शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धमाधम थपिँदै विद्युत सवस्टेशन

शुक्रबार, १० फागुन २०७५, १६ : ५२
शुक्रबार, १० फागुन २०७५

–रमेश लम्साल 

काठमाडौँ– बिजुलीको लाइन जोडिएपनि साँझ बिहान टुकी बाल्नुपर्ने बाध्यता उस्तै थियो । मासिकरुपमा तिर्नुपर्ने बिल साविककै आउँथ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक ध्यानाकर्षण गराइएपनि समस्या सुल्झिएको थिएन । लामो प्रसारण लाइनका कारण हावा हुरी चल्नेबित्तिकै टुकी जस्तो मधुरो बिजुली पनि निभ्थ्यो । 

सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ का ग्रामीण क्षेत्रको समस्या यस्तै थियो । सङ्घीय संसद्मा सांसदहरुले यो विषयमा सरकारको ध्यानाकर्षण गराए । तर समस्या समाधान हुन समय लाग्यो । प्राधिकरणले प्रसारण लाइन र सवस्टेशनको स्तरोन्नति नगर्दा समस्यामा परेका थिए त्यस क्षेत्रका विद्युत् उपभोक्ता । तर पछिल्लो समय प्राधिकरणले उपभोक्ताको ती गुनासो सम्बोधन गर्ने लक्ष्यसाथ नियमितरुपमा सवस्टेशनको क्षमता वृद्धि र नयाँ सवस्टेशन सञ्चालनमा ल्याएको छ । 

पछिल्ला चार दिनमा पाँच नयाँ सवस्टेशन उद्घाटन गरिएको छ । सवस्टेशनको क्षमता वृद्धि, कन्डक्टर, ट्रान्सफर्मर फेरिएको छ । विद्युत् आपूर्ति नियमित गराउन र बत्ती चाहिएको समयमा उपलब्ध हुने व्यवस्था गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको विद्युत् आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन डडेलधुराको स्याउलेमा निर्माण गरिएको सवस्टेसनको उद्घाटन गरे ।

यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुधबार कैलालीको हसुलिया ३३/११ केभी र पहलमानपुर १३२/३३/११ केभी सवस्टेसनको उद्घाटन गरे । 

मन्त्री पुनले बिहीबार बर्दियाको भुरीगाउँ र दाङको हापुरेमा निर्माण सम्पन्न १३२/३३ केभी सवस्टेसनको उद्घाटन गरे । एकैपटक पाँच वटा सवस्टेशनको उद्घाटनपछि ती क्षेत्रमा नियमित विद्युत् उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ । टुकी जस्तो मधुरो बल्ने विद्युत् अब चहकिलो र भरपर्दो हुने बिश्वास बढेको छ ।

विद्युत्भार कटौती अन्त्यपछि विद्युत् आपूर्ति नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालू आवमा ३० ग्रिड तथा २० वटा वितरण सवस्टेसनको निर्माण एवं स्तरोन्नति गरिसक्ने प्राधिकरणको योजना छ । उपत्यकालगायत देशैभर पाँच हजार नयाँ ट्रान्सफर्मर फेरिँदैछ । 

प्राधिकरणले चालू आर्थिक वर्षमा ५५ वटा सवस्टेनको निर्माण र स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । चालू आवभित्रै ६०० सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न गर्ने प्राधिकरणको योजना छ । पछिल्लो एक वर्षमा प्राधिकरणले १९ वटा ग्रिड र २० वटा वितरण सवस्टेसनको निर्माण गरेको छ । 

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुन आगामी दिनमा मुलुकभित्र उत्पादित विद्युत्लाई स्वदेशमै खपत गर्ने गरी उच्च क्षमताका प्रसारण तथा वितरण संरचनाको विस्तार एवं स्तरोन्नति कार्य अभियानकैरुपमा अगाडि बढिरहेको बताउँछन् । 

‘विगतमा विकराल विद्युत्भार कटौतीले अध्याँरोमा थियौँ, त्यसको अन्त्य भई उज्यालो आएकोले विद्युत् खपत बढाउन उद्योग कलकारखाना खोल्नेतर्फ लाग्नुपर्छ’, उनले भने, ‘बिजुलीको माग सँगै पर्याप्तमात्रामा उत्पादन हुँदैछ । यसको बढी खपत गरी उत्पादन बढाइ जीवनयापनमा सुधार गर्न प्रसारण तथा वितरणका संरचना सोहीअनुसार बनाइरहेका छौँ ।’ 

तर समस्या निर्माण व्यवसायीमा छ । कतै वनको समस्या त कतै जग्गाप्राप्तिको समस्या । ‘समस्यासँग जुध्दै राज्यको दायित्व पूरा गर्ने योजनामा सरकार छ, समस्या समाधान गर्दै हामी समृद्धिको लक्ष्यमा पुग्छौँ’, मन्त्री पुनले भने । उनले निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीलाई तोकिएकै समयमा काम सक्न आग्रह गरे । समयमै काम सक्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गर्ने मन्त्रालयको सोच छ । 

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत् आपूर्ति गर्न उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति ल्याएको छ । प्राधिकरणले सवस्टेसनको क्षमता स्तरोन्नति तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सवस्टेसन बनाउनेजस्ता काम गरिरहेको छ । 

निजी लगानीको सिमेन्ट उद्योगलाई प्रवद्र्धन गर्न उद्योगस्थलमा विद्युत् लाइन विस्तार गर्ने सरकारी नीतिअनुरुप निर्माण गरिएको कुसुम (बाँके)–हापुरे (दाङ) १३२ केभी प्रसारण लाइन र १३२/३३ केभी सवस्टेसनको निर्माण सम्पन्न भएको छ । रु ४३ करोडमा बनेको सो आयोजनाबाट दाङमा संरचनामा रहेका र स्थापना हुने क्रमका सिमेन्ट उद्योगले पर्याप्त विद्युत् पाउनेछन् । साथै उपभोक्ताले सर्वसुलभ रुपमा विद्युत् प्रयोग गर्नेछन् । 

ऊर्जा सचिव दिनेशकुमार घिमिरेले सरकारको प्राथमिकता विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार रहेको बताए । ‘यसबाट विद्युत्को पहुँच बढ्ने छ । विद्युत् आपूर्तिमा सुधार भई उपभोक्तालाई भरपर्दो र उद्योगलाई पर्याप्त विद्युत् दिन सक्नेछौँ ।’ 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन र विद्युत् आपूर्तिलाई गुणस्तरीय बनाउन सवस्टेसन निर्माण तथा स्तरोन्तिको काम देशभरि चलिरहेको जानकारी दिए । ‘हामीले चलाएको अभियानबाट प्राविधिक चुहावट नियन्त्रण र भोल्टेजमा सुधार हुने छ, उपभोक्तालाई मागेजति विद्युत् दिन सकिन्छ’, उनले भने । 

औद्योगिक क्षेत्रमा प्रसारण रिङ 

प्राधिकरणले जनकपुर, हेटौँडा, चितवन, भैरहवालगायतका क्षेत्रमा प्रसारण रिङ बनाउने भएको छ । ती क्षेत्रका र आगामी दिनमा विस्तार हुने उद्योग तथा विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर १३२ केभी क्षमताको प्रसारण लाइनको रिङ नै बनाउने गरी काम गरिरहेको छ । पूर्वाधार तयार भएपछि मागअनुसारको विद्युत् आपूर्ति गर्न सकिन्छ भने ‘ट्रिपिङ’ हुने लगायतका समस्या समाधान गरी नियमित विद्युत् आपूर्ति हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप