शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा विद्यार्थी समस्या : भएको के हो ?

बुधबार, १५ फागुन २०७५, १३ : ११
बुधबार, १५ फागुन २०७५

अस्ट्रेलियामा नेपाली विद्यार्थी अन्योलमा परेको खबरले यतिबेला विद्यार्थी तथा अभिभावकमा त्रास पैदा गरेको छ । अस्ट्रेलियास्थित अस्ट्रेलिया इन्स्टिच्युट अफ विजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) ले सरकारी मान्यता नलिई डिप्लोमा अफ नर्सिङ सञ्चालनमा ल्याएको भन्ने विषयले अहिले शिक्षा क्षेत्रमा तरंग पैदा गरेको छ ।

वास्तवमा भएको के थियो त ? के एआईबीटीले सरकारी मान्यता पाएको छैन ? वास्तवमा सरकारले स्वीकृती नदिएसम्म कलेज संचालन गर्न र विभिन्न विषयमा अध्यापन गराउन पाईदैन । एआईबीटीले डिप्लोमा अफ नर्सिङ कोर्स अस्ट्रेलियन स्किल क्वालिटी अथोरोटी (आस्क्वा) र दि कमनवेल्थ रेजिस्टर्ड अफ इन्स्टिच्यूट एण्ड कोर्सेज फर ओभरसिज स्टुडेन्ट (क्रिकोस)मा दर्ता गरेको छ ।

समस्या के हो भने एआईबीटीको यो कोर्सलाई अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिडिएसन काउन्सिल (एनम्याक)ले मान्यता नदिएको कारण अस्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी (अप्रा)मा दर्ता नहुने कारणले गर्दा कोर्स पुरा गरेपछि अस्ट्रेलियामा काम गर्न समस्या हुन्छ । यसको लागि सरकारी र कलेजले प्रकृया सुरु गरीसकेको जानकारहरु बताउँछन् ।

त्यसैगरी, समस्याको समाधानका लागि नेपाल सरकार, नेपाली दूतावास र सम्बन्धित निकायहरुले पहल थालिसकेका छन् । 

दुई दिन अगाडि मात्रै नेपाल सरकार शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गरी अस्ट्रेलियास्थित अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआईबीटी)मा अध्ययन गर्न गएका नेपाली विद्यार्थीको तथ्याङ्क सङ्कलनलाई तीव्रता दिएको बताएको छ ।

मन्त्रालयले सो सम्बन्धमा छानबिन समिति नै बनाएको बताउँदै सत्य तथ्य पत्ता लगाई कोही दोषी देखिए कारबाही गर्नेसमेत बताएको छ । त्यति मात्रै होइन, अर्को सूचना नआएसम्मका लागि एआईबीटीमा अध्ययनका लागि जान एनओसी (नो अब्जेक्सन लेटर) दिने काम पनि बन्द गरेकोे जनाएको छ ।

विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट सरकारले २ प्रतिशत सेवा सुविधा लिने गरेको छ । यस विषयमा सरकारले जिम्मेवारी लिएर समाधानको बाटो खोज्नु आवश्यक पनि छ ।

राज्यबाट ‘नो अब्जेक्सन लेटर’ लिएर उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीहरु विदेश पुग्छन् । यस्तोमा लेटर दिनुअघि विद्यार्थी र विदेशमा रहेको कलेज अनि कोर्सबारे पनि जानकारी सरकारले राख्नु जरुरी थियो । तर त्यो समेत गरेको देखिएन ।

जब अस्ट्रेलियन सरकारले नै कलेजको सम्बन्धन खारेज गर्यो...

अस्ट्रेलियामा सञ्चालित एआईबीटी कलेजले अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिडिएसन काउन्सिल (एन्म्याक) को मापदण्ड पूरा नगरी डिप्लोमा अफ नर्सिङको कोर्स सञ्चालन गरेको पाएपछि अस्ट्रेलियन स्किल क्वालिटी अथोरोटी (अस्क्वा) ले उक्त कोर्स खारेज गरेको छ । एआईबीटीले यो कोर्स सिड्नी र ब्रिजवेनमा सञ्चालन गरेको थियो । यो कोर्सको स्विकृतिको लागि ६ देखि १ वर्षसम्म लाग्न सक्ने जानकारहरु बताउँछन् ।

अस्ट्रेलियामा व्यावसायिक शिक्षा अध्यापनका लागि अस्ट्रेलियन स्किल क्वालिटी अथोरोटी (अस्क्वा) को सम्बन्धन चाहिन्छ । यसबाट सम्बन्धन लिएर कजेल सञ्चालन गर्न पाए पनि नर्सिङ कोर्सको लागि भने अस्ट्रेलियन नर्सिङ एन्ड मिड वाइफरी एक्रिडिएसन काउन्सिल (एन्म्याक) को अनुमति अपरिहार्य छ । तर एआईबीटीले एन्म्याकको प्रावधान पूरा नगर्दा अस्क्वाले एआईबीटीको नर्सिङ कोर्स खारेज गरेको सूचना जारी गर्यो । त्यहीँबाट सुरु भयो, एआईबीटीको समस्या ।

नर्सिङ अध्ययनकै क्रममा विद्यार्थीलाई हस्पिटलमा प्राक्टिकल गराउनका लागि अस्ट्रेलियन हेल्थ प्राक्टिसनर रेगुलेटर एजेन्सी (अप्रा) को दर्ता आवश्यक हुन्छ । दर्ता नम्बर पाएपछि मात्र विद्यार्थीले इन्टर्न भएर काम गर्न पाउँछन् । तर जब सम्बन्धन दिने निकायले नै सम्बन्धन नदिएपछि यतिबेला विद्यार्थी तनावमा छन् ।

विद्यार्थीको भविष्य सकिएकै हो त !

यतिबेला एआईबीटीको सम्बन्धमा छानबिन गरिरहेको छ । अस्ट्रेलियन सरकार र सरोकारवालाले अहिले गम्भीर भएर काम गरिरहेको बताएको छ । यस्तो अवस्थामा एआईबीटीले नर्सिङ अध्यापनका लागि अनुमति पाउन सक्ने सम्भावना पनि सकिएको भने छैन ।

तर यदि एन्म्याकले स्वीकृति नदिएमा भने विद्यार्थीसँग तीन विकल्प बाँकी रहन्छन् ।

पहिलो, यदि विद्यार्थीले आईईएलटीएसको परीक्षा दिएर ७ अङ्क प्राप्त गर्न सकेमा उनीहरुले सोझै विश्वविद्यालयमा अध्ययन गर्न पाउनेछन् ।

आईईएलटीएसमा राम्रो अङ्क ल्याउन नसकेको खण्डमा भने एआईबीटी जस्तै अन्य भोकेसनल कलेज, जसले एन्म्याकको स्वीकृति पाएको छ, ती कलेजहरुमा ट्रान्सफर भएर अध्ययन गर्न सक्नेछन् । त्यसका लागि पहिले अध्ययन गरेको क्रेडिट आवर गणना गरी बाँकी समय वा कोर्स मात्रै अध्ययन गर्न सकिनेछ ।

र, तेस्रो तथा अन्तिम विकल्प भनेको यदि त्यही विषय अध्ययन गर्न नचाहेमा कलेजले विद्यार्थीबाट लिएको बाँकी ट्युसन फी फिर्ता गरिदिने बताएको छ, त्यही बाँकी रकम लिने ।

कसको कति गल्ती ?

एआईबीटीमा देखिएको विद्यमान समस्याका सम्बन्धमा एकअर्कोलाई दोष दिएर मात्रै समाधान निस्कन सक्दैन । किनकि एक हजार विद्यार्थीको भविष्यको सवाल हो यो । विद्यार्थीले अस्ट्रेलियास्थित कलेजबाट अफर लेटर पाएपछि मात्रै भिसा प्रोसेसिङ सुरु गरेका हुन्छन् ।

मध्यस्तकर्ताको भूमिकामा रहेका कन्सल्टेन्सीले अस्ट्रेलियन युनिभर्सिटी तथा कलेजहरुसँग साझेदारी गरेका हुन्छन् । एम्बेसीले सबै प्रक्रिया पूरा गरेको खण्डमा मात्रै भिसा जारी गर्छ । ती विद्यार्थी जो, अस्ट्रेलियामा गएर उच्च शिक्षा अध्ययन गर्ने सपना देखेका हुन्छन्, उनीहरुलाई कलेजबारे जानकारी नहुनु सामान्य विषय हो । जबकि कलेजबारे सम्पूर्ण जानकारी राख्ने र लिने दायित्व सम्बन्धित देश वा भिसा जारी गर्ने एम्बेसीको पनि हो ।

यदि कलेजले स्वीकृतिबिनानै कोर्स सञ्चालन गरेको खण्डमा स्वीकृति प्रदान गर्ने निकायले विद्यार्थीको भविष्य अन्योल नहोस् भनेर कलेजलाई उक्त कोर्स पूरा गर्न स्वीकृति दिएर अन्य भर्नाको लागि भने रोक्न सक्छ । यो प्राक्टिस विश्वभर नै छ र नेपालमा पनि सीटीईभीटीले यस्तै गरेको केही उदाहरण छन् । दोलखाको च्छो रोल्पा नर्सिङ कलेजले पूर्वाधार पूरा नगरेपछि अध्ययनरत विद्यार्थीलाई पास आउट गराउनुपर्ने तर नयाँ भर्ना नदिने निर्णय गरेको थियो । सीटीईभीटीले यसै वर्ष मात्रै च्छो रोल्पालाई पुनः नयाँ भर्नाको स्वीकृति दिएको छ ।

अहिले एआईबीटी समस्या समाधानका लागि एन्म्याकले विद्यार्थीलाई कि त अन्य कलेजमा क्रेडिट आवर ट्रान्सफरसहित सिफ्ट गर्ने वा त त्यही कलेजमा उक्त कोर्स पूरा गराउन अल्पकालीन स्वीकृति दिने भन्ने बारे प्रोसेस सुरु गरिसकेको छ । एआईबीटीले २८ दिनभित्र निर्णयको पुनरावलोकनका लागि माथिल्लो निकायमा अपिल गर्न पाउनेछ । यसबाट सबै सिद्धियो भनेर अहिले नै रोई कराई गर्नुपर्ने जरुरी छैन । बरु विद्यार्थी र तिनका अभिभावक ‘प्यानिक’ बन्दै अस्ट्रेलियामै आन्दोलन गर्न थाल्दा त्यसले असहज बाटो पैदा गर्ने सम्भावना भने बढी नै रहन्छ ।

यतिबेला विद्यार्थीलाई उत्तेजित बनाउने र अनावश्यक हल्ला फैलाउने काम सोसल मिडिया र केही व्यक्तिगत मिडियाले गरिरहेको पाइन्छ । यस्तोमा सबै पक्षले सकारात्मक सहयोग गर्नुपर्ने हुन्छ । तर हामी नेपाली समस्या आउनासाथ समाधानको खोजीभन्दा पनि चरित्र हत्यामा बढी केन्द्रित हुन्छौँ, यसले थप समस्या निम्त्याउने गरेको छ । विद्यार्थीको विचल्लीका सम्बन्धमा यदि नेपालको नो अब्जेक्सन लेटर शाखा वा कन्सल्टेन्सीको गल्ती भेटिएका उनीहरुबाट क्षतिपूर्ति भराउने र कानुनी कारबाही गर्ने काम पछि गर्दै गरौँला, तत्कालका लागि समस्या समाधानको उपाय खोज्नु नै बुद्धिमानी रहन्छ ।

अहिले अस्ट्रेलियन एजुकेसन कन्सलट्यान्ट एलाइन्स (एका) ले पनि विज्ञप्ति जारी गरी विद्यार्थीको हितमा कलेजलाई निर्णय लिन आग्रह गर्दै आवश्यक सहयोगको लागि तयार रहेको बताएको छ । यदि कलेज पढ्दा पढ्दै बन्द हुने अवस्था आएमा विद्यार्थीलाई त्यसको क्षतिपूर्तिको व्यवस्था अस्ट्रेलियन सरकारले गर्नुपर्नेछ । र त्यो अवस्था आएमा विद्यार्थीले अर्को कलेजमा पढ्ने वा पहिले लिएको शुल्क फिर्ता लिने भन्ने निर्णय गर्न सक्नेछन् ।

सम्बन्धित पक्ष के गर्दैछ

अस्ट्रेलियामा रहेका करिब एक हजार नेपाली विद्यार्थीले आफूहरुलाई कन्सल्टेन्सीले ठगेको तथा आफूहरुको सबै रकम डुबेको बताइरहँदा यता कन्सल्टेन्सीहरु भने यसमा कसैको गल्ती नभएको बताइरहेको छ ।

नेपाल जस्तो विकासोन्मुख देशका युवाहरु उचित शिक्षा र रोजगारीका हिसाबले पनि विदेश पढ्न जाने ट्रेन्ड बढ्दै जाँदा आएका यस्ता समस्यामा नुन चुक छर्कन भन्दा कानुनी प्रकृयाबाट समाधान खोज्न कन्सल्टेन्सी सञ्चालकहरु आग्रह गरिरहेका छन् ।

जानी जानी कुनै पनि कन्सल्टेन्सीले विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्ने कन्सल्टेन्सी सञ्चालकहरुको दाबी छ । कलेजहरुमा भइरहेका केही कानुनी प्रक्रियाका बारेमा जानकारी नभएकाले पनि यसमा दोष दिइहाल्न नमिल्ने कन्सल्टेन्सी सञ्चालकहरु बताउँछन् । हुन त कलेज अनि कोर्सको बारेमा कन्सल्टेन्सीले जानकारी लिएको हुन्छ तर कतिपय प्रक्रियामा भने कन्सल्टेन्सी पनि अनभिज्ञ हुन सक्छ । त्यति मात्रै होइन, जब सम्बन्धित देशको कलेजले नै झूठा विवरण वा जानकारी दियो भने कन्सल्टेन्सीले केही गर्नै सक्दैन ।

‘रजिस्टर्ड नै नभएको कलेजमा नेपाली विद्यार्थीहरुलाई पठाएर केही कन्सलटेन्सीहरुले करोडौँ रकम कुम्ल्याएको’ आरोप लागिरहेको बेला कन्सल्टेन्सी सञ्चालकहरु भने सत्य नै नबुझी आएका यस्ता हल्लाको पछि नलाग्न विद्यार्थी, अविभावक र मिडियालाई आग्रह गरिरहेका छन् र आफ्नो बचाउमा भरपुर मिहिनेत गरिरहेका छन् । उनीहरुले आफ्नो बचाउ गर्न सक्छन् वा सक्दैनन्, त्यो त भविष्यले नै बताउला । यद्यपि प्रारम्भिक चरणमा सबैभन्दा ठूलो गल्ती भने अस्ट्रेलियन सरकार र दूतावासको नै रहेको स्पष्ट हुन्छ । किनकि दर्ता नै नभएको कलेजका लागि भिसा जारी गर्नु दूतावासको सबैभन्दा ठूलो भूल हो ।

एआईबीटीको एउटा कोर्स (ब्याचलर अफ नर्सिङ)को नवीकरणमा ढिलाइ हुँदा समस्या आएको हो । जसका लागि कलेज, अस्ट्रेलिया सरकार आफैले यसको जिम्मा लिएर विद्यार्थीको पक्षमा काम गर्नेछ । यसरी सबै चिज सकियो, खत्तम भो बर्बाद भो भनेर प्यानिक बन्नु बुद्धिमानी काम होइन ।

अस्ट्रेलियाको शिक्षा पद्धति विश्वले अवलम्बल गरी कैयौँ देशबाट अध्ययनका लागि अस्ट्रेलियन पुग्ने विद्यार्थीको लर्को लामै छ । यस्तोमा त्यहाँका कलेजका केही बाँकी प्रक्रियालाई लिएर होहल्ला गर्नु उचित नहुन पनि सक्छ । फेरि नेपालबाट उच्च शिक्षा अध्ययनका लागि बढी जाने देश अस्ट्रेलिया नै हो । यसकारण वर्तमानको समस्या सुल्झाउँदै भविष्यको बारेमा पनि सोच्नु बुद्धिमानी हुनेछ ।

कन्सल्टेन्सीले विद्यार्थीलाई शैक्षिक परामर्श दिने काम गर्छ । विदेशमा रहेका युनिभर्सिटी अथवा कलेजसँग सहकार्य गरी विद्यार्थीलाई कलेजको बारेमा जानकारी दिनेदेखि भिसा प्रोसेसिङको काम पनि गर्छ ।

अहिले नेपालबाट अस्ट्रेलियामा विद्यार्थी पठाउने कन्सल्टेन्सीको सङ्ख्या सैयौं छ । तर कुनै कन्सल्टेन्सी विशेषको मात्रै नाम लिएर बद्नाम गराउनु उचित हुँदैन । यदि कसैले प्रायोजित वा नियोजितरूपमा कसैलाई सिध्याउने वा भ्रम फैलाउने कोशिस गरिँदा त्यसले गलत परिणाम नआउला भन्न सकिँदैन ।

काठमाडौंमा सञ्चालित एक कन्सल्टेन्सी सञ्चालक भन्छन्, ‘समस्या आएकै हो । तर विद्यार्थीहरुलाई अस्ट्रेलिया सरकारले उचित व्यवस्था गर्ने र उनीहरुको कोर्स पूरा गर्नका लागि त्यही कलेजमा व्यवस्था गर्ने अथवा अर्को कलेजमा उनीहरुलाई ट्रान्सफर गर्ने विद्यार्थीको रोजाइ अनुसार गरिदिने भनिसकेको छ । त्यसकारण यसमा आत्तिहाल्नु पर्दैन ।’

नेपाल सरकारले यो विषयमा केही इन्स्टिच्युट र कन्सल्टेन्सीलाई बोलाएर छलफल पनि गरिसकेको छ । नेपाल सरकार, कन्सल्टेन्सी सञ्चालकहरु र एम्बेसीको संयुक्त पहलमा विद्यार्थीलाई मर्का पर्न नदिन काम भइरहेको कन्सल्टेन्सीका सञ्चालकहरु बताउँछन् ।

यो अवस्थामा आत्तिएर उत्तेजनामा आउनुभन्दा पनि उनीहरु कुन कन्सल्टेन्सीमार्फत गएका हुन् ती सबैको सम्पर्क कार्यालय अस्ट्रेलियामा भएको र त्यहाँ गएर सही परामर्श लिन सकिन्छ । अहिले अस्ट्रेलिया सरकारले नै अध्ययनलाई निरन्तरता दिन आग्रह गरिरहेको छ । यस्तो अवस्थामा विद्यार्थीहरु संयम भएर कलेज जान र पढाइलाई निरन्तरता दिन जरुरी छ ।

नेपालमा र अस्ट्रेलियामा रहेका एम्बेसी, कन्सुलेट कार्यालयहरुले पनि यो समस्या समाधानका लागि काम गरिरहेको बताएका छन् । नेपाल सरकारले पनि काम सुरु गरिसकेको छ । समस्या पत्ता लगाउँदै समाधान गर्न र दोषी भेटिए कारवाहीका लागि सिफारिश गर्न छनबिन समिति नै गठन भइसकेको छ । उत्तेजनामा आएर विद्यार्थीहरु अनावश्यक हर्कतमा लाग्ने हो भने भोलि विद्यार्थीहरुलाई अस्ट्रेलिया सरकारले नै कडाइ गर्न सक्छ । यस्तो स्थित आएमा आफ्ना भाइ बहिनीहरु अस्ट्रेलिया जानबाट वञ्चित हुनसक्ने दिन पनि आउन सक्नेछ ।

विद्यार्थीको कोर्स जहाँ पुगेर रोकिएको छ त्यहीँबाट निरन्तरता दिनुपर्छ भन्ने मागसहित एम्बेसी, एन्म्याक र कलेजसँग छलफल गरिरहेको अस्ट्रेलियामै नर्सिङ कलेज सञ्चालन गर्दै आएका कन्सुलर जनरल चन्द्र योञ्जनको भनाइ छ । एन्म्याकले विद्यार्थीलाई अर्को कलेजमा पठाउँदा सुरुबाट नै पढाइ सुरु गर्नुपर्ने बताइरहेको अवस्थामा कन्सल्टेन्सी र शिक्षा क्षेत्रमा क्रियाशील सङ्घ संस्था र व्यक्तिहरुले भने उनीहरुलाई मर्का नपर्ने गरी जहाँ पढाइ पुगेको छ, त्यहीँबाट निरन्तरता दिनुपर्ने माग गरेका छन् ।

२ वर्षेे डिप्लोमा अफ नर्सिङ पढ्न गएका नेपाली विद्यार्थी डेढ वर्ष पढेपछि कलेजले नर्सिङको सम्बन्धन नपाउने भएपछि आत्तिएका छन् । तर आत्तिएर कलेज जान छाड्नुभन्दा आफ्नो पढाइलाई निरन्तरता दिइराख्नु बुद्धिमानी हुने कन्सुलर योञ्जन बताउँछन् । यदि निरन्तर कलेजमा गई अध्ययन गरेमा अर्को कलेजमा सिट भएको खण्डमा आफ्नो पढाइमा असर नपर्ने र सोही कलेजले सम्बन्धन पाएमा कोर्र्स पूरा गर्न सहज हुने योञ्जन बताउँछन् ।

एन्म्याकलाई सबैले दबाब दिएर विद्यार्थीको पक्षमा काम गर्न दबाब दिन हाल अस्ट्रेलियामा शिक्षा क्षेत्रमा क्रियाशील योञ्जनलगायतका अन्य व्यक्तिहरु पनि सक्रिय छन् । योञ्जन विद्यार्थी अनि अभिभावकलाई नआत्तिन आग्रह गर्दै समस्याको समाधानमा सबै पक्षको सकारात्मक पहलको आशा गरेको बताउँछन् ।

एआईबीटी अस्ट्रेलियाको रजिस्टर्ड कलेज हो जसले थुप्रै कोर्सहरुअध्यापन गराइरहेको छ । जनरल कन्सुलर योञ्जनले एआईबीटी सञ्चालकसँग कुरा गर्दा एन्म्याकले एआईबीटीलाई डिप्लोमा अफ नर्सिङका लागि रजिस्ट्रेसन दिएको हो तर यसको म्याद सकिएकाले नयाँ कोर्सका लागि पहल भइरहेको र छिट्टै नै स्वीकृति पाउने पङ्क्तिकारलाई बताएका छन् ।

अब, विद्यार्थीहरुको ट्युसन फी र आगामी पढाइका बारेमा सम्बन्धित निकायमा छलफल गरी कार्य गर्नुपर्ने र विद्यार्थीहरुको अगाडिको पढाइ कसरी व्यवस्थापन गर्ने भन्ने बारे सबै निकायले सोच्नु जरुरी छ ।

यसबाट पनि भन्न सकिन्छ कि एआईबीटीले नर्सिङ पढाउन स्वीकृति पाएको तर नवीकरणको काम बाँकी भएकाले कलेजले नविकरण गरी पुनः उक्त कोर्स सञ्चालन गर्न सक्छ । नर्सिङ पढाउन स्वीकृति दिने आधिकारिक संस्था एन्म्याक भने पनि सर्टिफाइड संस्था भनेको अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (अस्क्वा) हो । अस्क्वाले कलेज सञ्चालनको अनुमति दिने मात्र होइन कलेज दर्ता गर्ने र कोर्सहरु पनि हेर्ने गर्छ । त्यसैले एआईबीटीले अस्क्वाको मापदण्ड पूरा गर्नुपर्छ ।

उता नेपाली दूतावासले पनि यस सम्बन्धमा काम गरिरहेको बताएको छ । क्यानबेरास्थित नेपाली दूतावासले यो विषयमा आफू गम्भीर भएको जनाएको छ । दूतावासले अस्ट्रेलियाको शिक्षा विभागमा पत्र पठाएर एआईबीटी बारे छानबिनको माग गरेको छ । अस्ट्रेलिया सरकारले पनि एआईबीटीका विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

अस्ट्रेलियाको शिक्षा विभागले सूचना जारी गरेर विद्यार्थीलाई एआईबीटीबाट आफ्नो नाम नहटाउन सुझाव दिइसकेको छ । विभागले यदि एआईबीटीमा अध्ययन गरिरहेको कोर्स आफूखुसी छोडेमा अस्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले विद्यार्थीको क्षति नबेहोर्ने बताएको छ ।

विद्यार्थीले भिसा मापदण्ड पूरा गर्न एआईबीटीद्वारा सञ्चालित कुनै प्रकारको कक्षा वा काममा आधारित प्रशिक्षणमा भाग लिइरहनुपर्ने सरकारले जनाएको छ ।

त्यसैगरी, भिसाको मापदण्ड पूरा नगरेको अवस्थामा अस्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसले विद्यार्थीलाई कुनै पनि प्रकारको सहयोग गर्ने छैन । यदि एआईबीटीले कक्षाहरु सञ्चालन गराइरहेको छैन भने अस्ट्रेलियाको ट्युसन प्रोटेक्टिभ सर्भिसलाई सम्पर्क गर्न पनि सूचना जारी गरेको छ ।

एआईबीटीले विद्यार्थीका लागि उपयुक्त वैकल्पिक कोर्समा भर्ना गराइदिनुपर्ने हुन्छ र उक्त कोर्स मिलाइदिन नसके एआईबीटीले विद्यार्थीको खर्च नभएको ट्युसन फी फिर्ता गर्नुपर्ने हुन्छ ।

एआईबीटीको कोर्स भोकेसनल

एआईबीटीले सञ्चालन गराइरहेको कोर्सहरु नेपालमा सीटीईभीटीले सञ्चालन गर्ने जस्तै भोकेसनल कोर्सहरु हुन् । अस्ट्रेलियामा भोकेसनल कोर्स पढाउने कलेजहरु युनिभर्सिटी स्तरका हुन्छन् । जसले क्षमता विकासमा विशेष जोड दिन्छ । नेपालबाट जाने धेरैजसो विद्यार्थीहरु भोकेसनल कोर्स गर्ने र काम गर्ने गर्छन् । भोलि छिटो काम पनि पाउने र पास गर्न पनि सजिलो हुने भएकाले यो कोर्समा धेरैको ध्यान जान्छ । हाल अस्ट्रेलियामा ४० हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

धेरै खर्च गरेर पढ्ने विद्यार्थीहरु भने ठूला ठूला युनिभर्सिटीमा पढ्न जान्छन्, जसको लागि अङ्ग्रेजीमा राम्रो अङ्कको जरुरी पर्छ  । हाल अस्ट्रेलियाका युनिभर्सिटीमा पढ्नका लागि अङ्ग्रेजी भाषा परीक्षा आईईएलटीएसमा ७ नम्बर अनिवार्य भएको छ । यसले गर्दा पनि धेरे विद्यार्थी भोकेसनल कोर्स गर्ने र अङ्ग्रेजी पनि राम्रो भएपछि युनिभर्सिटी जाने गर्छन् भने कतिपय काम गर्नका लागि यस्ता कोर्स गर्छन् ।

एनम्याकले पनि अहिले आएर आईईएलटीएसमा ७ नम्बर ल्याउनेले मात्र ब्याचलर अफ नर्सिङ पढ्न पाउने प्रावधान ल्याएको छ । अन्य विषयमा जस्तै यसमा पनि यो नियम लागू भएसँगै विद्यार्थी थप मर्कामा परेका हुन् ।

नेपालसँग प्रत्यक्ष शिक्षा अनि रोजगारीसँग जोडिएको अस्ट्रेलिया सरकारलाई गलत भन्नु भन्दा पनि हामी आफै सचेत हुन जरुरी देखिन्छ । प्राविधिक र कानुनी प्रक्रियामा रहेको विषयलाई अनावश्यक उचालेर विद्यार्थी अनि अविभावकमा नकारात्मक भ्रम सिर्जना गर्नुभन्दा पनि समस्याको पहिचान गरी समाधानको बाटोमा सबै पक्ष लाग्नु आवश्यक छ ।

नेपालबाट जाने विद्यार्थीहरुले सबै सूचना प्राप्त गरेर सरकारबाट नो अब्जेक्सन लेटर लिएर गएका हुन्छन् । यस्तोमा विद्यार्थीहरुले पनि जानुअघि के पढ्ने कहाँ पढ्ने बारे आफैले पनि बुझ्न जरुरी देखिएको छ । अहिले हरेक कुराबारे इन्टरनेटको माध्यम अध्ययन गर्न सकिने भएकाले पनि आफू सचेत भएर पाइला चाल्ने हो भने भोलि आउन सक्ने समस्याबारे पहिल्यै जानकारी पाउन सकिन्छ । अस्ट्रेलिया पढ्न जानुपूर्व हतार नगरी राम्रोसँग बुझेर मात्र विद्यार्थीहरु जानुपर्ने देखिन्छ

साथसाथै, नेपाल सरकारले मापदण्डविपरीत सञ्चालनमा आएका कन्सल्टेन्सी तथा ट्युसन इन्स्टिच्युटहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ । जसले गर्दा पनि भोलि यस्ता खालका समस्यामा कमी ल्याउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप