शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसमा कोइराला परिवारको चहपहलः  विरासत फर्काउन यसरी गर्दैछन् शक्ति आर्जन

कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालाको सक्रियता बढ्यो
सोमबार, ०६ फागुन २०७५, ०९ : ५४
सोमबार, ०६ फागुन २०७५

नेपालको राजनीतिमा सँधै केन्द्रमा रहँदै आएको कोइराला परिवारले गुमेको विरासत पुनःस्थापित गर्न सक्रियता बढाएको छ ।

राजनीतिमा कोइराला परिवारको उपस्थिति र प्रभाव कमजोर देखिएको बेला विगतको विरासत पुनः स्थापित गर्न कांग्रेसका महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्यद्वय डा. शेखर कोइराला र सुजाता कोइरालाले सक्रियता बढाएका हुन् ।

तत्कालिन पार्टी सभापति सुशील कोइरालाकोे निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएसँगै कोइराला लिगेसीबाट काँग्रेस नेतृत्व बाहिर गएको थियो । देउवाले तोडेको कोइरालाको विरासत फेरी फर्किएला कि नफर्किएला भन्ने बहस चलिरहेकै बेला कोइराला परिवारका नेतात्रय एक भएर १४ औँ महाधिवेशनबाटै विरासत फर्काउने तयारीमा जुटेका छन् । पछिल्लो समय उनीहरुले भेटघाटलाई बाक्लो बनाउनु र एउटै मञ्च प्रयोग गर्नुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।

काँग्रेसमा कोइरालात्रयको पछिल्लो सक्रियता

गत शनिबार वीरगञ्जमा काँग्रेस महामन्त्री शशांक नेता शेखर  र नेतृ सुजाताले १२१ किलोको एउटै माला पहिरिएका छन् । पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको नाममा रहेका जीपी कोइराला फाउन्डेसन, जिल्ला कार्यसमिति पर्साले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई एउटै माला लगाएर सम्मान गरिएको हो । लोकतन्त्र शान्ति र विकासको लागि फोटो प्रर्दशनी र विचार गोष्ठी कार्यक्रममा पनि एकै मञ्च सेयर समेत गरे ।

गत मंसिर २ गते पनि जीपी कोइराला फाउन्डेशनको प्रदेश–एक कार्यालय उद्घाटनका क्रममा कार्यक्रममा पनि एकताको प्रतिकका रुपमा तीन कोइरालाले एउटै माला पहिरिएका थिए ।

शनिबार पुनः एउटै माला पहिरिनुलाई कोइराला परिवारका नेताहरुको ‘सहकार्य निरन्तर’ रहेको सन्देश दिने प्रयासका रुपमा अथ्र्याइएको छ । कार्यक्रममा उनीहरुले ‘बिगार्ने भत्काउने मान्छेहरु होलान् । तर, हामी सबै मिलेर काम गर्छौँ’ भनेर कार्यकर्तालाई आश्वासनसमेत दिए ।

पछिल्लो समय नेतात्रयले विभिन्न समयमा कोइराला परिवार विभाजित नरहेको दाबी गर्दै आएका छन् । साथै शशांक, शेखर र सुजाताले पटक–पटक लञ्च र डिनर बैठक गरेर आफूहरुसँगै मिलेर अगाडि बढ्ने प्रतिबद्धता गर्दै आएका छन् । गत मंसिर मा सुजाता निवासमा उनीहरूले सँगै बसेर खिचिएको फोटो सार्वजनिक गरेका थिए ।

सुशील कोइरालाकोे निधनपछि पारिवारिक विरासत कसले सम्हाल्ने भन्ने लडाइँका कारण उनीहरुबीच दुरी बढेको  थियो । तर पछिल्लो समय नेतृ कोइरालाको पहलमा तीनै जना एकै स्वार, एकै ढंगले अगाडि बढ्दै आएका छन् । उनीहरु आफूहरुबीच बेलाबखत भइरहने छलफललाई पारिवारिक भेट भन्न रुचाउँछन् । तीनै जना सक्रिय राजनीतिमा रहेकाले यस्ता भेटमा राजनीतिक कुराकानी हुनु सामान्य भएको उनीहरुको तर्क छ ।

केन्द्रमा शशांक

गत भदौ ३ गते विराटनगरको कोइराला निवासमा रहेको एउटा कालो रंगको कुर्सीले पनि काँग्रेस वृत्तमा निकै चर्चा पाएको थियो । यो कुर्सीमा जो बस्यो, त्यो नै कोइराला परिवारको ‘मूली’ भन्ने अर्थ लाग्छ  ।

त्यसपछि विराटनगर जाँदा सँधै होटलमा बस्ने महामन्त्री शशांक कोइराला विराटनगरस्थित कोइराला निवासमै पुगे । उनलाई गिरिजा र सुशील हुँदै पछिल्लो समय शेखर कोइराला बस्दै आएका कालो कुर्सीमा बसालियो । त्यतिबेला उनलाई तानेर ‘मूली’ कुर्सीमा राख्ने शेखर कोइराला राखिदिएका थिए । हेर्दा सामान्य लागे पनि यसले कोइराला परिवारको विरासतको बागडोर कसले सम्हाल्ने छ भन्ने संकेत थियो ।

तीन जना तीनतिर फर्कनुले कार्यकर्ता अलमलमा परेको भन्दै पछिल्लो समय कोइराला परिवार एकजुट बन्न कार्यकर्ता तहबाट पनि दबाव बढेको थियो । सोही कुरालाई ध्यानमा राखेर कोइराला परिवारमा शेखर र सुजाताले शशांकलाई ‘मूली’ बनाएर अगाडि बढ्न खोजेको देखिन्छ । पार्टीभित्र सभापति शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने आवाज उठिरहेका बेला कोइराला परिवारले शशांकलाई अगाडि सारेर नेतृत्वमा कब्जा जमाउन सक्रियता बढाइरहेको छ ।

कोइराला क्याम्प अपरिपक्व

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य १४ आँैँ महाधिवेशनका लागि कोइराला परिवारले एक ठाउँमा रहेको सन्देश दिने प्रयास गरे पनि नेतात्रयमा अझै राजनीतिक अपरिपक्वता रहेको बताउँछन् ।

‘यति बेला कोइरालाबाट राजनीतिमा देखिएका सबै छाताधारी हुन् । उनीहरु कोही पनि संघर्ष गरेर आएका होइनन् । २०४६ सालको आन्दोलनपछि विरासतका कारण राजनीतिमा प्रवेश गरेका हुन् । साथै कोइराला परिवारबाट अहिले राजनीतिमा रहेका शशांक, शेखर र सुजाता तीनै जनासँग राजनीतिक परिपक्वता देखिँदैन,’ उनी भन्छन् ।

संघर्षबाट आएको पुस्ताको समाप्तिका कारण कोइराला परिवारको कार्यकर्तासँग सिधै ‘टच’ नरहेको भन्दै उनी नेपालको राजनीति र काँग्रेसको नेतृत्वमा कोइराला परिवार पुनः स्थापित हुन निकै मेहनत गर्नुपर्ने बताउँछन् ।

नेतृत्व हत्याउने प्रपञ्च होइन : शशांक

महामन्त्री कोइराला भने आफूहरुको एकता १४ औँ महाधिवेशन केन्द्रीत नभएको बताउँछन् । उनी भन्छन्, ‘चुनाव हारेपछि अप्ठ्यारो अवस्थामा गुज्रिरहेका कार्यकर्तालाई हतास र निराश हुन नदिन तीनजना प्रतिबद्ध भएर एक ठाउँ उभिएका हौँ । यही ढंगले कार्यकर्ताको भावनालाई सम्मान गर्दैै अगाडि बढ्छौँ । यो एकता नेतृत्वको लागि भने होइन ।’

विपीले देखाएका सपना साकार पार्न राजनीतिमा प्रवेश गरेको भन्दै निःस्वार्थ पार्टी र जनताका लागि लागिपर्ने महामन्त्री कोइरालाले बताए । यति भन्दै गार्दा उनले काँग्रेसमा सबैको भावनाको सम्मान आफूले गर्ने सक्ने दाबी पनि गरे ।

पार्टीमा कोइराला परिवारको गतिविधि

शशांक काँग्रेसको निर्वाचित शक्तिशाली महामन्त्री हुन् । तर उनले आफ्नो हैसियतअनुसार पार्टीभित्र र बाहिर प्रभाव देखाउन सकेका छैनन् । सभापति शेरबहादुर देउवाका कदमलाई मौन समर्थनबाहेक शशांकबाट अहिलेसम्म अरु केही हुन सकेको छैन । पार्टी संगठनलाई सक्रिय गराउने, राजनीतिक रणनीति बनाउने, समसामयिक घटनाक्रमबारे आफ्नो र पार्टीको धारणा राख्ने जस्ता गतिविधिबाट शशांक टाढा छन् ।

शशांकले नगरेका यी काम शेखर कोइरालाले गरेका छन् । तर गत चुनावमा पराजित हुनु र पार्टीभित्र कुनै भूमिकामा नरहँदा सञ्चारमाध्यमबाट पार्टी नेतृत्वको विरोध र आलोचनामै शेखरका दिन बितिरहेका छन् । उनले सभापति देउवाको विकल्पका रुपमा आफूलाई प्रस्तुत गर्दै आए पनि पार्टीभित्र स्थापित भइसकेका छैनन् । तर पछिल्लो समय शेखरको देश दौडाह भने निकै बाक्लिएको छ ।

अस्वस्थताका कारण सुजाता कोइराला पछिल्लो सयम राजनीतिबाट गुमनाम जस्तै छिन् । पिता गिरिजाप्रसाद कोइरालको छत्रछायाँमा केही समय राजनीतिक ‘रजगज’ गरे पनि त्यसपछि उनी काँग्रेसको एक सामान्य नेताका रुपमा मात्र देखिँदै आएकी छिन् । बिपीका जेठा पुत्र प्रकाश कोइराला काँंग्रेस र देशले २०६२ र ६३ पछि लिएको नीति नै ठीक नभएको भन्दै घरमै दिन बिताइरहेका छन्।

१४ औँ महाधिवेशनमा कति सहज ?

१४ औँ महाधिवेशनमा परिवारका तीनै सदस्य मिलेर एक जनालाई अघि सार्दा सबैभन्दा ठूलो धक्का वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीतिक यात्रामा लाग्ने देखिन्छ । अर्कोतर्फ वर्तमान सभापति देउवाका लागि पनि चुनौती खडा हुनेछ । यद्यपि, शशांक वा शेखरलाई नेतृत्वका लागि अघि सार्न पौडेल, सिंह र सिटौला तयार नभएको खण्डमा उनीहरुको यात्रा पनि त्यति सहज देखिँदैन । सिंह र सिटौलाको भूमिकाले अबको सभापति को बन्छ भन्ने दिशा निर्देश गर्ने देखिन्छ । पूर्वमहामन्त्री सिंह पौडेलनिकट छन् भने सिटौला पछिल्लो समय कोइरालाहरुसँग नजिक देखिन्छन् ।

शशांकभन्दा शेखर ८ वर्ष जेठा छन् । अब हुने महाधिवेशनमा शेखरको उमेर पनि करिब ७० वर्ष पुग्नेछ । शशांक ६२ वर्षका हुनेछन् । त्यस हिसाबले पनि शेखर अबकै महाधिवेशनमा नेतृत्वका लागि अघि सर्नुपर्ने दबाबमा देखिन्छन् । १३ औं महाधिवेशनमा शशांक र शेखर कोइराला महामन्त्रीको प्रतिस्पर्धामा थिए ।

त्यति बेला सुजाताले दाजुभाइ (शशांक र शेखर) लाई मिलेरै अघि बढ्न आग्रह गरेकी थिइन् । बीपी पुत्र भएका कारण विरासतका हिसाबले शेखरभन्दा शशांकलाई बढी सुविधा छ । विरासतको फाइदा ५० प्रतिशत शशांकलाई भए त्यसको २० प्रतिशत मात्रै शेखरलाई मिल्न सक्छ । तर, सक्रियताका हिसाबले शेखर धेरै अघि छन् । आफूपछिको विरासत धान्न यी दुवै दाजुभाइलाई राजनीतिमा ल्याउने काम गिरिजाप्रसादले गरेका थिए । शेखरभन्दा एक कार्यकालअघि शशांक केन्द्रीय सदस्य भएका थिए । शेखर २०६२ सालको एघारौं महाधिवेशनबाट मात्रै पार्टीको केन्द्रीय सदस्यमा आएका हुन् । दशौँ महाधिवेशनमै केन्द्रीय सदस्यमा चुनाव लड्ने तयारीमा रहेका शेखरले शशांकले समेत इच्छा देखाएपछि छाडिदिएका थिए ।

काँग्रेसमा कोइराला विरासत

कोइराला परिवारबाट विश्वेश्वरप्रसादले २५, मातृकाप्रसादले ४, गिरिजाप्रसादले १४ र सुशीलले ६ वर्ष काँग्रेसको नेतृत्व गरेका थिए । सबै जोड्दा कोइरालाहरुले ४९ वर्ष काँग्रेसको नेतृत्व गरे ।

सुवर्ण समशेर राणा, कृष्णप्रसाद भट्टराई र देउवाले वरिष्ठताका आधारमा नेतृत्व गरे । सुवर्णसमशेरले दुई र कृष्णप्रसाद भट्टराईले २० वर्ष काँग्रेसको नेतृत्व गरे । भट्टराईले १९ वर्ष कार्यवाहक सभापति भएर पार्टी हाँकेका थिए ।

सुशील कोइरालाको निधनपछि ०७२ फागुन तेस्रो साता सम्पन्न १३ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । भट्टराईपछि देउवाले तोडेको कोइरालाको विरासत तोडेका हुन् । १३ औँ महाधिवेशनसम्म नेतृत्वको महत्त्वाकांक्षा राखेकी सुजाता पछिल्लोपटक स्वास्थ्यका कारणपछि हटेपछि शशांक र शेखरबीच आन्तरिक प्रतिस्पर्धा छ । बेलाबखत महामन्त्री कोइरालाले हिन्दु राज्यको कुरा पनि उठाउँदै आएका छन् ।

कट्टर हिन्दु धर्म मान्यहरु नेता – कार्यकर्ता र कोइराला परिवारसँग विगतदेखि जोडिएका धेरै नेता र कार्यकर्ताको नजर फेरि कोइराला वंश परम्परातिर सोझिन थालेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप