केन्द्रीय संस्करण

‘जनतालाई दिने सेवामा कन्जुस्याइँ नगरौँ’

person explore access_timeफागुन ११, २०७५ chat_bubble_outline0

देशको आर्थिक मेरुदण्ड यातायात हो, 
यातायातबिना अघि बढ्न सक्छ को ? 

व्यापार, उद्योग धन्दा चल्छ यातायातले, 
यसको संरक्षण गरौँ है हाम्रै हातले । 

सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम गोष्ठी तथा ‘सार्वजनिक यातायात क्षेत्रका विद्यमान समस्या र समाधान’ विषयको अन्तरक्रियामा जनकवि भोला बरालले समग्र यातायात क्षेत्रको महत्व र जिम्मेदारी दर्शाउने गीत प्रस्तुत गरिरहँदा सहभागी यातायात व्यवसायी निकै भावुक देखिन्थे । 

साँच्चै जनस्तरबाट ‘वाहीवाही’ पाउने गरी जनसमर्थन बटुल्न नसकेको नेपालको सार्वजनिक यातायात क्षेत्रले जनतालाई दिनुपर्ने सेवामा कुनै कञ्जुस्याइँ गर्न नहुने उनको गीतमा झल्कन्थ्यो । 

विकास, निर्माण गर्न यातायात चाहिन्छ, 
अफ्ठयारा व्यवधानबाट मुक्ति पाइन्छ, 
यातायातलाई सर्वसुलभ गर्नु पर्दछ, 
पहिलो भ्रष्टाचार निमूल पार्नु पर्दछ । 

यातायातको विसङ्गति तोड्न बाँकी छ, 
जनतासँग माया प्रेम जोड्न बाँकी छ । 
तराई, पहाड हिमाल जोड्ने यातायात हो, 
यातायातलाई खाँचो छ है जनसाथको । 

जनकवि बरालका गीतले सार्वजनिक यातायातको क्षेत्रमा देखिएको बेथिती, विसङ्गतिलाई आफैँबाट अन्त्य गर्न र नयाँ नेपाल निर्माणमा सामूहिक भावना अभिप्रेरित गर्न व्यवसायीलाई उद्देलित गरेको थियो । यातायात क्षेत्र र जनता मिलेमात्र देश बन्ने र नेपाली धरतीले पनि यही कुरा माग गरिरहेको उनको भनाइ थियो । 

यातायात सञ्चालन गर्ने साथी भाइ, 
चुस्त दुरुस्त पारौँ है नेपाल देशलाई, 
यातायात र जनता मिले देश बन्दछ, 
हाम्रो नेपाली धरतीले यही भन्दछ । 

यातायात चुस्त नभई सरकार चल्दैन, 
नेता हुन् या जनताको चुल्हो बल्दैन । 
यातायात व्यवसायीलाई दिलमा राखेर, 
अघि बढौँ प्रगतिको स्वाद चाखेर । 

सो अवसरमा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सार्वजनिक यातायातप्रति जनताको वर्तमान सोच परिवर्तन हुने गरी नवीनतम् प्रविधिको प्रयोग गर्दै सेवा प्रदान गर्न व्यवसायीले ढिलाई गर्न नहुने बताए । सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सरकारले स्पष्ट नीति ल्याउनुपर्ने उनको भनाइ थियो । 

व्यवसायी एवं युनाइटेड भलाइ कोषका अध्यक्ष राजेन्द्र तिवारीले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन सबैको सहकार्यको आवश्यकतामा जोड दिँदै सहकार्य र सहकारिताको भावनाबाट व्यवसायी अघि बढ्नुपर्ने बताए । 

कानून व्यवसायी मनिषकुमार श्रेष्ठले यातायात समिति कम्पनी ऐनअन्तर्गत दर्ता भई यातायात व्यवस्था कार्यालयमा पञ्जीकरण गरिनुपर्ने व्यवस्था भए पनि यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०७४ ले साना व्यवसायीको भावना समेट्न नसकेको बताए । 

सार्वजनिक यातायात क्षेत्रमा देखा परेका चुनौतीको उचित समाधान र आवश्यक नीति निर्माणमा सरोकारवाला निकायलाई सहयोग एवं सहजता प्रदान गर्न स्थापना भएको सार्वजनिक यातायात केन्द्रीय महासङ्घ सार्वजनिक यातायात सेवाको संरक्षण, सम्बद्र्धन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा सुरक्षित, मर्यादित र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको महासङ्घका महासचिव गणेश उप्रेतीले जानकारी दिए । 

महासङ्घले अग्रगामी सोचका साथ नवीन प्रविधिको प्रयोग गर्दै सर्वसाधारणलाई सेवा प्रदान गर्ने उद्देश्य राखेको महासचिव उप्रेतीले बताए । 

बदलिँदो परिस्थितिमा यात्रुको हित र सुविधालाई मध्यनजर गर्दैै नेपालभर सञ्चालनमा रहेका सार्वजनिक यातायातका सवारी साधानमा यात्रा गर्न ‘इ–टिकेट’ प्रणाली लागू गरी घरैबाट टिकेट लिने र भुक्तानी गर्ने व्यवस्थालाई अनिवार्य गर्ने तयारी भइरहेको बताए । 

‘महासङ्घले सबै किसिमका सवारी सधान चलाउने प्रशिक्षण कार्य सञ्चालन गर्नका लागि प्रशिक्षण केन्द्र स्थापना र सञ्चालन तथा सवारी सधानलाई आवश्यक पर्ने इन्धन बिक्रीका लागि डिपो खोली सञ्चालन गर्ने छ’ –उनले भने । 

अन्तर्राष्ट्रिय मापदण्डको पेट्रोलियम र विद्युतीय सवारी सधान आयातलाई प्राथमिकता दिइएको महासचिव उप्रेतीले बताए । यातयातका क्षेत्रमा भइरहेका एकताधिकार अन्त्य गर्र्दै प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्न इच्छुक व्यवसायीको पहलमा गत मङ्सिर २२ गते महासङ्घको स्थापना भएको थियो । महासङ्घमा १११ यातायात कम्पनी आबद्ध भएका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ