बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डिपिएलः काठमाडौंँद्वारा खेल वहिष्कार

शुक्रबार, १० फागुन २०७५, १८ : ५३
शुक्रबार, १० फागुन २०७५

धनगढी– काठमाडौं गोल्डेन्सले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर्स खेल बहिष्कार गरेको छ ।  भारतीय खेलाडी अङ्कित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै काठमाडौंले महेन्द्रनगर युनाईटेड विरुद्धको क्वालिफायर्स खेल बहिष्कार गरेको हो ।

काठमाडौंले धनगढीको फाप्ला क्रिकेट मैदानमा आज महेन्द्रनगर युनाईटेडसंँग प्रतिस्पर्धा गर्ने तालिका थियो । बलिङ शंकास्पद रहेको दावी सहित बिहीवार दबासलाई प्रतिबन्ध लगाएको थियो । काठमाडौं गोल्डेन्सल खेलेको दुई फरक खेलमा दबासको बलिङ एक्सन अनाधिकृत रहेको प्राविधिक टोलीको दाबी छ ।

 काठमाडौँका टिम व्यवस्थापक संजय श्रेष्ठले भारतका विभिन्न खेल खेलेका खेलाडीलाई बिना कारण कारबाही गरेकोले खेल नखेलेको बताए । उनले आईसिसीको नियमको पालना आयोजकले नगरेको र मैदानको अवस्था खराब रहेकाले नखेल्ने निर्णय गरेको जानकारी दिए । 

काठमाडौंले जितेका तीन खेलमा दबास अलराउन्ड प्रदर्शन गर्दै ‘म्यान अफ दि म्याच’ चुनिएका थिए । दबासले काठमाडौंबाट सर्वाधिक छ विकेट लिनुका साथै १५३ रन बनाएका थिए । आज निर्धारित खेलको समयमा काठमाडौँ मैदानमा नगएपछि महेन्द्रनगर युनाईटेड सिधैं फाईनलमा पुगेको छ । महेन्द्रनगरले शनिवार हुने फाइनलमा सिवाईसी अत्तरियाको सामना गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप