केन्द्रीय संस्करण
कला

रोशनको कला यात्रा : सिल्भरको थालको मुकुन्डो बनाउनेदेखि लाखौँमा चित्र बिक्रीसम्म

person explore access_timeफागुन ५, २०७५ chat_bubble_outline0
टुना भट्ट

रातोपाटी

गीत–संगीतको फ्यूजनबारे सबैलाई थाहा हुन सक्छ । तर चित्रकलामा पनि फ्यूजन हुन्छ भन्ने चाहीँ धेरैलाई थाहा नहुन सक्छन् । किनभने चित्रमा हुने फ्यूजन अलि फरक हुन्छ । यही शैली अपनाएर विगत २३ वर्षदेखि चित्र कोर्दै आएका छन्, रोशन प्रधान ।

झट्ट हेर्दा अनौठा लाग्ने उनका चित्रको भाव आधुनिक समाजको यथार्थ चित्र हुन्छन् । रोशनले आफ्ना चित्रका पात्रहरुलाई कहिले अध्यात्मबाट आधुनिकता तिर ढालिदिएका छन् भने कहिले परम्पराबाट प्रविधितिर ।

भर्खरै उनले पञ्च बुद्धको ध्यानमग्न आसनलाई प्रविधिसम्म जोडिदिएका छन्, जहाँ बुद्धका कल्पनाहरुलाई बाहिर ल्याइदिएका छन् । लाफिङ बुद्धले फोनमा कुरा गर्दै गरेको चित्र निकै आकर्षक छ । त्यसैगरी, ग्रीनतारालाई रोवोटिक रुप दिएका छन् उनले ।

ग्रीनतारालाई केही समय अगाडी चर्चामा आएकी रोबोट सोफियाको भेषमा ढालेका छन् । अनि बुद्धलाई अन्तरिक्ष यात्रीको भेषमा देखाइएको छ, जुन कलात्मक मात्रै होइन अर्थपूर्णरुपमा प्रस्तुत गरेका छन् रोशनले । त्यसैगरी भैरवले बियर पिउँदै गरेको चित्र पनि उनले कोरेका छन् ।

रोशन भन्छन्, ‘हाम्रो समाजले नयाँ–नयाँ प्रविधिलाई आत्मसाथ गरिरहँदा परम्परालाई अंगिकार गर्न नसकेको यथार्थतालाई यति कोर्ने प्रयास हो । हामी विगतबाट भविष्यतर्फ एकै दृश्यमा समेटिन सक्छौं ।’

परम्परा अनि प्रविधिलाई फ्युजन गरेका रोशनले समयअनुसार मानिसको सोचमा आउने परिवर्तन र अन्तरभावलाई चित्रमा उतारेका छन् । रोशन चित्र कोर्दा देखेका दृश्यलाई भन्दा अदृश्य कल्पनालाई उतार्ने गर्छन् । भावनामा बगेर चित्र कोर्छन्, जहाँ हाउभाउ अनि बोलीबाट प्रस्फुटन हुन नसकेका अभिव्यक्ति झल्किन्छ ।

अदृश्य शक्तिलाई रंगको माध्यमबाट बाहिर ल्याउनु साँच्चिकै अद्भूत कला हो । सन् १९९६ बाट चित्र कोर्न सुरु गरेका रोशनको फ्यूजन शैलीबारे धेरैले चासो राख्ने गरेका छन् । जुन उनको लागि सफलता पनि हो ।

ह्याङ्गिङ सिरिजका चित्र

सन् २००७ तिरको कुरा हो रोशन काठमाडौँको तिनकुनेमा बस्थे । सँधैजसो घरको माथिबाट प्लेन उड्ने । उनको दिमागमा एउटा कल्पना पलायो – आकाशमा केही झुन्डिरहेको जस्तो । अनि उनले ह्याङ्गिङ सिरिज (झुन्डिएका आकृति)मा चित्र कोर्ने योजना बनाए ।

‘पृथ्वी पनि झुन्डिरहेको हुन्छ । सोच्ने हो भने हामी कहीँ कतै झुन्डिरहेका छौँ तर महसुस हुँदैन,’ रोशन भन्छन् । यो अदृश्य सत्यलाई उनले चित्रमा उतारे । यस्ता चित्रलाई सबैले मन पराए । सबैजसो चित्रहरु बिक्री पनि भए ।

नोट्स एक्सप्रेसन एण्ड ह्यूमन फिलिङ्गस्

सन् २०१४ तिर रोशनले मानवीय भावनालाई चित्रमा उतारे जसको नाम दिए ‘नोट्स एक्सप्रेसन एण्ड ह्यूमन फिलिङ्गस्’ । जसमा उनले रुखका आँख्लाहरुलाई मानविय भावनामा मिलाएका छन् । चित्र हेर्दा अनौठा लाग्छ किनभने चित्रमा मानिसलाई एउटा रुखको रुपमा देख्न सकिन्छ ।

काठमाडौँमा जन्मिए पनि भोजपुरमा हुर्केका रोशन प्रकृतिसँग निकै नजिक हुने मौका पाए । भोजपुरमा बस्दा उनलाई रुखसँग निकै मोह बढ्यो । भोजपुर डाडागाउँ नजिकैको जङ्गल उनको बाल्यकालको घुम्ने अनि रमाउने स्थल बनेको थियो ।

जङ्गलमा साथीभाईसँग गुलेली बोकेर चरा मार्न हिड्दा साथीहरु चरा खोज्न लाग्थे भने उनी जङ्गलका खोल्सा खाल्सी रुख विरुवा अनि ढुंगा माटोमा रमाइरहेका हुन्थे ।

रोशनका नजर रुखका हाँगा विगाका आँख्लामा बढी केन्द्रित हुन्थ्यो । ती आँख्ला उनको मानसपटलमा यसरी गाडियो कि उनले आफ्नो चित्रकलालाई त्यही आँख्लाले सजाए ।

मानविय अवतारलाई रुखसँग मिलाएर बनाएका चित्रको एकल प्रदर्शनी पनि गरे रोशनले । उनको यो चित्रकलालाई धेरैले रुचाए फलस्वरुप उनले नेपाल सरकारबाट पुरस्कार पनि पाए ।

‘नोट्स एक्सप्रेसन एण्ड ह्यूमन फिलिङ्गस्’ नामक चित्रकला प्रदर्शनी नेपालमा मात्रै सिमित राखेनन् रोशनले  जापान र बंगलादेशमा पनि लगे । त्यसैगरी उनले थाईल्यान्ड, चाइना अनि भारतमा पनि प्रदर्शनी गरे । बाहिर पनि उनको कलाले वाहवाही पायो ।

लाखेको मास्कबाट चित्र कोर्न सुरु

भोजपुरमा रहँदा नेवार समुदायले निकाल्ने लाखे नाचको लागि विभिन्न रुपका मास्क चाहिन्थ्यो । त्यस्ता मास्क रोशनले आफै बनाउँथे । अहिले जस्तो तयारी मास्क पाइँदैन थियो ।

गाउँमा सिल्भरका थालहरु जम्मा गरेर कुच्याउने अनि रंग लगाएर विभिन्न रुप तयार पार्थे रोशन । यस्ता कामका त नाइके नै थिए उनी ।

साथीभाई पुराना सिलभरका थाल खोजेर ल्याउँथे । सबै मिलेर कुच्याउने काम हुन्थ्यो । थालमै मुकुण्डो तयार हुन्थ्यो । आँखा, नाक, मुख, कान सबै रंग पोतेर बनाउँथे रोशन । लाखेको मास्कले रोशनलाई स्थापित चित्रकार बन्न मद्दत गर्यो ।

रोशन भन्छन्, ‘त्यही सिलभरका थालमा पोतिएका रंगले नै जीवनको लय समातेको रहेछ । रंगसँग आफ्नो लगाव बालापनमै उदाएको पछि मात्र महसुस भयो ।’

चित्र कला र व्यापार

नेपालमा चित्रकलाको बजार विस्तार हुँदै गएको रोशन बताउँछन् । हुन त चित्रको व्यापार सिमित हुन्छ तर मूल्य भने राम्रो आउँछ ।

विदेशमा चित्रकलाको निकै महत्व छ । पहिले सिमित वर्गले मात्रा खरिद गर्ने गरेको चित्रकलालाई आजभोलि सामान्य मानिसले पनि आफ्नो घर अनि कार्यालयमा सजाउन प्रयोग गर्न थालेका छन् ।

विशेष गरेर राणा परिवारमा चित्रकलाले बढी स्थान पाउने गरेको रोशनको अनुभव छ । राणाहरु चित्रकलाको सौखिन हुने गरेको उनीहरुको घरमा देखिने महंगा महंगा चित्रकलाबाट प्रष्ट हुन्छ । त्यसैगरी व्यवसायीक घरानाहरुले पनि चित्रकलाको प्रयोग बढी गर्छन् ।

यस्ता चित्र १० हजार देखि २०–२५ लाखसम्म पनि बिक्री हुने गरेका छन् । नेपालमा चित्र कोरेर जीवन यापन गर्नेहरुको स्तरमा धेरै नै परिवर्तन आएको छ ।

रोशनले कोरेका चित्रहरु २० हजार देखि ५ लाखसम्ममा बिक्री भएका छन् । नेपालमा चल्तिका कलाकारका चित्रहरुको मूल्य त १ लाख भन्दा तलको हुँदैन पनि । तर नयाँ अनि चर्चामा नआएका कलाकारका चित्र भने न्यून मूल्यमा नै बिक्री गर्नुपर्ने बाध्यता छ ।

चित्रकलालाई व्यापारभन्दा बढी कला नै भन्न रुचाउने रोशन आफ्ना कलालाई व्यवसायीक हिसाबले बिक्री नगर्ने बताउँछन् । प्रदर्शनीमा राख्ने र उचित मूल्य पाएमा मात्रै विक्री गर्ने गरेका छन् उनले ।

रोशन महिनौँ लगाएर बनाएको चित्रको मूल्य सोचे जस्तो नआएसम्म राखिराख्छन् । आफूले बनाएका चित्र आफ्ना सन्ततीले पुख्र्यौली धनको रुपमा संरक्षण गरोस् भन्ने उनको अपेक्षा छ । ‘भोलि आफ्ना चित्रहरु छोरीले एउटा संग्राहलयमा राखिदियोस् । मेरो यही चाहना छ,’ उनी भन्छन् ।

रोशन स्कूलहरुमा ललित कला पढाउँदै आएका छन् । ललितकला क्याम्पसमा पढ्दै स्कूल पढाउन थालेका उनले यसलाई अहिले पनि निरन्तरता दिँदै आएका छन् ।

रोशनले कन्टेम्पोररी चित्र कोर्ने भएकाले पनि त्यसको विक्री तुरुन्तै हुँदैन । एउटा चित्र बिक्न वर्षौँ पनि लाग्न सक्छ । त्यसैले पनि जिविकोपार्जनको लागि अन्य काम गर्नु पर्ने उनको वाध्यता पनि हो । उनी आफ्नो कामबाट खुसी पनि छन् । ‘कलालाई फैलाउने मौका पाएको छु,’ उनको भनाई छ ।

रोशन लगायतका ७ जना कलाकार मिलेर ‘प्यागोडा’ नामक समूह बनाएका छन् । जसमा प्रधुम्न श्रेष्ठ, पासाङ (मंगोल पुत्र), माला श्रेष्ठ प्रधान, लिशा गैरे, रुद्रबहादुर पुन, किशोर ज्योती रहेका छन् । उक्त समूहले बेला–बेला आफ्ना कलाको प्रदर्शनी गर्ने काम गर्दै आएको छ ।

रोशनले ‘प्यागोडा स्कूल एण्ड फाइन आर्ट’ नामक संस्था सञ्चालन पनि गरेका छन् । जहाँ उनले चित्रकलामा रुचि हुनेहरुलाई चित्रकला सिकाउँने काम गर्छन् ।

उनीसँग चित्रकला सिक्न स्कूले विद्यार्थीदेखि, रिटायर्ड व्यक्तिहरु पनि आउँछन् । साथै वकिल, प्रहरीका उच्च अधिकारीहरु, सरकारी कर्मचारी लगायतका व्यक्तिहरु पनि उनीसँग चित्र कोर्न सिक्दै आएका छन् ।

चित्र बेच्दा छोरी अन्माए जस्तै लाग्छ

रोशनलाई आफ्नो महिनौँको मिहिनेतबाट तयार चित्र बेच्दा छोरी अन्माएर पठाए जस्तो लाग्छ । जुन मिहिनेत छोरी जन्माउन हुर्काउन गरिन्छ त्यही मिहिनेत एउटा चित्र तयार पार्दा लाग्छ ।

केही फरक अनि यथार्थपरक चित्र कोर्ने रोशन चित्र सजिलै बेच्न नसकेको अनुभव सुनाउँछन् । ‘आफ्नो अन्तर आत्माको भावनालाई एउटा जीवन दिईसकेपछि कसैको हातमा सुम्पनु साह्रै गाह्रो हुने रहेछ,’ रोशन भन्छन्, ‘चित्रमा स्वास भरिदिने हो भने त्यो उठेर हिड्छ अनि बोल्छ पनि । चित्रमा जीवन हुन्छ मात्र स्वासको कमी हुन्छ ।’

दम्पत्ति नै चित्रकलामा

रोशनकी श्रीमती माला श्रेष्ठ पनि चित्रकार हुन् । ललितकला क्याम्पसबाट फाइन आर्टस्मा स्नातकोत्तर गरेका रोशनले साथी पनि आफ्नो पेशा मिल्ने भेट्टाए । सँगै अध्ययन गरेका दुवैले विवाह पश्चात पनि सँगै चित्र कोर्दै आएका छन् । विभिन्न चित्रकला प्रदर्शनीमा रोशन र मालाका चित्रहरु पनि प्रदर्शन हुने गरेका छन् ।

घरमै रहेको स्टुडियोमा दुवैले सँगै चित्र कोर्छन् तर शैली भने विल्कुल फरक छन् । मालाका चित्र प्रकृतिसँग जोडिएका हुन्छन् । मालाको चित्रमा नारी भावना प्रस्फुटन हुन्छन् । उनले महिलाको न्यूड चित्रहरु पनि कोरेकी छिन् । साथै प्रकृतीसँग महिलाको भावनालाई क्यानभासमा उतारेकी छिन् मालाले ।

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...