शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दिल्लीमा आम आद्मी पार्टीको रणनीति सफल: शिक्षामा एक्कासि देखियो यसरी आमुल परिवर्तनको संकेत

बिहीबार, ०९ फागुन २०७५, १९ : २०
बिहीबार, ०९ फागुन २०७५

एजेन्सी– भारतको राजधानी दिल्लीमा सञ्चालनमा रहेका सरकारी विद्यालयहरुले छोटो अवधिमै कमैले मात्र सम्भव हुने अनुमान गरेको प्रगति हासिल गरेका छन् ।  सन् २०१५ मा आम आद्मी पार्टी सत्तामा आउँदा उसले शिक्षा र स्वास्थ क्षेत्रमा दीर्घकालीन परिवर्तन गर्ने वाचा गरेको थियो । 

उसले आफ्नो बाचा पुरा गरेको छ । हाल सहरमा रहेको लगभग १००० सरकारी विद्यालयहरुमा सुधार आएको छ । कक्षा कोठाका पर्खालहरुदेखि भूईं र बेन्चसम्म बदलिएका छन् ।  धेरै ठाउँमा माथिका कक्षाहरुका लागि प्रोजेक्टर, स्मार्ट बोर्ड र एसीयुक्त ल्याब थपिएका छन् । साथै विद्यालयहरुमा विद्यार्थीहरुको लागि खेलहरुको पनि व्यवस्था गरिएको छ । 

केही विद्यालयहरुमा नीजि विद्यालयहरुमा समेत नरहेको लिफ्ट र पौडी पोखरीहरु छन् । दिल्ली सरकारले चलाउने सरकारी विद्यालय सधैं यस्तो थिएन । विगतमा अधिकाँश सरकारी स्कुल पुराना फुंग रंग उडेका भवनयुक्त, टुटे फुटेका कुर्सी र ट्वाइलेट, पानी र खेलकुदको सुविधा नभएका हुन्थे । 

आईएआरआई पुसा क्याम्पसभित्र रहेको एउटा विद्यालय पनि यस्तै थियो । उक्त विद्यालय आम आद्मी पार्टी सत्तामा आएपछि सुधार प्रक्रियामा गयो । यो ५३ अन्य विद्यालयहरु समेटिएको एक पाइलट प्रोजेक्टअन्तर्गत सुधार प्रक्रियामा थियो ।  

तीन तल्लाको स्कुल भवन हाल कयैन नीजि स्कुलहरुभन्दा राम्रो देखिन्छ । त्यसको मुख्य ढोका र स्कुलको वरिपरि लगाइएका पर्खालमा रंगिन चित्र कोरिएका छन् । कक्षाकोठा सफा छन् भने बेन्चहरु पनि आरामदायी छन् । 

‘म सन् २००७ देखि यो विद्यालयको शिक्षकको रुपमा कार्यरत छु । मैले पछिल्लो समयमा यसको रुपान्तरण देखेको छु । पहिले यो स्कुलमा २० वटा कक्षाकोठा थियो । अहिले त्यो बढेर ७८ भएको छ । यहाँ एक ल्याब र बहुउदेश्यीय हल पनि छ । ल्याबमा एसीहरु जोडिएका छन् । यी सुविधामा बालबालिकाहरु खुसी छन् ।’

शिक्षा मन्त्री मनिष सिसोडीयाका पूर्व सल्लाहकार तथा आम आद्मी पार्टीकी कार्यकर्ता अतिशीले आफ्नो पार्टीको सरकारले कसरी पूर्वाधार सुधार सुरु गर्यो बताइन्, ‘पहिले एउटै कक्षाकोठामा धेरै कक्षा सञ्चालन हुन्थ्यो । प्रयाप्त बेन्च नहुँदा विद्यार्थीहरु भूईमा बस्न बाध्य हुन्थे । उपयुक्त ट्वाइलेट र पानीको पनि अभाव थियो ।’

सरकारले चार वर्षमा २१,००० नयाँ कक्षाकोठाहरु बनाउने बताएको थियो । अतिशिले यो अवधिमा गर्भनरसँगको विवादको बावजुद ८ हजार कक्षाकोठा निर्माण गरिसकेको र थप १३ हजार निर्माणको क्रममा रहेको बताए । २५ पूर्ण नयाँ स्कूल निर्माण भइसकेको र ३१ नयाँ निर्माण हुँदैछ । 

अधिकाँश मानिसहरुले यस परिवर्तनको जस मुख्यमन्त्री अरविन्द केजरीवाल र उनको सहायक सिसोडियालाई दिन्छन् । केजरीवाल पूर्वाधार निर्माणको अतिरिक्त शिक्षाको गुणस्तर सुधार्न पनि प्रतिबद्ध छन् । सन् २०१८–१९ मा आम आद्मी पार्टीको सरकारले शिक्षामा २६ प्रतिशत छुटएबाट पनि शिक्षालाई उसले प्राथमिकता दिएको बुझिन्छ ।

सुधारको परिणाम पनि देखिन थालेको छ 

सन् २०१८ को सरकारी स्कूलको कक्षा १२ को सीबीएसई नतिजालाई दिल्ली सरकारको कार्यको प्रतिफलको रुपमा हेरिएको छ ।  ९०.६८ पास प्रतिशतसँगै यी विद्यालयहरुले ८८.५ पास प्रतिशत गरेका नीजि निकायहरुभन्दा राम्रो प्रदर्शन गरे । 

‘प्रणालीमा रहेको विद्यमान खाडललाई पुर्नका लागि हामीहरु पूर्वाधारमा केन्द्रीत भयौं । साथमा स्कुलका प्रधानाध्यापक र शिक्षकहरुको तालिमलाई पनि हामीले महत्व दियौं,’ अतिसीले भनिन् । 
कयैंन शिक्षकहरुलाई तालिमको लागि विदेश पठाइयो । यो विगतमा कहिले गरिएको थिएन ।

अघिल्लो वर्षको गर्मी विदामा दिल्ली सरकारले विद्यालयमा ‘बुनियाद अभियान’ सञ्चालन गर्यो । यसको उदेश्य कक्षा ३ देखी ११ बीचका कमजोर विद्यार्थीहरुलाई सहयोग गर्नु थियो ।  विद्यार्थीलाई सहयोग गर्ने अन्य विभिन्न कार्यक्रमको अतिरिक्त त्यहाँको सरकारले सरकारी विद्यालयहरुमा अभिभावक शिक्षक भेटघाटको परिपाटी सुरु गरेको छ । एक शिक्षकका अनुसार यसले शिक्षामा निक्कै सहयोग गरेको छ । 

यी परिवर्तन किराना पसल चलाउने राजु यादवले पनि महसुस गरेका छन् । उनी आफ्नी छोरी पढ्ने विद्यालयको सुविधा बढेकोमा खुसी छन् ।  त्यस्तै रिक्सा चालक ४० वर्षे रोशनलाल सुधार भन्छन्, ‘आजकल मेरो छोरो स्कुल जाने भने पछि खुसी हुन्छ । त्यति मात्र होइन घर आएपछि उसले मलाई आफूले जानेको कुरा उत्साहका साथ सिकाउँछ । म यसबाट निक्कै खुसी छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप