शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनतामा लामो समयसम्म नैराश्यता रहिरहनु गम्भीर चिन्ताको विषय हो : पूर्वराजा ज्ञानेन्द्र शाह

सोमबार, ०६ फागुन २०७५, १९ : ३५
सोमबार, ०६ फागुन २०७५

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले आम जनताले प्रजातन्त्रको अनुभूति  गर्न नपाएको दाबी गरेका छन् । ६९ औं प्रजातान्त्रिक दिवसको अवसरमा सोमबार आम नेपालीप्रति शुभकामना व्यक्त गर्दै पूर्वराजा शाहले जनताको हित, सुरक्षा र विकासको मुलभूत साधन प्रजातन्त्र भएपनि केही समयदेखि आफुले गरेको देशदर्शनका क्रममा जनतामा त्यो नपाएको बताएका छन् ।

पूर्वराजा शाहले भनेका छन् ः ‘हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन ।’ 

शाहले आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभिज्ञता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।

उनले पछिल्लो समयमा मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुगेको दाबी गर्दै सनातनिक धर्म, संस्कृति र आफ्नै मौलिक आदर्श र मान्यता समेत धर्मान्तरको प्रक्रियाबाट आक्रान्त भएको कहालिलाग्दो दुःखद अवस्था देखापरेको बताएका छन् ।

त्यस्तो जनअसहमत कार्यप्रति राज्यको ध्यान जानुपर्ने आफ्नो दृढ धारणा रहेको समेत पूर्वराजा शाहले स्पष्ट पारेका छन् ।  उनले आफ्ना जिजुबुबा श्री ५ त्रिभुवनले प्रजातन्त्रका लागि गरेको त्याग, उत्सर्ग र योगदानको स्मरण समेत गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप