शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लियोनको घरमा बार्सिलोनाको केही लागेन

बुधबार, ०८ फागुन २०७५, ०९ : ४५
बुधबार, ०८ फागुन २०७५

एजेन्सी – युरोपियन च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा स्पेनिस महारथि बार्सिलोना फ्रेन्च क्लब लियोनसँग गोलरहित बराबरीमा रोकिएको छ । 

लियोनको घरेलु मैदानमा मंगलबार राति खेलिएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाको लगातार प्रयासमा लियोनको रक्षापंक्ति बाधक बनेको थियो । 

लियोनका गोलरक्षक एन्थोनी लोपेसले बार्सिलोनाका शसक्त प्रहारलाई सजिलै विफल पारेका थिए । मध्यभाग र पोस्ट प्रहारमा समेत एकतर्फी प्रदर्शन गरेको बार्सिलोनाको सबै प्रयासमा लोपेस एक्लै पहाड बनेर उत्रिए । 

५९ प्रतिशत बल नियन्त्रणमा लिएको बार्सिलोनाले खेलभर २५ वटा पोस्ट प्रहारको अवसर सिर्जना गरेको थियो । स्टार खेलाडी  लियोनल मेस्सी, लुइस स्वारेज, फिलिपे कोउटिन्हो, ओउसमाने डेम्बेले लगायत खेलाडीलाई उतारेको बार्सिलोनाले अन्ततः गोल गर्न सकेन । 

स्पेनिस ला लिगाको शीर्ष स्थानमा आसिन बार्सिलोनाको पछिल्लो पाँच खेलमा यो चौथो बराबरी हो । बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणको अवे खेलमा जित निकाल्न नसकेको भने यो छैटौं पटक हो । 

लियोनले पनि पाँचवटा फितला अवसर बनाएको थियो । फ्रेन्च लिग वानको तेस्रो स्थानमा रहेको लियोनले बार्सिलोनालाई सातौं खेलमा पनि पराजित गर्न सकेन । यी दुई टोलीबीचको दोस्रो आगामी मार्च १३ मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप