अल्छी कर्मचारीलाई दण्डित गरिन्छ : लालबाबु पण्डित
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले प्रविधिको प्रयोग गरेर निष्पक्षतापूर्वक जिम्मेवारी पुरा गर्ने कर्मचारीलाई पुरस्कृत र अल्छी मान्ने कर्मचारीलाई दण्डित गर्ने बताएका छन् ।
शनिवार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा आयोजित नवनियुक्त तृतिय श्रेणीका अधिकृतहरुको ३३ औं आधारभुत प्रशिक्षण समापन समारोहमा मन्त्री पण्डितले यस्तो बताएका हुन् ।
‘मुलुक परिवर्तन भएसँगै कर्मचारीमा पनि परिवर्तन आउनुपर्छ,’ मन्त्री पण्डितले भने, ‘अहिले मुलुक संघीयतामा गएको छ , कर्मचारी पनि संघीय संरचना अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा जानुपर्छ ।’
मन्त्रि पण्डितले कर्मचारी समायोजन सकिएपछि नयाँ भर्ना प्रक्रिया शुरु गर्ने बताए । उलने भने, ‘समायोजन सकिएलगत्तै १५ देखि २० हजार कर्मचारीको नयाँ भर्ना शुरु हुनेछ ।’
निजामती प्रशासनमा रहेको विकृती र विसंगती हटाउने अठोट गरेका मन्त्रि पण्डितले कर्मचारीको सरुवा सफ्टवेयर पद्धतिबाट गरिने बताए ।
नवनियुक्त तृतिय श्रेणीका अधिकृतहरुको ३३ औं आधारभुत प्रशिक्षण समापन समारोहमा अधिकृत शारदा मरासिनीसहित १५८ जना कर्मचारीलाई मन्त्रि पण्डितले प्रमाणपत्र वितरण गरेका थिए ।
प्रशिक्षणमा १७२ जना नवनियुक्त अधिकृतहरु सहभागी भएका थिए ।