मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

नाचघरमा प्यासीले सुनाए: ‘के भुल भयो प्रिया’

बिहीबार, ०९ फागुन २०७५, १९ : ४५
बिहीबार, ०९ फागुन २०७५

काठमाडौं– ‘के भुल भयो प्रिया मसँग बोल्दिनौ उज्यालो जुन उघार्दै पर्दा रातको खोल्दिनौ...’   कालजयी यो गीतसहित गायक नरेन्द्र १४ गीत स्टेजमा प्रस्तुत गर्दा दर्शक मन्त्रमुग्द भए । बिहिबार एकल साँझमा उत्रिएका प्यासीले करिब २ घन्टा दर्शकलाई आफ्ना गीत संगीतबाट भरपुर मनोरन्जन दिलाए ।

राष्ट्रिय नाचघरमा आयोजित ‘नरेन्द्र प्यासी एकल साँगीतिक साँझ–२०७५’ मा गीतकार एवम् चलचित्र निर्देशक यादव खरेल अतिथिका रुपमा पुगेका थिए ।  ‘के भुल भयो प्रिया...’ गीतबाट कार्यक्रम सुरु गरेका गायक प्यासीले दोश्रो गीत गाउनुअघि नै दर्शक दीर्घाबाट वान्स मोरको आवाज आयो । अरु पनि आफ्ना लोकप्रिय गीतहरु छन् भन्दै उनले दोश्रो गीत तिमीले दिने माया...गाए । यो गीतमा उनलाई महिला स्वरमा शिला विष्टले साथ दिइन् । 

एकपछि अर्को गर्दै गायक प्यासीले तिमी विनाको जीवन..., तिम्रो दिलमा चोट लाग्दा..., म त तिम्रो मान्छे बन्न सकिन... जस्ता चर्चित गीतहरु सुनाए ।  आफ्नो एकल साँझलाई निरन्तरता दिने क्रममा गायक प्यासीले एउटा परदेशी आयो..., मनलाई..., माया ओ माया..., जाम क्यारे उडेर..., मेहफिलमा आज..., नजर पापी..., चन्द्रमाले..., फुलको दिलमा पनि..., काठमाडौं छुट्यो हेर्दा हेर्दै...जस्ता चर्चित गीतहरु गाए ।
आफ्ना प्रथम संगीत गुरु अम्बर गुरुङसहित अग्रज कलाकारप्रति साँझलाई समर्पण गर्दै गायक प्यासीले एकल साँझ सुरु गरेका थिए । 

विगत ६ वर्षदेखि अमेरिका बस्दै आएका गायक प्यासी यही एकल साँझका लागि काठमाडौं आएका हुन् । यो एकलसाँझ आफुले सोचेको भन्दै निकै सफल भएको गायक प्यासीले कार्यक्रममा बताए । 

‘नरेन्द्र प्यासी एकल साँगीतिक साँझ–२०७५’ मा गायक प्यासीलाई प्रत्यक्ष बादबादनमा दिनेशराज रेग्मी, दीपक थापा, सुरज प्रधान, अनुप दास, कुमार महाराज, भरत बुढाथोकी, सुधिर चौधरी, रविन कार्की, रुपेश सिंह, रत्न विक र भुवन गन्धर्वले साथ दिएका थिए ।

नेपाली गायन क्षेत्रमा बिगत चार दशकभन्दा लामो समयदेखि सुगम संगीतबाट योगदान पुर्याएको भन्दै एकल साँझको आयोजनासहित प्यासीलाई सम्मानित गरिएको संस्थानका महाप्रवन्धक राजेश थापाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप