शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बन्दीपुर : प्रकृति र इतिहासको सङ्गम थलो (फोटोफिचर)

मङ्गलबार, १४ फागुन २०७५, ११ : २६
मङ्गलबार, १४ फागुन २०७५

बन्दीपुर (तनहुँ)  । बन्दीपुर जाऊँ तीन धारेको पानी खाऊँ सामाजिक सञ्जाल टिकटकमा भाइरल डाइलग हो । 

तर बन्दीपुरको परिभाषा तीन धारेमा मात्र सीमित छैन ।  गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नम्बर ४ मा पर्छ पर्यटकीय स्थल बन्दीपुर । प्रायः नेपाली र बाह्य पर्यटकको घुम्ने गन्तव्यमा पर्ने बन्दीपुर प्रकृति र इतिहासको सङ्गम थलो भन्दा फरक पर्दैन । 

बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम सहर हो । तनहुँ जिल्लाको सदरमुकामको रूपमा रहेको यस ठाउँबाट विसं २०२५ सालमा उक्त सदरमुकामलाई दमौली सारिएको थियो ।
यो सहर मोटर यातायातको सुविधा नहुँदा पश्चिम पहाडको मुख्य व्यापारिक नाकाका रूपमा रहेको थियो । 

तनहुँ, कास्की, लमजुङ र गोरखाका लागि दक्षिणबाट सामान ल्याउने र पहाडी भेगबाट सामान दक्षिण पठाउने मुख्य स्थलका रूपमा यो नाकाको विकास भएको हो । नेवारी संस्कृतिमा लिपिएको बन्दीपुरको सहरी संरचना साढे दुई सय वर्ष पुरानो मानिन्छ । 

प्राकृतिक सुन्दरता :
बन्दीपुरबाट सूर्योदयको सुन्दर दृश्य देख्न सकिन्छ । बन्दीपुरकाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । बन्दीपुर वरिपरिका गाउँमा मगर संस्कृतिको अवलोकन गर्न पाइन्छ । हिमालयको फराकिलो दृश्य बन्दीपुरको विशेषता हो । बन्दीपुरबाट पूर्वपट्टि भक्तपुरको उत्तरमा पर्ने जुगल देखिन्छ । पश्चिमतिर चाहिँ लाङटाङ, गणेश, गोरखा (मनास्लु, हिमचुली तथा बौद्धसहित), अन्नपूर्ण, धौलागिरि र काञ्जिरोवा हिमाल फेददेखि टुप्पोसम्मै देखिन्छन् । तलतिर मस्र्याङ्दी नदीले बनाएका उपत्यका देखिन्छ । बन्दीपुरबाट करिब १ घण्टा पदैल विशालनगरबाट २५ मिनेट हिँड्ने हो भने प्रसिद्ध सिद्ध गुफा पुगिन्छ ।

 

पुराना तर सुन्दर घरहरू : 
बन्दीपुर बजारको पहिचान नै पुराना घरहरू हुन् । मुख्य बजार क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरेर यस्ता घरहरूको संरक्षण गरिएको छ । जुन निकै प्रशंसनीय कार्य हो । यसले इतिहासको सुरक्षा र पर्यटकहरूलाई लोभ्याउने काम गरेको छ । बन्दीपुर अधिकांश नेवार समुदायका मानिहरूको बसोबास रहेको पाइन्छ, जुन समुदायका पुर्खाहरू भक्तपुरबाट व्यापारका लागि तेहा पुगेका स्थानीयहरूको बताउँछन् । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्गदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थलहरू यहाँ आउने पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको छ ।

बस्नका लागि होटल र होमस्टे : 
बन्दीपुर घुम्न आउने पर्यटकलाई आकर्षित गर्न यहाँ स्तरीय होटलहरू रहेका छन्, जुन तपाईं आफ्नो खर्च अनुसारको सुविधा लिन सक्नु हुनेछ । सहरको कोलाहल, धुँवाधुलोबाट छुटकारा पाउन र गाउँले परिवेशमा रमाउन चाहनुहुन्छ भने पनि पुराना शैलीका घर अन्य घरमा समेत होमस्टेको व्यवस्था छ । 

किन जाने बन्दीपुर ? 
बिदाको समयलाई सदुयपोग गर्ने र सहरको कोलाहल, धुँवाधुलोबाट छुटकारा पाउन गाउँले परिवेशमा रमाउन बन्दीपुर उपयोगी हुन सक्छ । अर्कातर्फ यहाँका स्थानीयले गर्ने स्वागत र आत्मीय व्यवहार झनै राम्रो छ । केही टाढा घुम्न जाने सोच बनाएकाहरूलाई बन्दीपुर उत्कृष्ट गन्तव्य हुनसक्छ । बन्दीपुर आउने पर्यटकहरू यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । 

कसरी जाने ? 
तनहुँ सदरमुकाम दमौलीदेखि १८ किलोमिटर दूरीमा सो स्थान पर्छ । राजधानी वा मुग्लिङ हुँदै जानेहरूले भने डुम्रे हुँदै ८ किलोमिटरको सडक यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जुन बन्दीपुरसम्म नै कालोपत्रे भएको छ । डुमे्रबाट सार्वजनिक सवारीमा पनि जान सकिन्छ । आफ्नो निजी सवारी साधन हुनेहरू सीधै बन्दीपुरसम्म जान सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप