बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवालयले कार्यदल भङ्ग गरेपछि असन्तुष्ट नेताहरुले ओली प्रचण्डलाई छुटै प्रतिवेदन बुझाउने तयारी

शुक्रबार, १० फागुन २०७५, १३ : ३३
शुक्रबार, १० फागुन २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शक्तिशाली कार्यदल भङ्ग भएपछि असन्तुष्ट नेताहरुले अध्यक्षद्वयलाई छुट्टै प्रतिवेदन बुझाउने तयारी गरेका छन् ।

शुक्रबारको सचिवालय बैठकले कार्यदल भंग गर्ने र एकीकरणका बाँकी कामको प्रस्ताव सचिवालयलेनै गर्ने निर्णय गरेसँगै कार्यदलका केहि सदस्यहरु आफ्ना लिखित धारणा सहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने तयारी गरेका हुन् ।

बिहिबार विहान कार्यदलका सदस्यसहित बसेको सचिवालय बैठकमा कार्यदलका सदस्यहरुले वाँकी काम टुंगाउन भन्दै एक हप्ताको समय माग गरेका थिए ।

बैठकमा कार्यदलले समय मागेपनि अध्यक्ष ओलीले कार्यदललाई थप समय नदिने र बाँकी काम सचिवालयलेनै टुङ्ग्याउने प्रस्ताव गरेका थिए । अर्का अध्यक्ष प्रचण्ड लगायतका केही नेताहरु भने कार्यदललाई एक हप्ताको समय दिनुपर्ने प्रस्ताव राखेका थिए । कार्यदललाई थप समय दिने वा सचिवालयलेनै टुङ्ग्याउने भन्ने विषयमा एक मत हुन नसकेपछि बैठक स्थगित भएको थियो ।

तर, शुक्रबार बसेको बैठकमा अध्यक्ष ओलीको प्रस्ताव अनुसार कार्यदललाई धन्यवाद सहित विदाई गर्ने निर्णय गरेको छ ।

कार्यदल भङ्ग भएपछि असन्तुष्ट बनेका केही नेताहरुले, ‘कार्यदल किन भंग गरियो ? कार्यदललाई किन असफल बनाइयो ?’ भन्दै आफ्ना लिखित धारणा अध्यक्षद्वयलाई बुझाउने तयारी गरेको कार्यदल सदस्य योगेश भट्राईले रातोपाटीलाई बताए ।

‘विहिबार कार्यदलसहित बसेको सचिवालय बैठकमा हामीले एक हप्ताको समय माग गरेको थियौँ । तर, आज बसेको सचिवालय बैठकले कार्यदललाई विदाई गर्ने निर्णय गर्यो,’ नेता भट्टराईले भने, ‘किन कार्यदलको काम भएन ? कार्यदललाई किन असफल बनाइयो ? अब यसको विकल्प के हो ? भनेर कार्यदलका बहुमत सदस्यहरुले लिखित रुपमा आफ्ना धारणा सुझाव अध्यक्षद्वयलाई बुझाउँछाँै ।’

स्थायी कमिटी बैठकले पौष १३ गते ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई पौष मसान्त भित्रमा एकीकरणका सबै वाँकी कामको प्रस्ताव तयार गर्ने, विधानमा भएको त्रुटि सच्चाउने, केन्द्रीय सदस्यको कार्यविभाजन लगाएतको जिम्मेवारी थियो ।

कार्यदल गठन यता सात पटक बैठक बसेपनि विधान बाहेक अन्य विषयमा कार्यदलका सदस्यहरुबीच सहमति हुन सकेको थिएन । त्यसपछि माघ २१ गते बसेको सचिवालय बैठकले यथास्थितिमा कार्यदलको प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो । सचिवालयले प्रतिवेदन मागे पछि संयोजक बादलले अपुरोे प्रतिवेदन सचिवालयलाई बुझाएका थिए ।

कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप