बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ब्राम्हणको घरमा मगरकी छोरी अस्वीकार, मुस्लिम बुहारी स्वीकार !

मङ्गलबार, १४ फागुन २०७५, १५ : ०४
मङ्गलबार, १४ फागुन २०७५

बाग्लुङको एक ब्राम्हण परिवारका छोराले २७ वर्षअघि मगरकी छोरी विवाह गर्दा समाजले घृणा गरेपछि उनीहरु लुकेर बस्नु परेको थियो । अहिले त्यही परिवारका छोराले धर्म संस्कृति नै नमिल्ने पाकिस्तानी मुस्लिम समुदायकी युवती विवाह गर्दा सबैले स्वीकारमात्र गरेनन् भव्य स्वागत र हर्षोल्लास नै मनाएका छन् ।

हालको बाग्लुङ्ग नगरपालिका–१२ अमलाचौर पल्लासराङ्ग गाउँका टीकाराम आचार्यले २७ वर्षअघि गाउँकै डिलमाया पाईजा मगरसँग प्रेम विवाह गर्दा समाजले बहिस्कार गरेपछि उनीहरुको जोडी गाउँ छाडेर पोखरामा बस्न पुगेका थिए ।  अहिले  उनै दम्पत्तिका एक मात्र छोरा २३ वर्षीय  सुदीन आचार्यले पाकिस्तानकी मुस्लिम समुदायकी युवती २२ वर्षिया आम्ना सफिकलाई विवाह गरेर घर भित्र्याउदा बहिस्कार होइन भव्य स्वागत र उल्लास चलिरहेको छ । 

‘मैले २७ वर्ष अघि मगरकी छोरी डिलमायालाई विवाह गर्दा ठूलो चुनौती मोल्नु परेको थियो । घरमा पस्न नदिने र छुटाउने प्रयासको त्रास बढेपछि भागेर हामी पोखरा आएका थियौँ । अहिले पनि यहि छौं’ आचार्यले भने, ‘अहिले छोराले मुस्लिम युवती विवाह गरेर ल्याउँदा असाध्यै राम्रो लागेको छ । माया प्रेममा कुनै धर्म र जातापातको भेदभाव राख्नु हुँदैन भन्ने मान्यता राख्छौँ र हामी निकै खुशी छौँ ।’

उनले उतिबेला आमाले बाहिरै राखेर स्वीकार्न चाहे पनि आफूहरु सामाजिक बहिस्कारमा परेपछि पोखरा आउनु परेको दोहोर्याउँँदै परिवारकै सल्लाहमा तीन दिनअघि बाग्लुङ्ग जिल्ला अदालतमा छोरा बुहारीले ‘कोर्ट म्यारिज’  गरेर  पोखरास्थित घर भित्रिन आएको बताए ।

एक छोरा र एक छोरी रहेको बताउने आचर्यले अरुलाई पनि धर्म र जातपातको विभेद नगर्न सुझाव दिए ।

सामाजिक सञ्जालले जोड्यो नेपाली र पाकिस्तानी मन

बैदेशिक रोजगारका लागि डेनमार्क हुँदै पर्चुगल पुगेका सुदीन र आम्ना सामाजिक सञ्जाल फेबुकमा साथी बनेको बताउँछन् ।

सुदीन भन्छन्, ‘मैले मेरो परिवारबाट र उनले (आम्नाले) आफ्नो परिवारबाट स्वीकृत माग्दा दुवैतर्फबाट स्वीकृति भए पछि बाग्लुङ्ग आएर कोर्ट म्यारिज गरेका हौँ ।’ ‘हामी फेशबुकमा फ्रेण्ड बन्यौं , त्यसपछि दुई वर्ष अघिदेखि हाम्रो फोन सम्बाद हुँदै आएको थियो’, सुदीन थप्छन् ‘एक वर्ष अघि मात्र हाम्रो पोखरामा प्रत्यक्ष भेट भएको हो ।’

बाग्लुङ्गको छिमेकी जिल्ला गुल्मीमा दुई वर्षअघि  बिश्वकर्माका छोरालाई नेवार समुदायले आफ्नी चेली जग्गेमा  पाउँ पुजेरै विवाह गराएपछि यस भेगमा अन्तरजातीय बिबाहले प्रोत्साहन पाउन थालेको छ  ।

समाजमा समानता चाहने बाग्लुङ्गका समाजसेवी र राजनीतिकर्मीहरुले उनीहरुको विवाह सम्बन्धलाई निकै सह्राना र स्वागत गरेका छन् ।

मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बोमिजिम विवाह दर्ता गर्न मञ्जुर भए न्यायधीशले विवाह गराइदिन सक्ने व्यवस्था भएअनुसार उनीहरुको विवाह गराईएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।

आमा डिलमायाको भनाई

 हामीले उतिबेला विवाह गर्दा बाहिर–बाहिर बस्नु परेको थियो । गाउँका एक जना सरले ५० हजार गोजी भराएर हामीलाई छृुटाउन निकै बल गरेका थिए । हामीले पैसासँग सम्वन्ध जोडेका होइनौं । कुनै पनि मूल्यमा छुट्टिन सक्दैनौ भन्दै पोखरामा आएर बस्न थाल्यौं । त्यहाँ बसेको भए त छुटाएरै छाड्थे होला । 

 मेरा छोराले मुस्लिमकी छोरी बुहारी बनाएर ल्याउँदा र हामीले सहर्ष स्वीकार गर्दा त्यस्ता मानसिकताहरुलाई एक प्रकारको लोप्पा हो ।  हामी सबै बदलिन जरुरी छ ।  हामी बदलिनु पर्छ ।  सबै धर्म–संस्कृति, जात–जातीलाई सम्मान गर्न सक्नुपर्छ । 

यो संसारमा मात्रै दुई जात मात्रै छन् । त्यो हो, महिला र पुरुष । पछि बनाइएको जात त  कामका आधारमा हो । 

मेरो छोराले आफूलाई मन पर्ने मान्छेर मेरी बुहारीको रुपमा भित्राएको हो । उनीहरुको मन मिल्यो, हाम्रो पनि मिल्यो । यसरी नै सबै सबैको मन मिलोस् । तव मात्र संसारमा शान्ति र सद्भाव  छाउने छ  । म सबैसँग यहि आग्रह गर्दछु ।

नवदुलहीको भनाई

हेलो ! नमस्ते भनेर फोन गर्दा उनको जवाफ थियो –‘हजुर नमस्कार, कहाँबाट को बोल्नु भयो ? उनको बोली सुन्दा पाकिस्तानी हुन् भनेर पत्याउनै गाह्रो थियो । स्पष्ट नेपाली बोल्दै गरेकी उनले पूरा परिचय दिएर मात्र प्रतिकृया दिइन् । नेपाली कहिलेदेखि सिक्नु् भएको हो ? भन्ने प्रश्नमा उनले एक डेढ बर्षअघि देखि सिक्दै आएको र कुनै शब्दमा नअड्कीने बताइन् । उता बुवाआमासँग पनि  स्वीकृत लिएरै हो ? भन्ने प्रश्नमा उनले, ‘ परिवारकै स्वीकृत लिएरै विवाह गरेको’ भन्ने जवाफ दिइन् । 

सुदीनसँग पहिला साथी बनेको र एक बर्ष अघि प्रत्यक्ष भेट भई माया प्रेम बसी विवाह बन्धनमा बाँधिन पाएकोमा आफूमा खुशीको सीमा नरहेको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप