शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दहचोकको आकर्षण: काजी पाँडेको सालिक

मङ्गलबार, ०७ फागुन २०७५, २१ : ०७
मङ्गलबार, ०७ फागुन २०७५

– कृष्णराज गौतम 

काठमाडौँ । आधुनिक नेपालका निर्माता पृथ्वीनाराण शाहका सेनापति काजी कालु पाँडेको पूर्ण कदको सालिक निर्माण गरिएको छ ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकमा रहेको पाँडेको समाधिस्थल नजीकै राखिने सालिक पुरातत्व विभागको सहयोगमा करीब रु १० लाखको लागतमा निर्माण गरिएको उक्त वडाका अध्यक्ष राजेन्द्र केसीले जानकारी दिए । 

उनका अनुसार यही फागुन ९ गते उक्त सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्नेछन् । काठमाडौँको पश्चिममा अवस्थित दहचोक क्षेत्र धार्मिक तथा ऐतिहासिक महत्वको पुरातात्विकस्थलसमेत हो । 

कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका सेनापति पाँडेको इच्छाअनुसार शिर गोरखा देखिने गरी समाधि गरिएको इतिहास पाइन्छ । 

मुलुकको एकीकरणका क्रममा कीर्तिपुर र काठमाडौँ आक्रमण गर्दा सैनिक तथा हातहतियार राखिएको उक्त स्थानमा विभिन्न गढीका साथै कोतघर रहेको र गोरखास्थित मनकामनाको शक्ति प्रतिस्थापन गरिएको प्रतीकात्मक मनकामना मन्दिर स्थापना गरिएको छ । 

उक्त स्थलबाट उत्तर एवं पश्चिमतर्पmका अधिकांश हिमालहरु मनास्लु, लामटाङ, गणेश, अन्नपूर्णलगायत शिवपुरी, नागार्जुन, फुल्चोकी, चम्पादेवी, चन्द्रागिरि डाँडासमेत अवलोकन गर्न सकिन्छ । 

त्यसैगरी इन्द्र इन्द्रायणी एवं भष्मेश्वर महादेवको मन्दिर एवं दक्षिण पूर्वतर्फ रहेको बिन्ध्यवासिनी मन्दिर तथा स्विट्जरल्याण्ड पार्कले रौनकता थपेको छ । सरकारले मुलुकका पछिल्लो १०० पर्यटकीय गन्तव्यस्थलका रुपमा यस क्षेत्रलाई सरकारले सूचीकृत गरेको छ । 

काठमाडौँको नैकाप डाँडादेखि इन्द्रदह हुँदै नागढुङ्गासम्मको विभिन्न पर्यटकीयस्थललाई एउटै प्याकेजमा व्यवस्थापन गरी स्थानीय पर्यटन विकासका योजनाका लागि गृहकार्य भइरहेको छ । 

उक्त योजनमा सरकारी तथा गैरसरकारी क्षेत्रको सहभागितामा पर्यटक पदमार्ग विश्रामस्थल, साइकल टोल, घरबास, होटल, सेमिनार हल, पार्कहरुलगायत अत्यावश्यक पर्यटकीय पूर्वाधारको विकास गर्ने लक्ष्य राखिएको छ । 

समाधिस्थल नजीकै दृश्यावलोकनका लागि पाँचतले ‘भ्यू–टावर’को निर्माण कार्य भइरहेको छ । आगामी ५ वर्षभित्र यस क्षेत्रमा आन्तरिक तथा बाह्य पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । यसबाट आन्तरिक एवं बाह्य पर्यटनलाई आकर्षित गरिनेछ । 

यस क्षेत्रको पूर्वाधार विकासका लागि चालू आवमा काठमाडौँ क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठको सिफारिशमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्पmत रु ५० लाख तथा चन्द्रागिरि नगरपालिका–१ को विनियोजित बजेट रु ८९ लाख विनियोजन गरिएको थियो । 

भौतिक संरचनाको विकास, कच्ची सडकको कालोपत्रका साथै स्तरोन्नतिका लागि नपुग केही रकम आगामी आवमा थप गरिने वडाले जनाएको छ । पर्याप्त पर्यटनको सम्भावना भएर पनि यस क्षेत्रको अपेक्षाकृत विकास हुन सकेको छैन । 

विसं २०७३ मा इन्द्रदह एकीकृत पर्यटन विकास समिति गठन गरिएको छ । दहचोक लगायतका स्थानीय समाजसेवी, बुद्धिजीवी लगायतले यस क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सुझाव तथा अनुभवको आदान–प्रदान गरेका छन् । 

नेपाल भ्रमण सन् २०२० लाई लक्ष्य गरी यस क्षेत्रको पूर्वाधार तथा पर्यटकीयस्थलको विकास, संरक्षण गरिनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय एवं नगरपालिकाको समन्वयमा गुरुयोजना तयार गर्ने कार्यसमेत भइरहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप