शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले पशुपति शर्माको गीत बन्द गराएको भन्दै कांग्रेस रुष्ट

आइतबार, ०५ फागुन २०७५, १७ : १९
आइतबार, ०५ फागुन २०७५

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएको छ । 

काँग्रेस  नेता एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा वर्तमान सरकार अनुदारवादी र अलोकतान्त्रिक बनेको पनि आरोप लगाए ।  

उनले भने,‘हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’

उनले थपे,‘सरकारले भिसीलाई विमानस्थलबाट उठाएर ल्याई बालुवाटारमा किन राखियो ? मलाई प्रश्न सोध्न मन लागेको छ । अहिले सरकारले नागरिक स्वतन्त्रताको खिल्ली उडाएको छ ।’

सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको पनि उनले आरोप लगाए । उनले भने,‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो ।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्ट्रममा पेश गरेको तथ्यांक नै मिथ्यांक रहेको जोशीको आरोप छ । 

जोशीले देशको सबै आर्थिक सुचांकहरु नकारात्मक रहेको दृष्टान्त पेश गरे । उनले भने,‘अहिले व्यापार घाटा बढेको छ । महँगी बढेको छ । विदेशी लगानी घटेको छ । तर, प्रधानमन्त्रीले हिजोको भन्दा आज धेरै प्रगति भयो भन्नुभएको छ । म भन्छु, हिजोभन्दा आज प्रगति भएकै हो तर, त्यो भ्रष्टाचारको प्रगति हो । हिजो करोडको भ्रष्टाचार हुन्थ्यो, अहिले अरबौंको भ्रष्टाचार भएको छ ।’

सुन काण्ड, वाईबडी काण्डलगायत भ्रष्टाचार काण्डमा दोषीलाई कारबाही नभएकोमा उनले सरकारविरुद्ध आक्रोश पोखे । उनले भने,‘सुन काण्डमा सरकारले किन परीणाम ल्याउन सकेन ? प्रधानमन्त्रीले डा. गोविन्द केसीको विषयमा  संसदीय सर्वोच्चताको खिल्ली उडाउनुभयो ।’

सरकारले हरेक कुरामा तामझाम देखाएको तर परीणाम केहीमा पनि दिन नसकेको उनको आरोप छ । 

जोशीले अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त पाठकको भ्रष्टाचारको विषयमा सरकारलाई चार महिना अघि नै जानकारी रहेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यतिका दिनसम्म पनि किन कारबाही गरिएन भन्दै प्रश्न तेर्साए । 

उनले अहिलेको जस्तै र यही रुपमा भ्रष्टाचार बढ्यो भने मुलुक अझै ठूलो आर्थिक संकटमा फस्ने चिन्ता व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप