बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल पत्रकार महासंघ महासचिव मगरको स्वीकारोक्ति– डेटलाइनचाहिँ ढाँटेकै हुँ

सोमबार, १६ साउन २०७४, १४ : ५४
सोमबार, १६ साउन २०७४

‘पत्रकारको सम्पत्ति भनेको इमानदारी हो,’ दुई दशकदेखि पत्रकारिता गर्दै आएका पत्रकार उजिर मगरको मान्यता छ, ‘अहिलेका पत्रकार पेसाप्रति इमानदार छैनन् ।’ पेसाप्रति इमानदार र व्यावसायिक नभएपछि २५/३० वर्षदेखि पत्रकारिता गर्दै आएकाले आफूले के लेखेंसमेत भन्न सक्दैनन् । 


केही समयअघि प्रकाशित ‘अंश’ मा एक पत्रकारको इमानदारीनपन झल्केको छ । नेपाल पत्रकार महासंघ महासचिवसमेत रहेका मगरले आफ्नै भान्जाले गरेको बदमासीसम्म लेख्न छुटाएका छैनन् । अंशको रचनागर्भ, किताबले दिन खोजेको सन्देशलगायतबारे पत्रकार÷लेखक उजिर मगरसँग दीपेन्द्र राईले गरेको कुराकानी : 

दुई सय बढी पात्रलाई कुनै न कुनै विषयसँग जोडेर अंश नामक पुस्तक सार्वजनिक गर्नुभएको छ । पुस्तकमा गोरखा ‘जेलब्रेक’ समाचारको पृष्ठभूमि इमानदारपूर्वक उल्लेख गर्दा समाचार कक्षको गोपनीयता भंग गरेको टीका÷टिप्पणी भइरहेको छ, यसलाई पत्रकारिताको सैद्धान्तिक कसीमा कसरी हेर्ने ?
पत्रकारिताको सैद्धान्तिक कसीमा पर्छ भनेरै ‘जेलब्रेक’ समाचारको पृष्ठभूमि इमानदारपूर्वक उल्लेख गरेको हुँ । तात्कालिक सशस्त्र जनयुद्धमा यो वा त्यो गर्नुहुन्थ्यो हुँदैनथ्यो भनेर नेपालमा अभ्यास थिएन । सामान्यतया सशस्त्र संघर्षका समाचार संकलन यसरी नै गर्नुपर्छ भन्ने पनि थिएन । मैले कलात्मक ढंगले गोरखा ‘जेलब्रेक’ को समाचार सम्प्रेषण गरेकै हुँ । ‘जेलब्रेक’ समाचारको पृष्ठभूमि खुलाएपछि त्यसताका समाचार संकलन कसरी गरिन्थ्यो भनेर जान्न सघाउ पुर्याएको छ ।
त्यसबाहेक सैद्धान्तिक कुरामा बहस गरौंला भनेकै छु ।


तर, युवराज घिमिरेले ‘जेलब्रेक’ गरेकै होइन भन्नुभयो त ?
त्यो गलत हो । ‘जेलब्रेक’ गरेको अघिल्लो दिन गोरखा समाचारदाताले सम्प्रेषण गरेको समाचार मसँग सुरक्षित छ । समाचारको स्रोतव्यक्ति र जेलब्रेक गर्ने पात्र अझै जीवितै छन् । 


समाचार कक्षको गोपनीयता भंग गर्नुहुन्थ्यो हुन्नथ्यो ? 
सशस्त्र संघर्षताका पत्रकारले समाचार संकलन कसरी गर्थे भनेर एक दिन त खोल्नैपथ्र्यो । सम्बन्धित समाचारका पात्र जीवित रहँदा नै वास्तविकता बताउनु उपयुक्त लाग्यो । सम्बन्धित समाचारका पात्र नरहेको बेला वास्तविकता बताउँदा विश्वासिलो नबन्न सक्छ । मैले समाचारका स्रोतव्यक्ति ढाँटेको छैन । डेटलाइन न ढाँटेको हुँ ।


एक दैनिक पत्रिकाका भूपूप्रधानसम्पादकले त्यही समाचारका विषयलाई आधार बनाएर सम्पादकीयमार्फत सम्पादकलाई गुमराहमा राखियो भनेर गुनासो गरेका थिए । यसलाई कसरी अथ्र्याउने ?
त्यसो त डा. बावुराम भट्टराईले ‘कोतपर्वलाई मान्यता दिनुुहुँदैन’ भन्ने आलेख सर्वप्रथम जनादेश साप्ताहिकका लागि पठाएका थिए । जनादेश सोमवार छापिन्थ्यो । आलेख ढिलोगरी प्राप्त भएपछि जनादेशमा छापिएन । त्यही आलेख माओवादीसम्बद्ध एक पत्रकारले तात्कालिक कान्तिपुर पब्लिकेसन्सको गेटसम्म ल्याइदिनुभयो । मैले गेटबाट तात्कालिक सम्पादक युवराज घिमिरेको कार्यकक्षसम्म पुर्याएको थिएँ । त्यो पनि त सैद्धान्तिक रूपमा गर्न नमिल्ने काम हो नि त । 

डा. भट्टराईले जनादेश साप्ताहिकमा बेलाको बोली स्तम्भमा लेखेको आलेख कान्तिपुर दैनिकले त्यतिबेला ‘साभार’ नलेखी साभार गरेको थियो । त्यो पनि गर्न हुन्थ्यो कि हुन्थेन ?


पत्रकारितामा आउँदै गरेका नयाँ पुस्ताका पत्रकारले गोरखा ‘जेलब्रेक’ को समाचारलाई कसरी बुझ्ने ?
त्यो कालखण्डको पत्रकारिताबारे जानकारी गराउँछ । त्यो बेलाको सशस्त्र संघर्षको अवस्थालाई औंल्याउँछ । पत्रकार निडर हुनुपर्छ भन्ने सवक पनि सिकाउँछ । 

रोजगारीका लागि भारत पुग्नुभएको तपाईंले चौकीदारी गर्दै कम्प्युटर सिक्नुभएको किताबमा उल्लेख छ । पत्रकारितामा चाहिँ कसरी प्रवेश गर्नुभयो ?
नेकपा मसाल समर्थित अखिल भारत एकता समाजको मुखपत्र ‘नेपाली एकता’ बाट पत्रकारिता थालेको हुँ । त्यहाँ ६ महिना काम गरेको थिएँ । त्यसपछि ‘समानान्तर’ मासिक प्रकाशन थाल्यौं । यो संवत् २०५३/०५४ को कुरा हो । चार अंकपछि ‘समानान्तर’ प्रकाशन बन्द भयो । त्यसपछि ‘हाँक’ साप्ताहिकसँग जोडिएँ । त्यतिबेला समाचारमात्रै होइन, सम्पादकीय लेखिन्थ्यो । कागज पनि बोकिन्थ्यो । 

हाँकमा त्यतिबेला पारिश्रमिकचाहिँ कति थियो ?
१५ सय थियो । काम छाड्दा २१ सय पुगेको थियो । हाँकपछि ‘महिमा’ मा जोडिएँ ।

हाँक साप्ताहिकबाट तपाईं किन निकालिनुभयो ?
वैचारिक पाटो नमिलेपछि मलाई सो पत्रिकाबाट निकालिएको थियो । डा. बावुराम भट्टराईको फोटो प्रकाशित गरेको भनेर पहिलो आरोप लगाइएको थियो भने दोस्रो दीनानाथ शर्मा पक्षधर भनेर आक्षेप लगाइयो । त्यही आरोपमा म हाँकबाट निकालिएँ ।

किताबमा धेरै कुरा इमानदारपूर्वक लेख्नुभएको छ । प्रेस सेन्टर अध्यक्ष महेश्वर दाहाल र तपाईंले काठमाडौंको बागबजारमा उधारो खाएको मःमः को पैसा तिरेको भनेर दाहाललाई तपाईंले भन्नुभएको छ । तर, किताबमा उल्लेख छैन । तपाईंले मःमःको पैसा तिरेकै हो ?
तिरेकै हो । त्यो होटल अझै छ । उहाँ (दाहाल) ले ५÷६ पटक मःमः को पैसा तिर्नुभयो भने सोध्नुभएको थियो । त्यतिबेला मःमः को प्रतिप्लेट १२ रुपैयाँ थियोजस्तो लाग्छ । 

दुई दशकदेखि पत्रकारिता गर्दै आउनुभएको छ । त्यतिबेला र यतिबेलाको पत्रकारिता अभ्यासमा के फरक पाउनुहुन्छ ?
त्यतिबेला ‘कमिटमेन्ट’ भएका पत्रकार हुन्थे । अहिलेकोमा त्यो छैन । एउटा समाचार लेख्यो भने पुग्यो भन्नेहरू छन् । तालिमक्रममा विभिन्न गाउँठाउँ पुग्दा भेटिएकालाई पत्रकारिता गरेको कति भयो भनेर सोध्दा २५ वर्ष भयो भन्छन् । तर, के लेख्नुभयो सोध्दा भन्नै सक्दैनन् । 

भन्नै नसक्ने अवस्था केले बनायो ?
व्यावसायिकता भएन । पत्रकारिता गर्न प्रतिबद्धता चाहिन्छ । त्यतिमात्रै होइन, पेसाप्रति इमानदारी हुनुपर्यो । ‘रियल’ पत्रकारिता गर्ने कि फेसबुक पत्रकारिता ? 

अंशमा प्राविधिक (खानपान, उठबस) धेरै भए तर नीतिगत कुरा आएन भनेर पाठकले खोट लगाएका छन् । के भन्नुहुन्छ ?
पाठकले भनेका कुरा सत्य हुन् । नीतिगत कुरा लेखेको भए मैले दर्शन वा विचारलाई आत्मसात् गर्नुपथ्र्यो । म कुनै न कुनै आस्थाप्रति निकट छु । ती प्राविधिक कुरामा दर्शन खोज्न सक्थें तर त्यसो गर्न चाहिनँ । २० वर्षपछि दार्शनिक, विचारक बन्न सकुँला । 

धेरै पात्र समेटेर तीन/चार सय पेजको किताब लेख्नु सामान्य काम होइन । यसबारे लामो बहस गर्न सकिन्छ । त्यतिबेला गोबरले पीपलमा टाँसेको विज्ञप्तिको फोटो खिचेर कसरी लुकाएर ल्याइयो होला ? त्यो पत्रकारिता होइन ? कला होइन ? मेरो किताब धेरैलाई स्वीकार्न÷पच्न गाह्रो छ । तर, पाठकले मन पराइदिएका छन् । 
मैले किताब बिक्री गर्न सनसनी मच्चाउन चाहेको होइन । पत्रकारले के गर्न र लेख्न हुन्छ भनेर उजिर मगरलाई राम्रै थाहा छ । यहाँको नेता, बुद्धिजीवी, व्यापारी, पत्रकारलगायतसँग गरिएको कुराकानी मसँग पेनड्राइभमा सुरक्षित छन् । 

अंशमा दुई सय बढी पात्र छन् । उल्लिखित पात्रमध्ये कोही अन्यायमा परेका छन् कि ?
अहिलेसम्म कसैले अन्याय भयो भनेका छैनन् । अन्याय भएको भए जीवित पात्र मसम्म ठोक्किनुपर्ने होइन र ? आफ्नै भान्जाले बदमासी गरेको कुरा त लेखेको छु । पत्रकारिता भनेको इमानदारी हो । 

अंशले दिन खोजेको सन्देश के हो ?
त्यतिबेलाको समाज कसरी चलेको थियो भनेर देखाउन प्रयत्न गरेको छु ।

पाठक प्रतिक्रिया कस्तो छ ? 
यस्तो प्रकृतिको किताब प्रकाशित हुनुपथ्र्यो, ढिलै भए पनि आएको छ भन्नेहरू छन् । 

बजार प्रतिक्रियाचाहिँ ?
अहिलेसम्म राम्रै छ । किताब विमोचनदेखि अहिलेसम्म बजार धानेकै छ ।

नेपाल पत्रकार महासंघ अध्यक्ष डा. महेन्द्र विष्ट र महासचिव उजिर मगरको किताब एकैपटक सार्वजनिक भयो । यो संयोगमात्रै हो कि अन्य कारण छन् ? 
नेपाल पत्रकार महासंघ महासचिव निर्वाचित भएपछि उजिर मगरको बाइलाइन समाचार प्रकाशित नभएको तीन वर्ष भइसकेको छ । पाठकलाई तीन वर्षको क्षतिपूर्ति दिन किताब प्रकाशित गरेको हुँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप