केन्द्रीय संस्करण

आकाशको फल र सुखसमृद्धिको उखानतुक्का  !

person explore access_timeफागुन ४, २०७५ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

आजसम्म हामी नेपाली उन्नति प्रगतिमा पछाडि पर्नुमा खास कारण के हो ? विगतमा हामै्र बराबर अवस्थामा रहेका कति मुलुक अहिले विकासले झकिझकाउ छन् । हामी झन् झन् गरीब, झन् झन् मगन्ते, झन् झन् पराश्रित, झन् झन् थर्कमान किन ? विगत एक शताब्दी त मुलुकमा जहानिया शासन रह्यो, त्यसपछिको दश वर्ष राजनीतिक अलमलको शासन रह्यो । त्यसपछिका तीस वर्ष पन्चायती राजतन्त्रको शासन रह्यो । विगत तीस वर्षदेखि त जननिर्वाचित भनिने राजनीतिक दलहरुले नै शासन गरिआएका छन् त ! विकास र प्रगितिका लागि तीस वर्षको अवधि पनि कम्ती होइन ।

 यसै अवधिमा हाम्रै जस्तै अवस्थाबाट उठेर विकास र प्रगतिका चुली टेक्न पुगेका मुलुकहरु प्नि हाम्रै आँखामा छन् । हाम्रो मुलुक मात्रै झन् झन् रित्तो र जनता झन् झन् गरीब किन ? 

(कुमारजी आज्ञा गर्नुहन्छ, हे अगस्त्यमुनि......, स्कन्दपुराणको केदारखण्ड  त चल्तीमा छँदैछ, अब अगस्त्य पुराणको नेपाल खण्ड लेखिनु पर्ने भयो, फरक शैलीमा । जस्तै.....‘अगस्त्यजी आज्ञा गर्नुृहुन्छ, हे कुमार बाबु....नेपाल र नेपालीको हविगत कहिल्यै नसप्रेको किन ? जनताका अनेकौं वलिदानी आन्दोलनपछिको यस कलियुगमा नेपाल र नेपालीको भाग्यभविष्यमा उज्यालो घाम लाग्ने कुनै सम्भावना नै छैन ? छ भने त्यो दिन कहिले आउला त कुमार बाबु ? अहिले यो सुखसमृद्धिका कुरा पनि जनताका लागि आकाशको फल भनेजस्तै हो कि कसो हो त बावु ?)।’ 

(पुराणका अगस्त्य त त्यागी योगी ऋषि थिए । उनी प्रश्नहरुको सही उत्तर दिन सदा तत्पर रहन्थे । सवाल यहाँ आजका सत्तासीन अगस्तीहरुको छ । आजका सत्तासीन अगस्तीहरुका त जवाफ दिने पनि प्रवक्ता हुन्छन् । ती पनि रामायणका कुम्भकर्णजस्ता ! देख्दै भयङ्कर !! सुन्दै भयङ्कर !!! 

पुराणका अगस्त्य त त्यागी तपस्वी र लोकोपकारी थिए । लोककल्याणका लागि घरबार छोडेर हिँड्थे । महिनौं भोकै बसेर लोकसेवा गर्न पनि सक्थे । हो, पुराणका अगस्त्यको पेट असीम पाचनशक्तिको थियो । तर पनि जथाभावी खाँदैनथे । जति खान्थे पचाउँथे । ऋपिषिजनहरुका संरक्षकका रुपमा गनिन्थे पुराणका अगस्त्य । पुराणका अगस्त्य शस्त्रविद्या र शास्त्रविद्यामा उत्तिकै निपूर्ण थिए । अनेकौं सद्गुण थिए पुराणका अगस्त्यमा ।  विनम्र कतिसम्म भने आफू वयोवृद्ध भएर पनि जनजीवनमा नयाँ नयाँ चेतना भर्नका लागि युवा कुमार स्कन्दसँग रुखमुनि बसेर विभिन्न विषयमा छलफल गर्थे । जिज्ञासा राख्थे । अर्थात् युवा पुस्ताका विचार  ध्यान दिएर सुन्थे । ऋषि अगस्त्यका यी सबै पक्षहरुप्रति ध्यान नदिई समाजका कतिपय टिप्पणीकारहरुले  अगस्त्यको जति पनि खान,पचाउन सक्ने  क्षमतालाई नै मात्र आधार मान्दै जथाभावी खाने र पचाउने आहारिसे व्यक्तिलाई  अगस्ति भन्न थाले । यस दृष्टिकोण अनुसार हाम्रा सत्तासीनहरु यसै अर्थका आजका अगस्तिहरु हुन् । अब यी अगस्तिहरुसँग कुमारले अर्थात् आजका युवा पुस्ताले सोध्छ, हे सत्तासीन अगस्तिमहोदयहरु, यो मुलुक आर्थिक सांस्कृतिक रुपमा झन् झन् दुब्लो, झन् झन् मरन्च्याँसे बन्दै जानुको खास कारण के हो ? तपाइँहरुले कहिल्यै नभरिने पेट भर्न पक्षप्रतिपक्षसँग  मिलिजुली शैलीमा जथाभावी रुपमा विभिन्न परिबन्द मिलाएर राष्ट्रिय ढुकुटी चिथोर्ने खाने पचाउने रित्याई दिने भोजन अभियान चलाउनु नै यसको कारण त होइन ? केही क्षणका लागि  आफ्ना भोजनअभियानलाई थाती राखेर कृपया बताइदिनुहुन्छ कि ?...हामी कुमारहरु अर्थात् युवा पुस्तालाई सम्बोधन गरेर सत्तासीन अगस्तीहरु आज्ञा गर्नुहुन्छ कि ....?)

हामी जनता आज नयाँ पुराणको चर्चामा छौं । सत्तासीन अगस्तिहरुको आजको यस नयाँ पुराणलाई हामी जनताले पनि नाम त सुखसमृद्धिपुराण नै राखेका छौं । पुराण त सुखसमृद्धिकै हो, तर सत्तासीन अगस्तिहरुको सुखसमृद्धि कि जनताको पनि सुखसमृद्धि ? कसको सुखसमृद्धि ? जनताले त अद्यावधि सुखसमृद्धिको सुगन्ध भेटेका छैनन् । सत्तासाधक अगस्तिहरुसँग नयाँपुस्ताको मुख्य प्रश्न पनि यही छ,, यही नै हुने छ, कसको सुखसमृद्धि ?) 

नेपालमा शासकहरुले जनताको भाग्यभविष्य लुटिखाएका कथा बग्रेल्ती छन् । आज काङ्ग्रेस यसो भएन उसो भएन भनेर जुन नाराजुलुस गर्दैछ त्यो उसको नकच्चरो पन सिवाय केही होइन । आफ्नो कार्यकालमा कांङ्ग्रेसले राम्रो काम गरेको हुँदो हो त आज मुलुकको यो हविगत हुने थिएन । विगत ३० वर्षको सेरोफेरोमा नेपालको राजसत्तामा सवैभन्दा बढी रजाइँ गर्ने राजनीतिक दल नेपाली काङ्ंग्रेस हो । लाउडाकाण्ड, धमिजाकाण्ड, सांसदखरीदविक्रीकाण्ड, नेपालीकाङ्ग्रेसकै सत्तासमयका चर्चित करामत रहेका हुन् । शासन प्रशासनमा भ्रष्टाचारको व्यापक वागवानी काङ्ग्रेसकै योगदान हो । यथार्थको यस थुम्काबाट हेर्दा आजसम्म हाम्रो नेपाल र हामी नेपाली पछाडि पर्नुमा मुख्य जिम्मेवार को ? आजसम्म हामी जनताले बेहोरेको दुःखकष्टको मुख्य जिम्मेवार काङ्ग्रैस नै हैन र ? आफु सत्तामा रहँदा देश र जनताको हित भलाइका लागि नेपाली कांग्रेसले उल्लेखनीय काम त केही पनि गरेन । शिक्षा र स्वास्थ्यक्षेत्रमा निजीकरणका विषवृक्षहरु प्नि कांङ्गे्रसकै कार्यकालमा हुर्केका हुन् । नेपाली सत्ताराजनीतिमा सम्झौता गर्ने र पालन नगर्ने चरित्र नेपाली काँङ्ग्रेसकै नेतृत्वमा मौलाएको हो । निर्वाचनमा गुण्डागर्दी र धाँधली नेपाली काङ्ग्रैसकै सांस्कृतिक देन हो । सत्तामा रहँदा एउटा रुप, सत्ताबाहिर रहँदा अर्को रुप नेपाली काँङ्ग्रसकै चारित्रिक विशेषता रहिआएको हो । सत्ता र स्वार्थप्रतिको अटुट निष्ठाबाट टसमस हुन नेपाली काँङ्ग्रेसले कहिल्यै जानेन । भर्खरै पनि डा केसीको अनशनप्रति समर्थनको नाटक मन्चनमा व्यस्त काँङ्ग्रेसले गिरिजाप्रसाद र सुशीलका नाममा अस्पताल चलाउने पोषण पाएपछि स्वयम् काँङ्ग्रेस नेता शेरबहादुर देउवा डा केसीलाई अनशन तोड्न सल्लाह दिन पुगेका देखिए । साँच्चै जनताका पक्षमा कुरा गरिएको थियो भने सरकारसँग आफ्ना स्वार्थका कुरा मिलेपछि  डा केसीलाई अनशन तोड्नोस् भन्न जान मिल्थ्यो ? यो कस्तो चरित्रको द्योतक हो ? यी प्रश्नहरु जनताले सोध्नै पर्ने प्रश्नहरु होइनन् र ?

आज वर्तमान सत्तासीनहरुसँग पनि जनताका थुप्रै प्रश्नहरु छन् । अहिले तपाइँ सत्तासीनहरुले भन्नुभएको सुखसमृद्धि कसको लागि ? तपाइँहरुसँग त सुखसमृद्धि पर्याप्त छँदै नै छ । थप चाहिएको हो भने स्पष्ट भन्नुहोस् । अन्यथा यो सुखसमृद्धिको स्तोत्रपाठ कुन ग्रहशान्तिका लागि ? हामी जनताका अगाडि आज जिज्ञासाको पहाड उभिएको छ ।

जनतालाई बजेटबाट तथा विकासप्रक्रियाबाट सुखसमृद्धि दिने हो कि भनौं भने बजेटमा र विकासप्रक्रियामा त्यो लक्षण देखिएको छैन । वर्षभरि निर्माणका काम हुनेहुन् भने जनताले वर्षभरि ज्याला मजुरी पाउँथे, जीविका कमाउँथे । हामीकहाँ वर्षभरिको निर्माण विकासका काम प्रायः आषाढ महिनामा हुन्छ । ठूलाबडा ठेकेदारका सुखसमृद्धिका लागि समर्पित रहन्छ असारे विकास ।

हामीकहाँ श्रमिक जनतालाई नै टोली बनाएर ठेक्का दिने प्रयास कहिल्यै गरिएन । ठेक्का ठूला ठूला ठेकेदारलाई दिइन्छ । ठेकेदारले पेटी ठेकेदारलाई ठेक्का दिन्छ । जनताले पाउने पारिश्रमिक ठेकेदारहरुकै जटामा अड्कन्छ । श्रमिक जनता त जहिले पनि शोषणको पिरामिडले थिचिने मिचिने नै हुन् । 

सडकनिर्माणकै काम पनि जनताका हातबाट हुन पाउने हो भने ढुङ्गामाटोले माया पाउँथे । विस्फोटक र डोजरको जबर्जस्ती न्यून हुन्थ्यो । बाढीपहिरोको जोखिम पनि कमै हुन्थ्यो । अझ प्रमुख कुरा बढी भन्दा बढी जनताले काम पाउँथे । 

जनताले ज्यालामा काम गर्ने निरन्तरतासम्म पनि पाउन यति हम्मे भएको आर्थिक राजनीतिक संस्कृतिको यस दुर्गम अवस्थामा जनताका भागमा सुखसमृद्धि चुहिने कताबाट ?

समाजमा अन्याय, अत्याचार भ्रष्टाचार हटाउन दह्रो राजनीतिक इच्छाशक्तिका साथ सत्तासीनहरुले पहल गरेको त आज पनि देख्न पाइएको छैन । आज पनि भ्रष्टाचारका बडेबडे काण्डहरु वाइड बडीका साथ सुरसाको मुख बाएर जनताको बाटो छेकिरहेकै छन् । अनि हामी जनताले कसबाट कसरी सुखुमृद्धिको आशा गर्ने ?

(अगस्त्यमुनि आज्ञा गर्नुहुन्छ, हे कुमारजी, नेपाली जनताले आजको यस सरकारबाट पनि सुखसमृद्धिको आशा कुन आधारमा कसरी गर्ने ? राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरुका लागि नयाँ नयाँ महलहरु, महँगा विलासी गाडीहरु र सज्जा सम्पदाहरु थपेर सत्तासीनहरुलाई नै चन्चलाश्री बनाएर  हामी गरीब जनताका झुप्रा छाप्रा र टहराहरुमा सुखसमृद्धि आउँछ ? सत्तासीनहरुका भ्रष्टाचारका कुन्युहरुबाट जनताका लागि सुखसमृद्धिको धान झर्छ ? कसले दाईँ गरेर झर्छ ?)

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...