शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम

शनिबार, ०४ फागुन २०७५, १४ : २४
शनिबार, ०४ फागुन २०७५

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ । सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ । 

‘समग्रमा पुल निर्माणको काम ५० प्रतिशत सकिएको छ”, खनालले भन्नुभयो, “जलवीरेमा भने निर्माण प्रगति ३४ प्रतिशत र अन्य पुलको ७० प्रतिशत माथि छ  ।” जलवीरे पुल निर्माणको ठेक्का रौताहा कन्स्ट्रक्सनले पाएको हो । अन्य तीन पुल निर्माणको ठेक्का लामा कन्स्ट्रक्सनले पाएको छ । जलवीरे पुल ८० मिटर लामो छ । मौरीपुल ३०, खानीपुल ३० र दासढुङ्गा पुल २० मिटर लम्बाइ तथा चौडाइ भने सबैको ११ मिटर हुनेछ । 

“लामा कन्स्ट्रक्सनले जिम्मा पाएको चार पुल निर्माणको काम वैशाखभित्रै सम्पन्न हुन्छ भने रौताहा कन्स्ट्रक्सनले जिम्मा लिएको जलवीरे पुल निर्माणमा समय लाग्ने देखिएको” उहाँले बताउनुभयो । जलविरे पुलको डिजाइन परिवर्तन, अप्ठ्यारो ठाउँ र फरक प्रकृतिको पुल भएका कारण पनि ढिलाइ भइरहेको छ । हाल पुल भइरहेका ठाउँ नजिकैबाट नयाँ पुल निर्माण गरिएकाले सवारी आवागमनमा पुलले कुनै बाधा पु¥याएको छैन । 

जलवीरे पुल रु १४ करोडमा ठेक्का दिइएको हो भने अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड छ । सडकखण्डमा अझै १४ पुल निर्माणको काम भने अघि बढ्न सकेको छैन । १८ पुलमध्ये चार वटाको मात्र निर्माण जारी रहेको र बाँकी १४ पुल निर्माणको काम छिट्टै शुरु हुने आयोजना प्रमुख रोहित विसुरालले जानकारी दिए । 

सात ठाउँमा भौगर्भिक अध्ययन 

नारायणगढ मुग्लिन सडकखण्डको विभिन्न क्षेत्रमा भासिएको सडकको भौर्गर्भिक अध्ययन शुरु गरिएको छ । भासिएको र जोखिमपूर्ण गरी सात ठाउँमा भौगर्भिक अध्ययन गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयका इञ्जिनीयर खनालले जानकारी दिनुभयो । सडक भासिएको खण्ड २६ किलोमिटरमा र १७ किलोमिटर क्षेत्रमा सर्वे भइरहेको छ । 

भासिएको सडकखण्डमा अहिले एकतर्फी रूपमा सवारी आवागमन भइरहेको छ । टोलीले एक महीनाभित्र अध्ययनसहित डिजाइनको प्रतिवेदन दिनेछ । आयोजनाका प्रमुख विसुरालले प्राविधिक टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि मात्रै निर्माणको काम अघि बढ्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप