शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुधारका कामलाई सरकारले तीव्रता दिएको छ : मन्त्री महासेठ

शुक्रबार, ०३ फागुन २०७५, २० : २३
शुक्रबार, ०३ फागुन २०७५

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सडक विस्तार र सुधारका कामलाई सरकारले तीव्रता दिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सडक विस्तारका कामलाई प्रदेश र स्थानीयतहलाई पनि जिम्मा दिइएको उल्लेख गर्दै चालू आर्थिक वर्षमा धेरै काम हुने स्पष्ट पारे ।  

सांसदले आ–आफ्नो क्षेत्रका सडक समस्यासँगै विभिन्न समसामयिक विषयमा सम्बन्धित मन्त्रीको जवाफ माग गरेका थिए । जवाफमा मन्त्री महासेठले धादिङ, नुवाकोट र रसुवा जोड्ने गल्छि–त्रिशूली–रसुवागढी सडक निर्माण कार्यलाई तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिए । उनले ४ वर्षभित्रमा हिमाल, पहाड र तराईका मुख्य शहर तथा सबै स्थानीय तहलाई कालोपत्र सडकबाट जोड्ने सरकारको लक्ष्य रहेकाले लक्ष्यअनुरुप काम हुने विश्वास दिलाए । 

उनले कलङ्की–नागढुङ्गा सडक निर्माण कार्य वर्तमान सरकार आउनुभन्दा पहिले नै विभिन्न अवरोध भएका कारण ढिलासुस्ती भएको उल्लेख गर्दै यसको काम छिटो बन्ने बताए । सरकारले सुर्खेत–जुम्ला सडकको सुधार, पूर्व पश्चिम हुलाकी मार्ग निर्माणलगायत विभिन्न सडकको निर्माणको कामलाई सरकारले प्राथमिकतामा राखेको र अबका केही वर्षमा राम्रो परिणाम देखिने गरी काम सम्पन्न हुने विश्वास व्यक्त गरे । मन्त्री महासेठले भने, ‘हामीले देशभरी असार महीनामा काम नगर्ने गरी निर्देशन दिएका छौं ।’

स्मार्ट लाइसेन्सका सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले चार लाख कार्ड छापिएको जानकारी दिँदै बढीमा एक महिनाभित्र उपलब्ध गराउनुपर्ने गरी व्यवस्था मिलाएको जानकारी गराए । यसैगरी उनले २५३ भन्दा धेरै ट्याक्सीलाई कारवाही गरिसकेको जानकारी दिँदै जिपियस राख्ने तयारीमा सरकार रहेको बताए । 

‘यातायात क्षेत्रलाई व्यवस्थित गर्न यातायात प्राधिकरणको व्यवस्था गर्न लागेका छौं यसका लागि सैद्धान्तिक सहमति पाइसकेका छौं कानून बनिरहेको छ पास हुने वित्तिकै काम हुन्छ ।’ उनले भने । राष्ट्रियसभाको अर्को वैठक यही फागुन ८ गते १ बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप