शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फागुन ७ , प्रदेश नम्बर ५ हेडलाइन: कहाँ के–के भयो ?

मङ्गलबार, ०७ फागुन २०७५, २० : ०७
मङ्गलबार, ०७ फागुन २०७५

रुपन्देहीमा सैनामैनामा राष्ट्रिय सीप विकास प्रतिष्ठान बन्ने

बुटवल– रुपन्देहीको सैनामैनामा राष्ट्रिय स्तरको सीप विकास केन्द्र स्थापना हुने भएको छ । सैनामैना नगरपालिकाको वडा नम्बर ७ लम्टैयामा रहेको जग्गामा यस्तो केन्द्र बनाउन प्रस्ताव गरिएको थियो ।

सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्ने र त्यसलाई उत्पादनमा जोड्ने उद्देश्यका साथ देशभर तीन स्थानमा यस्ता सीप विकास केन्द्र स्थापना गर्ने सरकारको तयारी अनुरुप यहाँ बन्न लागेको हो ।

प्रस्तावित जग्गाको मंगलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टसहितको टोलीले निरीक्षणसमेत गरेको छ । प्रस्तावित जग्गामा प्राविधिक अध्ययन भने यसअघि नै भइसकेको थियो । मंगलबार मन्त्रीसहितको टोलीले विशेष अवलोकन गरेपछि यहीँ स्थानमा केन्द्र बन्ने लगभग पक्का भएको छ ।

नारायणी पश्चिमका सबै क्षेत्रलाई समेट्ने गरि सैनामैनामा यो केन्द्र बन्ने छ भने त्यसका अतिरिक्त पूर्वको इटहरीमा र अर्को केन्द्र संघीय राजधानी काठमाडौंमा बन्ने भएका छन् । ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने सरकारको लक्ष्य हो’ मन्त्री विष्टले भने ।

सैनामैना नगरपालिकाले उपलब्ध गराइएको ४० विघा क्षेत्रफलमा निर्माण हुने प्रतिष्ठानको मंगलबार अवलोकन गर्दै श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री विष्टले जग्गा उपयुक्त रहेको बताए ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले पूर्व राजमार्गबाट नजिकै र यहाँका अरु पालिकाहरुसँग पनि समन्वय गर्न सहज हुने गरि सैनामैनामा जग्गा प्रस्तावित गरिएको बताए ।
उनले नगरपालिकाबाट प्रदान गरिएको ४० विघा जग्गा अपुग भएमा थप जग्गा समेत प्रदान गर्न सक्ने गरि सम्बन्धित निकायमा बताए । 

चैत मसान्तभित्र स्ववियु निर्वाचन गर्नुपर्छ : मन्त्री पोखरेल

प्यूठान– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्ष्भित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताएका हुन्  ।

उक्त कार्यक्रममा ऐन, नीति, नियम निर्माणका साथैे समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ थियो ।  केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताए ।

सर्वसुलभ शिक्षा अहिलेको चिन्ता हो ः मन्त्री बराल

बुटवल– प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अहिलेको अवश्यकता भनेकै सबैका लागि सर्वसुलभ शिक्षा भएको बताए । मुलुकमा सर्वसुलभ शिक्षा नहुँदा गरिव तथा विपन्नहरु शिक्षाको अवसरबाट बञ्चित हुनुपरेको उल्लेख गर्दै मन्त्री बरालले सर्वसुलभ शिक्षानै अहिलेको आवश्यकता रहेको बताए ।

रुपन्देहीको देवदहमा रहेको सगरमाथा आवासीय माध्यमिक विद्यालयको रजत महोत्सवको  उद्घाटन गर्दै मन्त्रीले सबैका लागि शिक्षा कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा सरकारले गृहकार्य गरि रहेको बताए ।
मन्त्री बरालले नीजि तथा संस्थागत विद्यालयहरुले शिक्षामा सामाजिक उत्तरदायित्व बहन गर्दै आएको भन्दै दक्ष र अनुभवी जनशक्ति उत्पादनमा निजी विद्यालयको भूमिका उदाहरणीय रहेको जिकिर गरे ।  

। यस्तै कार्यक्रममा प्रदेश ५ का सांसद डा.कृष्ण न्यौपानेले मुलुक संघीय संरचनामा गएसँगै शिक्षा, स्वास्थ्य र रोजगारका बाटाहरु खुल्ला हुदै गएकाले गुणस्तरीय शिक्षा तथा दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारीको अवसर कसरी दिन सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले चिन्तन गरि रहेको बताए ।


 अब वडाबाटै मेलमिलाप 

बुटवल– रुपन्देही सैनामैना नगरपालिकाको वाडाबाटै मेलमिलप तथा सहजकर्ताको काम विधिवत रुपमा सुरु गर्दै आएको छ ।

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले पक्ष विपक्षलाई राखेर जितजितको सिद्धान्तमा मेलमिलाप गरिने र समाजमा शान्ति, सुरक्षा, सुव्यवस्था, अमनचयन, भाईचारा कायम गर्न मेलमिलाप सकजकर्ताको काम महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

संविधानमा व्यवस्था भएअनुसार नगरपालिका तथा गाउँपालिकामा उपाध्यक्षलाई न्याय सम्पादनको अधिकार दिइएको छ । अहिले सोही न्यायिक समितिमार्फत काम भैरहेको र नगरपालिकामा कार्यविधि निर्माण पश्चात नगरपालिका तथा वडा कार्यलयहरुमा समेत मेलमिलापको कार्य गरिरहेको छ ।

सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले सूचिकृत भए बमोजिम तालिम पाएका मेलमिलापकर्ताहरुले विना स्वार्थ सेवाको भावले निश्पक्ष काम गर्नुपर्ने सहजकर्ताहरुलाई आग्रह गरेकी छन् । सैनामैना नगरपालिकाले मेलमिलापका लागि सहजकर्ता तालिम मिति २०७५ मंसिर १६ गते देखि २३ गते सम्म चितवनको सौरहमा दिएको थियो ।

नगरभित्रका करिब १०८ जनालाई मेलमिलाप कर्ताको तालिम दिएको छ । ती मेलमिलापकर्ताहरुले अहिले वडा वडामा भएका विवाद तथा झैझगडा मिलाउँदै आएका छन् । सैनामैनामा परेका विवाद एवं मुद्धाहरु वडास्तरबाटै मिलाउँदै आएको र मिल्न नसकेका मुद्धाहरु केन्द्रमा ल्याएर मिलाउने गरेको न्यायिक समितिका सदस्य ईश्वरी भण्डारीले बताए ।

बीपीलाई सम्झिँदै कान्छा पण्डितले भने, ‘राजा महेन्द्रलाई छोडेर मकहाँ बास बस्नुभएको थियो ।’

बुटवल–  कुनै समय कान्छा पण्डितका नामले बीपी कोइरालादेखि सुवर्ण शम्शेर, मोहनशम्शेर सम्मले चिन्ने र नजिक बनाउने पात्रको नाम हो गुल्मी उपल्लो तम्घासका ९८ वर्षीय बृद्ध फर्शुराम पन्थी । उनलाई त्यस बेलादेखि  गुल्मी जिल्लाका अधिकांश परिवार र व्यक्तिले समेत चिन्ने गर्छन् ।

मंगलवार ६९ औं प्रजातन्त्र दिवसको अवसरमा उनै पन्थीले पहिला बीपी  कोइरालालाई सम्झिँदै भने– ‘२०१६ सालमा उहाँ राजा महेन्द्रसँग तम्घास आउनुभएको थियो । राजा महेन्द्रलाई तल बजारमा रहेको अतिथि गृहमा  छाडेर यो उकालोमा पर्ने मेरो घरमा बास बस्न बीपी आउनुभएको थियो ।’ 

बीपीको जनप्रेम र मिठो बोली भाषा अझै कानमा गुञ्जिने गरेको बताउँदै उनले भने, ‘राणा फालेर प्रजातन्त्र ल्याउने नेता उहाँनै हो ।’  पन्थी वीपीका मात्र नजिकका पात्र थिएनन, सुवर्णशम्शेर,मोहनशम्शेर, काशीनाथ गौतम लगायत उतिबेलाका शीर्ष नेताहरुको समेत नजिकको पात्र भएको उनी बताउँछन् । २०१५ सालको चुनाव नजिकबाट नियालेका उनले सुवर्णशम्शेर, काशीनाथ गौतम, निलम्बर पन्थीले साविक गुल्मी अर्घाखाँची एउटै जिल्ला हुँदा चुनाव जितेको स्मरण गर्छन् ।

कार्यकर्ताका रुपमा त म सँधै सक्रिय हुन सकिन तर म धेरै पटक सुवर्णशम्शेर र मोहनशम्शेरले बोलाएर काठमाडौं पुग्थे, वेद–पुराण सुनाउँथे’ उनले थपे– ‘उहाँहरु लगायतले ठूलो संघर्ष गरेर ल्याएको प्रजातन्त्र रहिरहोस, सबै दलले राम्रो गरुन् । जसले राम्रो गर्छ, उनैलाई जनताले मन पराउने छन् ।’ २००७ सालदेखि काँग्रेस मान्दै आएपनि आफु कहिल्यै नेता बन्न नचोहको उनको भनाई छ ।

सय बर्षको संघारमा पुस्तक लेखनमा पन्थी

यसअघि धार्मिक स्थान रेसुङ्गाको बारेमा एउटा पुस्तक लेखीसकेका उनै पन्थीले यतिबेला सय बर्ष उमेरको संघारमा आईपुग्दा अर्को पुस्तक लेख्नमा व्यस्त छन् । उनका माईला छोरा कृष्णप्रसाद पन्थी भन्छन्–‘अहिले बुवा काठमाडौंमा हामीसँगै हुनुहुन्छ ।’

उनी सय वर्ष पुग्न दुुई बर्ष मात्र बाँकी रहँदा समेत अर्को पुस्तक लेखनमा व्यस्त रहेका छन् । आँखा देख्न सक्नुहुन्छ रु भन्ने प्रश्नमा फर्शुरामले भने, ‘अलि अलि देख्छु, देख्न नसक्दा छोराहरुले सघाउछन् ।’  आफ्नो उमेर १०० बर्ष पुग्ने वित्तिक्कै उक्त पुस्तक सार्वाजानिक गर्ने उनको इच्छा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप