शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी सम्झिए समकक्षीहरूले स्वर्गीय पर्यटनमन्त्री रवीन्द्रलाई

बिहीबार, १६ फागुन २०७५, १७ : २६
बिहीबार, १६ फागुन २०७५

 काठमाडौँ– बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाएको घटनापछि मुलुक शोकमा छ । दुर्घटनामा देशका होनहार राजनीतिज्ञ, पर्यटन उद्यमी, प्राविधिक र कर्मचारीहरूको दुखद् निधन भयो । अकल्पनीय रूपमा भएको यो घटनाले मुलुकले अपुरणीय क्षति बेहोर्न बाध्य भयो । मन्त्री अधिकारीसहितको शव बिहीबार काठमाडौँ ल्याइएपछि टुँडिखेलमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो । तर, पोस्टमाटर्ममा समय लाग्ने भएपछि बिहीबारको कार्यक्रम शुक्रबार बिहानसम्मका लागि स्थगित गरियो । दुर्घटनामा ज्यान गुमाएका अधिकारीसहितलाई श्रद्धाञ्जली दिन बिहीबार दिउँसो टुँडिखेलमा पुगेका विभिन्न दलका नेता र स्व. अधिकारीका समकक्षीहरू निकै भाबुक मुद्रामा देखिन्थे । उनीहरू सबैको भनाइ थियो– देशले एउटा असल र उदयीमान नेता गुमायो । यो देशकै लागि ठूलो क्षति हो ।   

घनश्याम भुसाल, नेता नेकपा


लामो समय असाध्यै धेरै चुनौतीहरू बेहोरेर हुर्केको एउटा परिपक्व मान्छे हुन् रवीन्द्र । समाजको एउटा नेता, राजनीतिमा पनि नेता, हाम्रो आन्दोलनको नेता, हामीले गुमाएका छौँ । आजको गतिविधि मात्र होइन, पञ्चायत कालदेखि नै करिब करिब राष्ट्रिय हरेक मुद्दामा संग्लग्न रहेको सहभागी भएको र बेहोरेको एउटा मान्छे हामीले गुमायौँ ।
पर्यटनको कुरा मात्र कुरा होइन, हाम्रो आजको समसामयिक राजनीतिक र राज्य सञ्चालनको जुनसुकै क्षेत्रमा जिम्मेवारी दिन सकिने, जिम्मेवारी बेहोर्न सक्ने त्यो हिसाबले तयार भएको एउटा मान्छे थिए उनी । यस अर्थमा यो घटनाले राष्ट्रका लागि, राजनीतिका लागि, हाम्रो आन्दोलनका लागि असाध्यै ठूलो क्षति हो ।

शंकर पोखरेल, मुख्यमन्त्री प्रदेश ५ 


लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थललाई सुधार गर्ने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई समयमै सम्पन्न गर्ने र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउने जस्ता महत्त्वपूर्ण कामहरू उहाँले पछिल्लो समय गर्नुभयो । भिजिट नेपाल २०२० लाई महत्त्वपूर्ण पक्ष बनाएर उहाँ अघि बढ्ने कोशिस गरिरहनुभएको थियो । त्यसमा एउटा महत्त्वकाङ्क्षी लक्ष्य पनि थियो । नेपालको पर्यटनलाई दोब्बर गर्ने लक्ष्यका साथ उहाँ अगाडि बढ्नुभएको थियो । त्यस अर्थमा उहाँको मृत्यु देशको विकासका लागि पनि घाटा हो, जसले क्षति गरायो । 
नेपाल सरकारले एकजना सक्षम मन्त्री मात्र गुमाएको छैन । भविष्यको एउटा सम्भवना बोकेको नेता पनि गुमाएको छ ।  त्यस अर्थमा यसले पार्टीमा ठूलो क्षति पुगेको छ ।  

चन्द्र भण्डारी, नेता नेपाली काँग्रेस


रवीन्द्र र मलगायत हामी धेरै साथीहरु मिलेर विद्यार्थीकालमा राजनीतिक र प्रजातान्त्रिक आन्दोलनमा सँगै काम गर्यौं । रवीन्द्र एउटा अनुशासित, मर्यादित र शिष्ट व्यक्तित्व थिए । व्यक्तिगत रुपमा उनले मलाई सधैं दाजु भनेर सम्बोधन गर्थे । फरक मतमा पनि हाम्रो मन एउटै थियो । संविधान निर्माणमा, राष्ट्रलाई हेर्ने दृष्टिकोणमा, समाजलाई हेर्ने दृष्टिकोणमा, जनतालाई हेर्ने दृष्टिकोण र भोलिका नेपाल कस्तो बनाउने भन्ने विषमया हामी विभिन्न मतमा विभाजित भएपनि राष्ट्रिय मुद्दामा एक मन थियौं ।
रवीन्द्रमा कुनैपनि चिजमा विचलित नभइकन युवादेखि प्रौढसम्मको नेतृत्व गर्न सक्ने विलक्षण प्रतिभा थियो ।  आफूलाई अहिलेको तडकभडकमा पनि शालिनतापूर्वक प्रस्तुत गर्न सक्ने क्षमता रवीन्द्रमा थियो । र, उनले आफूलाई दिएको जिम्मेवारी कूलतापूर्वक निर्वाह गर्ने गरेको मैले पाएको छु ।
 पर्यटनमन्त्रीकै रुपमा उनले आफ्नो कार्यक्षेत्रमा रहेका एयरपोर्टहरु कहाँ चलेका छन्, कसरी चलेका छन् भन्ने बुझ्न आफैं दौडधूप गर्थे । त्यो भनेको उनको जिम्मेवारीपन हो । जिम्मेवारी लिएर जिम्मेवारी पूरा नगर्नेहरुको बाहुल्यता भएको अवस्थामा आफ्नो जिम्मेवारी निभाउनु पर्छ भन्ने उनमा सोच थियो । कुनै पदमा पुगिसकेपनि कमीकमीजोरी पनि हुन्छन् । औंला पनि ठडिन्छन् । सबै कुराहरुलाई उनले हाँसेर जवाफ । उनलाई एक सम्झनालायक नेताका रुपमा मैले लिएको छु । 


गुरुराज घिमिरे, नेता नेपाली काँग्रेस


रवीन्द्र अधिकारीजी र म विद्यार्थी आन्दोलनका समकालीन हौँ । पोखराबाट उहाँले विद्यार्थी राजनीति सुरु गर्नुभयो, मैले विराटनगरबाट गरेँ । उहाँ जुझारु र स्पष्ट वक्ताका रूपमा उहाँलाई चिन्छु । नेपाली समाजलाई राम्रोसँग बुझेको, समाजको चरित्रलाई बुझेर हिँड्न सक्ने खुबी अधिकारीमा थियो । उहाँमा भएको त्यो किसिमको क्षमताकै कारण उहाँ लोकप्रिय बन्नुभएको थियो । राजनीतिक आन्दोलनहरूमा धेरै बाक्ला भेटघाट हुन्थे । त्यसबेला उहाँमा उत्साह हुन्थ्यो । तर यो घटनाले नेपाललाई धेरै ठूलो क्षति पुगेको महशुस मैले गरेको छु । पछिल्लो समय नेकपाको सरकार बनेपछि भने उहाँसँग मेरो भेटघाट अलि पातलो भएको थियो, यद्यपि भेटघाट भने भइरहन्थ्यो । त्यो भेटघाटमा आपसमा शुभेच्छा प्रकट गर्ने  गथ्र्यौं ।  उहाँका लेख अन्तरवार्ताहरू पनि आइरन्थे । त्यसमा नेपाली समाजलाई अग्रगामी ढङ्गले अघि बढाउनुपर्छ भन्ने हुन्थे । नेपाली समाजलाई राम्ररी डोहोर्याउन सक्ने नेताका रूपमा रहेको भनेर हामी मात्रै होइन, सबैले बुझेका थिए । समकालीन पुस्ता र देशले नै उहाँको मृत्युले अपुरणीय क्षति बेहोर्नुपरेको छ । यो क्षति परिपूर्ति गर्न नेपालमा धेरै समय लाग्छ ।  

अग्नि सापकोटा, नेता नेकपा


रवीन्द्र अधिकारी राजनीतिक नेताका साथै कुशल व्यक्तित्व पनि हुनुहुन्थ्यो । उहाँले पर्यटनमन्त्रीको रूपमा एक वर्षको अवधिमा पर्यटन क्षेत्रको सुधारका लागि एउटा राम्रो आधारशीला तयार गर्नुभएको थियो । एक खालको नतिजा पनि हासिल गरिसक्नुभएको थियो । यसबाट देशले होनहार नेताका साथै एउटा कुशल र दूरदर्शी नेता हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रले गुमाएको छ । विद्यार्थी राजनीतिमा होस् या पार्टीको जिम्मेवारीमा किन नहोस्, उहाँ जीवनको अन्तिम घडीसम्म जनता र सङ्गठनकै लागि सक्रिय रहनुभयो । हामी उहाँको योगदानको भूमिकाको सधैँ स्मरण गरिरहनेछौँ ।

प्रदीप पौडेल, नेता नेपाली काँग्रेस 


रवीन्द्र अधिकारी धेरै सम्भावना बोकेको एक नेता हुनुहुन्थ्यो । मलाई लाग्छ, त्यो उमेरमा नेपालको राजनीतिमा उहाँ जुन भूमिकामा पुग्नु भयो त्यसले उहाँले देशका लागि गर्न सक्ने प्रशस्त सम्भावना र प्रशस्त ठाउँ बनेको थियो । तर उहाँ अल्पायुमै जानुभयो । उहाँको स्वभाव अत्यन्तै सरल खालको थियो, उहाँ एक मध्यमवर्गीय किसान परिवारबाट उठेर यहाँसम्म आइपुग्नुभएको थियो, जुन हाम्रा लागि पनि प्रेरणा बनेको थियो । उहाँ सबैसँग मिठो बोल्ने, सबैसँग सरल व्यवहार गर्ने मान्छे हुनुहुन्थ्यो । विशेषगरी विद्यार्थी आन्दोलनको नेतृत्व गर्दा हामी पनि उहाँसँगसँगै हिँड्यौं । हामी फरक सङ्गठन र विचारका हौँ तर पनि हामीलाई कहिल्यै त्यस्तो अनुभव हुँदैनथ्यो । व्यक्तिगत रूपमा पनि उहाँ अन्यन्तै मिलनसार व्यक्ति हुनुहुन्थ्यो । विद्यार्थी राजनीतिमा उहाँको नेतृत्व हुँदा केही उपलब्धिहरू हाँसिल भएका छन् । प्रवीण गुरुङको घटनामा उहाँले जुन साहस देखाउनुभयो त्यो एकदमै ठूलो कुरा थियो । विद्यार्थीलाई ३३ प्रतिशत सहुलियतको विषय पहिले नै आएको थियो तर त्यसलाई कार्यान्वयन गराउन उहाँको एकदमै सक्रियता रहेको जस्तो लाग्छ । उहाँ तीन पटकसम्म लगातार जनप्रतिनिधि निर्वाचित बन्नुभयो । विशेषगरी गण्डकी प्रदेश क्षेत्रमा उहाँलाई एउटा आइडल व्यक्तित्वका रूपमा हेरिन्छ । यस्ता व्यक्तिलाई हामीले गुमायौँ, हामी सँगै रहँन सकेनौँ, यो अत्यन्त दुःखको कुरा हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप