शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिवंगत उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठः पिताको जलदानमा आउने बाचा अधुरै रह्यो

बिहीबार, १६ फागुन २०७५, १४ : १५
बिहीबार, १६ फागुन २०७५

भक्तपुर– बुधबार दिउँसो ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भयो ।  यो दुर्घटनामा परेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।

त्यही कहाली लाग्दो दुर्घटनामा भक्तपुरले पनि एक जना छोरो गुमायो । उनी थिए नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ ।  श्रेष्ठको निधनले भक्तपुर नगरपालिका वडा नम्बर १० याताछेँ टोल यतिबेला शोकमा छ । विहिबार रातोपाटी सहकर्मी श्रेष्ठको घरमा पुग्दा सुनसान थियो । घरको आगँनमा रहेको एकजनासँग सामान्य कुराकानी गरेपछि उनले दाईलाई बोलाई दिए । 

दाई थिए राजेन्द्र श्रेष्ठ उपमहानिर्देशक श्रेष्ठका ठुला बा का छोरा । कुराकानीको सुरु गर्दै उनले भने, ‘खै के भयो के, काकाको पाँच महिनाको जलदानमा आउँछु भनेर काकीलाई लिएर गएको भाई अब कहिल्यै नआउने भयो ।’

२०७५ साल असोज २९ गते फुलपातीको दिन उपमहानिर्देशक श्रेष्ठका पिता केशवप्रसाद श्रेष्ठको निधन भएको थियो ।  श्रेष्ठ परिवारमा त्यो दुःख घटेको पाँच महिना पुग्दै छ । पिताको चार महिनाको जलदानमा आएका श्रेष्ठले आमा मोहनदेवीलाई पनि सँगै लिएर कोटेश्वरको घरमा गएका थिए । उनको परिवार विगत केही वर्षदेखि कोटेश्वर बस्दै आएको थियो ।

उनले केही समय भक्तपुरको नवदुर्गा बहुमुखी क्याम्पसमा शिक्षण समेत गरेको पारिवारिक श्रोत बताउँछ । उनी परिवारका माहिला छोरा थिए । उनका दाई महेन्द्र र भाई सन्जिव श्रेष्ठ छन् । कोटेश्वर बसोबास गर्ने भएपनि उनी बारम्बार भक्तपुर आइरहन्थे । ‘काकाको निधन भएको पाँच महिना पुग्दै छ, तर भाई हिजो त्यस्तो घटनामा बित्यो, परिवारमा शोक सकिन नपाउदैँ अर्को शोक थपियो’ राजेन्द्र भने । श्रेष्ठकी श्रीमती प्रमिला, छोरी कृष्टिना र छोरा अभिषेक छन् । 

श्रेष्ठको शव आवश्यक प्रक्रिया पुरा भएपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जानकारी दिएको छ  । मन्त्री अधिकारी सहितको टोली तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि पाथिभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट काठमाडौं फर्कने क्रममा हेलिकप्टर दुर्घटना भयो । 

उक्त घटनामा परेर निधन हुने अन्य व्यक्तिमा उड्यन प्राधिकरणका निर्देशक धु्रर्व भोछिभोया, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप