मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गायक धीरज राईको जीवन : कलेजमा अङ्ग्रेजी पढाउँछु, तर बोल्न  नेपाली नै सजिलो लाग्छ

शनिबार, ०४ फागुन २०७५, १२ : ४३
शनिबार, ०४ फागुन २०७५

नेपाली माइकल ज्याक्सन भनेर चिनिँदै आएका छन्, गायक धीरज राई । नेपालमा पपसंगीत स्थापित गर्नमा उनको महत्वपूर्ण योगदान छ । केही वर्ष पप गीत गाएर अन्य क्षेत्रमा भौतारिने थुप्रै गायक गायिका भेट्न सकिन्छ । तर, धीरज  त्यस्ता व्यक्ति हुन्, जसले पप संगीतमै २५ औँ वसन्त बिताए ।
एक समय पप संगीतलाई गीत मानिँदैनथ्यो । त्यही बेला पप संगीतको बाटो रोजेका राईले अहिले नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउनसमेत भूमिका खेलेका छन् ।  आफ्नो पछिल्लो एल्बम ‘बुद्धज् बर्न इन नेपाल’ का गीत अङ्ग्रेजीमा रेकर्ड गराएर उनी विश्व बजारमा पुगेका हुन् । एल्बममा ब्लुज, रफ फेबर र नयाँ खालका अङ्ग्र्रेजी गीत समेटेका गायक धीरजसँग रातोपाटीको ‘मेरो जीवन’ स्तम्भका लागि गरिएको कुराकानीः

मेरो खाना
जहाँ गएपनि मनपर्ने खाना दालभात, तरकारी नै हो । राम तोरियाको तरकारी कहिलै मन परेन । रेष्टुरेन्ट थोरै जाने मध्येमा म पनि एक हुँ । बाहिरको खाना प्राय खान्न,घरमै खान्छु  । पाउरोटीमा अमलेट मिसाएको मेरो मनपर्ने स्न्याक्स हो । पकाउनतिर पटक्कै रुचि छैन । 

मेरो पोसाक
जिन्सको ड्रेसअप गर्न शौखिन छु । कलरफुल कपडामा स्पोर्ट खालका जुत्ता लगाएर हिँड्न मनपर्छ । रातो र सेतो रङको कपडा रोजाइमा पर्छन् ।
वर्षिक ५० हजार जति पोसाकमा खर्च छ । धेरै कपडा कपडा ‘रेडिमेड’ नै रोज्छु । कपडाको ब्राण्ड बारे ‘कन्सियस’ छैन । ह्याट मेरो पहिचान हो । क्याप र ह्याट प्रायः छुट्दैनन् ।
 
मेरो फिटनेस
जिम क्लब ज्वाइन गरेको छैन । बिहान बेलुका नियमित जगिङ जान्छु । मासु कम खान्छु । भेज खानेकुरामा जोड दिन्छु । फलफूल खान्छु । दुध खान्छु । यसले मलाई फिट राख्ने गरेको छ ।

मेरो अध्ययन
अङ्ग्रेजी साहित्यमा मास्टर्स गरेको छु । अब पिएचडीका लागि एमफिल गर्दैछु । ‘फिफिरे’ पुस्तक मैले भर्खर पढ्न सुरु गरेँ । प्रायः चलेका, चर्चा भएका पुस्तक पढ्छु । घरमा पुस्तक कलेक्सन गर्ने बानी छैन । साथीभाइसँग शेयर गरेर पढ्न मनपर्छ । 


 
मेरो घुमफिर
घुमफिरमा असाध्यै रुची छ । घुमफिरमा मलाई नसा लागेको छ । म प्रकृतिप्रेमी छु । देशको ४० बढी जिल्ला घुमेँ होला । विदेशका ३६ देश पुगेँ । घुमेकोमध्ये मन परेको देश क्यानडा हो । यो प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ । अब इजिप्ट जान मन छ । 
 
मेरो फुर्सद
फुर्सद हुँदैन । निकाल्नु पर्छ । बिहान कलेज पढाउन जान्छु । दिनको समय ओभरसियरको काम हुन्छ । बेलुकाको समय गीत संगीतमा दिनुपर्छ । बेलाबेलाका कन्सर्टमा जान्छु । त्यसले कामको थकान मेटाउँछ । 
फुर्सदको समय डाँडाकाँडा घुम्न मनपर्छ । त्यसैले नेपालको अधिकांश राम्रो स्थान पुगिसकेँ । म घर प्रति सर्मपित मानिस हुँ । धेरै समय घर परिवारलाई दिन्छु । म अन्त गएँ भने होमसिक हुन्छु । विदेश पनि धेरै बस्न सक्दिनँ । फुर्सदमा बच्चा, श्रीमती सहित रेष्टुरेन्ट, चलचित्र हेर्ने र घुम्न जाने गर्छु ।

मेरो खेलकूद
फूटबल खेल्छु । यो मेरो मनपर्ने खेल पनि हो । धेरै भयो फूटबल नखेलेको । अहिले हेरेर धित मार्छु । धरानमा हुँदा क्लबबाट जिल्लास्तरीय फूटबल खेल्थेँ । मेरो मन पर्ने खेलाडी मेसी हो । 

मेरो मोबाइल
अहिले मसँग दुईटा मोबाइल छ । आइफोन सिक्स र स्यामसुङ । एउटामा एनटीसी र अर्काेमा एनसेलको सिम प्रयोग गरेको छु । सांगीतिक कार्यक्रम धेरै पर्छ । आयोजकको फोन लागोस् भनेर दुईथरी सिम चलाउन थालेको हुँ । 
धेरै मोबाइल फेर्ने बानी छैन मेरो । मोबाइलमा धेरै हेर्ने भनेको फेसबुक, युट्यूव र अनलाइन मिडिया नै हुन् । 

मेरो टीभी
कहिले काहिँ हेर्छु । टिभीमा मलाई नेशनल जोग्राफी, डिस्कभरी, च्यानल भी, म्युजिकल च्यानलहरु हेर्न मनपर्छ । मेरो घरमा एलजी ब्राण्डको टिभी छ । नेपालका धेरै टिभी कलाकार चिन्छु । 

मेरो चलचित्र
चलचित्र कम हेर्छु । पछिल्लो समय हेरेको ‘पिके’ हो । धेरैजसो फिल्म घरमै हेर्छु । म हलमा नगएको दुई वर्ष भयो । साथीहरुले रिफर गरेको फिल्म पनि हेर्छु । 
पछिल्लो समय हेरेको मध्ये चित्त बुझेको चलचित्र पिके नै हो । नेपालका स्टेजबाट आएका चलचित्र कलाकार सबै मनपर्छ । विदेशीमा डस्टिन हफमन, जिम क्यारी, भारतको अमिर खान, शाहरुख खान मनपर्छ । 

मेरो रोग
अहिलेसम्म स्वस्थ छु । समय समयमा ग्याष्ट्रिकले सताउँछ । वर्ष दिनमा एकपटक होल बढी चेकअप गर्ने गरेको छु । रगत परीक्षण गराइरहन्छु । म एकदमै तन्दरुस्त छु । मेरो खाने, सुत्ने, उठ्ने एउटा रुटिङ छ । त्यो रुटिङमा नियमित चल्छु ।

मेरो भाषाशैली
म कलेजमा अङ्ग्रेजी पढाउँछु । तर बोल्न सजिलो नेपालीमा लाग्छ । मेरो बोलीमा प्रायः जस्तो की भन्ने धेरै मिसिएको हुन्छ । बोलीको कारणले अहिलेसम्म विवादमा परेको चाहिँ छैन । 

मेरो मापसे
मापसे कहिल्यै गर्दिनँ । कहिलेकाहिँ साथीहरु घरमा आउँछन्, त्यो बेलाका लागि चाहिन्छ भनेर विदेशका कार्यक्रममा जाँदा ड्युटी फ्रिबाट ल्याउँछु । केही ब्राण्डका रक्सी घरमा नियमित हुन्छन् । 

मेरो संगीत
गीत–संगीत त मेरो जीवन नै हो । नियमित गीत सुन्न मनपर्छ । ओकविक्रम विष्ट, सुक्मित गुरुङ, बच्चु कैलास, नारायण गोपाल मेरो मनपर्ने गायक गायिका हुन् । विदेशको म्याथलिका, एल्विस ब्रुसले लगायत मनपर्छ ।
मन परेको गीत धेरै छन् । बच्चु कैलासको मायाले मेरो मायाले, नसम्झिए पनि, जिन्दगीको के भरोसा, अरुण थापाको जति माया लाएपनि गीतहरु धेरै मनपर्छ । कहिलेकाहिँ बाथरुममा नुहाउँदै गर्दा गीत कम्पोज आउँछ । त्यो समय नुहाउन बीचमै छोडेर पनि गीत कम्पोज गरेको छु ।
 
मेरो भूल
जीवनमा धेरै भूल भएका छन् । जान–अन्जानमा जो कोहीबाट गल्ती हुनु मानवीय स्वभाव नै हो । समयअनुसार परिपक्क भएपछि आफूले पहिला गरेका केही कार्यभूल रहेछ भन्ने लाग्छ । 
बुबाआमालाई एकपटक ढाँटेर स्कुलबाट फिल्म हेर्न गइयो ।  उहाँहरुले मलाई खोज्दा खोज्दा हैरान हुनभएछ । त्यो समय धेरै टेन्सन भएछ भन्ने पछि थाहा भयो । साथीको गल्तीमा सँगै भएकाले कुटाई पनि खाइयो ।  

मेरो घर
अहिले बस्दै आएको अनामनगरको  घर २०५५ तिर  मैले आफैँले बनाएको हो । चार तलाको घर छ, दुई तला भाडामा लगाएको छु । बास्तुशास्त्र केही नहेरी घर बनाएको हो । सो समय एक करोड लागेको थियो कि !  

मेरो राशि
मेरो राशि धनु हो । कहिलेकाहिँ ग्रहदशा समेत हेराउने गरेको छु । मेरो खराब बार शुक्रबार हो । 
 
मेरो सौन्दर्यचेत
म जुन क्षेत्रमा छु । त्यो ग्ल्यामर क्षेत्र हो । अहिले गीतसंगीत सुन्ने मात्र रहेन । हेर्ने अनुभव गर्ने समेत भएको छ । त्यसैले आफूलाई कसरी राम्रो देखाउने, कुन लुकमा राम्रो देखिन्छ भन्ने कन्सेन्स ममा छ । कपालमा तेल धेरै कम लगाउँछु । हेयर क्रिमहरु धेरै प्रयोग गर्छु । 

मेरो सपना
नेपाली गीत संगीत विश्वबजारमा विक्री भएको हेर्ने मेरो ठूलो सपना छ । अर्काे सपना जन्मेको स्थान खोटाङ हो । सो ठाउँमा एउटा राम्रो स्कुलको खाँचो छ । त्यो बनाउने सपना छ । त्यसका लागि पनि बिभिन्न अभियानमा लागेको छु । 

मेरो मृत्यु
जन्मेपछि मर्नुपर्छ । कहिले मरिन्छ, थाहा छैन । मृत्य आएको कहिल्यै आभास नहोस् । मृत्यु पछि पनि धेरैको साथ मिलोस् । यही छ, चाहना ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप