शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिरामी भन्छन्, ‘अब मर्नलाई कति पनि समय नलाग्ने रहेछ !’

शुक्रबार, १० फागुन २०७५, १३ : ५०
शुक्रबार, १० फागुन २०७५

रामलाल ओली हातमा कागजपत्रको चाङ बोक्दै शुक्रबार वीरको ओपीडीमा आइपुगे । डाक्टरहरुको आन्दोलनबारे बेखबर थिए । टिकट काउण्टर बन्द देखेपछि शुरुमा उनले काउण्टर खुलेर पनि बन्द भएछ भन्ने अनुमान लगाए । तर, जब अस्पतालको सेवा नै बन्द रहेको कुरा उनले थाहा पाए, उनी निराश बने ।

ताप्लेजुङका ओली पेप्सीकोलामा डेरा गरेर बस्छन् । उनी पसलमा काम गर्छन् । आज बल्लतल्ल उपचारको लागि वीरमा आउने मौका मिलेको रहेछ । आज साहुबाट बिदा त मिल्यो, तर उपचार गर्ने मौका मिलेन ।

४९ वर्षका ओलीलाई नशासम्बन्धि समस्या छ ।

उनी उपचारको लागि बुधबार पनि आएका रहेछन् । शुक्रबार आउनु भनेर अस्पतालले नै फर्काएको रहेछ । गत वुधबार वीरमा एक्स—रे गर्ने मेसिन छैन भन्दै अस्पतालको कर्मचारीलेनै अल्कामा जानु भनेका रहेछन् । अल्का अस्पतालमा एक्स—रे गरेको ७ हजार रुपैयाँ तिरे । सोही एक्स—रे को रिर्पाेट आज वीरमा देखाउनुपर्ने थियो ।

तर डाक्टरको आन्दोलनले गर्दा उनले आज पनि आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भन्ने बारेमा बुझने अवसर पाएनन् । जस्तो सुकै समस्या आइपरे पनि यसरी स्वास्थ्य संस्था बन्द गर्नु गलत काम भएको भन्दै आक्रोश पोखे ।

रामेश्वारी प्रधानको मुटुको समस्या रहेको छ ।  सोही बारे जचाउँन वीर अस्पतालमा आइन् । सतुंङगलतबाट आएकी रामेश्वारीलाई पनि आज अस्पताल बन्द छ भन्ने थाहा थिएन । हिजो आउँदा शुक्रबार साढे ९ बजे आउनु भनिएको थियो ।

रामेश्वारीले आजभन्दा दुई वर्ष पहिला एउटा मृगौला आफ्नो श्रीमान्लाई दिएकी रैछिन् । अर्को मृगौलामा  उनलाई समेत पत्थरी रहेछ । तर सो अप्रेशनमा पत्थरी झिक्न नमिल्ने भएपछि रामेश्वरीले पत्थरीलाई अहिलेसम्म राखिरहेकी छिन् ।

अहिले उनलाई मुटु पनि दुख्न थालेको छ । वीरमा पिसाब, ब्लड, एक्स—रे, इसिजीको रिपोर्ट हिजो देखाएकी थिइन् । आज इकोको रिर्पाेट काउण्टरमा दर्ता गरेर डाक्टरलाई देखाउनु पर्ने थियो । तर काउण्टरनै बन्द भएको हुँदा उनले सेवा लिन पाइनन् । 

‘डाक्टरहरुले नै हड्तालमा गर्ने र विरामीले उपचार नपाउने हो भने बिरामी मर्नलाई कति पनि समय नलाग्ने रहेछ,’ उनले दुखेसो पोखिन् ।

यस्ता गुनासो गर्ने यी दुई बिरामी प्रतिनिधि पात्र मात्रै हुन् । विहान १० बजे वीर अस्पतालको टिकट काउण्टरमा पुग्दा बिरामीहरु ओपिडीको टिकट काट्न लाइनमा बसिरहेका थिए । तर ओपिडीको टिकट काउण्टरमा भने कुनै पनि कर्मचारी थिएनन् । अर्थात् कर्मचारी जाने ढोकामानै ताला लगाइएको थियो ।

टिकट काउण्टरमा डाक्टर बस्छन् की कर्मचारी भन्ने कुरा सम्म थाहा नभएका बिरामीहरु भन्दै थिए, ‘डाक्टर खाना खान गएका होलान् । एकछिनमा आउँछन् बस्दै गर्रौँ ।’ आज बन्द हो भन्ने कुरा बारे अधिकांश बिरामीहरु बेखबर थिए ।

पढ्न जान्ने धेरै बिरामीहरुले सरकारी चिकित्सकहरुले काउण्टरको भित्तामा टाँसिएको आन्दोलनको तालिकाबाट मात्र यसबारे थाहा पाए । ‘आज फागुन ११ गते शुक्रबार सरकारी चिकित्सकले आकस्मिक बाहेकको सेवा बन्द गर्ने’ भन्दै ठूलो स्वरमा पढ्दै थिए ।

सुन्ने वरपरका बिरामीहरु भने ‘होइन, कहिलेदेखि रैछ डाक्टरको आन्दोलन ?’ भन्दै अच्चम मान्दै पनि थिए । सुचना पढ्नेहरु बन्द रैछ भन्दै फर्कन थाले भने कोही डाक्टर खाना खान गएको होला आधा घण्टामा आउँछन् भन्दै बस्दै थिए ।

कोही आफ्नो आफन्तको साहरामा अस्पताल आएका थिए भने कोही ह्वीलचियरको साहरामा  । जो जसरी आए पनि ओपिडीमा आउने बिरामीहरुले भने वीरमा आज उपचार पाएनन् ।

डा. गोविन्द केसीको अनसन पछि बल्ल तङ्ग्रिर्दै गरेको स्वास्थ्य सेवा फेरि डाक्टरको आन्दोलनले आफै बिरामी परेको छ । वीरमा मात्रै होइन आज देशभरको सरकारी अस्पतालको सेवा प्रभावित भएको छ ।

कर्मचारी समायोजनमा चित्त नबुझेको भन्दै सरकारी चिकित्सकहरु लामो समयदेखि आन्दोलनमा छन् । कर्मचारी समायोजनमा चिकित्सकलाई संघ अन्तरगत राख्नु पर्ने र देशभर चिकित्सकलाई खटाउनु पर्ने माग सरकारी चिकित्सक संघको रहेको छ ।

पुष २९ गते स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक बीच कर्मचारी समायोजनको विषयमा छलफल गर्नको लागि वार्ता टोली गठन गरिएको थियो । तर वार्ता टोलिले एक महिना वितिसक्दा पनि आफूहरुको माग सम्बोधनको लागि समायोजनको विषयमा माघ २७ गने देखि दोस्रो पटक आन्दोलनमा उत्रिएका हुँन ।

आज स्वास्थ्य सेवा ठप्प पार्ने विषयमा सरकारी चिकित्सक संघले गएको आइतबार पत्रकार सम्मेलन गरेर कार्यक्रमको जानकारी गराइएको थियो । सरकारले माग सम्बोधन नगरेको खण्डमा आज स्वास्थ्य सेवामा आकस्मिक बाहेकको सेवा छाडेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप