केन्द्रीय संस्करण

बादी समुदायको दिनचर्या कष्टकर बन्दै, भाडाकुँडा बनाउन माटोसमेत छैन

person explore access_timeफागुन ५, २०७५ chat_bubble_outline0

डोटी – जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ सेती प्राविधिक शिक्षालय नजिक बस्दै आएका बादी समुदायको दिनचर्या कष्टकर बन्दै गएको छ । 

केआइसिंह राजमार्गको सडकछेउमै बस्दै आएका बादी समुदायको पक्की भवन नहुँदा वर्षौँदेखि उनीहरू पालको टहरामुनि बस्दै आएका छन् । यही सडकखण्ड भएर दिनहुँजसो नेता र नेतृत्व आहोरदोेहोर गर्ने गरेका छन् । तर आफूहरूको पीडाका बारेमा हालसम्म कसैले पनि चासो नदेखाएको सो बस्तीका तेज बादीले बताए । उनले भने, “हामीले बनाएका टहरा नजिक भएर ठूलाबडाहरू सधैँ हिँडिरहन्छन्, तर हाम्रो अवस्थाबारे कसैले सोधेका छैनन् ।” 

सडकको छेउमै रहेको सरकारी जमीनमा उनीहरू बस्दै आएका छन् । उनीहरूसँग लालपुर्जा नभएर सुकुम्बासी भएर बसेका छन् । यो बस्तीमा न खानेपानी छ, न बिजुली बत्ती । यो बस्तीका नागरिकको दैनिकी रात अन्धकारमा र दिन अरुको मजदुरीमा बित्ने गरेको स्थानीयवासी समिर विष्टले बताए । 

डोटीका बादी समुदायको घरबासका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा किन्ने निर्णय गरे पनि भनेको ठाउँमा जग्गा नपाउँदा बादीको माग पूरा हुनसकेको छैन । 

शहरबजारमा आएका नयाँ तथा आधुनिक किसिमका सरसामान तथा भाडाकुँडाका कारण आफूले बनाउँदै आएका माटाका ग्राग्रा, मादल, सुल्भा, पाल्लोलगायतका सामग्री विस्थापित हुँदै गएको श्याम बादीले बताए । उनले भने, “भाडाकुँडा बनाउन हामी माटो नै पाउँदैनौँ, बजारमा आधुनिक सामान पाएपछि हामीकहाँ किन्न पनि कोही आउँदैनन् ।” उनीहरू यहाँ बसेको कम्तीमा पनि २० वर्ष भइसक्यो । दर्जनौँ परिवार भएको यो बस्ती भूस्वामित्वविहीन छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ