बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बीमाको पहुँच ग्रामीणस्तरसम्म पु¥याउनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

शनिबार, ११ फागुन २०७५, १८ : २८
शनिबार, ११ फागुन २०७५

.काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून भएको भन्दै द्रूतगतिमा पहुँच विस्तार गर्न राष्ट्रिय बीमा संस्थानलाई आग्रह गरेका छन् । 

पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान स्थापनाको ५२औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै समयानुकूल सेवाप्रवाहमा ध्यान केन्द्रित गर्न आग्रह गरे । 

‘नेपालको बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरणमा संस्थानको महत्वपूर्ण भूमिका रहेको छ, समयानुकूल प्रविधिको विकास, सङ्गठन पुनःसंरचना एवं सेवा प्रवाहमा ध्यान केन्द्रित गर्दै खरो प्रतिस्पर्धामा उत्रनुपर्ने आवश्यकता देखिन्छ’, उपप्रधानमन्त्री पोखरेलले भने । 

अर्थ मन्त्रालयका राजस्व सचिव लालशङ्कर घिमिरेले आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धी कार्य प्रणालीको अवलम्बन गर्दै जीवन बीमा व्यवसायमा आम समुदायलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्न सुझाव दिए ।  

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले संस्थान आफू प्रतिस्पर्धी बन्नुका साथै कर्मचारीको उचित व्यवस्थापन, उनीहरुको दक्षतावृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्नेमा जोड दिए । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकको सबै नेपालीको बैंक खाता भन्ने अभियानजस्तै सबै नेपालीको बीमा अनिवार्य गर्नुपर्छ भो । 

संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले बीमा बजारमा निजी र विदेशी कम्पनीको आकर्षण रहे तापनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको दाबी गरे । संस्थानको अधिकृत पूँजी रु ५० करोड र चुक्ता पूँजी रु १८ करोड १० लाख २० हजार रहेको छ । 

हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करीब दुई लाख ९८ हजार बीमित रहेका छन् भने यस वर्षबाट करीब तीन लाख राष्ट्रसेवक कर्मचारीको सावधिक जीवन बीमा थप गरिएको छ । त्यसैगरी अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीको बीमासमेत संस्थानले गर्दै आएको छ । 

त्यसैगरी आर्थिक वर्षको प्रथम अर्धवार्षिकमा रु चार अर्ब ४१ करोड बीमा शुल्क सङ्कलन गरिएको र रु एक अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको संस्थानको भनाइ छ । 

२०७५ पुस मसान्तमा संस्थानको जीवन बीमा कोष रु १९ अर्ब २१ करोड रहेको बताउँदै प्रशासक पाठकले दीर्घकालीन परियोजनामा लगानी गर्ने प्रयासस्वरुप माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा रु २१ करोड १८ लाख शेयर पूँजी र दुई अर्ब ऋण लगानी, जलविद्युत् लगानी तथा विकास कम्पनीमा रु एक अर्ब शेयर लगानी र विद्युत् उत्पादन कम्पनीमा रु छ करोड ६० लाखको संस्थापक शेयर लगानी रहेको छ । 

सो अवसरमा संस्थानमा उत्कृष्ट काम गर्ने तीन अभिकर्ता मनकुमारी निरौला, हरिशरण शिवाकोटी र बद्रीप्रसाद उप्रेतीलाई सम्मान गरिएको छ । 

विसं २०२४ पुस १ गते नेपाल सरकारको स्वामित्वमा राष्ट्रिय बीमा संस्थान (प्रालि) स्थापना भई फागुन ११ गतेदेखि व्यावसायिक कारोवार शुरु गरी राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ अनुरुप विसं २०२५ पुस १ गते संस्थानमा परिणत भएको संस्थान आजदेखि स्थापनाको ५१औँ वर्ष पार गरी ५२औं वर्षमा प्रवेश गरेको छ । 

स्थापनाकालदेखि नै लगातार नाफामा रहेको संस्थानले नेपाल सरकारलगायत संस्थापक शेयरधनीलाई आकर्षक लाभांश र सरकारलाई करका रूपमा समेत करीब रु ३५ करोड वार्षिक राजस्व बुझाउँदै आएको छ । 

संस्थानको संस्थापक शेयरधनीका रुपमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा नेपाल बैंक लिमिटेड रहेका छन् । नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा नेपाल बैंक लिमिटेडको क्रमशः २७.७८ प्रतिशत, ५५.५५ प्रतिशत तथा १६.६७ प्रतिशत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप