केन्द्रीय संस्करण
संगीत

‘छोरीभन्दा आमा तरुनी’ देखि ‘लुट्न सके लुट’ सम्म : यस्ता छन् विवादित गीतका नालीबेली

‘सत्तासीनहरु निर्लज्ज बन्दै जाँदा पशुपतिका गीतहरु जन्मने र चम्कने गर्छन्’

person explore access_timeफागुन ८, २०७५ chat_bubble_outline1
कुवेर गिरी

रातोपाटी

काठमाडौँ– लोक गायक गायक पशुपति शर्माको ‘लुट्न सके लुट....’ बोलको गीतका कारण यतिबेला नेपाली साङ्गीतिक क्षेत्र तातेको छ । केही दिनयता राजधानीका सडकदेखि सदनसम्म यही गीतको चर्चा परिचर्चा भइरहेको छ । सामाजिक सञ्जालमा पनि गीतका विषयले प्राथमिकता पाइरहेको छ । गीतको पक्ष तथा विपक्षमा बहस चलिरहेकै छ ।

शर्माले गत शुक्रबार ‘लुट्न सके लुट कान्छा’ बोलको गीत यूट्युबमार्फत बाहिर ल्याएका थिए ।

गीत सार्वजनिक हुनेबित्तिकै विवादमा तानिएको थियो । गीतमा प्रयोग भएका भ्रष्टाचारका शब्दले सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्तालाई चिढ्यायो । 

गीतमा प्रयोग भएका शब्दका विषयमा यो दलका युवा सङ्घले समेत गम्भीर आपत्ति जनाएको थियो, जसका कारण गायक आफैले गीत युट्युबबाट हटाए । 

गीतमा प्रयोग भएका केही शब्द सच्याएर ल्याउने भन्दै उनले गीत हटाएका थिए । गीत हटाइएपछि गीत हुबहु ल्याउनुपर्छ भन्नेको पक्ष तथा विपक्षमा बहस सिर्जना भएका छन्, जुन बहस अहिले पनि जारी छ । 

हुन त शब्दका कारण गीत विवादित बनेको यो पहिलो घटना भने होइन । यसअघि पनि थुप्रै गीत शब्दका कारणले विवादमा तानिएका थिए । 

गायक पशुपतिले नै सन् २०१४ मा ल्याएको तीज गीत ‘हामी नेपाली हौँ’ समेतको विवादित भएको थियो । उनले गीतमा एक जातीय समुदायलाई सम्बोधन गर्न प्रयोग भएको शब्दलाई लिएर विवाद भएको थियो ।

वि.सं. ०४८ सालमा गायक कुमार बस्नेतले रेकर्ड गराएको गीत ‘छाेरीभन्दा आमा तरुनी’ भन्ने गीत रेडियो नेपालको केन्द्रीय प्रसारणले बज्न ‘प्रतिबन्धित’ गरेको थियो । उनको ‘बम बम बम’माथि पनि प्रतिबन्ध लागेको थियो ।

गायिका कोमल ओलीको ‘पोइल जान पाम’ गीत विवादका कारण सर्वाेच्चसम्म पुगेको थियो । सो समय क्यासेटसमेत जलाइयो ।

खेम गुरुङको ‘वारी जमुना पारी जमुना’ गीतमा ‘पोडे होला, चमार होला तिमै्र माया लाग्छ...’ भन्ने शब्दको विरोध भएका कारण परिमार्जित गरेर बजारमा ल्याएका थिए । 

गायक तथा सङ्कलक कमलीकान्त भेटवालको गीत ‘झम्के गुलेली...’ मा  पोई भन्ने शब्द विवादमा परेकाले गायकले ‘पोइ’को ठाउमा ‘ओइ’ राखेका थिए ।

गायक जे पापीले सन् २०१२ मा ल्याएको गीत ‘काट्टो खानेहरू’ समेत विवादमा तानिएको थियो ।

स्वर्गीय गायक तथा सङ्गीतकार अमर गुरुङको गीत ‘सुगौली सन्धि हामीले भुलेको छैन’ गीत विवादका कारण प्रतिबन्धित थियो । नेपाल र भारतबीचको मित्रता माथि गीतले प्रहार गरेको तत्कालीन ठम्याइ थियो ।

गायक प्रकाश कटुवालको ‘ढाडे बिरालो’ गीतसमेत विवादमा तानिएको थियो । यो गीतमा प्रयोग गरिएका शब्द तथा म्युजिक भिडियो मोडल ज्योती मगरको प्रस्तुति विवादका विषय थिए ।

सुवास रेग्मीको ‘कुकुर बिरालो’ गीत पनि विवादमा परेकै हो । यी त उदाहरण मात्र हुन् । नेपाली सङ्गीतिक बजारमा भित्रिएका थुप्रै गीत विवादमा मुछिएका छन् । 

गीतमा चोट !

पछिल्लो समय गीत सङ्गीतलाई बौद्धिक सम्पत्ति भन्ने गरिन्छ । त्यसैले पनि गीतका शब्दले व्यक्ति, समाज र  राष्ट्रलाई चोट पुग्नु नहुने सङ्गीतकार सन्तोष श्रेष्ठ बताउँछन् ।

‘गीतमा कुनै पनि पद र संस्थाको विषयमा नराम्रो शब्द प्रयोग गर्नुहुँदैन’, श्रेष्ठले भने, ‘पदमा बस्ने व्यक्ति पो खराब हुनसक्छ । पद त कहिल्यै खराब हुँदैन ।’ 

गीत सङ्गीत सस्तो लोकप्रियताका लागि सिर्जना गर्ने नभई भोलिका दिनमा पछिल्लो पुस्ताले पनि गुनगुनाउन सक्ने हुनुपर्छ भन्ने श्रेष्ठको तर्क रहेको छ । आसा र उत्साहबिना मानिसको कुनै पनि उपलब्धि सम्भव नभएको बताउँदै श्रेष्ठले गीत सङ्गीत आसा र उत्साह जगाउने खालका हुनपर्ने भनाइ राखे ।

गीत सङ्गीतमा कुन शब्द प्रयोग गर्ने, नगर्ने भन्दा पनि प्रयोग भएका शब्द कुन अवस्थामा प्रयोग भएको छ र त्यसले के अर्थ दिएको छ भन्ने महत्त्वपूर्ण हुने गीतकार राजेन्द्र थापाले बताए ।

‘पुशुपतिको गीतमा प्रयोग भएका शब्दले भ्रष्टाचारलाई प्रश्रय दिने नभई भ्रष्टाचारबाट निरास जनताको आवाज समेटेको छ’, थापाले भने ‘गीत सङ्गीत जनताको सन्देश व्यक्त गर्ने माध्यम पनि हो ।’ कलाकारले मनमा लागेको कुरा व्यक्त गर्न पाउनु उसको स्वतन्त्रता भएको थापा बताउँछन् । 

गायिका तथा राष्ट्रियसभा सदस्य कोमल ओलीले कलाकारले सिर्जनाको नाममा सीमा नाघ्न नहुने धारणा अगाडि सारिन् । उनी भन्छिन्, ‘कलाकार स्वयंले मेरो दायित्व के र मैले के गर्न हुँदैन ? त्यसको राम्ररी जानकारी राख्नुपर्छ ।’

किन धेरै चर्चित ?

प्रगतिशील र ऊर्जामुलकभन्दा निरासा र आक्रोस भरिएका गीत सङ्गीतले छिट्टै बजार पिट्ने गरेका छन् । खासगरी, त्यस्ता गीतसंगीतले जनतामा गुम्सिएर रहेको निराशा, आक्रोश र कुण्ठा धेरथोर निकास गरिदिने भएकोले पनि त्यस्ता गीतहरु रातारात चर्चित हुने गरेको पाइन्छ । ‘जनताले यस्ता गीतमा प्रत्यक्ष रूपमा आफ्नो पीडा पाउने भएकाले रुचाउने गरेको’ गीतकार थापा बताउँछन् । ‘पशुपति शर्माको गीतमा पनि जनताको पीडा थियो । त्यसैले छिट्टै चर्चित भयो’ थापाले थपे ।

गीतकार थापाको भनाइप्रति सङ्गीतकार दीपक जङ्गमले पनि समर्थन जनाउँछन् । ‘आफ्नो मनभित्रको पीडा जनताले जुन गीतमा पाउँछन्, त्यो गीत बढी रुचाउँछन्’ जङ्गमले भने, ‘जनताले त्यस्ता गीत सुन्नु भनेको गीतले उठाएको विषयको समर्थन गर्नु पनि हो ।’

गीतको चर्चाको विषयमा सङ्गीतकार सन्तोष श्रेष्ठको भनाइ भने थापा र जङ्गमको भन्दा केही भिन्न छ । उनी नेगेटिभ कुरामा मानिसले छिटो चासो दिने भएकाले यस्ता गीत सङ्गीतले छिट्टै बजार पिट्ने बताउँछन् । नेगेटिभ गीत सङ्गीतको छिटो हुने चर्चाले हामीमा नेगेटिभ क्रियाकलाप बढिरहेको छ भन्ने पुष्टि हुने श्रेष्ठको भनाइ रहेको छ ।

मिडियामा चर्चा भएका विषय समेटिएका गीत सङ्गीत छिट्टै चर्चित हुुने लोक गायक कुमार बस्नेतको धारणा रहेको छ ।

सकारात्मक गीतमा कति रुचि ? 

पछिल्लो समय साङ्गीतिक बजारमा सातामै दुई दर्जनभन्दा बढी नयाँ गीत सङ्गीत भित्रिने गरेका छन् । त्यसरी भित्रिने गीत सङ्गीतमध्ये थोरै मात्र सकारात्मक सन्देश बोकेका हुने गरेका छन् । जुन गीतसङ्गीत बजारमा आएलगत्तै हराएको वा खासै चर्चा हुने नगरेको देख्न पाइन्छ ।

‘हामीमा नेगेटिभ क्रियाकलाप बढ्दो रहेकाले सकारात्मक सन्देश बोकेका गीतसङ्गीत पछिपर्ने गरेको’ सङ्गीतकार दीपक जङ्गम बताउँछन् ।

नकारात्मक विषयतिर सबैको ध्यान छिटो जाने भएकाले सकारात्मक गीत सङ्गीत पछिपरेको गायिका तथा लेखक चन्द्रकला बताउँछिन् । ‘अहिले धेरै मानिसका सकारात्मक सोच नै छैन’ उनले भनिन्, ‘त्यो देशको खराब अवस्थाले गर्दा हो ।’

सेन्सरको कुरा 

पछिल्लो समय गीत सङ्गीतमा आपत्तिजनक शब्दहरू निकै प्रयोग हुने गरेका छन् । यस हिसाबले पनि यसमा अब सेन्सरको आवश्यकता रहेको आवाजसमेत एकाथरिले उठाउन थालेका छन् । 

तर गीतकार थापा गीत सङ्गीत सेन्सर गर्नुपर्ने पक्षमा आफू नरहेको उनी बताउँछन् । गीतसङ्गीत र साहित्यमा विश्वमै सेन्सर नभएको भन्दै उनले चलचित्रमा रहेको सेन्सर पनि हट्नुपर्ने बताए ।

गायक कुमार बस्नेत भने गीतसङ्गीतमा देखिएको विकृतिले सेन्सरतिर सोच्नुपर्ने अवस्था डोर्याएको बताउँछन् । पशुपतिको गीतको विवाद प्रसङ्ग उनले तरकारीमा भएको चर्काे नुनसँग तुलना गरे । उनले भने, ‘नुन ठिक्क हाल्यो भने मात्र तरकारी मिठो हुन्छ । नत्र काम नलाग्ने ।’

पशुपतिको गीत कति ठीक ?

नेपाली बजारमा आएका लोक गीतसङ्गीत नियाल्ने हो भने धेरैमा समाजमा यथार्थ घटनामा देख्न सकिन्छ । लोक गायक बद्री पङ्गेनी पनि लोक गीतसङ्गीत समाजका घटनाबाट बन्ने गरेको बताउँछन् । बद्रीले पशुपतिको गीतमा पनि समाजकै घटना रहेको बताए । 

‘पशुपतिले समाचार माध्यममा आएको विषय गीतमा उठाएका छन्’, उनले भने, ‘यस्ता विषयमा रोक लगाउने हो भने सबै माध्यममा लगाउनुपर्यो ।’ सामाजिक सञ्जालमा खुलेआम चर्चा गरिएको विषयले गीतमा किन प्रवेश नपाउने ?’ उनले प्रतिप्रश्न गरे । 

बद्रीको जस्तै भनाइ गीतकार राजेन्द्र थापाको पनि छ । थापाले बेलाबेलामा सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका व्यङ्ग्यका विषयहरू पशुपतिको गीतमार्फत् आएको सुनाए ।

गीत संगीतमा प्रतिबन्ध हैन, त्यसले उठाएका समस्याहरुलाई प्रतिबन्ध लगाउनु जरुरी

मुलुकमा वर्षेनी सयौं गीतसंगीतहरु सिर्जना भइरहेका हुन्छन् तर ती सबैले चर्चा र प्रसिद्धिको शिखर चुम्ने अवसर प्राप्त गर्दैनन् । तर केही गीतहरु भने रातारात चर्चाको चुलीमा चुम्छन्, विवादको तारो बन्छन्, त्यस गीतले बजार तात्छ र क्षणभुंगुर नै सही, त्यसले त्योभन्दा पनि गहन, महत्ताका विषयवस्तुलाई पनि ओझेल बनाइदिने गर्छ । पशुपति शर्माका गीतका सन्दर्भमा पनि यो कुरा सत्य हो ।

विशेष गरी, आशा, उन्नति, प्रगतिका दिशातिर समाजलाई डोर्याउने अनि गतिशीलताको दिशातिर मोड्ने गीतसंगीतहरुले खासै चर्चा र प्रसिद्धि पाइहाल्न सक्दैन, जति चर्चा र प्रसिद्धि निराशा, कुण्ठा र गुम्फनका भावलाई संप्रेषण गर्ने गीतसंगीतहरुले प्राप्त गर्ने गर्छन् । शालीन  शब्दावलीले सजिएका तथा सकारात्मक चिन्तनको दिशातिर मोड्ने गीत संगीतहरुले झट्दै आममानिसहरुलाई छोइहाल्न सक्दैन, जति चाँडो गाली, कुण्ठा, निराशा र आक्रोशले भरिएका गीतसंगीतहरुले मानिसको मनमष्तिष्कलाई छुने र त्यसले उनीहरुलाई सहजै प्रभाव पार्ने गर्छ । यो अहिलेका नेपाली समाजमा आम प्रवृत्तिको रुपमा देखापर्दैगइरहेको सामाजिक मनोविज्ञानको समग्र प्रतिविम्बन हो ।

यो प्रतिविम्बनले संकेत गरेको खतरनाक कुरा के हो भने, यतिखेर आममानिसहरुमा वर्तमान सत्ताधारीहरु अनि यथास्थितिका विरुद्ध ठूलो गुम्फन, कुण्ठा, आक्रोश र निराशा छ । खासगरी, पटक पटकको परिवर्तनपछि जनताले साँचेका आशा गरेका प्रतिफलहरु क्रियान्वित हुन सकेका छैनन्, सत्ताधारीहरुको ढर्रा, शैली, चालचलन र आचरणहरु हिजोका पश्चगामी भनिएका शासकहरुभन्दा भिन्न छैन, उल्टै उनीहरुलाई माथ गर्ने खालका छन् । त्यसले आममानिसहरुलाई त्यो स्थितिमा धकेलेको छ । 

त्यसैले पशुपति शर्माहरुले सिर्जना गरेका यस्ता गीतहरु, जसमा चरम निराशा, कुण्ठा र आक्रोश भरिएका हुन्छन्, रातारात चर्चित र सफल हुन्छन्,। हुने गर्छन्, यो कुनै अनौठो कुरा होइन । त्यसमा आम जनताले आफ्ना कुण्ठा, निराशा र आक्रोशको निकास देख्छन्, महसूस गर्छन्, त्यसैले त्यसलाई उनीहरुले शिरमा राखेर बस्छन् ।

पशुपति शर्माहरुको गीतको सन्दर्भमा वर्तमान सत्ताधारी तथा तिनका सल्लाहकारहरुले बुझ्नै पर्ने कुरो के हो भने, मुख्य समस्या गीतमा र त्यसका शब्दार्थमा हैन, समस्या वर्तमानमा सिर्जित निराशाजन्य, कुण्ठाजन्य अवस्थामा छ । त्यसैले समस्याको निकास भनेको त्यस्ता गीतसंगीतमा प्रतिबन्ध लगाउने हैन, त्यसले उठान गरेका जायज विषयवस्तुहरुलाई गम्भीरढंगले सम्बोधन गर्ने दिशातिर केन्द्रीत हुनु जरुरी छ ।

अन्यथा, जनताका आक्रोश, पीडा, निराशा र कुण्ठालाई निकास दिने यस्ता विवादित गीतसंगीतहरु जन्मिरहनेछन् र तिनलाई आममानिसले पनि शीरमा राखेर बोक्ने अवस्था रहिरहनेछ । 

कमेन्ट

  1. Feb. 20, 2019, 4:16 p.m. भरत धमाला
    राजनीतिक संस्कार,व्यवस्था,पद्दति,व्यवहार खराब भयो होला । तर नेपाली भएर नेपाल कै नाम बदनाम हुने गरी गीत बनाउनु निकृष्टताको परिचायक हो । सस्तो लोकप्रियताका लागि रचना गरिएका यस्ता पीपलपाते गीत बनाउने गायकको सही मूल्याङ्कन समयले गर्ने नै छ । नेपाल देशको उछित्तो काढेर मूतको न्यानोमा रमाउनेलाई मातृभूमिको श्राप लाग्दछ । बिग्रेको थीति सपार्ने दायित्वमा रचनात्मक भूमिका देशवासीका रुपमा निश्चय नै उनीबाट पनि राज्यले आशा गर्दछ । दुर्भाग्य, यहीनेर उनी चुकेका छन् ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ