शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली नोट छाप्दाछाप्दै २ जना प्रहरी फन्दामा

बुधबार, ०८ फागुन २०७५, २१ : २८
बुधबार, ०८ फागुन २०७५

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो । 

उनीहरुलाई पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङ जानकारी दिए । 

पोखरा– १६ अर्मलास्थित गुरुङ किराना पसलमा एक हजारको नोट दिएर रु १०० को एनसेलको रिचार्ज कार्ड खरीद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको उनले जानकारी दिए । 

ग१४प २५४ नंको मोटरसाइकल प्रयोग गरेर विशेष गरी महिला तथा बालबालिका भएको पसलमा नक्कली नोट दिने गरेको बताउँदै उनले उनीहरुले पोखराको विभिन्न २०० स्थानमा नोट साँटेको जानकारी दिए । 

प्रहरीका अनुसार उनीहरुको कोठाबाट ल्यापटप र कलर प्रिन्टर एक÷एक थानसहित एक हजार दरका १९ थान नक्कली नोट र रु एक लाख २८ हजार ४३० नेपाली रुपैयाँ र एक हजार भारतीय रुपैयाँलगायत अन्य सामग्री फेला परेको छ । 

लागुऔषधसहित तीन पक्राउ 

पोखरा महानगरपालिका वडा नं १० बुद्धचोकबाट ३६० थान अवैध लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पोखरा– १० रामघाट बस्ने ३२ वर्षीय विश्वास गुरुङ, रुपन्देही कोटहीमाई गाउँपालिकाका २४ वर्षीय चन्द्रकान्त थारु चौधरी र पोखरा– ९ शिवटोल बस्ने २५ वर्षीय आशिष श्रीपालीलाई पक्राउ गरेको हो । 

उनीहरुका साथबाट आगुऔषध नर्फिन १२०, फेनारागन १२० र डाइजापाम १२० थान पक्राउ गरेको प्रहरीले जनाएको छ । मुद्रासम्बन्धी कसुर र लागुऔषध मुद्दामा म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप