शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
मुक्तदृष्टि

आकस्मिक गीतले तातेका सुखसमृद्धिका कानहरु !

शनिबार, ११ फागुन २०७५, ११ : ४४
शनिबार, ११ फागुन २०७५

नेपालका कतिपय राजनेताहरुले भनेको सुनिएको छ, राजनीति गर्नेहरुका लागि साहित्यको केहीे काम छैन । गीतसङ्गीतको काम छैन । कुनै उपयोगिता नै छैन ? यसतर्पm हाम्रो कुनै चासो नै छैन । चासो लिन हामीसित फुर्सत् पनि त छैन । यसो भन्दाभन्दै पनि राजनीतिले साहित्यलाई नसहेको, साहित्यनिर्माताहरुलाई गाली, धम्की र पीडा समेत दिएको इतिहास भने हामी पटक पटक पढिभोगिआएका छौं । 

मकैको खेती पुस्तकमा लेखकले मकैबालीमा लाग्ने कीराको बयान गर्दा सत्तासीन राणाहरुले आपैmलाई कीरा भनेको ठाने, पुस्तकमा गरिएको कीराको बयान आफ्नै बयान ठाने । राणाहरु पनि शून्य सहनशीलताका थिए । पुस्तक लेखकलाई जेलमा पुर्याए । त्यहीँ सडाएर मारे । 

सत्तासीन सामन्तहरुका मनोविज्ञानको यो पनि एउटा सटीक दृष्टान्त नै हो । 

मैले एक जना विद्वान् साथीबाट पुरानो चीनका एक बादशाहको बारेमा सुनेको थिएँ । त्यो बादशाह आफूलाई सर्वशक्तिमान् ईश्वर ठान्थ्यो । अन्य विभिन्न सामन्त महासामन्तहरुमा जस्तै त्यस बादशाहमा पनि कतै कसैबाट आफ्नाबारेमा भएका टीका टिप्पणी सुन्न सक्ने धैर्य थिएन । एक पटक त्यसले  चीनका केही साहित्यकारहरु आफ्ना गीत कविता र काव्यमा आलङ्कारिक भाषाबाट बादशाहको टिप्पणी गर्छन् भन्ने सुनेछ । सुनेपछि उसलाई रातभरि निद्रा लागेन । बिहान सिपाहीहरु बेलाएर उसले राजधानीको ठूलो चउरमा दुईतिर खम्बा गाडेर निश्चित नापको उँचाइमा एउटा डोरी टाँग्न अह्रायो । मुलुकका तमाम कवि गीतकार साहित्यकारहरुलाई त्यस डोरीनिर लहरै उपस्थित गराएर डोरीभन्दा माथि टाउको उठेकाहरुलाई टाउको काट्नू र डोरीमुनि टाउको परेकाहरुलाई कट्टी खुस्काएर थला बसाल्नू भन्ने आदेश दियो । 

यसपछि चीनमा बादशाहको डोरी भनेपछि लेखक कलाकारहरुले सावधान रहनु पर्ने अवस्था बन्यो । वादशाह त गजबको स्थिति बाँधेँ भन्थ्यो । तर यो स्थिति त्यो बादशाह नमर्दासम्म पनि कायम रहन भने सकेन ।

चिनियाँ बादशाहका डोरीकोे यो ऐतिहासिक प्रसङ्ग विगतमा  पन्चप्रशासकहरुका सन्दर्भमा हाम्रो नेपालमै पनि मननीय थियो । पन्चायती प्रशासनमा पनि कविता काव्य गीत लगायतका साहित्य रचनामा सेन्सरसिपको डोरी टाँगिएकै हो । तर पनि कविकलाकारले विभिन्न सिप प्रयोग गरेर आफ्ना रचनाशिल्प जनताबीच पुर्याइछाडे । क्रान्तिकारी युवा तथा विद्यार्थीहरु जनताका आँगन आँगनमा पुगेर ‘गाउँ गाउँबाट उठ’ जस्ता जागृति र क्रान्तिका गीत घन्काउँदै  नाचे । यथास्थितिविरुद्ध जनतामा जागृतिको शङ्खनाद गरिछाडे ।

अहिले नेपालमा कुनै बादशाहको शासन छैन । परम्परागत राजा महाराजा एवम् घोषित सामन्तहरुको शासन छैन । निर्वाचन शैली र संस्कति जस्तो भए पनि जनताका मतबाट निर्वाचित प्रतिनिधिका रुपमा नेता कार्यकर्ताहरुको शासन छ । 

तिनै प्र्रतिनिधिहरुबाट पारित लोकतान्त्रिक विशेषणसहितको सम्बिधान पनि छ । संविधानमा मौलिक अधिकारका प्रावधान पनि छन् । 

यो यस्तो स्थितिमा अहिले एक जना गायकले ‘लुट कान्छा लुट’ भन्ने एउटा गीत यूट्यूवमा राख्दा धेरै जनताले कान ठाडा पारेर सुने । एकै रातमा गीत सर्व व्यापक भयो । गीत व्यङ्ग्यको लवजमा थियो र त्यसमा कतिपय बिम्वहरु प्रयोग भएका थिए । गीत सरल सुबोध भएकोले जनसाधारणले बुझ्न गाह्रो थिएन ।

पन्चायतकालमा गाउँ गाउँबाट उठ जस्ता गीतमा क्रान्तिकारी युवाहरु र विद्यार्थीहरु बुरुक् बुरुक् नाचेजस्तै यसपालि यो ‘लुट कान्छा लुट’ गीतमा सर्वसाधारण जनता चोक चोक र आँगन आँगनमा निस्केर नाचे । जनता लुटाहा भएर र लुट्न उत्प्रेरित भएर नाचेनन् । लुट संस्कृतिका विरुद्ध जुरु जुरु भएर नाचे । जनता मूर्ख बनेर नाचेनन्, चेतनशील बनेर नाचे ।  गीतको व्यङ्ग्यबोधका साथ नाचे । यथास्थितिविरोधी राजनीतिक उत्साहनका साथ नाचे । गीतको आवाजलाई आफ्नै आवाज बनाएर नाचे ।

मलाई लाग्यो जनतामा यो व्यङ्ग्यचेतना हाम्रा प्रधानमन्त्री ओलीज्यूकै निरन्तर शिक्षण प्रशिक्षणको करामत हो । हाम्रा प्रधानमन्त्री प्रत्येक प्रसङ्गमा एक दुइटा उखान तुक्का प्रयोग गर्नुहुन्छ । हाम्रा प्रायःजसो उखानतुक्का व्यङ्ग्यमूलक नै छन् । यस कोणबाट हाम्रा प्रधानमन्त्री ओली हर अभिव्यक्तिमा व्यङ्ग्य पस्कनुहुन्छ । उहाँ सफल व्यङ्ग्यकार हुनुहुन्छ । उखानतुक्का हाम्रो समृद्ध नेपाली जनजीवनमा वर्षौँअघिदेखि उम्रेर हुर्केको एक किसिमको व्यङ्ग्य कविता नै हो । प्रधानमन्त्री ओली कवि पनि हुनुहुन्छ ।

नेपाली कांग्रेस त कविता बुझ्दैन । देश के हो, जनता के हो त्यो पनि बुझ्दैन नेपाली कांग्रेस । काँग्रेस त केवल सत्ता र सम्पत्तिको भाषा बुझ्छ । त्यसैको लागि गति छाडेर लागि पर्छ । काङ्ग्रेसको विगत ३० वर्षको इतिहासले यसै भन्छ । आफूलाई मार्क्सवादको धुरन्धर ठान्ने हाम्रा कामरेडहरु त जनता र जनपक्षीयताका नारामा उक्लेर चुनाव जित्दै सत्तामा आएका हुन् । अहिले उनीहरु जनताको सुख र मुलुकको समद्धिको पक्षमा छन् । लूटका पक्षमा छैनन् । जो लूटका पक्षमा छैनन् र भ्रष्टाचारप्रति शून्य सहाशीलताको गुरुगम्भीर अभ्यासमा छन्  तिनले लूट कान्छा लूट जस्ता व्यङ्ग्य शैलीका साधारण गीतबाट तर्सनु र उतर्सिनु पर्ने कुनै कारण नै छैन । भन्न मनै लाग्छ भने ‘हामी नेपाली काङ्ग्रेसको निरन्तरता होइनौं, हामी देश र जनता लुट्ने काम गर्दैनौं, तिमीले आँैल्याएका कान्छा हामी होइनौं, हामी त तिमीहरुका आवाजको कदर गर्ने जनप्रतिनिधिहरु हौँ’ भनिदिए पुग्छ । हैन र ?

व्यङ्ग्यचेतका हिसावले हेर्दा नेपालीहरु अनजान छैनन् । हाम्रा कामरेडहरु पनि अनजान हुनुहुन्न । खराब मान्छेहरुलाई मात्र खराबीप्रतिको व्यङ्ग्य सुन्दा असह्य हुन्छ । मर्नुबराबर पनि लाग्न सक्छ । असल मानिसहरुलाई त खराबहरुप्रतिको व्यङ्ग्य सुन्दा असहज लागदैन । दुःख लाग्दैन । बरु स्वाद लाग्छ । गीत कविता काव्य र सामान्य अभिव्यक्तिमा पनि व्यङ्यले तिक्खर पना थप्छ । तिक्खर अभिव्यक्तिमा व्यङ्ग्य त हुन्छ नि ।

घरको बार्दलीबाट सडकतिर फर्केर कसैले चोर, चोर, भन्दै करायो भने सडकमा फाल छोडेर भाग्ने दगुर्ने को हुन्छन् ? चोरको खुट्टा काट् भन्दा खुट्टा तान्ने को हुन्छन् । ती कि त चोर हुन्छन् कि त होस गुमाएर चल्ने दगुर्ने बिचरा मनुवाहरु हुन्छन् । यो नेपाली जनताले युगौंदखि भनिआएको र बुझिआएको कुरा हो । 

साधारण व्यङ्ग्यगीतबाट तर्सिने उतर्सिने साथीहरु, भन्नुस् त  तपाइँहरु को ? सर्वसाधारण जनताको व्यङ्ग्यमिश्रित आवाजबाट तपाइँलाई दुःख लाग्यो ? तपाइँहरु कुन संसारबाट आउनुभएको ? तपाइँहरु पनि इतिहासका चिनी बादशाहले जस्तै कवि साहित्यकार गीतकार र गायकहरुका अगाडि नापोको डोरी तन्काउन चाहनुहुन्छ ?

साथीहरु, तपाइँहरु अध्यक्ष ओलीका कार्यकर्ता हुनुहुन्छ भने वहाँबाट व्यङ्ग्यबोध पनि ग्रहण गर्नुहोस् । ग्रहणशीलताले राजनीतिक व्यक्तित्वमा प्रखरता थप्छ । साहित्य, गीत संगीत त ओखती हो । यसबाट विकृति विसङ्गतिका कीटाणृुहरु मर्छन् । स्वास्थ्यलाभ हुन्छ । पुराणकालमै ऋषि मार्कण्डेयले पत्ता लगाएको थेरापी पनि हो गीत सङ्गीत र साहित्य । (श्रुतं हरति पापानि तथारोग्यं प्रयच्छति । अर्थाथ् सुन्दा रोग हरण हुन्छ, पाप हरण हुन्छ, आरोग्य प्राप्त हुन्छ ।—मार्कण्डेय पुराण ।) ओखतीले रोगाणुहरु मर्छन्, विषाक्त जीवाणुहरु मर्छन् । पुनः स्वास्थ्यलाभ  हुन्छ । हामी जनताले जानेबुझेका आयुर्विज्ञानले पनि यस्तै भन्छ ।

विगत तीन दशकसम्म नेपालमा सत्तासीन नेपाली कांग्रेसको जननिरपेक्ष र निरन्तर सत्तासम्पत्तिमुखी राजनीतिक संस्कृतिको कारण नेपाली सत्तासमाजमा झांगिएका विकृति विसंगतिमाथि गरिएका व्यंग्यले कसको कान तात्छ ? मेरो विचारमा नेपाली कांग्रेसको कान तात्छ । शेरबहादुर देउवाहरुको कान तात्छ । कांग्रेसका भोजबहादुर र मोजबहादुरहरुको कान तात्छ । किनकि नेपाली राजनीतिमा बीसौं वर्षसम्म लूटको खेती चलाइआउने नेपाली कांग्रेस हो । अहिले आएर हाम्रा नेकपाका कमरेडहरुको पो कान तातेको पाइयो । नेकपाका कामरेडहरुले नेपाली कांग्रेसको लूटवादी राजनीतिक संस्कृतिको स्वामित्व कहिलेदेखि सकार्नुभयो  र कमरेडहरुको पनि कान तात्यो ? लूट कान्छा लूट जस्ता व्यङ्ग्य गीतले नेपाली जनताको सुख र नेपालको समृद्धिका लागि दिन रात नभनी लागिपरेका नेकपाका सरकारी कामरेडहरुको कान किन तात्यो ? 

असारमा खेत जोतखन गरेर, हिल्याएर, साएर धान रोपिरहेका किसानका अगाडि गएर कसैले ‘बाँझो राखिस् खेत कान्छा, बाँझो राखिस् खेत् । आषाढमा बाँझो राखिस् मंसीरमा चेत्’ भन्दै गीत घन्कायो भने त्यो किसान मुसुक्क हाँसेर आफ्नो खेतमा रोपाइँ गरिरहन्छ कि त्यो गीत गाउने व्यक्तिसँग कान तताएर ठाडठाडै पौंठेजोडी खेल्न जान्छ ?

(अगस्त्यजी आज्ञा गर्नुहुन्छ हे कुमार बावु, जोस त युवाहरुको सम्पत्ति हो त्यो चाहिन्छ । जसरी उदाउँदो सूर्यमा राप ताप ज्योतिष्मत्ता सबै चाहिन्छ । तर जोससँगै होस पनि चाहिन्छ, विवेकशील आँखा पनि चाहिन्छन् । विवेकविनाका आँखा के आँखा ?  विवेकविनाको बोध के बोध ? निःस्वार्थ, परोपकारी, सही सज्जन मानिसहरुको सङ्गत र विवेकबाट वास्तविक आँखा खुल्छन् । यो कुरा नेपालका बुढापाकाहरुले उहिल्यैदेखि भन्दै आएका हुन् । यसैले हे कुमारजी, हामी हाम्रो देश र जनताको इतिहास पनि पढौं । इतिहासबाट पनि आँखा खुल्छन् । ‘इति, ह, आस=इतिहास’ । इति=यस्तो, ह=साँच्चै, आस=थियो, अर्थात् हाम्रो विगत यस्तो थियो । हामी त्यहाँबाट यहाँ आइपुगेका छौं । हामी त्यो पनि पढौं । इतिश्री सुखसमृद्धिपुराणे....।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप