 

तसर्थ समयमै गरिने श्रवण शक्ति ह्रास सम्बन्धी समस्याको पहिचान, निदान एवम् उपयुक्त उपचार श्रवण शक्ति जोगाउन वा बहिरोपनबाट बचाउन निकै महत्वपूर्ण हुनसक्छ । त्यसैले विश्व स्वास्थ्य संगठनले यस वर्षको विश्व श्रवण शक्ति दिवसको नारा “आफ्नो श्रवण शक्ति जाँचौ” राखेको हो । हाल विश्वभर करीव ४६ करोड मानिसहरु श्रवण शक्ति ह्रास हुने समस्याबाट पीडित रहेका छन् भने तिनमा ३४ करोड त बालबालिका मात्रै रहेका छन् । 

नेपालको सन्दर्भमा आधिकारिक तथ्यांक उपलब्ध नभए पनि सो संख्या अत्यधिक भएको अनुमान छ । मानिसको श्रवण शक्ति ह्रास हुनुका प्रमुख कारणहरूमा खोपद्वारा नियन्त्रण गर्न सकिने केही त्यस्ता संक्रमणहरु जस्तैः दादुरा, गलगाँण र रुवेला आदि छन् भने केही प्रकार क्षयरोग र मलेरियाविरुद्धका औषधिहरु, चर्को आवाज निकाल्ने कल–कारखानाहरु, लगातार चर्को स्वरमा सुनिने÷गरिने मनोरञ्जनात्मक क्रियाकलापहरू मुख्य रहेका छन् । 

श्रवण शक्ति ह्रास हुँदा मानिसलाई विविध कठिनाईहरु आइपर्ने हुन्छ । समयमा रोगको पहिचान, निदान एवम् उपचार गर्ने हो भने श्रवण शक्ति ह्रासका धेरै समस्याहरु निवारण गर्न सकिन्छ । नर्भिकको नाक–कान–घाँटी विभागले फागुन २० गते विहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कान सम्बन्धी समस्याहरूको निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराउने भएको हो ।

सेवा प्राप्त गर्नका लागि अग्रिम नाम दर्ता गर्नुपर्ने र उपर्युक्त सेवा परिचालनका लागि नाक–कान–घाँटी विशेषज्ञहरु प्रा.डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, आदिको टोली कार्यरत रहने छ । सो दिन श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा समेत निःशुल्क प्राप्त हुनेछ ।

निःशुल्क परीक्षण सेवा प्राप्त गर्नेहरूमध्ये यदि कसैलाई श्रवण यन्त्रको आवश्यकता परेमा उक्त यन्त्र २० प्रतिशत छुटसहितको दर÷रेटमा प्राप्त हुने र सेवाग्राहीहरूमध्ये यदि कसैको शल्यक्रियात्मक उपचार आवश्यक परेमा मार्च महिनाभित्रै शल्यक्रिया गराउँदा विरामीले शल्यक्रिया शुल्कमा २५ प्रतिशत छुट प्राप्त गर्ने प्रावधान राखिएको नर्भिकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप