शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

१३ एसएसपी र २६ एसपीले लगाए बढुवाको फुली (फोटोफिचर)

बुधबार, ०८ फागुन २०७५, १७ : ५५
बुधबार, ०८ फागुन २०७५

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी उपरीक्षक (एसपी) पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिनह प्रदान गरेका छन् । 

आईजीपी खनालले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनीहरुलाई दज्र्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् । उनीहरु नेपाल सरकार, गृह मन्त्रालयको यही फागुन ७ गतेको निर्णयले एसएसपी र एसपीमा पदोन्नती भएका हुन् । 

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा एसपीबाट एसएसपीमा पदोन्नति भएका १३ जना र डिएसपीबाट एसपीमा पदोन्नति भएका २६ जना रहेका छन् । सोही निर्णयले पदोन्नति भएका १ जना एसएसपी हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत छन् । 

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रहरी आईजीपी खनालले संगठन र सेवाप्रतिको निष्ठा, क्षमता, व्यावसायिकता, इमानदारिता सहित प्रहरी कर्मचारीहरु सदैव संगठनको श्रीवृद्धिका लागि एक ढिक्का भएर काम गर्नुपर्ने बताए । 

राष्ट्रको सार्वभौममाथि असर गर्ने क्रियाकलाप तथा गैरकानुनी गतिविधि विरुद्ध कानुनी कारवाही गर्न प्रहरी कर्मचारीहरु अझैं एकताबद्ध भई सशक्त र दृढताकासाथ अगाडि बढ्नुपर्ने उनले उल्लेख गरे । 

प्रहरी संगठनलाई अझै सक्षम, बलियो र गतिशील बनाउन संगठनको भावना अनुरुप काम गर्नुपर्ने उल्लेख गर्दै आईजीपी खनालले भने, ‘उत्कृष्टतामा पनि सर्वोत्कृष्ट हुन आफ्नो लगनशीलता नछोडनुस ।’ संगठनलाई पुर्याएको योगदान, व्यावसायिकता र प्रहरी नियमावलीको प्रावधान लगायतलाई पदोन्नतिको आधार बनाइएको उनले चर्चा गरे ।  

सो अवसरमा खनालले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले स्रोत साधन परिचालन लगायतमा सहजता आएको चर्चा गर्दै अबको चरणमा नागरिक समाजलाई नै नेतृत्व दिँदै थप सक्रिय बनाएर कार्यक्रमलाई अघि बढाउनुपर्ने बताए । 

कार्यक्रमले समाजका हरेक व्यक्तिलाई काम गर्ने मौका प्रदान गर्ने र संस्थागत दीगो विकास गर्न समेत सहयोग पुग्ने भएकोले मौकाको उच्चतम सदुपयोग गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।  

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप