मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

कालु पाँडेको समाधिस्थलबाटै प्रधानमन्त्री ओलीले भने, ‘गोरखा’ कता पर्छ’

बिहीबार, ०९ फागुन २०७५, २० : ३३
बिहीबार, ०९ फागुन २०७५

–रामलाल श्रेष्ठ र अशोक घिमिरे 

काठमाडौँ । चन्द्रागिरि–१ दहचोकस्थित काजी कालु पाँडेको समाधीस्थलमा पुष्पगुच्छा अर्पण गर्दा निकै गम्भीर देखिनुभएका प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटनका क्रममा भने हर्षित थिए । 

उत्सवको उद्घाटनका लागि दहचोकको डाँडामा पुगेका प्रधानमन्त्री ओलीलाई आयोजकका तर्फबाट स्वयम्सेवकले ढाकाको टोपी उपहार दिए । 

लगत्तै उनले शिरमा रहेको भादगाउँले टोपी झिके र ढाकाको टोपी लगाए । अनि मञ्चाशीन व्यक्तितर्फ फर्केर भने, ‘राम्रो देखिएको छ ?’ त्यसपछि प्रधानमन्त्रीले पनि कार्यक्रमका अध्यक्ष हरिशरण थापालाई खादा लगाइदिए । 

प्रधानमन्त्री ओली २०७३ फागुन ९ गते निजी भ्रमणका क्रममा चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा पुगेका थिए । सोही समयमै उनले प्रत्येक फागुन ९ गते त्यस स्थानमा जाने उद्घोष गरेका हुन् । 

त्यसैअनुसार गतवर्ष प्रधानमन्त्रीमा निर्वाचित भएको केही समयपछि आजकै दिन अर्थात् फागुन ९ गते त्यहाँ पुगेर कालु पाण्डेप्रति श्रद्धान्जलि व्यक्त गर्दै दोस्रो इन्द्रदह पर्यटन उत्सवको उद्घाटन गरेका थिए । 

तेस्रो इन्द्रदह पर्यटन उत्सवको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कालु पाँडेको शालिकले इन्द्रदहको पहिचान नै छर्लङ्ग पारेको उल्लेख गर्दै दहचोकलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने बताए । 

उनले कालु पाँडेको समाधीस्थल नेपालीका लागि तीर्थस्थल जस्तै पवित्र भएको उल्लेख गर्दै नेपाल एकीकरणका एक जना सारथी पाण्डेले ४४ वर्षको उमेरमा जीवन आहुती दिएर असाधरण योगदान गरेको बताए । 

‘हाम्रा पूर्खाहरुले ज्यान दिएर देश बचाए, हामीले ज्यान दिनु पर्दैन, अडानमा बसे मात्र पुग्छ’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रको पहिचानको निम्ति, राष्ट्रको रक्षाका निम्ति त्यो एकीकरण भएको थियो । यसलाई जोगाउन हामीमा एकता चाहिन्छ ।’

आफू समय कटाउन मात्रै कही नजाने स्पष्ट पार्दै उनले आफू जहाँ गए पनि विकासका निम्ति मात्र जाने र हरेक पाइला विकासका लागि अघि बढाउने बताए । 

आफू दुई वर्ष अघि यहाँ आउँदा कालु पाँडेको समाधिस्थल निकै जीर्ण अवस्थामा देखेको स्मरण गर्दै उनले अहिले ती जीर्ण सम्पदाको संरक्षण, संवद्र्धन र पुनः निर्माण सम्पन्न भएको पाउँदा खुसी व्यक्त गरे । प्रधानमन्त्रीले इन्द्रदहको विकासका लागि सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

काठमाडौं क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कालु पाँडे ‘पाँडेको मात्र पाँडे’ नभएर राष्ट्रिय गौरवको व्यक्तित्व भएको बताए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर क्षेत्रभित्र पर्यटकीय पूर्वाधार निर्माण गर्न नगरपालिका क्रियाशील रहने बताएका थिए । 

सो अवसरमा प्रधानमन्त्री ओलीले कालु पाँडेको समाधिस्थल नजिकै निर्माण गरिएको पूर्ण कदको शालिकको अनावरण गरेका थिए भने समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका थिए । कालु पाँडेको समाधिस्थलबाटै प्रधानमन्त्रीले ‘गोरखा’ कता पर्छ भनेर हेरेका थिए । 

तत्कालीन पृथ्वी नारायण शाहको सेनापति काजी कालु पाँडेको कीर्तिपुर युद्धका क्रममा ज्यान गएको थियो । उनै कालु पाँडेको इच्छा बमोजिम उनको शीरलाई गोरखाको मनकामना देखिने स्थान दहचोकको डाँडामा ल्याएर समाधिस्थ गरिएको इतिहासकारको भनाइ छ । 

उक्त पूर्णकदको शालिक ५५ वर्षीय विष्णु बरालले निर्माण गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सरकारले घोषणा गरेको १०० पर्यटकीय गन्तव्यभित्र इन्द्रदह पनि समावेश गरिएको छ । 

कार्यक्रममा इन्द्रदह पर्यटन उत्सव तथा कालु पाँडेको समाधिस्थल पुनः निर्माण एवं पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाई प्रधामन्त्रीले सम्मान गरेका थिए । उत्सवमा स्थानीय कलाकारले विभिन्न गीत सङ्गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 

कालु पाँडेको समाधिस्थल नजिकै पाँचतल्ले ‘भ्यू टावर’ निर्माण भइरहेको छ । प्रधानमन्त्री ओलीले गतवर्ष उक्त भ्यू टावरको शिलान्यास गरेका थिए । टावरको दुई तला निर्माण भइसकेको छ । 

आगामी फागुन ९ गते सो भ्यू टावरको समुद्घाटन गर्ने लक्ष्य राखिएको छ । भ्यू टावरबाट काठमााडौँ, धादिङ, नुवाकोट र गोरखालगायत विभिन्न जिल्ला हेर्न सकिने इन्द्रदह एकीकृत पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले जानकारी दिए । 

उक्त भ्यू टावर निर्माण गर्न सोही क्षेत्रका सांसद श्रेष्ठले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत रु ५० लाख आर्थिक सहयोग गरेका समितिले जनाएको छ ।

प्रधानमन्त्री ओलीले गतवर्ष नै कङ्लकी–दहचोक सडकको स्तरोन्नति हुने घोषणा गर्नु भएकामा यस वर्ष धमाधम काम भइरहेको छ । यसैगरी यहाँस्थित मनकामना मन्दिरको पुनःनिमार्ण भइसकेको छ भने इन्द्र दहको पुनःर्निमार्णको काम भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप