शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) द्वारा उपकूलपति कार्यालय घेराउ

सोमबार, ०६ फागुन २०७५, १३ : ०८
सोमबार, ०६ फागुन २०७५

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय घेराउ गरेका छन् । 

स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दिँदै अनेरास्ववियू र अनेरास्ववियू(क्रान्तिकारी)ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा १ घण्टा घेराउ गरेका हुन् । नेपाल विद्यार्थी संघको मिलेमतोमा स्ववियू निर्वाचन टार्ने काम उपकूलपतिले गरेपछि त्यसको विरोधमा उपकूलपति कार्यालय घेराउ गर्नुपरेको अनेरास्ववियूका सचिव आरसी लामिछानेले जानकारी दिए ।

फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचनको कार्यतालिका आजै (सोमबार) सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ । सोही कार्यतालिका अनुसार स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेकोमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)को आपत्ति छ । सचिव लामिछानेले चैत्र १४ गते भित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारीविरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि उनले दिए ।
 
घेराउका क्रममा विद्यार्थी नेताहरुले स्ववियू निर्वाचन टार्न लागि परेको भन्दै त्रिविका उपकूलपति खनियाँको राजीनामा माग गर्दै चर्का नाराबाजी पनि गरेका थिए । सचिव लामिछानेले काँग्रेस निकट नेपाल विद्यार्थी संघको मिलेमतोमा उपकूलपति खनियाँ आफै स्ववियू निर्वाचन टार्न लागि परेको आरोप लगाउँदै आक्रोश व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप