केन्द्रीय संस्करण
एउटा बेग्लै कथा

यो कथा हो, ‘धर्मभक्त पथ’का भीमकाय भतिजाहरुको

प्रज्ञाको प्रेक्षालयमा ढल्ने छैनन्, ‘घटोत्कचकाय’ बडी बिल्डर रोली विङ्कलार

person explore access_timeफागुन ४, २०७५ chat_bubble_outline0

तिम्रा भतिजाका कथा किन पढ्ने नभन्नुस् है ! उनीहरु शरीर, समर्पण र सफलताका कारण साँच्चै अरु अरु भतिजाभन्दा भिन्न छन् र भव्य पनि । 

फेरि, मदन पुरस्कारद्वारा पुरस्कृत आयामेली कवि ईश्वर बल्लभको कविता छ नि, त्यस्तै हो उनीहरुसँगको मेरो नाता पनि । ‘यी आगोका फूलहरु हुन्, यी आगोका फूलहरु होइनन् ।’ अर्थात् उनीहरु मेरा भतिजाहरु हुन्, उनीहरु मेरा भतिजाहरु होइनन् ।

हजुर, म सुप्रशिध्द बडी बिल्डरद्वय सानु गुरुङ र महेश्वर महर्जनको कुरा गर्दैछु र उनीहरुसँगको नाताको नालीबेली पनि लगाउन खोज्दैछु ।

सानु धादिंगको दार्खा गाउँको तर ब्रिटिस लाहुरे परिवारको । महेश्वर काठमाडौँ शहरको तर किसान परिवारको । अनि म दार्खामा जन्मे हुर्केर काठमाडौँ पसेको, बसेको ।

म खस आर्य समुदायको, सानु र महेश्वर जनजाति समुदायका गुरुङ र महर्जन । त्यसैले मेरो रगतको नाताका भतिजा त हुँदै होइनन् उनीहरु । तर, हामी नेपालीमा ‘गोरु बेचेको साइनो’सम्म हुन्छ । उनीहरुसँगको मेरो साइनो ‘गोरु बेचेको’ जस्तो मात्र पनि होइन । एउटै गाउँका सानु, मितिनी भाउजुको छोरा हो अनि महेश्वर चैं घरबेटी आमाको नाति, मेरो कान्छो छोराको बालसखासमेत । त्यसैले उनीहरु दुवै मेरा प्यारा प्यारा भतिजा ।

के घर के डेरा, दुवैतिरका मेरा भतिजा कालान्तरमा बने मुलुककै सफल बडी बिल्डर ! सानु र महेश्वरका सफलतामा धेरैले हात मिलाएका र ढाप पनि मारेका होलान् । म भने भिन्नाभिन्नै ठाउँमा सानु र महेश्वर हुर्किंदै गर्दा, उनीहरुको कपाल सुम्सुमाएको हातले उनीहरुकै सफलताको कथा लेखिरहेको छु ।

कस्तो दुर्लभ संयोग !

...

शीर्षकमै नाता गाँसिएकाले साइनो खुलस्त पार्न केही फेहरिस्त त पढ्नै पर्ने हुन्छ, झर्को नमान्नुस् ल !

म काठमाडौँ पसेको ४५ वर्ष भयो, जसमध्ये १५ बर्ष नयाँबजार इलाकामा र १५ बर्ष ताहाचलतिर बसें । नागार्जुन रानीबनमा आफ्नै घर बनाएर बसेको पनि ठ्याक्क १५ बर्ष नै भयो ।

ताहाचल, गाइबाच्छा पाटीस्थित ओसो ध्यानकेन्द्रको ठीक सामुन्ने एउटा साँघुरो गल्ली छ ।

त्यही गल्लीको अन्तिमको घर महेश्वरको हो, जुन घरमा हामी आठ वर्ष डेरामा बस्यौँ । घरबेटी आमा नानीमैयाँ महर्जन माथिल्लो तल्लामा र हामी भुइँतलामा बस्थ्यौँ । हामी उहाँलाई अजि भन्थ्यौँ । बिचरा अजि जवानीमै विधवा हुनुभएको रहेछ, काखको एकमात्र सन्तान सत्यनारायण ६ महिनाको पनि नहुँदै ।

त्यही गल्लीको अन्तिमको घर महेश्वरको हो, जुन घरमा हामी आठ वर्ष डेरामा बस्यौँ । घरबेटी आमा नानीमैयाँ महर्जन माथिल्लो तल्लामा र हामी भुइँतलामा बस्थ्यौँ । हामी उहाँलाई अजि भन्थ्यौँ । बिचरा अजि जवानीमै विधवा हुनुभएको रहेछ, काखको एकमात्र सन्तान सत्यनारायण ६ महिनाको पनि नहुँदै ।

सत्यनारायण दाइ र गणेशमाया भाउजुका भने दुइ छोरा रामेश्वर र महेश्वर अनि दुइटी छोरी पनि । तर, उहाँहरु कहिले मरु गणेशस्थानस्थित मुलघरमा बस्न जाने, कहिले फेरि ताहाचलमै बस्न आउने ।

हाम्रो दुइटा छोरा मात्र । त्यसैले अजि मेरी श्रीमतीलाई भन्नुहुन्थ्यो, ‘नानी तिमी पनि मजस्तै अभागी छ्यौ, मेरो पनि छोरी छैन, तिम्रो पनि छोरी भएन । छोरीले जस्तो बुहारीले माया गर्दैनन् ।’

खासमा उहाँलाई बुहारीले माया नगर्ने चैं हैन । उही के भने, आफूसँग जे हुँदैन त्यसैको महत्त्व बढी हुन्छ नि । त्यस्तै मात्र हो, उहाँको भनाइ पनि ।

एकपल्ट महेश्वरहरु मरुको घरमा भएको बेला अजि भर्‍याङ्गमा लड्दा तिघ्रा नै भाँचियो ।

संयोगले सत्यनारायण दाइ त्यहीँ आइपुग्नु भएको रहेछ, सडकसम्म पिठ्युँमा बोकेर लग्नुभयो । त्यहाँबाट ट्याक्सीमा राखेर अस्पताल पुर्‍याउनुभयो ।

उपचार गर्न लगेजस्तो सजिलो भएन गल्लीभित्रको घरमा ल्याउँदा । तिघ्रामा प्ल्यास्टर गरिएकाले पिठ्युमा बोक्न मिलेन, स्टेचर थिएन ।

त्यसैले सत्यनारायण दाइ, महेश्वर र हामीहरु भएर हाम्रो एउटा मेचमा अजिलाई बसाएर बडो अफ्ट्यारोसँग झ्याइकुटी पार्दै घरमा ल्यायौँ । त्यो बेला महेश्वरले साह्रै सेवा गर्‍यो अजिको ।  

महेश्वर उमेरले मेरो ठुलो छोरोको दौंतरी भए पनि पढाइमा चाहिँ कान्छो छोरोको समकक्षी । उसलाई गणित अलि गाह्रो लाग्ने तर मेरो कान्छा छोरा गणितमा छुरा । त्यसैले मेरो छोरासँग गणित सिक्न आइरहन्थ्यो महेश्वर । सिक्ने सिकाउने कुरामा उमेरले के फरक पार्छ र !

महेश्वर बडो सज्जन केटो । नचाहिने कुरा केही नबोल्ने । बाबु, आमा, अजि, दाजु र दिदीहरु सबैलाई उत्तिकै माया गर्ने । हामीलाई पनि आदर गर्ने ।

२०६० सालमा हामी रानीवनमा घर बनाएर सर्ने बेलातिर महेश्वर क्याम्पस जाने भइसकेको थियो । भन्थ्यो, फिजिकल फिट्नेस पनि गर्दै छु अंकल !

...

र, सानुसँगको मेरो साइनोको नालीबेली सुनाउन भने धादिंगको दार्खामै पुर्‍याउनु पर्ने हुन्छ ।

सानु र मेरो जन्मस्थल एउटै गाउँ, अलिकति तल माथिको टोल । हामीले केही अघि पछि मात्रै हो, प्राथमिक शिक्षा लिएको स्कुलसमेत एउटै- गणेशकुण्ड प्राथमिक स्कुल ।

२०१७ सालको पश्चिम १ नम्बर काण्ड अर्थात् खनियाबास लुटपाट काण्ड प्रभावित गाउँ हो दार्खा । त्यो काण्डपछि, मोरंग माल अड्डाको जागिर छाडेर घरव्यवहार सम्हाल्न गाउँ फर्कनु भएका मेरो बुबा बाबुराम सिम्खडाको अगुवाइमा खोलिएको हो त्यो स्कुल ।

त्यो कार्यमा गाउँका गन्यमान्य हेमप्रसाद सिम्खडा, पञ्चसिंह वाइबा, भोजप्रसाद सिम्खडा, मानबहादुर सापकोटा, खड्गप्रसाद सिम्खडा, टंकबहादुर पौडेल, भिमबहादुर सिम्खडा, दुर्गप्रसाद सिम्खडा, जीतमान तामाङ (थुम्बुली), वीरबहादुर तामाङ (ग्याम्दी)को सरसल्लाह र गाउँलेको समेत साथसहयोग जुटेको । भोजप्रसाद सिम्खडाले गाउँको बीचमा रहेको दामी जग्गा सित्तैमा दिनुभएको । अन्य गन्यमान्यद्वारा पनि नगद र जिन्सी सरसहयोग गरिएको ।

अब चाहियो, शिक्षक । बुबाले नातामा भतिजा तर आफ्नो बालसखा पुरुषोत्तम सिम्खडालाई पनि ‘आफ्नै गाउँमा केही गरौँ’ भनेर दार्खामा डाक्नुभएछ । उहाँहरु समवयी, अत्यन्तै मिल्ने साथी पनि तर नाताले काका भतिज । बुबा कान्छाको छोरा, पुरु दाइ माइलाको नाती l बीएको परीक्षा दिएर बसेका पुरु दाइ हेडमास्टर तथा मानबहादुर सापकोटा र जीतमान तामाङ मास्टर भएछन् । त्यसरी २०१८ पुसमा खुलेको गणेशकुण्ड प्राथमिक स्कुल अहिले उच्च माध्यमिक विद्यालय बनिसकेको छ ।    

मैले त्यो विद्यालयमा पढ्दासम्म पनि पुरु दाइ हेडमास्टर नै हुनुहुन्थ्यो ।

पुरु दाइले काठमाडौँमा जन्मेर विराटनगरमा हुर्किएकी लीला गिरीसँग प्रेम विवाह गर्नु भएको । लीला भाउजु डा. तुल्सी गिरीकी बहिनी । दिदीबहिनीका छोराछोरी । 

लीला भाउजु त्यो पहाडी गाउँ दार्खामा बस्न त आउनुभयो तर उहाँले के काम गर्न जान्नु ? गाउँका मान्छेहरु लीला भाउजु र पुरु दाइलाई इङ्गित गर्दै भन्थे, ‘मास्टर घाँस काट्दैन, भैंसी रुख चढ्दैन !’

अहिले सस्ता मूल्यका चाइनिज कपडाले गाउँ शहर छपक्कै ढाकेकाले प्राय: सबै नेपालीले राम्रै लगाउँछन् । त्यतिबेला गाउँ घरतिर राम्रो लगाउने भनेको लाहुरेनी र तिनका छोराछोरीले मात्रै हो । तर, लीला भाउजु भने सफा चिटिक्क परेको लुगा लगाउनु हुन्थ्यो ।

शास्त्रीय हिसाबले हितको मित हो । तर, हाम्रो गामतिर भने उस्तै रुप रंग, बानी व्यहोराका मान्छे देखियो भने 'लौ यिनीहरुलाई त मित लगाइ दिएनि हुने र'छ भन्थ्ये । र, सानुको आमा चश्माया र लिला भाउजुबीच पनि यही हिसाबले मितिनी लगाइएको हो । उहाँहरु उस्तै उस्तै, गोरा, हिस्सी परेका र एकै उमेरका । पहिरन पनि दुवैको उस्तै, सफा । एउटी ब्रिटिस लाहुरेकी पत्नी, अर्की शहरियाकी छोरी, मास्टरकी पत्नी !

सानुले गणेश कुण्डमा पढ्दा उसको मित बा, पुरु दाइले पढाउन छाडिसक्नु भएको थियो ।

उहाँ पूरै पञ्चायती राजनीतिमा होमिएर जिल्ला पञ्चायत सदस्यसम्म बनिसक्नु भएको थियो । र, २०३४ सालमा गरिने चुनावबाट राष्ट्रिय पञ्चायत सदस्य बन्ने उम्मेदमा हुनुहुन्थ्यो ।

२०३२ सालमा नेपालको संविधान २०१९ मा दोस्रो संशोधन गरिएको थियो । त्यसमा गाउँफर्क राष्ट्रिय अभियानद्वारा अनुमोदित व्यक्तिले मात्र चुनावमा उम्मेदवार हुन पाउने अनुदार प्रावधान राखिएको थियो । वडा सदस्यभन्दा माथिल्ला पदमा उम्मेदवार बन्न थप प्रावधान पनि थियो । वडा सदस्य नभई गाउँमा प्रधानपञ्च, उपप्रधानपञ्च हुन नपाउने, प्रधानपञ्च, उपप्रधानपञ्च नभई जिल्ला पञ्चायत सदस्य हुन नपाउने र जिल्ला पञ्चायत सदस्य नभई राष्ट्रिय पञ्चायत सदस्य हुन पनि नपाइने ।

कुनै पदमा गाउँफर्कले एकजनालाई मात्र अनुमोदन गरेको खण्डमा त्यो व्यक्ति ‘सर्वसम्मत’ चुनिएको हुने हास्यास्पद प्रावधानसमेत थियो ।

प्रत्येक जिल्ला नौ क्षेत्रमा विभाजन गरिएको हुन्थ्यो र तिनैमध्येबाट जिल्ला हेरी कुनैबाट एकजना र कुनैबाट दुईजना राष्ट्रिय पंचायत सदस्य ‘निर्वाचित’ हुन्थ्ये । धादिंगबाट दुईजना राष्ट्रिय पंचायतमा जान पाउँथे । 

त्यो प्रणाली जतिसुकै अनुदार र हास्यास्पद भए पनि, पुरु दाइका लागि भने साह्रै अनुकूल हुने स्थिति थियो । उहाँका जेठान डा. तुल्सी गिरी प्रधानमन्त्री थिए भने सहपाठी खड्गबहादुर सिंह गाउँफर्क राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष ।

पुरु दाइ जिल्ला पंचायत सदस्य हुन खोजेकै क्षेत्रमा छिमेकको गाउँ खनियाबासका कोमलनाथ रिजाल पनि दाबेदार थिए । संविधानको दोश्रो संशोधनलगत्तै जिल्लाका सिमाना हेरफेर गरिँदा रसुवाका चारवटा गाउँ पंचायत एउटा बनाएर धादिंगपट्टी गाभिएको थियो । त्यो गाउँ पंचायत थियो सत्यदेवी, जसमा कोमलनाथको गाउँ खनियाबाससमेत समेटिएको थियो ।

कोमलनाथ पनि हाम्रो मितेरी साइनोका । पुरु दाइ र मेरो जिजुबुबा रामनाथ सिम्खडा र कोमलनाथको बुबा दाताराम रिजाल मित, त्यसैले उहाँ हाम्रो मित हजुरबा ।

‘हो र कान्छा बा, कुन गीत सुनाउनु भएको थियो हजुरले ?’ शैलेन्द्र काका घुमाउरो पाराले गीत गाउन उक्साउनु हुन्थ्यो । अनि कोमलनाथ हजुरबा घाँटी तन्काउँदै गाउन थाल्नु हुन्थ्यो: ‘लरी लर ल...’ गीत गाइसकेपछि उहाँ भक्भकाउँदै भन्न छुटाउनु हुन्न थियो, ‘यो गीत सुनेपछि बडामहारानी सरकार खित्कै छोडेर हाँसिबक्स्यो !’

काठमाडौँको खुशिबुमा हाम्रो हजुरबुबाको पालादेखि नै केही रोपनी खेत थियो तर घर भने थिएन । पुरु दाइहरुको चैं नयाँबजारमा घरसमेत थियो ।

शैलेन्द्र सिम्खडा काका र म काठमाडौँमा पढ्न बस्दा, पुरु दाइको घरनजिकै हाम्रो डेरा थियो । कोमलनाथ हजुरबा काम विशेषले काठमाडौँ आउँदा हाम्रै डेरामा पाहुना लाग्नु हुन्थ्यो ।

कोमलनाथ हजुरबा रोचक मान्छे ! हट्टाकट्टा, खाइलाग्दा, बडी बिल्डर सरहकै । पदीय हिसाबले पनि रसुवाका निवर्तमान उपसभापति (कार्यवाहक सभापतिसमेत) । ६ दाजुभाइमा कान्छो । उहाँको भने, एउटी श्रीमतीबाटै बाइस छोराछोरी !

यत्ति हो, उहाँलाई गलाले धोका दिएको थियो । बोल्दाखेरी भक्भकाउने, कुनै कुनै शब्द उच्चारण गर्न त ३०/३५ सेकेन्ड नै लाग्ने । तर पनि, गीत चैं मज्जाले गाउने सललल्ल !

उहाँ भकभकाउँदै भन्नु पनि हुन्थ्यो, ‘मलाई केही धोका भएको छैन, यही बोली र गीतका कारण मलाई राजारानीले समेत चिनिबक्सेको छ ।’

र, बेलिबिस्तार लगाउनुहुन्थ्यो, ‘राजारानी मध्यमाञ्चल विकास क्षेत्र भ्रमणमा रसुवाको भेडीगोठ निरीक्षण गर्न सवारी होइबक्सेको बेला एकरात त्यहीँ राज गरिबक्सेको थियो । कार्यवाहक सभापतिको हैसियतमा म पनि क्याम्पमा बस्न पाएँ । त्यो रात ‘क्याम्प फाएर’मा मैले श्री ५ महाराजधिराज वीरेन्द्र र श्री ५ बडामहारानी ऐश्वर्यलाई समेत गीत सुनाएको छु ।’

‘हो र कान्छा बा, कुन गीत सुनाउनु भएको थियो हजुरले ?’ शैलेन्द्र काका घुमाउरो पाराले गीत गाउन उक्साउनु हुन्थ्यो । अनि कोमलनाथ हजुरबा घाँटी तन्काउँदै गाउन थाल्नु हुन्थ्यो:

‘लरी लर ल...’

गीत गाइसकेपछि उहाँ भक्भकाउँदै भन्न छुटाउनु हुन्न थियो, ‘यो गीत सुनेपछि बडामहारानी सरकार खित्कै छोडेर हाँसिबक्स्यो !’

शैलेन्द्र काका र मेरो उमेर १६ वर्ष पुगेकाले हामी नागरिकता बनाउन इच्छुक थियौँ । तर, नागरिकता बनाउन धादिंग जान पर्थ्यो, जुन सजिलो थिएन । आदमघाट वा मलेखुबाट हिँडेरै जानु पर्थ्यो सदरमुकाम धादिंगबेशी ।

हामीले के पत्ता लगाएका थियौँ भने, प्रथम श्रेणीका सरकारी कर्मचारीले सिफारिश गरिदिए काठमाडौँबाटै नागरिकता बन्छ । तर, त्यो हैसियतका कोही मानिस चिनेका थिएनौं ।

कोमलनाथ हजुरबा हाम्रो डेरामा बस्न आउनु भएको बेला, शैलेन्द्र काकाले सबै बेलिबिस्तार लगाएर नागरिकता बनाइदिन भन्नुभयो । उहाँ साह्रै सहयोगी भावनाको मान्छे, नाइँनास्ती गर्ने कुरै थिएन । भोलिपल्ट रानीपोखरीको दक्षिणपूर्वी कोणस्थित अन्चलाधीश कार्यालय लिएर जानु भयो र सहअन्चलाधीश विष्णुप्रताप शाहको कार्यकक्षमा पसाउनुभयो ।

विष्णुप्रतापको घर पनि धादिंग नै रहेछ मैदी, जहाँ राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ब्रतबन्ध भएको थियो ।

विष्णुप्रतापबाट कोमलनाथ हजुरबाप्रति आदरपूर्ण व्यवहार भयो । सन्चोबिसन्चो सोधियो, चिया मगाइयो । बिदाबारी हुनुअघि कोमलनाथ हजुरबाले हाम्रो दुइटा निवेदन उहाँको टेबलमा तेर्स्याउँदै आग्रह गर्नुभयो: ‘राजा, दार्खाका यी केटाहरुले नागरिकता बनाउन रहर गरे, हजुरले शिफारिश गरिदिन पर्‍ यो ।’

झन्डै दुइ मिनेट लगाएर उहाँले गर्नुभएको त्यो आग्रहको जवाफ विष्णुप्रतापले पाँच सेकेन्ड पनि नलगाई दिनुभयो, ‘मैले यस्तो सिफारिश गर्ने गरेकै छैन कोमलनाथजी !’

‘त्यसो भन्न भएन राजा, यी मेरा छोरा र नाती हुन्’, कोमलनाथ हजुरबाले फेरि भक्भकाउँदै आग्रह गर्नुभयो, ‘धादिंग सदरमुकामसम्म जान गाह्रो भएकाले हजुरकहाँ बिन्ति बिसाउन ल्याएको हुँ ।’

‘तपाईंले अड्डी नै कस्नुभयो, अब फेरि चैं नल्याउनुस् है !’ भन्दै विष्णुप्रतापले हाम्रो निवेदनमा सिफारिश गरिदिनु भयो । ‘अब यी दुइजनालाई लिएर कहिल्यै आउँदिन राजा !’ कोमलनाथ हजुरबाको जवाफ सुनेर बिष्णुप्रताप मज्जाले हाँस्नुभयो ।

‘तपाईंले अड्डी नै कस्नुभयो, अब फेरि चैं नल्याउनुस् है !’ भन्दै विष्णुप्रतापले हाम्रो निवेदनमा सिफारिश गरिदिनु भयो ।

‘अब यी दुइजनालाई लिएर कहिल्यै आउँदिन राजा !’ कोमलनाथ हजुरबाको जवाफ सुनेर बिष्णुप्रताप मज्जाले हाँस्नुभयो ।

२०३३ साल पुस १२ गते डिल्लीबजार चारखालस्थित काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट धादिंगको ठेगाना राखेर नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि हामी पनि हाँस्यौं ।

बडामहारानी ऐश्वर्यदेखि सहअन्चलाधीस विष्णुप्रताप शाह र हामी फुच्चेहरुसम्मलाई हँसाउने मान्छेले पुरु दाइलाई भने धुरुधुरु रुवाउनुभयो ।

जेठान डा. तुल्सी गिरी प्रधानमन्त्री र सहपाठी खड्गबहादुर सिंह गाउँफर्क राष्ट्रिय अभियानका केन्द्रीय अध्यक्ष भएको बेला, दुवैजनाबाट वचन पाएर पनि पुरु दाइ जिल्ला पंचायत सदस्य बन्न पाउनु भएन ।

हक्की स्वभावका पुरु दाइको छवि विकासप्रेमी बनेको थियो र त्यतिखेर उहाँ धादिंगको राजनीतिमा लागेकामध्ये सबैभन्दा शिक्षित व्यक्तिसमेत हुनुहुन्थ्यो । 

राजनीति, त्यसमा पनि राजाको सक्रिय नेतृत्वमा चलेको निरङ्कुश पञ्चायती राजनीति सरल रेखामा मात्र के हिँडथ्यो र ! सर्वसम्मतिको नाममा सर्वसत्ता लादिएको प्रणालीमा जिल्लावासीको आकाङ्क्षाको पनि के अर्थ हुन्थ्यो र !

त्यो पद ‘सर्वसम्मति’का नाममा राजाका प्रमुख सचिव रञ्जनराज खनालका नातेदार कोमलनाथ हजुरबाले उछिट्टाउनुभयो । र, पंचायतका ‘आमा’समेत भनिने प्रधानमन्त्री डा. तुल्सी गिरL केवल राजदरबारको लाचार छायाँभन्दा बढी केही रहेनन् । अनि, दुनियाँले देख्दा सर्वशक्तिमान ‘गाउँफर्क’का अध्यक्ष खड्गबहादुर सिंह पनि कागजको बाघमात्र साबित भए ।

त्यो घटनापछि रन्थनिएर जिल्ला सदरमुकाम धादिङवेशीबाट काठमाडौं हान्निनुभएका पुरु दाइ कहिल्यै धादिङ फर्किनुभएन । दार्खाको पुर्ख्यौली सम्पत्ति काठमाडौँबाटै बेचिदिनुभयो ।

र, सानुका बुबा, बहादुरसिंह दाइले पनि अरु लाहुरेहरुले जसरी गाउँमै जग्गा जमिन नजोडी मितकै आड भरोसमा बस्ने बिचारले काठमाडौँको सामाखुसीमा जग्गा किनेर घर बनाउनुभयो ।

लीला भाउजु र चश्माया भाउजुले हित मिलेर मितिनी लगाउनु भएको थिएन । तर पछि उहाँहरुको मित्रता साह्रै प्रगाढ बन्यो । जस्तो, कतिपयले प्रेम गरेपछि विवाह गर्छन् भने कतिपयको विवाहपछि दाम्पत्य जीवनमा प्रेम झाँगिन्छ । उहाँहरुको पनि ‘दाम्पत्य जीवनमा प्रेम झाँगिए’जस्तै भयो । मितिनी भएपछि मिलेको हित्तचित्त दशकौँसम्म पनि अटुट छ, दार्खादेखि काठमाडौँ हुँदै लन्डनसम्म पनि ।

नियति पनि कस्तो ? दुवै मितिनी, चश्माया भाउजु र लीला भाउजु एकल महिला हुनुभएको छ । पुरुषोत्तम दाइ विसं २०४९ मा बित्नु भो, बहादुरसिंह दाइ पनि त्यसको १० वर्षपछि । लीला भाउजुका एउटा छोरा क्यानाडा, एउटा छोरा बेलायत र अर्को छोरा नेपालमै । चश्माया भाउजुको पनि ठूलो छोरो बेलायतमै । र, सानो छोरा सानु कहिले बेलायत, कहिले नेपालमा । तर, सानु जता रहँदा पनि बडी बिल्डिङ क्षेत्रमै समर्पित ।     

...

बडी बिल्डिङका लागि अहिलेसम्म नेपालमा यस्तो गेम भएको छैन । अहिलेसम्म नेपालमा खेल्ने शारीरिक सुगठनका खेलाडीहरु एमेच्योर हुन् । यो प्रोफेशनल प्रतियोगिता हो ।

नेपालका पहिलो बडी बिल्डर हुन् धर्मभक्त माथेमा । उनी जहानियाँ राणा शासनमा, विसं १९९७ मा मृत्युदण्ड दिइएका चार अमर शहीदमध्ये एक हुन् ।

काठमाडौँको कुलीन परिवारमा विसं १९६६ मा जन्मिएका धर्मभक्तले भारतमा गएर पढेका थिए । दार्जीलिङबाट म्याट्रीकुलेशन र कलकत्ताबाट आइए पास गरेका थिए उनले ।

भनिन्छ, कलकत्तामा पढ्दाताका धर्मभक्त दुब्लो भएकै कारण कसैबाट अपहेलित भएकाले ब्यायाम मन्दिरमा भर्ना भए । कठोर व्यायामबाट एकाध वर्षमै उनले आफ्नो ज्यान कस्तो बनाए भने, शारीरिक सुगठन प्रतियोगितामा ‘श्री बङ्गाल’ उपाधि नै जिते ।

काठमाडौँ फर्केपछि, धर्मभक्तले घोडेजात्रामा टुँडिखेलमा शारीरिक सुगठनको कलाकौशल देखाएछन् । त्यसबाट प्रभावित राजा त्रिभुवनले उनलाई आफ्नो गुरु बन्न आग्रह गरेछन् ।  

तीन वर्ष कान्छा भएपनि धर्मभक्त राजा त्रिभुवनको व्यायाम गुरु बनेछन् ।

कलकत्ताबाट धर्मभक्तले लोभलाग्दो ज्यान मात्र लिएर हैन, राजनीतिक स्वतन्त्रताको ज्ञान पनि लिएर आएका रहेछन् ।

बेलायती उपनिवेश भारतमा त्यतिखेर स्वतन्त्रता आन्दोलन चलिरहेको थियो । कलकत्तामा स्वतन्त्रता सेनानी चित्तरंजन दाससँग धर्मभक्तको भेट भएको रहेछ । उनैबाट प्रभावित धर्मभक्तले नेपालमा पनि जहानियाँ राणा शासन हटाएर प्रजातन्त्र स्थापना गर्नुपर्ने ठम्याएछन् ।

अहिले खेलकुदमा राजनीति हुन्छ । धर्मभक्त खेलाडी थिए तर राजनीतिमा होमिए ।  तुच्छ स्वार्थपूर्तिका लागि हैन, मुलुकमा प्रजातन्त्र ल्याउन ।

नेपाल फर्केपछि, उनको भेट दशरथ चन्दसँग भएछ । दशरथ चन्द र धर्मभक्त माथेमाको पहलमा टंकप्रसाद आचार्य, जीवराज शर्मा, रामहरि शर्माहरु मिलेर विसं १९९३ मा धर्मभक्तकै घर ओमबहालमा नेपालकै पहिलो राजनीतिक दल, नेपाल प्रजा परिषद् स्थापना गरिएको हो । तर, गोप्यता भंग हुँदा पछि ती सबै पक्राउ परे । टंकप्रसाद, जीवराज र रामहरिहरु बाहुन भएकाले मृत्युदण्डबाट बचे भने दशरथ चन्द र धर्मभक्त माथेमाले शुक्रराज शास्त्री जोशी र गङ्गालाल श्रेष्ठसँगै मृत्युदण्ड वरण गरे ।

एकबारको जुनीमा ज्यानको माया कसलाई हुँदैन र ! झन्, धर्मभक्त त सन्तुलित भोजन र निरन्तरको कठोर व्यायामद्वारा बलिष्ठ र सुगठित मांसपेसीयुक्त ज्यान बनाएका बडी बिल्डरसमेत थिए । उनलाई कष्टसाध्य प्रयासले बनाएको ज्यानको झनै माया लाग्दो हो ! तर हैन, नेपाल र नेपालीको उज्यालो भविष्यका खातिर उनले आफ्नो ज्यानको कुनै पर्वाह गरेनन् । नेपाल आमाका ती महान् सपुत धर्मभक्त हाँसी हाँसी फाँसीमा चढे ।

भनिन्छ, विसं १९९७ माघ १२ गते राती १२ बजे धर्मभक्तलाई काठमाडौँको सिफलस्थित बकैनाको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो, जहाँ श्री ३ जुध्दशमशेर राणासमेत उपस्थित थिए । रुखमा झुन्ड्याउने क्रममा दुइ पटकसम्म हाँगा भाँचिएपछि धर्मभक्तले ‘सक्छस् भने तेरो बाउको छातीमा गोली हान’ भनी जुध्दशमशेरको मुखमा थुकेका थिए । अन्तत: तेश्रो प्रयासमा झुण्ड्याएर धर्मभक्तको ज्यान लिइयो ।

नेपाल आमाका चार महान सपुतले जीवन बलिदान गरेको दसवर्ष बित्दा नबित्दै मुलुकमा जहानियाँ राणा शासन अन्त्य र प्रजातन्त्र स्थापना भयो । तर, अरु त अरु  चार शहीदबीचमै पनि विभेद भने बाँकी रह्यो । ठकुरी भएकाले शहीद दशरथको थर चन्द पनि लेखियो । बाँकी तीन शहीद नेवार भएकाले थर लेखिएन । कस्तो संकीर्णता !

त्यतिमात्र पनि हैन, राजधानीमा निर्मित रंगशालाको नाम खेलकुदसँग कुनै साइनो नभएका शहीदको नामबाट राखियो: दशरथ रंगशाला । शहीद दशरथ चन्दप्रति सम्मान जनाउन पर्थ्यो, पर्छ । मुलुकको कुनै अर्को प्रतिष्ठित संरचनामा उनको नाम जोड्न सकिन्थ्यो । रंगशालाको नाममा भने खेलाडीसमेत रहेका शहीद धर्मभक्त माथेमाको नाम गाँसिनु तार्किक र न्यायोचित हुने थियो ।

विडम्बना नै हो, दशकौँ बित्दा र मुलुकमा अनेकौँ शासन प्रणाली फेरिंदासमेत राज्यले शहीद धर्मभक्तको नाममा खेलकुदसम्बन्धी कुनै संरचना निर्माण वा कुनै प्रतियोगिता आयोजना गरेको पाइँदैन ।

विडम्बना नै हो, दशकौँ बित्दा र मुलुकमा अनेकौँ शासन प्रणाली फेरिंदासमेत राज्यले शहीद धर्मभक्तको नाममा खेलकुदसम्बन्धी कुनै संरचना निर्माण वा कुनै प्रतियोगिता आयोजना गरेको पाइँदैन ।

मरेर जानेले गर्न बाँकी काम बाँचेका मान्छेले नै हो गर्ने । धर्मभक्तले राजनीतिक क्षेत्रमा गर्न बाँकी काम ककसले गर्नु पर्ने हो र तिनले गरे कि गरेनन् ? त्यो छलफलको छुट्टै विषय हो । तर, धर्मभक्तले बडी बिल्डिङको क्षेत्रमा गर्न बाँकी काम भने निजी क्षेत्रबाट स्थापित ब्यायाम मन्दिरले गरेको छ । व्यक्तिगतरुपमा सानु गुरुङ र महेश्वर महर्जनहरुले पनि गरेका छन् ।

नेपालकै पहिलो ब्यायामशाला नेपाल ब्यायाम मन्दिरले विसं २०४२ देखि शहीद धर्मभक्त माथेमाको स्मृतिमा शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आएको छ । ब्यायाम मन्दिरका तत्कालीन अध्यक्ष सरोजकुमार श्रेष्ठको परिकल्पना हो त्यो । सम्भवत: नेपालमा कुनै पनि खेलकूद प्रतियोगिता शहीदको नामबाट आयोजना गरिएको यो नै पहिलो हो ।

सानुले दुइ पटक र महेश्वरले एक पटक धर्मश्री प्रतियोगिता जितेका छन् । उनीहरु दुवैले अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताहरुमा पनि विजेता बनेर नेपालको नाम राखेका छन् ।

राज्यले वेवास्ता गरेको ‘धर्मभक्त पथ’मा लागेर मुलुकको कीर्ति फैलाउने मेरा भतिजहरु, स्याबास !

...

सन् २०१६ मा भूटानको थिम्पुमा आयोजित पचासौँ एशियाली बडी बिल्डिङ प्रतियोगितामा मिस्टर एशिया बनेका थिए महेश्वर । गत डिसेम्बरमा थाईल्याण्डको च्याङमाइमा उनले दशौँ विश्वव्यापी शारीरिक सुगठन प्रतियोगिताको ७५ केजी तौल समूहमा मिस्टर वर्ल्ड २०१८ उपाधि जिते । बडी बिल्डिङको क्षेत्रमा नेपालले प्राप्त गरेको यो अहिलेसम्मकै ठूलो उपलब्धि हो । महेश्वर सन् २०२० मा हुने मिस्टर युनिभर्स जित्ने दाउमा छन् ।

बडी बिल्डिङको अन्तर्राष्ट्रियस्तरमा दुइटा फेडरेशन छन् । वर्ल्ड बडी बिल्डिङ एण्ड फिजिक्स स्पोर्टिङ फेडरेशन (डब्लुबीपीएफ) र ईन्टरनेशनल फेडेरेशन फर बडी बिल्डिङ (आइएफबीबी) । महेश्वर डब्लुबीपीएफमा आबध्द छन् भने सानु आइएफबीबीसँग ।

तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङ बडी बिल्डिङ प्रतियोगी हैनन्, प्रतियोगिता आयोजक नै बन्न सफल भइसके अब । उनी यत्तिखेर, आइएफबीबीको फेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गरिरहेका छन् ।   

आइएफबीबी प्रोफेसन लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप– २०१९ को प्रो क्वालिफायर प्रतियोगिता फागुन ४ गते प्रज्ञा भवन कमलादीमा आयोजना हुँदैछ ।

बडी बिल्डिङका लागि अहिलेसम्म नेपालमा यस्तो गेम भएको छैन । अहिलेसम्म नेपालमा खेल्ने शारीरिक सुगठनका खेलाडीहरु एमेच्योर हुन् । यो प्रोफेशनल प्रतियोगिता हो, बडी बिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने ‘मिस्टर ओलम्पिया’का लागि खेलाडी छान्ने ‘प्रो क्वालिफायर’ । ‘मिस्टर ओलम्पिया’ हरेक वर्ष सेप्टेम्बरमा अमेरिकाको लस भेगासमा आयोजना हुन्छ ।

यो प्रतियोगितामा ४ वटा क्याटागोरीमा खेलाडीले प्रो कार्ड जित्न प्रतिस्पर्धा गर्नेछन्: ‘मेन्स फिजिक’, ‘मेन्स क्लासिक फिजिक’, ‘मेन्स बडी बिल्डिङ’ र महिलातर्फको ‘ओमन फिजिक’ ।

प्रतियोगिता आयोजक आइएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङका अनुसार विश्व कप फुटबलको क्वालिफायरजस्तै मिस्टर ओलम्पियाको लागि पनि यो क्वालिफायर हो । प्रो कार्ड विजेता चार खेलाडीले मिस्टर ओलम्पियामा भाग लिन पाउँछन् । त्यसैले प्रतियोगितामा भाग लिन विभिन्न देशबाट बडी बिल्डर खेलाडीहरु काठमाडौँ आइसकेका छन् । 

र, यो कार्यक्रममा बिशेष आकर्षण हुनेछन्,  ‘द विष्ट’ र ‘सामुराई’ उपनामले समेत प्रख्यात बडी बिल्डर रोली विङ्कलार । सार्वजनिकरुपमा साह्रै कममात्र देखापर्ने रोली ‘गेस्ट पोजर’का रुपमा आएका हुन् । ‘प्रो क्वालिफायर’को फाइनल प्रतियोगितापछि रोलीले आफ्नो ‘पोज’ प्रदर्शन गर्नेछन् ।

यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन् रोली । उनी बडी बिल्डिङमा सबैभन्दा बढी खोजिने पात्र पनि हुन् । रोलीको इन्स्टाग्राममा १२ लाख ‘फलोअर’ छन् भने फेसबुकमा पनि एक लाखभन्दा बढी ।

नेदरल्यान्डमा जन्मिए पनि अमेरिकामा बसोबास गर्दै आएका रोली विश्व बडी बिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी हुन् । रोलीको पाखुरा मात्र २४ इञ्चको छ भने छाती ६० इञ्चको ।

सार्वजनिकरुपमा साह्रै कममात्र देखापर्ने रोली ‘गेस्ट पोजर’का रुपमा आएका हुन् ।

भीमकाय शब्द, महाभारतका अत्यन्तै हट्टाकट्टा पात्र भीमसेनको बिम्बस्वरूप प्रयोग गरिन्छ । भीमकाय त हाम्रै देशका बडी बिल्डर, मेरा भतिजद्वय सानु र महेश्वर नै छन् । रोलीलाई भीमकाय मात्र भनियो भने अन्याय हुन्छ । रोली त ‘घटोत्कचकाय’ पो छन् !

...

घटोत्कच अर्थात् पाँच पाण्डवमध्ये माइला भीमसेनको असुरपत्नीले जन्माएकी अजंगका छोरा ।

महाभारतअनुसार, दुर्योधनको लाक्षागृह षड्यन्त्रमा सुरुंग खनेर भाग्न सफल कुन्तीसहित पाँच पाण्डव लुक्न काम्यक बन पसे । त्यो बनका राजा हिडिम्ब नामका असुर थिए । उनकी बहिनी थिइन् हिडिम्बा । ब्राह्मण भेषमा रहेका भीमलाई  देखेपछि हिडिम्बा मोहित भइन् ।

आफ्नी बहिनी हिडिम्बा भीमसँग प्रेमालाप गरिरहेको देखेर हिडिम्ब क्रुध्द हुन्छ । ऊ हिडिम्बामाथि जाइलाग्न खोज्दा भीमले स्त्रीमाथि हात उठाउन लाज लाग्दैन भन्दै आफुसँग युद्ध गर्न ललकार्छन् । मल्लयुध्दमा हिडिम्ब मारिन्छन् । र, कुन्तीको अनुमतिमा हिडिम्बा र भीमको बिहे हुन्छ । उनीहरुकै छोरा हो घटोत्कच, पाँच पाण्डवले द्रौपदीसँग विवाह गर्नुअघि नै जन्मिएको ।

पाण्डवहरु काम्यक बनमा छँदै द्रौपदीको स्वयम्बर समारोह आयोजना हुन लागेको सुनेपछि घटोत्कचलाई त्यहीँ छोडेर उनीहरु ब्राम्हण भेषमा नै पान्चाल पुगेका थिए ।

कुरुक्षेत्र युध्दमा पाँच पाण्डवका कुनै पनि छोरा बचेनन् । कुन्तीको सबैभन्दा जेठो नाती घटोत्कचको बलिदानले पाण्डव पक्षलाई युध्द जित्न सहज बनाएको वर्णन महाभारतमा छ ।

कर्णसँग अमोघ अश्त्र हुन्छ, त्यो अश्त्र उनीसँग रहुन्जेल अर्जुनले जित्न सक्दैनथ्ये । त्यसैले युध्दको चौधौँ दिनको राती, युध्द संहिता उल्लङ्घन गर्दै घटोत्कचलाई कौरव पक्षमाथि जाइलाग्न खटाइन्छ । मायावी घटोत्कचको ताण्डवबाट कौरव सेना बचाउन कर्णले अर्जुनका लागि साँचेको एकमात्र अमोघ अश्त्र खर्चिन्छन् । फलत: घटोत्कच त मारिन्छन् तर अर्जुनले कर्णलाई जित्ने वातावरण बन्छ । साथसाथै घटोत्कचको विशालकाय शरीरले किचिएर कैयौँ कौरव योद्धा पनि मर्छन् ।

अनुमान गर्नुस्त, कति विशालकाय थिए होलान् घटोत्कच !

हो, त्यस्तै विशालकायका छन् रोली पनि । तर, प्रज्ञा प्रतिष्ठानको प्रेक्षालय कुरूक्षेत्र जस्तो युध्दस्थल हैन । त्यसमाथि बडी बिल्डिङ अर्थात् शारीरिक सुगठन आफैँमा साह्रै शालीन खेल हो । कुस्ती, कराँते, बक्सिङआदि खेलमा जसरी प्रतिष्पर्धीमाथि जाइलाग्नसम्म पर्दैन, केवल आफ्नो शरीरको सुगठित कलाकौशल देखाए पुग्छ ।

त्यसैले कुरूक्षेत्रमा घटोत्कच ढलेझैँ प्रज्ञा भवनमा ‘घटोत्कचकाय’ रोली ढल्ने छैनन् र कसैलाई किच्ने पनि छैनन् । निर्धक्क भएर कार्यक्रम हेर्न जाँदा हुन्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ